गोविन्द लोहनी
मानव समाजले आजसम्म पाँच आर्थिक आधार र सम्बन्धहरू देखेको छ । अतः संस्कृति पनि मूलरूपमा केवल पाँच किसिमका छन् (१) आदिम वर्गविहीन संस्कृति (प्रारम्भिक बौद्धिक संस्कृति) जसको आर्थिक आधार थियो– सिकार, पशुपालन, जङ्गली खेती, सामूहिक उत्पादन र सामूहिक उपभोग, प्रजापति वा इन्द्रको रूपमा निर्वाचित वा स्थापित नेताको नेतृत्व, मुद्रा अर्थनीतिको अभाव, परिवार र व्यक्तिगत सम्पत्तिको अभाव, व्यापक गरिबी भएको कठोर तर न्यायपूर्ण जीवन र उल्लास, उमङ्ग र सामूहिक भावनाले भरिएको भोगवादी संस्कृति ।
(२) दासका स्वामीहरूको संस्कृति (प्राचीन ग्रीस, रोम, इजिप्टको संस्कृति) जसको आर्थिक आधार थियो–शिल्पको विकासले गर्दा उत्पादनमा वृद्धि, श्रम विभाजन तथा राज्य सत्ताको विकासले गर्दा चिन्तन र श्रमको विच्छेद तथा चिन्तनहरूको वर्गरूपमा विकास र उनीहरूद्वारा दास बनाइएका श्रमिकहरूको काँधमाथि नागरिक सभ्यता र प्रजातान्त्रिक पद्धतिको भार बोकाइएको, चिन्तन र विचारमा ठूलो प्रगति, कला र साहित्यमा बौद्धिकताको प्रभाव, पुरोहितवादको विकास र कुलीनतन्त्रको निम्ति आर्थिक, सामाजिक, सांस्कृतिक आधार तयार हुन थालेको अवस्था ।
(३) सामन्तवादी संस्कृति (मध्ययुगीन युरोप र पौराणिक कालदेखि धेरैमात्रा आजसम्म पनि भारतीय गाउँ र नेपालमा लसपसरूपमा सहरमै पनि व्यापक तथा केही वर्ष अघिसम्म चीनमा प्रचलित सभ्यता र संस्कृति) जसको आर्थिक, सामाजिक आधार हुन्छ–आदिम कृषि शिल्पको आधारमा कृषि अर्थव्यवस्था, सम्पत्तिमा भूमिको प्राधान्य, श्रमिकहरूले कर्जामा बाँधिएर हरूवा–कमैया (अर्ध दास) का रूपमा ज्यालामा वा उत्पादनमा केही भाग पाउने वा भूमिको भाडा बुझाउनुपर्ने सर्तमा खेतीको निम्ति भूमि पाउने व्यवस्था, ग्रामीण निरङ्कुशता, भूमिपति र कुलीन व्यक्तिगत तथा पुरोहित र लगानी गर्नेहरूको अनुकुल व्यवस्था ।
(४) पुँजीवादी संस्कृति (समाजवादी व्यवस्था नभएका उन्नत देशहरूको व्यापार, उद्योग, सहरी जीवन र मुद्रा अर्थ व्यवस्थाको प्रवेश भइसकेको क्षेत्र) जसको आर्थिक, सामाजिक आधार हुन्छ–व्यक्तिगत पुँजी र व्यक्तिगत मुनाफाका निम्ति आधुनिक प्रविधि र यन्त्रहरूको व्यापक प्रयोग गरेर बजारमा बिक्रीको निम्ति ठूलो परिमाणमा उत्पादन तथा ज्यालादार श्रमिक र बुद्धिजीवीहरूलाई ‘निर्वाह योग्य’ पारिश्रमिक दिएर बाँकी मूल्य ब्याज, भाडा र मुनाफाको रूपमा साधनपतिहरूमा वितरण, स्वतन्त्र बजारमा स्वतन्त्रता तर अत्यन्त असमान (आर्थिकरूपले) मानिसहरूको विनियम सम्बन्ध, समान अवसर (यदि साधन जुटाउन सके) को आधारमा लोकतान्त्रिक व्यवस्था, विदेशी कच्चा माल, बजार र सस्तो श्रममा अधिकारको निम्ति र पुँजी निर्यातका निम्ति साम्राज्यवाद र महायुद्धहरू, जातीय भेदभाव, युद्धवादी अर्थनीति, नग्नता, पलायन, उच्छृङ्खलता र पाशविकतालाई गौरवान्वित गर्ने कला र साहित्य, आर्थिक साधनहरूको व्यापक दुरूपयोग (लडाइँ कहीँ न कहीँ सधैँ गरिरहने साधनको खपत त्यसैमा गराउने, बम वर्षा गरेर पहिले नाश गर्ने, अनि फेरि बनाउन सहायता गर्ने व्यापक अहङ्कार) ।
(५) समाजवादी संस्कृति जसको आर्थिक – सामाजिक आधार उत्पादन, विनिमय र वितरणका सबैजसो मुख्य साधनहरूको राष्ट्रियकरण र सामाजिकीकरण, सामाजिक श्रमअनुसारको उपभोग–अधिकार, योजनाबद्ध विकास, सामाजिक लाभ र सामूहिक कल्याण र सुरक्षाको निम्ति नै सबै कुरा, रूपमा राष्ट्रिय तथा गुणमा समाजवादी आर्थिक आधारसँग सामाञ्जस्य मिल्ने र आधारलाई पोषण दिने व्यापक जन संस्कृतिको स्थापना र निर्माण, कला र साहित्यमा समाजवादी यथार्थवादलाई मुख्य स्थान, व्यापकरूपमा निःशुल्क शिक्षा, निःशुल्क चिकित्सा, उच्चतम शिक्षा र शोध कार्यका निम्ति व्यापकतम साधनयुक्त अवसर, वैज्ञानिक शोधकार्यका निम्ति प्रयोगशाला र वेधशालाहरू तथा यस्तै अन्य साधनहरूमा राष्ट्रिय धनको निकै ठूलो भाग लगाइने, साधन, अवसर, अवकाश, अनुकूल व्यवस्था र व्यापकतम शिक्षा तथा वर्ग विहीनताले गर्दा सभ्यता र संस्कृतिको व्यापकतम प्रसार र कदर । हाम्रो युगमा समाजवाद भर्खर तीस वर्षको भएको छ, यसलाई परिपक्व हुन र शिखरमा पुग्न अझै अरु चालीस–पचास वर्ष लाग्छ ।
समाजको आर्थिक – सामाजिक व्यवस्थाले नै त्यो व्यापक चेतना उत्पन्न गर्छ जसको अभिव्यक्तिलाई हामी समुदाय विशेषको संस्कृति मान्दछौँ । वर्ग विभक्त समाजमा साधन सम्पन्न र साधनहीन दुई मुख्य वर्ग हुन्छन् । उनीहरूको रहनसहन, खानपान, बौद्धिक स्तर र व्यवहार तथा जीवनको क्षेत्रमा ठूलो अन्तर हुन्छ र परिणामस्वरूप सांस्कृतिक चेतना पनि फरक हुन्छ । पुँजीवादी युगमा यी दुई वर्ग सांस्कृतिकरूपमा केही निकट आइपुग्छन् । तर दास र सामन्ती व्यवस्थामा यो पृथकता ज्यादै बर्ता हुन्छ ।
साधारणतः उच्च वर्गको संस्कृतिलाई नै कुनै देश वा जाति वा कुनै कालको मुख्य संस्कृति मान्ने चलन थियो र हाम्रो देशमा अझ पनि यस्ता प्रोफेसर र पण्डित छन् । व्यवस्थामा उच्च वर्गको अधिकार हुने हुनाले उच्च वर्गको संस्कृतिलाई महत्व दिइन्छ, दलित र शोषित वर्गको संस्कृतिले गाउँ र यस्तै अन्य क्षेत्रमा अपरिष्कृत रूपमा ज्यूँ त्यूँ आफूलाई जोगाएर राखेको हुन्छ । आदिम वर्गविहीन व्यवस्थामा श्रमिकको मात्र संस्कृति थियो, त्यही एक वर्ग थियो । वैदिक संस्कृतिमा व्यक्त भावना सामूहिकता र आत्माभिमान तथा आत्मविश्वास र उल्लास–उमङ्गले भरिएको छ । दास युगमा स्वामीहरूको संस्कृति विकसित भयो, दास बनाइएका श्रमिकहरू स्वतन्त्रता, अवकाश, साधन र उल्लासको अभावले जड हुँदै गए । जनसङ्ख्याको नब्बे प्रतिशत दास थिए ।
उनको कला, साहित्य र संस्कृति खोइ ? ग्रीक, रोमन, चिनियाँ, मिश्री र हरप्पाको संस्कृति जसको आँसु, पसिना र रगतबाट बनाइयो तिनको जीवन र भावनाको विषयमा सत्तारुढ वर्गको पण्डितले केही लेखेन । अरस्तुजस्ता महापण्डितले दासत्वलाई स्वाभाविक र प्राकृतिक भने । सामन्तवादमा आएर दासहरू अर्धदास, कमैया, हरूवा वा मोही किसान भए । त्यस युगमा जनसङ्ख्या कम थियो । भूमिको उर्वरता ज्यादा, भोगविलासका साधन यति विभिन्न थिएनन् । अतः कृषकहरूको संस्कृति विकसित हुनथाल्यो ।
तर कालान्तरमा युद्ध, सामन्ती भोगविलास, धन सञ्जय, साम्राज्यहरूको निर्माण, मदोन्मत्तता, अत्याचार र उत्पीडन तथा गहिरो शोषण आदि बढ्दै गयो र सामन्ती संस्कृतिको तीव्र विकास भयो, जनसंस्कृति वा लोक संस्कृतिले अस्तित्व जोगाउन नै गाहारो पर्नथाल्यो । सामन्ती संस्कृतिको केन्द्र हुन्थ्यो दरबार, सामन्तहरूको बैठक, पुरोहितको बैठक, हाम्रा संस्कृत नाटक र काव्यहरूमा राजाहरूकै विषयवस्तु पाइन्छ, राजसी देवताहरूकै प्राधान्य छ । मूर्तिकला र चित्रकला, सङ्गीत र नृत्य, धर्म र नीति जहाँ पनि सामन्ती अर्थव्यवस्था प्रस्ट देखिन्छ ।
शोषित पीडित वर्गलाई सामन्तहरूको उच्चता स्वीकार गराइन्छ र राजसी संस्कृतिलाई उनीहरू श्रद्धा गर्न थाल्दछन् । युरोपको सामन्तवाद सात–आठ वर्षमात्र टिकेकोले त्यसले धेरै जरो गाड्न सकेन । तर भारत, नेपाल, चीन आदि देशमा तीन हजार वर्ष भइसक्यो सामन्तवाद सुरु भएको त्यसैले राष्ट्रिय जीवनको प्रत्येक क्षेत्रमा सामन्तवादी संस्कारहरूको बास छ । फलतः संस्कृतिबाजहरूलाई सामन्ती सभ्यता र संस्कृतिका मूल्यहरू नै एकमात्र सत्य, चिरन्तन, शाश्वत र स्वाभाविकजस्तो लाग्ने नै भयो ।
पुँजीवादले औद्योगिक केन्द्रहरू, नगरहरू र व्यापारिक विनिमय सम्बन्ध उत्पन्न गर्छ । मानिस र मानिसको बीच क्रूर अर्थसम्बन्धले राज्य गर्छ । जात, कुल र पेसाको महत्व खत्तम भएर पुँजीको सामाजिक श्रद्धा अत्यन्त बर्ता बढ्छ । कलाकार, वैज्ञानिक, दार्शनिक र विचारक सबै पुँजी–देवताको पूजा गर्छन् ।
सत्य बोल्ने, जनताको पक्ष लिने, अन्यायको विरोध गर्ने त्यागी विद्वान्हरूले पुँजीका दास विद्वान्हरूको प्रशासन यन्त्रको भावहीन बुद्धिका रवाफी नोकरशाहको प्रतिरोध, निन्दा, घृणा, लाञ्छना तथा कोप सहनुपर्छ । पुँजीवादी समाजले उत्पन्न गर्ने सबभन्दा विकसित संस्कृतिको रूप, बेलायत, जर्मनी, संयुक्त राज्य अमेरिका, क्यानडा, फ्रान्स आदिको उच्च वर्गीय तथा उच्च मध्यम वर्गीय संस्कृति हो ।
तर र्पुजीवादी व्यवस्था (अरु वर्ग व्यवस्था पनि) श्रमिक नभई चल्न सक्दैन । उत्पादनको जटिलता र प्रबन्धको अन्तरनिर्भरता ज्यादै बढ्छ र एक शिक्षित मध्यम वर्ग उत्पन्न हुन्छ । सहरी जीवनको प्रभावले सचेत हुँदै जाने श्रमिकको सङ्ख्या बढ्दै जान्छ । प्रकृति र समाजको द्वन्द्वात्मक गतिशीलतामा मध्यम अवस्था धेरै कालसम्म रहन पाउन्न । मध्यम वर्गको सानो भाग स्वयम् चलाकी, विद्या, पद, मौका, चाकडी, धम्की, हानथाप आदि गर्दै पुँजीपति बन्दै जान्छ र ठूलो भाग दरिद्र हुँदै श्रमिकपट्टि लाग्न विवश हुन्छ ।
दरिद्र भए पनि बौद्धिकरूपले सम्पन्न हुने हुनाले यस वर्गले श्रमिकको उत्थानमा मात्र आफ्नो उत्थान हुनसक्ने तथ्य बुझ्दै जान्छ । यथार्थवादी प्रगतिशील सभ्यता र संस्कृतिको आधार तयार गर्नथाल्छ । दलित वर्गको सांस्कृतिक परम्पराको खोज सुरु हुन्छ । लोकगीत, लोकनृत्य, लोककथामा अनुसन्धान हुन्छ, सामाजिक इतिहासको खोज हुन्छ, नयाँ सिद्धान्त निस्कन्छन्, नयाँ मानदण्ड उत्पन्न हुन्छन्, नयाँ मूल्याङ्कन पद्धति विकसित हुन्छन्, श्रमिक पनि अब विचारधारा, कार्यक्रम र राजनीतिक शक्तिको रूपमा विकसित हुनथाल्छ, आर्थिक आधार बदल्न लोकहितलाई मुख्य मान्ने व्यवस्था कायम गर्ने आन्दोलन बढ्दै जान्छ ।
विख्यात जर्मन श्रमिक नेतृ रोजा लक्जेमवर्गले लेखेकी छिन्– “मजदुर आन्दोलन भनेको केवल रोटी र नौनीको प्रश्न होइन यो त एक बृहत्तर सांस्कृतिक आन्दोलन पनि हो ।”
श्रमिकले आजसम्म विकसित सबै संस्कृति र सभ्यताका स्वस्थ र सुन्दर तत्वलाई आत्मसात् गर्छ, वर्गविहीन संस्कृतिको निर्माण गर्छ, श्रमिकका मूर्ति र प्रतिमाहरू खडा हुन्छन्, श्रमलाई गौरवान्वित गर्ने कला र साहित्यको विकास हुन्छ, प्रत्येक कुरा श्रमिककै पेवा हुन्छ– ज्ञान, विज्ञान, शिल्प, कला, साहित्य, सङ्गीत, दर्शन सबैमा श्रमिकले आफूलाई योग्य सिद्ध गरिदिन्छन् ।
विज्ञान र टेक्नोलोजी नृत्य र सङ्गीत, ज्ञान र दर्शन, मनोरञ्जन र खेलकुद, साहित्य र कला, सम्पन्नता र न्याय, सुख–सुविधा र शान्ति, पुस्तक र पत्रपत्रिकाको सङ्ख्या, देश विदेशको सांस्कृतिक परम्पराको अध्ययन, महान निर्माण कार्यहरू सबै कुरामा मात्रा र गुण दुवैमा सत्तारुढ श्रमिकहरूले बाजी मार्दै लान्छन् । अनि कसले श्रमिकलाई पाखे, गँवार, मूर्ख, जड, असभ्य, असंस्कृत, फोहोरी र अयोग्य भन्न सक्छ ? सृजनको अवरुद्ध शक्ति एकपल्ट मुक्त भएपछि कसरी प्रगति गर्दोरहेछ आँखा अगाडि छ ।
यही तथ्य बुझेकाले जवाहरलाल नेहरू, रवीन्द्रनाथ टैगोर, प्रेमचन्द, रोमा रोलाँ, महाकवि देवकोटा, बर्नार्ड शा र एच.जी वेल्स, पिकासो र पाल रोब्सन, उदयशङ्कर भट्ट र ओंकारनाथ ठाकुर, राहुल सांकृत्यायन र बडा पादरी डा. ह्यूलेट जोन्सन, महान् वैज्ञानिक प्रो. जुलियट क्युरी, जुलियन हक्सले र डा. हेल्डेन, महान् अर्थशास्त्री मिसेज रविन्सन, डा. ए.के. दास गुप्ता, डा. ज्ञानचन्द्र र प्रो. मोरिस डोब र अन्य हजारौँ मानवतावादी विद्वान्हरू श्रमिक वर्गतिर आकर्षित हुँदै गएका हुन् ।
जनसंस्कृतिको प्रभाव हाम्रो देशमा पनि पर्न थालेको छ । झ्याउरे आदि ग्रामीण संस्कृतिको वस्तुलाई बीस वर्ष अघिसम्म गाइने गीत, घँसिया गीत भनेर हेला गरिएको थियो, लोकनृत्यलाई तल्लो खालका जनताको नाच भनिन्थ्यो, पहाड पर्वतका जनताले बोल्ने ठेट नेपालीलाई पाखे भाषा मानिन्थ्यो ।
लोक कथामा हाम्रा शिक्षित मानिसलाई चाख थिएन । धार्मिक उपदेश भएका वा संस्कृत र अङ्ग्रेजीको पुरानो साहित्यको नक्कल गरिएको साहित्यलाई राष्ट्रिय साहित्य भनिन्थ्यो, हिन्दी र उर्दू भाषाका गीत गाइन्थ्यो । कुनै विद्वान्को मुखबाट पनि बेलायत वा प्राचीन भारतका लेखक, कलाकार, वैज्ञानिक र दार्शनिकको बाहेक अरु देशका विद्वान्को नामसम्म पनि निस्कन्नथ्यो ।
पाठकहरू स्वयम् हाम्रो वयोवृद्ध प्रोफेसर, पण्डित र विद्वान्मा कहलिएका मानिसहरूका कुरा सुन्नुहोला, उनको जीवन, व्यवहार र समस्याप्रतिको दृष्टिकोण हेर्नुहोला । हो, उदीयमान नवयुवक विद्वान्हरू भने वैज्ञानिक तर्कपट्टि नै झुक्दै गएका छन् र राष्ट्रिय प्रगतिको आधार यिनैलाई मात्र मान्न सकिन्छ ।
आज नेपाली मध्यम वर्ग जनसंस्कृति र अवसरवादी प्रवृत्तिहरूतिर गर्नसक्छ । हाम्रा समसामयिक सामन्त र व्यापारीको नेपाली संस्कृतिमा केही पनि देन छैन । हाम्रो आधुनिक सामन्तवादले भारतीय र बेलायती सामन्तवादी पुँजीवादी संस्कृतिका विकृत तत्वहरूको पैठारीमात्र गरेको छ ।
हो, अङ्ग्रेजी प्रभाव आउनुभन्दा पहिले नेपाली राजाहरूले संस्कृतिको निकै नै विकास गरे जसको अवशेष आजसम्म पनि विशेषरूपमा उपत्यकामा छँदैछन् । तर राणाहरूलाई आत्माभिमानले गर्दा सामन्त भन्न पनि गाहारो पर्छ, नेपाली संस्कृतिमा उनीहरूको देन नगन्य छ । उल्टो राष्ट्रिय संस्कृतिको सामन्तवादभित्र हुनसक्ने जति विकास पनि अवरुद्ध गरे ।
आजको सांस्कृतिक विकासको अवस्थालाई पनि पूर्णतः सन्तोषप्रद मान्न अप्ठ्यारै पर्छ । संस्कृतिको क्षेत्रमा नेपालले व्यापकरूपमा पाइला चलाउनु आवश्यक देखिन्छ । नेपाली भाषामा भएका पुस्तकको भण्डार एक बालकको पुस्तकालयलाई समेत अपर्याप्त देखिन्छ ।
हो, स्वस्थ प्रवृत्ति भने उत्पन्न भइसकेको छ जसमा जनताको उल्लास, उमङ्ग, आशा, निराशा, प्रणय र शोक तथा जीवनका समस्याहरू र प्रगतिशील उदात्त भावनाहरू अभिव्यक्त हुन थालेका छन् । हाम्रा उच्च शिक्षित विद्वान्हरूमध्ये अधिकांश जनजीवनको सम्पर्कबाट टाढा छन्, जीवित यथार्थ उनको हातबाट फुस्किँदै गएको छ । शिक्षा दिन पहिले आफै शिक्षित हुनुपर्छ । जनसम्पर्कबाट प्रशस्त शिक्षा प्राप्त हुनसक्छ ।
जीवनको पाठशालामा सत्यको जति प्रस्ट दर्शन हुन्छ त्यति विदेशी विश्वविद्यालयबाट हुन असम्भव छ । पैठारी गरेको संस्कृतिले हाम्रो माटोमा जग बसाउन सक्दैन । अनुभव, व्यवहार र चिन्तनको कमीलाई भद्रताको आवरणले कति दिन लुकाउन सकिन्छ ।
नेपाली संस्कृतिलाई हेला गर्ने बी.ए., एम.ए.हरूले, नेपाली पत्रपत्रिका हेर्नु वा नेपालीमा लेख्नु नै निम्नस्तर मान्ने सज्जनहरूले, बेलायत–अमेरिका र रुसको धाक छोड्ने, अनुकरण गर्ने (केवल फेसन, भाषा, खानपान र उच्छृङ्खलता मात्र, लोकतान्त्रिक मूल्यहरू र मानवतावादी भावना, उत्पादन शिल्प र राष्ट्रिय आत्माभिमान होइन) र प्राचीनको प्राचीनत्वमै डुबे
चिल्ला चाप्ला, गुलियो र खोक्रो सिद्धान्तसँग टक्कर लिँदै नेपालको बढ्दो लोकसंस्कृति र त्यसको सैद्धान्तिक आधारलाई पुष्टि दिने मानिसहरू बढ्दै गएका छन् र भविष्यको संस्कृति आजको लोक संस्कृतिको विकसित र परिष्कृत रूपद्वारा निर्मित हुनेछ ।
(नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको ‘गोविन्द लोहनीका दार्शनिक रचनाहरू’ पुस्तकमा समाहित ‘संस्कृतिको रूप, आधार र विकास’ शीर्षकको
रचनाको अंश प्रकाशित छ–सम्पादक)
अनलाइन मजदुरबाट