२ असार, एजेन्सी ।
भारतको बिहारमा एउटा यस्तो गाउँ छ, जहाँ हिन्दु र मुस्लिम सबैले एउटै थर राख्ने गर्छन् । विहारको नलान्दा जिल्लास्थित मोहिउद्दीनपुर गिलानी गाँउका मानिस तिनको नामपछाडि गिलानी लेख्ने गर्छन् । विशेषत मुस्लिम थरका रुपमा परिचित गिलानी थर गाउँका हिन्दूहरुले पनि राख्छन् ।
शताब्दीयौंदेखि चलिआएको प्रचलनलाई मानिसहरूले अझै पालाना गरिरहेका छन् । उनीहरु कुन गाउँका हुन् भन्ने उनीहरुको नामको पछाडिको थरबाटै थाहा हुन्छ । नालान्दाकै अन्य ६ गाँउका बासिन्दाले पनि तिनको गाउँको नाम थरका रुपमा प्रयोग गर्ने गर्छन् । जिल्लाका अस्थावानको अस्थानवी, हरगावानको हरगानवी, डुमरावानको डुमरानवी, उगावानको उगानवी, चकदीनको चकदीनवी र देसना गाउँका मानिसहरूले देसनवी थर प्रयोग गर्छन् ।
तर उल्लेखित ६ गाउँमा भने मुस्लिम धर्मावलम्बीले मात्र गाउँको नामलाई थर राख्ने परम्परा पालना गरिरहेका छन् । तर गिलानीमा भने हिन्दू र मुस्लिम दुवै समुदायका मानिसहरूले गाउँको नामलाई थरमा जोड्ने परम्परालाई पालना गरिरहेका छन् । गाउँका सबा आजम गिलानीका अनुसार यो परम्परा मुगलकालदेखि नै चल्दै आएको छ । गिलानी नाम इस्लाम धर्मका अनुयायी हजरत अब्दुल कादिर जिलानीको नामबाट राखिएको मानिन्छ । अरबी भाषामा ‘ग’ अक्षर नहुने भएकाले मानिसहरूले गिलानीलाई जिलानी उच्चारण गर्छन् ।
५००० को जनसंख्या भएको गाउँमा बस्छन् आधा दर्जन जाति समुदाय
गिलानी गाउँको कूल जनसंख्या ५ हजार रहेको छ । त्यहाँ मुस्लिम समुदायबाहेक हिन्दु धर्म मान्ने जातिहरु कोइरी, यादव, नाइ, पासवान, रविदास, कहार, कुम्हार पण्डित जातिको बसोबास छ । दुवै धर्मका मानिसहरूले आ–आफ्नो नामको पछाडि गिलानी उपनाम प्रयोग गर्छन् । बुढा पुरानादेखि नयाँ पुस्तासम्म यो परम्परालाई पछ्याइरहेका छन् ।
अझ पुराना पुस्ताका मानिसहरूले जातको उपाधि लगाएर पछाडि गिलानी शब्द प्रयोग गर्ने गरेकोमा युवा पुस्ताले जातको थर हटाई सिधै गिलानीको नाम राख्न थालेका छन् । जस्तो आजकल गाँउमा मानिसको नाउँ अनिल कुमार गिलानी, इमरान गिलानी, मसूद अजहर गिलानी, डोमन गिलानी, अभिषेक गिलानी हुन थालेका छ ।
शताब्दीऔं पुरानो गाउँ
महिउद्दीनपुर गिलानी शताब्दीयौं पुरानो गाउँ भएको गाउँका बासिन्दा बताउँछन् । यस गाउका मानिसहरु साहित्यकार, विद्वान, आईएएस, इन्जिनियर, डाक्टरहरू बनिसकेका छन् । धेरै विदेशमा छन् ।
यही गाँउमा जन्मिएका मौलाना मनाजिर अहसान गिलानीको किताब विश्व प्रसिद्ध छ । उनले लेखेका १४ पुस्तक विश्वप्रसिद्ध भएका छन् । यो गाउँ आँपका लागि पनि निकै चर्चित छ । गाउँमा ठूल–ठूला आँपका बगैंचा छन् जसले गर्दा छेउ छाउका गाँउका मानिस पनि यहाँ आँप किन्न आउँछन् ।
स्रोत : भाष्कर