नेकपा एमालेले कञ्चनको गाउपालिका अध्यक्ष पदका उमेद्वार सहित ५ वटै वडाका वडा अध्यक्षको उमेद्वारहरुको नाम टुंगो लगाएको छ। आगामी बैशाख ३० गते हुने आसन्न स्थानिय तहको चुनावका लागि नेकपा एमालेले गाउ पालिकाको अध्यक्षको उमेद्वारमा दीनानाथ आचार्य र उपाध्यक्ष पदमा ओमकली राहादीको नाम छनौट गरेको छ।
यसैगरी ५ वटै वडाका लागि वडा अध्यक्षको नाम पनि टुंगो लगाएर मनोनयनको अन्तिम तयारीमा नेकपा एमाले कञ्चन जुटेको छ। नेकपा एमाले, कञ्चनका अनुसार वडा नं. १ मा हालका वडा अध्यक्ष हरिनारायण थारु, वडा नं. २ मा शेर बहादुर थारु, वडा नं. ३ मा नगेन्द्र बहादुर लामिछानेले निरन्तरता पाएका छन भने वडा नं. ४ मा कार्यापालिका सदस्य गिता थापा र वडा नं. ५ मा कुल प्रसाद पौडेललाई नयाँ अनुहारको रुपमा अगाडी सारेको छ।
नेकपा एमालेबाट कञ्चनका लागि अगाडी सारिएका उमेद्वारहरुको संक्षिप्त परिचय
दिनानाथ आचार्य, अध्यक्षको उमेद्वार
नेकपा एमाले, कञ्चनका अध्यक्ष हुन दिनानाथ आचार्य। उनि लामो समय देखि बिभिन्न संघसंस्थामा स्वच्छ छवि भएका व्यक्तिका रुपमा कहलिदै आएका छन। सबैको सल्लाह र सुझाव तथा विवेक पुराएर निर्णय लिने र दिने क्षमता रहेका आचार्य हाल रुद्रपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका निरन्तर १० बर्ष देखि अध्यक्ष हुदै आएका छन। यस अघि रुद्रपुर सामुदायिक बन उपभोक्ता समूहको अध्यक्ष भइसकेर कुरा भन्दा काम धेरै गर्ने व्यक्तिका रुपमा छवि बनाएका आचार्यले पहिलो पटक कञ्चन गाउपालिका हाँक्ने अवसरको रुपमा नेकपा एमालेको तर्फबाट उमेद्वारको मनोनयन पाएका हुन। नेकपा एमालेका इमान्दार, कर्तब्यनिष्ठ तथा धैर्य नेताको रुपमा चिनिएका आचार्यलाई पार्टीको साझा उमेद्वारको रुपमा कञ्चन गाउपालिकाको अध्यक्ष पदमा जिताउन सबै नेकपा एमालेजनमा महत्वपुर्ण जिम्मेवारी आएको छ।
ओमकली राहादी,उपाध्यक्षको उमेद्वार
ओमकली राहादी नेकपा एमाले सम्बद्ध अखिल नेपाल महिला संघ, रुपन्देही क्षेत्र नं. ५(क)को क्षेत्रिय सदस्य हुन। बिभिन्न संघसंस्थामा रहेर सामाजिक क्षेत्रमा काम गर्दै आएका राहादीले यस अघिको चुनावमा पनि उपाध्यक्षको पदमा पार्टी भित्र दावी गरेका थिए । तर जो भएपनि आफ्नै पार्टीको उमेद्वार हुने भएकोले यस अघिको चुनावमा सहमतीका लागि पछाडी हटेका थिए उनि। हेपर, इन्द्रेणी ग्रामिण नेपाल, एल.एफ.पी, आद्रा नेपाल जस्ता संस्थाहरुमा आवद्ध भएर सहजकर्ताको रुपम कामगरी आम समाजसंग जोडिने अवसर पाएका राहादीसंग नेतृत्व क्षमता पनि उत्तिकै अव्वल छ। नेकपा एमालेमा रहेर पार्टीलाई संस्थागत र बिस्तारमा समेत अहम भुमिका निर्वाह गर्दै आएका राहादीलाई नेकपा एमालेले पार्टीको साझा उमेद्वारको रुपमा अगाडी सारेर उपाध्यक्ष पदमा जिताउन एकमन हुने बिश्वास गरिएको छ।
हरि नारायण थारु,वडा नं. १का वडा अध्यक्षको उमेद्वार
कञ्चन १ का वर्तमान वडा अध्यक्ष हुन हरिनाराण थारु। नेकपा एमालेबाट कञ्च्न १ का लागि पुन वडा अध्यक्षको उमेद्वारको मनोनयनको टिकट पाएपछि उमेद्वारी दर्ता गर्नु पुर्व वडा अध्यक्ष पदबाट राजिनामा दिने तयारीमा छन। वडा नं. १मा वडा अध्यक्ष भएर वडा हाँक्ने अवसर पाएका थारु राष्ट्रिय कलाकार पुन हुन। थारु भाषाको गितका लागि प्रखर गायकका रुपमा परिचित थारुसंग नेपाली भाषाका गितहरु पनि निकै सुरले गाउने क्षमता छ। वडा अध्यक्ष भएर जनताको काम गर्न सदैव तत्पर थारुले पुन उमेद्वारी पाउदा त्यहाँका स्थानिय आदीवासी थारु, आदीवासी जनजाती र रउमालेजनहरुमा थप उत्साह थपिएको छ। बि.सं. २०७४ को स्थानीय तहको चुनावमा जस्तै यस पटटको चुनावमा पनि एमालेजनहरुले अत्याधिक मतका साथ विजयी गराउन कम्मर कस्ने छन।
शेर बहादुर थारु, वडा नं. २ को वडा अध्यक्षका उमेद्वार
बि.सं. २०५४ सालको स्थानीय तहको चुनावमा तत्कालिन गजेडी गा.बि.स.को उपाध्यक्ष पदमा विजयी भई जनताको सेवा गर्दै खाएको थारु पनि कञ्चन २ का हालका वडा अध्यक्ष हुन। २०७९ सालको स्थानिय तहको चुनावमा पनि वडा नं. २ वाट पुन वडा अध्यक्षको पदको उमेद्वारका लागि आम मतदाताहरुले छनौट गरेपछि नेकपा एमालेलाई अन्य वडाहरुमा जस्तो उमेद्वार छान्न सकस खानु परेन । पार्टीमा अनुसाशन र कानुनी प्राब्धानलाई पालना गर्न र गराउनमा प्रतिबद्ध शेर बहादुर थारुले दोहोरिएर वडा अध्यक्ष हुन चाहेका थिएनन। तर वडा नं. २ का सबै टोलहरुमा आकांक्षी उमेद्वारले अभिमत सर्बेक्षण गर्दा शेर बहादुर थारुलाई नै दोहोर्याउन आग्रह गरे पछि मतदाताहरुको चाहना अनुरुप उनि वडा अध्यक्ष पदको उमेद्वारमा दोहोरिन परेको हो। यस पटकको चुनावमा पनि शेर बहादुर थारुलाई एकमनले जिताउन वडा नं. २ का एमालेका नेता कार्याकर्ता एक भई लाग्ने बिश्वास गरिएको छ।
नगेन्द्र बहादर लामिछाने,वडा नं. ३ को वडा अध्यक्षका उमेद्वार
नगेन्द्र बहादुर लामिछानेको मुख्य बिशेषता भनेकोे हरेक काममा सबैलाई बरोबर साथ दिने हो । उनले गर्ने व्यबहार सबैका लागि समान हुने गर्दछ। २०७४ सालको स्थानिय तहको चुनावमा वडा नं. ३ को वडा अध्यक्षमा अत्याधि मतका साथ विजयी भएका लामिछानेले पनि दोश्रो पटक वडा अध्यक्षको टिकट पाएका छन। हक्की स्वभाव भएका लामिछानेले गलत कुरालाई गलत र सही कुरालाई सही भन्ने प्रष्ट बिचार उनि भित्र भएको महत्वपुर्ण तागत हो । अन्य वडाहरुमा भन्दा अलि बढी देखिने काम गरेर सबैको वाह पाएका लामिछानेले हरेक निर्णय गर्दा सकेसम्म विबेक पुराएर गर्नु पर्छ भन्ने मान्यता राख्ने र आफुलाई ठिक लागेको कुरामा अन्तिम सम्म अडिग रहने बानीकै कारण पनि उनलाई आम मतदाताले यसपटकको चुनावमा पुन विजयी बनाउने छन।
गिता थापा,वडा नं. ४ को वडा अध्यक्षका उमेद्वार
बिहे भए देखि नै श्रीमानबाट अपहेलित महिला हुन गिता थापा। उनले बिहेको केही बर्ष बाहेक श्रीमानसंगको खुशी के हो बुझ्न पाएकी थिइनन। तर उनले निकै दुख र संघर्षका साथ आफ्नो परिवार र सन्तानहरुलाई हुर्काउदै आइन। परिवारकै खुशीका लागि बैदेशिक रोजगारमा पनि गइन। महिला स्वास्थ्य स्वयम सेविका भएर ग्रामिण स्वास्थ्यमा महत्वपुर्ण योगदान गर्दै आएका थापाले बि.सं.२०७४ को स्थानीय तहको चुनावमा नेकपा एमालेले वडा सदस्य पदमा गाडी सार्यो । वडा सदस्यमा पनि निर्वाचित भइन। त्यसपछि कार्यापालिका सदस्यमा पनि सहजै निर्वाचित भई वडाको समानुपातिक बिकासमा महत्वपुर्ण भुमिका खेल्ने मौका पाएकी थिइन। महिलाहरुले के गर्न सक्छ र भन्ने पुरुषवादी चिन्तन भएका पार्टी भित्रका साथीहरुबाछ हेयको भावनाले हेरिएका गिता थापा जस्ता थुप्रै महिलाहरुका लागि प्रेरणाको श्रोत बनेकी गिता थापाले यस पटकको चुनावमा पार्टी भित्रै संघर्ष गरेर ५ वडा मध्ये ४ नं. वडाले नेकपा एमालेको तर्फबाट एक जना महिला वडा अध्यक्षको उमेद्वार पाएको छ। महिला समावेसिताको वकालतमा कपाल फुलाएका एमाले भित्रका नेता कार्याकर्ताहरुका लागि गिता थापलाई चुनावमा जिताउन ठूलो जिम्मेवारी थपिएको छ। अरुवेला आपसी झगडा गरेपनि प्रतिपक्षीसंग प्रतिस्पर्धा गर्ने बेला नेकपा एमालेमा रहेको एक ढिक्का भएर लाग्ने बिशेषता यो स्थानिय तहको चुनावमा पनि लागु हुने छ।
कुल प्रसाद पौडेल,वडा नं. ५ को वडा अध्यक्षका उमेद्वार
तत्कालिन रुद्रपुर गा.बि.स. रहेको समयमा पार्टीको जिवन्तता कायम गर्न १० बर्षे माओवादी सशस्त्र द्वण्डको समयमा पार्टी सचिव भएर काम गरेका थिए कुल प्रसादले । पार्टीभित्र उनले गरेको कामका आधारमा यस पटक उनलाई नेकपा एमाले टिकट दिएको हुन सक्ने पुर्वानुमान गर्न सकिन्छ। यस अघिको स्थानिय तहको चुनावमा एमालेलाई जिताउन पार्टीले दिएको जिम्मेवारी बाहेक थप क्रियाशिलता देखाएका पौडेलले पार्टी भित्र भएको लामो रस्साकस्सीका बिच टिकट पाएका हुन। वडा नं. ५ नेकपा एमालेको पकड क्षेत्र भएका कारण यस पटक पनि वडा अध्यक्षमा नेकपा एमालेको जित सनिश्चित देखिएको छ। यस वडामा पनि महिला वडा अध्यक्षको पदका लागि नेकपा एमाले,कञ्चनका ५ का वडा कमिटीका अध्यक्ष उमा ढकालले पनि अन्तिम सम्म संघर्ष गरेका थिए। यस पटक पार्टीमा लामो समयसम्म योगदान गरेको आधारमा उकुलप्रसाद पौडेललाई वडा अध्यक्षको उमेद्वारको टिकट पाएका हुन।तत्कालिन रुद्रपुर गा.बि.स. हुदा शान्ती समिति तथा मेलमिलाप केन्द्रको समेत संयोजक भएर काम गरिसकेका पौडेलले निर्णायक क्षमता पनि निकै सन्तुलन रहेको आम समुदायको बुझाइ रहदै आएको छ।