#जगिलाल थापा
आगामी बैसाख ३० गते स्थानिय तहको चुनाव आउन धेरै समय छैन। तर राजनैतिक दलहरुले स्थानयि तहको नेतृत्व गर्ने व्यक्तीको नाम टुङ्गो लगाउन सकेका छैनन। दल भित्र आकांक्षी उमेद्वारहरुले आफुलाई सर्बसम्मत उमेद्वार बनाउनु पर्ने दवाबका कारण उमेद्वार छनौट गर्न सकिरहेका छैनन। यसैबिचमा रुपन्देही जिल्लाको १६ स्थानिय तह मध्ये गैडहवामा पनि सांगठनिक रुपमा ठूला दल भनिएकाहरुबाट प्रतिस्पधी उमेद्वार छनौट हुन सकेको छैन।
गैडहवा गाउपालिकामा नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी र पछिल्लो समय तराईमा उदय भएको सिके राउट नेतृत्वको जनमत पार्टी सतहमा देखिएका छन। ती दलहरुभित्र गैडहवा गाउपालिकालाई नेतृत्व गर्ने आकांक्षा सहित उमेद्वारी दावी गर्दै आएका छन।
नेपाली कांग्रेसबाट सो पार्टीका क्षत्रिय सभापति वसिउल्लाह मुसलमान र सत्य नारायण पथिक गरी २ जनाको उमेद्वारी परेको छ । यस्तै नेकपा एमालेबाट सुरेन्द्र प्रसाद पौडेल, दुर्गा प्रसाद आचार्य, पशुपति यादव, सन्दिप गुप्ता, टिकाराम रिजाल लगायतले आकांक्षी उमेद्वारको रुपमा दावी गर्दै आएका छन।
यसैगरी जनता समाजवादी पार्टीको तर्फबाट गाउपालिका अध्यक्ष बच्चुलाल केवट र तुलसी राम यादवले उमेद्वारीको दावी गरेका छन भने लोसपा र जनमत पार्टीबाट भने यस अघिनै उमेद्वारको टुङ्गो लागिसकेको छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट जितेन्द्र पासवान र जनमत पार्टीबाट रामदेव यादवले अवको गैडहवालाई नेतृत्व गर्ने हिम्मतका साथ उमेद्वारी दिएका छन।
आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानिय तहको चुनावमा गैडहवा गाउपालिकाको अध्यक्ष बनेर गैडहवालाई नेतृत्व गर्ने आकांक्षा सहित बिभिन्न दलहरुबाट उमेद्वारी दावी गरेका आकांक्षी उमेद्वारहरुको संक्षिप्त चर्चा गर्ने प्रयास गरिएको छ ।
वसिउल्लाह मुसलमान, नेपाली कांग्रेस
विगत ३० बर्ष देखि लगातार नेपाली कांग्रेस, रुपन्देही क्षेत्र नं. ५को क्षेत्रिय सभापतिको जिम्मेवारी सम्माल्दै आएका मुसलमान नेपाली कांग्रेसका कर्मठ कार्यकर्ता हुन। उनका समकक्षीहरुले समय अनुकुल दल अदल बदल गर्दै राज्यको पहुंचसम्म पुगे तर उनि पार्टीले दिएको जिम्मेवारीलाई निरन्तर रुपमा बहन गर्दै नेपाली कांग्रेसलाई जिवन्त बनाउदै आए । गत २०७४ को स्थानिय तहको चुनावममा नेपाली कांग्रेसको तर्फबाट गैडहवाको अध्यक्षमा उमेद्वारी दिएका वसिउल्लाह मुसलमान तत्कालिन संघिय समाजवादी पार्टीका उमेद्वार बच्चुलाल केवटसंग भारी मतले पराजित भएका थिए । २०७४ को चुनावमा केवटसंग करिब १ हजार ५ सय मत बढीले पराजित मुसलमानले यस पटक त्यो हारलाई जितमा परिणत गरी गाउपालिका हाँक्ने जोडवलका साथ नेपाली कांग्रेसको तर्फबाट बलियो उमेद्वारको रुपमा प्रस्तुत भएका छन। गैडहवामा नेपाली कांग्रेसको संगठन बलियो र चुस्त भएका कारण र मधेसी दलहरुको पनि आ–आफ्नै उमेद्वार भएका कारण पनि यस पटकको चुनावमा वसिउल्लाह मुसलमानले बाजी मार्ने बलियो सम्भावना रहेको छ।
सुरेन्द्र प्रसाद पौडेल, नेकपा एमाले
गत स्थानिय तहको चुनावमा नेकपा एमालेको तर्फबाट प्रत्यासी उमेद्वारको रुपमा दर्ज भएको सुरेन्द्र पौडेल सम्भावित युवा र गैडहवाको समानुपातिक बिकासका लागि आशा लाग्दो व्यक्ति हुन। बि.सं. २०७४ को स्थानिय तहको चुनावमा तराईवासी र पहाडीको भावनाले दुई ध्रुर्वमा रहेका समुदायका बिच नेकपा एमालेले पौडेललाई अगाडी सारेर पार्टीको उपस्थितीलाई बलियो सावित गराउन सफल भएको थियो ।
बिशेषगरी मधेसी र पहाडे भावनाले समुदायलाई बिक्षिप्त बनाएको समयमा आफुलाई पार्टीको कर्मठ सिपाहीको रुपमा उभ्याएर पार्टीको इज्जतलाई माथी उठाएका सुरेन्द्र पौडेलले यस पटकको चुनावमा बलियो उमेद्वारको रुपमा प्रस्तुत गरेका छन। अहिले नेकपा एमालेको राम्रो संगठन बनेको छ। देशैभरी एमाले प्रतिको जनलहर बढ्दै गएको बेला गैडहवामा पनि पार्टी संगठन राम्रो भएको बेला एक पटक मलाई टिकट दिएर अवसर दिनु पर्ने दावी सहित पार्टीमा उमेद्वारी दिएका हुन। मधेसी समुदायमा पनि उनको राम्रो छवि भएका कारणले पनि यस पटकको चुनावमा पौडेलले चुनाव जित्ने सम्भावना बलियो रहेको छ।
बच्चुलाल केवट, जनता समाजवादी पार्टी
गत २०७४ को स्थानिय तहको चुनावमा संघिय समाजवादी फोरमको तर्फबाट गैडहवा गाउपालिकाको अध्यक्षमा निर्वाचित बच्चुलाल केवटले यस पटकको चुनावमा पनि पुन आकांक्षी उमेद्वारको रुपमा पार्टीमा दर्ता गरेका छन। गैडहवा गाउपालिकाको अध्यक्ष भएर गैडहवाको योजनाबद्ध बिकासमा आफुलाई अव्वल साबित गरेका केवट अन्य दलका उमेद्वारहरुका लागि पनि दावेदार उमेद्वार हुन। उनले सबै क्षेत्रमा बिकासका योजनाहरु पुराएर आफ्नो पकड बलियो बनाएका केवटले यस पटकको चुनाव पनि जित्ने पक्का देखिन्छ। तर पार्टी बिभाजन भई दुई दल बनेका कारण उनलाई आउने मत पनि बिभाजन हुने सम्भावना पनि उत्तिकै बलियो छ।
यस पटक सिके राउट नेतृत्वको जनमत पार्टी पनि चुनावी मैदानमा भएका कारण उनका केही मतदाताहरुले जनमतको पक्षमा पनि मत दिने सम्भावना रहेको छ। २०७४ को चुनावमा उनले पाएको मत लोसपा र जनमतका उमेद्वारहरुलाई समेत जाने सम्भावना रहेकोले यस पटक बच्चुलाल केवटलाई चुनाव जित्न निकै मेहनत गर्नु पर्ने देखिन्छ।
रामदेव यादव, जनमत पार्टी
ज्नमत शिक्षक संघका केन्द्रिय सदस्य समेत रहेका रामदेव यादव जनमत पार्टीका आशा लाग्दा नेता हुन। पछिल्लो समय जनमत पार्टी तर्फ आम मतदाताको जनलहरका कारण यस पटकको चुनाव जनमत पार्टीको पक्षमा जाने सम्भावनलाई पनि नकार्न सकिदैन। रामदेव यादवले गैडहवामा आफ्नो उपस्थितीलाई मधेसी समुदायहरुका बिच दरिलो रुपमा प्रस्तुत गरेका छन।
गैडहवा गाउापलिकाका जनप्रतिनीधिहरुबाट भएको भ्रष्टचार, बेरुजु, असिमति सुविधाभोग, कमिसनका बिरुद्ध र किसानहरुको धानवाली क्षेतीको माग गर्दै गरेको आन्दोलन र बिरोध कार्यक्रमबाट पनि आम मतदाता जनमत तर्फ आकर्षित भएका छन। यसबाट पनि रामदेव यादव उत्साहित भएर आगामी बैशाख ३० गते हुने स्थानिय तहको चुनावमा गैडहवाको नेतृत्व गर्ने आकांक्षा सहित अन्य प्रतिक्षी दलहरुका उमेद्वारका बिरुद्ध बलियो उमेद्वारको रुपमा प्रस्तुत भएका छन।
जितेन्द्र पासवान, लोकतान्त्रिक समाजवादी पार्टी
जरैबाट भ्रष्टचारको उन्मुलन गरौं भन्दै लोकतान्त्रिक समाजवादी पार्टी,गैडहवाको तर्फबाट अध्यक्ष पदको उमेद्वारी दर्ज गरेका जितेन्द्र पासवान लोसपाका युवा र जसझारु कार्यकर्ता हुन। युवाहरुको नेतृत्वलाई आम मतदाताहरुको चाहना अनुरुप लोसपाले युवा उमेद्वारको रुपमा जितेन्द्र पासवानलाई अगाडी सारेको हो । मधेसमा बैकल्पिक राजनैतिक शक्तिको रुपमा स्थापित लोसपा पार्टी बिभाजन पछि गठन भएको दल हो । यस पार्टीमा युवाहरुको बढी जनलहर भएको र निस्ठाको राजनितीलाई बिश्वास गर्दै आएका पार्टीका केन्द्रिय अध्यक्ष महन्थ ठाकुर प्रतिको सदभावका कारण गैडहवामा लोसपाले आगामी चुनावमा निर्णायक मतको अंश बोकेको छ। युवाहरुको मतलाई केन्द्रिकृत गर्न सके यस पटकको चुनावी नतिजा लोसपाको पक्षमा आउने प्रवल सम्भावना रहेको छ।
दुर्गा प्रसाद आचार्य, नेकपा एमाले
नेकपा एमाले, गैडहवा गाउ कमिटि नेतृत्व गरिसकेका आचार्यले पनि गैडहवा गाउपालिकाको अध्यक्ष बन्ने आकांक्षा सहित पार्टीमा उमेद्वारी दिएका छन। गैडहवामा नेकपा एमालेमय बनाउन महत्वपुर्ण भुमिकालाई आधार बनाई आचार्यले उमेद्वारी दावी गरेका हुन। गैडहवामा नेकपा एमालेबाट राजनीति गर्नु आगोमा हात हाल्नु जस्तै भएको समयमा नेकपा एमालेको गाउ कमिटी अध्यक्ष भएर एमालेमय बनाएका आचार्यले यस पटकको चुनावमा कामको मुल्यांकन गरेर आफुलाई सर्बसम्मत उमेद्वार बनाउन पार्टीमा आग्रह गर्दै आएका छन।
सत्यनारायण पथिक, नेपाली कांग्रेस
तत्कालिन सुर्यपुरा गा.बि.स.का अध्यक्ष समेत रहेका सत्य नारायण पथिकले पनि आफु जनप्रतिनीधि भएर अनुभव संगालिसकेको र त्यो अनुभवलाई अध्यक्ष भएर गैडहवा गाउपालिकाको बिकासमा प्रयोग गर्ने चाहना सहित नेपाली कांग्रेसको तर्फबाट अध्यक्षको बलियो उमेद्वारको रुपमा प्रस्तुत गरेका छन। मधेसमा नेपाली कांग्रेसलाई जिवन्त बनाउन अतुलनिय योगदान गरेका पथिक नेपाली कांग्रेस गैडहवाका गाउ सभापति हुन। नेपाली कांग्रेसको सर्बसम्मत गाउ सभापति भएका पथिकले गैडहवाको अध्यक्ष पदको उमेद्वारमा पनि सर्बसम्मत होस भन्ने पार्टी भित्र लविङ्ग गर्दै आएका छन।
सन्दिप गुप्ता, नेकपा एमाले
राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईको स्वकिय सचिव रहेका बिधार्थी नेता सन्दिप गुप्ताले पनि नेकपा एमालेको तर्फबाट गाउपालिका अध्यक्ष पदको उमेद्वारी दाबि गर्दै आएका छन। खासगरी मधेसमा नेकपा एमालेको संगठन बिस्तारमा महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएका गुप्ता लुम्बिनी बिकास मञ्चका अध्यक्ष हुन। गैडहवामा नेकपा एमालेको तर्फबाट जुझारु युवाको रुपमा सक्रिय गुप्ताले लुम्बिनी क्षेत्रमा नेकपा एमालेको उपस्थितीलाई अझ बलियो बनाउन स्थानिय स्तरमै सक्रिय हुदै आएका छन। गैडहवा मधेसी, मुस्लिम तथा पिछडा वर्गहरुको जनसख्या भएको र उनिहरुको नेतृत्व मधेसी समुदायबाट हुनु न्यायसंगत हुने भन्दै गुप्ताले बलियो उमेद्वारीको दावी गरेका हुन।
पशुपती यादव, नेकपा एमाले
गएको स्थानिय तहको चुनावमा स्वतन्त्र रुपमा उमेद्वार दिएर चर्चामा आएका यादव तत्कालिन जनता समाजवादी पार्टीका स्थानिय तहका नेता हुन। जसपाले २०७४ सालको स्थानिय तहको चुनाव बहिस्कार गरेपछि पशुपती यादवले स्वतन्त्र हसियतले उमेद्वार भएपनि उक्त चुनावमा १ हजार २ सय भन्दा बढी मत ल्याएका थिए । पछि यादव नेकपा एमालेमा प्रबेश गरेका थिए । नेकपा एमाले भित्र राम्रो पकड भएका यादवले यस पटक आफुले टिकट पाए गैडहवामा एमालेको जित सुनिश्चित भएको दावी गर्दै आएका छन। स्वतन्त्र हसियतबाट चुनाव लड्दा त्यति धेरै मत आएको थियो भने त अहिले एमालेको संगठन रा्रम्रो भएका कारण पनि यसपाली नेकपा एमाले जित सुनिश्चित भएको यादवको दावी छ। यसैलाई मध्यनजर गर्दै यस पटकको चुनावमा पार्टीबाट सर्बसम्मत टिकट उपलब्ध गराउन पार्टीको हरेक तहका पदाधिकारीहरु तथा सदस्याहरुलाई लविङ्ग गर्दै आएका छन।
२०७९को स्थानिय तहको चुनवाका लागि ३० हजार ३ सय ५१ मतदाता रहेका छन।