९ बैसाख, भैरहवा
गिद्ध संरक्षण सम्बन्धी एक कार्यक्रममा सहभागीहरुले गिद्ध संरक्षणमा सबै प्रतिबद्ध हुने कुरामा जोड दिएका छन। राष्ट्रिय वन्यजन्तु सप्ताहको अवसरमा भैरहवामा आयोजित भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भैरहवा रुपन्देही र नेपाल पंन्छी संरक्षण संघको संयुक्त आयोजनामा गिद्ध संरक्षण तथा अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले गिद्ध संरक्षणमा जोड दिएका हुन।
कार्यक्रममा गिद्धको परिचय, यसको महत्व, गिद्ध ह्रासको कारण, गिद्ध सुरक्षित क्षेत्र, गिद्ध रिलिज कार्यक्रम र नेपालमा गिद्ध संरक्षणमा गरिएका प्रयासहरुको बारेमा अन्तरक्रिया सहित गिद्ध संरक्षण बारे बृतचित्र प्रदर्शन गरिएको थियो । कार्यक्रममा उपस्थित भेटेरीनरी प्राविधिकहरुले रुपन्देही जिल्लामा गिद्ध संरक्षणमा जोड दिने प्रतिबद्धता समेत व्यक्त गरेको छन् । वि.स. २०४७ साल भन्दा अघि नेपामा भण्डै पाँच लाखको हाराहारीमा रहेको गिद्ध हाल आएर ९५ प्रतिशतले घटेर केही हजारको संख्यामा रहेको पाइृएको छ । कार्यक्रमका सहभागिहरुले समयमै गिद्ध संरक्षणमा पहल गरिएन भने डाइनोसर जस्तै गिद्ध पनि लोपहुने खतरा रहेको चिन्ता ब्यक्त गरेका थिए ।
नेपाल, भारत र पाकिस्तानमा गरिएको विस्तृत अनुसन्धानबाट गिद्धहरुको संख्यामा ह्रास आउनुको मुख्य कारण नन्–स्टेरोईडल एन्टि–इन्फ्लेमेटरी औषधि (Non-Steroidal Anti-inflammatory drug-NSAID) डाईक्लोफेनेक (Diclofenac) भएको सिद्ध भैसकेको छ । धेरै प्रकारका दुखाई र सुन्निने अवस्थामा औषधिको रुपमा मानिस र पशु दुवैमा डाईक्लोफेनेक प्रयोग गरिन्छ । त्यसरी डाईक्लोफेनेक प्रयोग गरी उपचार गरिएका गाईबस्तुहरुको सिनो गिद्धहरुले खाँदा डाईक्लोफेनेकको असरले गर्दा मृगौलाले काम नगर्ने भई मर्दछन् । पछिल्लो अनुसन्धानहरुले फ्लुनिक्सीन (Flunixin), कारप्रोफेन (Carprofen), निमुसुलाइड, (Nimesulide), एसिक्लोफनेक (Aceclofenac) किटोप्रोफेन (Ketoprofen) आदी औषधीहरु गिद्ध लागि विषाक्तता (Toxicity) रहेको छ । मेलोक्सीक्याम (Meloxicam) र पछिल्लो समयमा उत्पादन गरीएको टोल्फेनामिक एसिड (Tolfenamic Acid) गिद्धहरुका लागि सुरक्षित मानिएको छ । गिद्धलाई हानी गर्ने उल्लेखित औषधीहरु चौपायाहरुमा प्रयोग नगर्ने, मानिसको डाइक्लोफनेक चौपायाहरुमा प्रयोग नगर्ने र गिद्धलाई हानी नगर्ने र सुरक्षित मानिएको औषधी मेलोक्सीक्या (Meloxicam) र टोल्फेनामिक एसिड (Tolfenamic Acid) चौपायाहरुमा प्रयोग गर्ने प्रतिबद्धता समेत कार्यक्रमका सहभागिहरुले गरेका छन ।
गिद्ध शिकारी चरा समूह अन्तरगत पर्ने मांसहारी पन्छी हो । प्रकृतिका कूचीकारका नामले चिनिने गिद्धहरुले वातावारण सफा गर्ने, विभिन्न महामारी रोग लाग्नबाट बचाँउने, पारिस्थितिकिय प्रणाली र खाद्यश्रृखला कायम गर्न अहम भूमिका खेल्ले, धार्मिक तथा सांस्कृति महत्व बचाई राख्ने आदी जस्ता कार्य गरी मानव जातिलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सेवा दिइरहेको छन् । हाल सम्म विश्वमा २३ प्रजातिका गिद्धहरु पाईन्छन् । दक्षिण एशियमा पाइने नौ प्रजातिका गिद्धहरु नेपालमा समेत पाईन्छन् । नौ प्रजाति गिद्ध मध्ये ६ प्रजातिका गिद्धहरु नेपालकै रैथाने भएको र उनिहरुले नेपालमै गुँड बनाई बच्चा कोरल्छन् भने बाँकी तीन प्रजाति हिउँदे आगन्तुक र बटुवाको रुपमा आउने गर्छन् । नौ प्रजातिका गिद्धहरु मध्ये डंगर गिद्ध, सानो खैरो गिद्ध, लामो ठुँडे गिद्ध, सुन गिद्ध अति संकटापन्न अवस्थामा, गोब्रे गिद्ध संकटापन्न र बाँकी अन्य गिद्ध सकटको नजिक पुगेको अवस्थामा छन् ।
विभिन्न प्रजातिका गिद्धहरुको औसत हेर्दा विश्वबाट ९५ प्रतिशत भन्दा बढीले गिद्ध लोप भईसकेका छन् । यही विकराल अवस्थालाई मध्यनजर गरी नेपाल सरकार, औषधी ब्यवस्था विभागले डाईक्लोफेनेक औषधीलाई वि.स. २०६३ साल जेष्ठ २३ गते देखि पशु उपचारका लागि उत्पादन, प्रयोग र बिक्री वितरणमा कानूनी कारवाहीको प्रावधान सहित प्रतिबन्ध लगाएको छ ।
बजारमा पशु उपचारमा प्रयोग गरिने डाईक्लोफेनक नपाइएको, जंगलमा गिद्धको गुँड र गिद्धको संख्या बढेको र वातावरणमा गिद्धहरुको बाँच्ने औसत दर राम्रो भएकोले विश्वमै नेपालको लुम्बिनी तथा गण्डकी क्षेत्रलाई गिद्ध सुरक्षित क्षेत्र घोषणा गरिएको जानकारी नेपाल पंन्छी संरक्षण संघका गिद्ध संरक्षण अधिकृत श्री अंकित विलाश जोशीले जानकारी दिनुभएको छ । विभिन्न चरण गरी मान्छेको निगरानी क्यापटीभ हुर्काएका ४९ वटाडंगर गिद्ध र ५० वटा जंगली डंगर गिद्धलाई स्याटेलाईट ट्याग गरी प्राकृतिक बाँस्थानमा पूनर्बास गराएको गिद्ध संरक्षण अधिकृत जोशीले जानकारी दिनुभयो । जोशीका अनुसार ती गिद्धहरुको अनुगमन गर्दा २० जिल्लाको करीव ५० हजार बर्गकिलोटिर क्षेत्रफल विचरण गरेको पाइएको छ । स्याटल्याइट ट्याग गरी प्राकृतिक बासस्थानमा छोडिएका गिद्धहरुले गुँड बनाई अण्डा केरली चल्ल समेत प्रजनन गरेको गिद्ध संरक्षण अधिकृत जोशीले बताउनु भयो।
विश्वबाटै गिद्धहरु लोपोन्मुख भएको दयनीय अवस्थालाई उच्च महत्व दिई नेपाल सरकारले गिद्ध संरक्षण सम्वन्धि राष्ट्रिय कार्ययोजना सन् २००९—२०१३ तथा २०१५–२०१९ लागु भई यसको सफल कार्यान्वय पश्चात संसोधित नयाँ कार्ययोजना लागु गर्ने तयारीमा रहेको छ । नेपाल सरकारको यो कार्ययोजनालाई सफल र उपलब्धिमूलक बनाउन नेपालका विभिन्न जिल्ल्लाहरुमा राष्ट्रिय, अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको पहल र प्रयासमा गिद्ध संरक्षण सम्वन्धि प्रभावकारी कार्यक्रमहरु संचालन भैरहेको छ ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भैरहवाका कार्यलय प्रमुख श्री दिपक भूसालको सभापतित्व तथा नेपाल पंन्छी संरक्षण संघका परियोजना अभिकृत श्री भूपाल नेपाललीको सहजिकरणमा सम्पन्न कार्यक्रमको संचालन पशु सेवा विज्ञ केन्द्रका प्राविधिक टुकराज न्यौपानेले गर्नु भएको थियो । बुधवार सम्पन्न कार्यक्रममा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्राविधिहरु, कर्मचारीहरु, पशु क्वारेनटाइन भैरहवा कार्यालय कर्मचारी तथा ओजिटिमा अध्ययनरत विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो ।