१ असार,बुटवल।प्रकाश खनाल
प्रदेश ५ सरकारले आगामी आर्थिक बर्ष २०७७/०७८ का लागि रू. ३६ अर्ब ३५ करोड २५ लाख रूपयाँकाे वजेट सार्वजनिक गरेको छ ।साेमबार बसेकाे प्रदेश सभाको छैठौं अधिवेशनकाे १० औं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयकाे समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पाेखरेलले वजेट सार्वजनिक गरेका हुन् ।
कूल विनियोजनमध्ये चालुतर्फ रू. १२ अर्ब ५९ करोड २४ लाख ९८ हजार अर्थात् ३४.६४ प्रतिशत र पूँजीगततर्फ रू. १८ अर्ब ६१ करोड ९९ लाख ५२ हजार अर्थात् ५१.२२ प्रतिशत विनियोजन गरिएको छ ।
वजेटमा स्थानीय तह वित्तीय हस्तान्तरणका लागि रू. ५ अर्ब १४ करोड ५० हजार अर्थात कूल विनियोजित बजेटको १४.१४ प्रतिशत विनियोजन गरिएकाे छ ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजश्वबाट रू. २ अर्ब ३ करोड ७७ लाख, राजश्व बाँडफाँटबाट रू. ११ अर्ब ३४ करोड २ लाख, रोयल्टी बाँडफाँटबाट रू. ८८ करोड ५६ लाख, वित्तीय समानीकरण अनुदानबाट रू. ७ अर्ब ६३ करोड ७१ लाख, सशर्त अनुदानबाट रू. ५ अर्ब ८१ करोड ३६ लाख, समपूरक अनुदानबाट रू. ४८ करोड ३३ लाख, विशेष अनुदानबाट रू. २१ करोड र चालु आर्थिक वर्षको वचत रकमबाट रू. ७ अर्ब ९४ करोड ५० लाख रहने अनुमान गरिएकाे छ ।प्रदेश सरकारले आगामी आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धि हासिल हुने अनुमान गरेको छ ।
स्वास्थ्य क्षेत्रको स्तरोन्नति र बिस्तार गरी स्वास्थ्य सेवामा आम नागरिकको पहुँच वृद्धि गर्ने,शिक्षालगायत सामाजिक क्षेत्रको बिस्तार र विकास गर्ने,कृषि क्षेत्रमा उत्पादनका साधनमा सरल पहुँच र नविनतम प्रविधिको उपयोग बढाउँदै युवा पुस्तालाई आकर्षित गर्ने र कृषिलाई आत्मनिर्भर अर्थतन्त्रको आधारशीलाको रूपमा विकास गर्ने लगायतका कार्यलाई बजेटमा प्राथमिकता दिइएको वजेट वक्तव्यमा जनाइएको छ ।
विदेशी श्रमलाई विस्थापन गर्ने र वैदेशिक रोजगारीबाट फर्केका नागरिकलाई प्रदेशभित्रै रोजगारीको अवसर सिर्जना गर्ने निति अवलम्बन गरिने मुख्यमन्त्री पाेखरेलले बताए ।
गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवामा आम नागरिकको पहुँच अभिवृद्धि गर्न जिल्लास्थित अस्पतालहरूलाई ५० शैयाको अस्पतालमा स्नरोन्नति गरी सेवा बिस्तार गर्ने नीतिअनुरूप स्तरोन्नति हुन बाँकी रहेका रूकुम पूर्व अस्पताल, रोल्पा अस्पताल, कपिलवस्तु अस्पताल, अर्घाखाँची अस्पताल, पाल्पा अस्पताल र भीम अस्पताललाई ५० शैयामा स्तरोन्नति गरी सेवा बिस्तार गर्न रू. १५ करोड विनियोजन गरिएको छ ।
बिजौरीको प्रादेशिक आयुर्वेद चिकित्सालय र बुटवलको लुम्बिनी आयुर्वेद चिकित्सालयलाई प्रदेशको लागि आवश्यक आयुर्वेदिक औषधी उत्पादन केन्द्रको रुपमा विकास गरी प्रदेशलाई आयुर्वेदिक औषधीमा आत्मनिर्भर बनाउन आवश्यक बजेट विनियोजन गरेको जनाइएको छ ।
स्वास्थ्य उपकरणहरूको मर्मत संभार गर्ने जनशक्तिको उत्पादन गर्नका लागि रुपन्देहीको शिक्षा तालिम केन्द्रको परिसरमा बायोमेडिकल उपकरण प्राविधिक विद्यालय स्थापना गरी बायोमेडिकल इन्जिनियरिङमा डिप्लोमा कोर्स सञ्चालनका लागि रू. १ करोड ५० लाख विनियोजन भएको छ ।
पूर्व-पश्चिम तथा उत्तर-दक्षिण रोड कोरिडोरकेन्द्रित व्यावसायिक कृषि तथा पशुपंक्षी उत्पादन कार्यलाई प्रोत्साहन गरी दुध, मासु, तरकारी र फलफूलमा आत्मनिर्भर हुने लक्ष्य अनुसार १२ जिल्लाका २४ वटा रोड कोरिडोर विशेष कार्यक्रमका लागि रू. १२ करोड विनियोजन गरेको वजेट वक्तव्यमा उल्लेख छ ।
प्रस्तुत बजेटले स्वास्थ्य क्षेत्रका पूर्वाधार, जनशक्ति र क्षमता बिस्तार गरी स्वास्थ्य सेवामा आम जनताको पहुँच बढाउनुका साथै कोभिड -१९ बाट सिर्जित आर्थिक मन्दीबाट शिथिल बनेको प्रदेशको अर्थतन्त्रलाई चलायमान र गतिशील बनाउँदै उच्च दरको आर्थिक वृद्धि हासिल गर्ने लगायतका उद्देश्यहरू लिएको जनाइएको छ
चालू आर्थिक वर्ष नेपाल सरकारबाट सशर्त आयोजना तथा कार्यक्रम कार्यान्वयनको लागि रू. ७ अर्ब ७७ करोड ४ लाख, समपुरक अनुदानतर्फ रू. ५५ करोड १३ लाख र विशेष अनुदानतर्फ रू. ५७ करोड ५२ लाख प्राप्त भएको र प्रदेश सरकारको विशेष पहलमा सशर्ततर्फ थप निकासाको रूपमा रू. १ अर्ब ३० करोड प्राप्त भएको मा खर्च नभएको सशर्त, समपुरक र विशेष अनुदान रकम रू. ३ अर्ब ७१ करोड ८४ लाख नेपाल सरकारलाई फिर्ता गरिएको जनाइएको छ ।
चालु आर्थिक वर्षको जेठ मसान्तसम्म प्रदेश सरकारको कूल खर्च विनियोजित बजेटको ४४.८४ प्रतिशत रहेको जानकारी गराउदै मुख्यमन्त्री पाेखरेलले जसमध्ये चालु खर्च ४३.९४ प्रतिशत र पुँजीगत खर्च ४५.७१ प्रतिशत रहेको बताए ।
बिदेश भ्रमण नगर्ने,स्वास्थ्य र सुरक्षा निकायबाहेक गाडि खरिद नगर्ने
खर्च नियन्त्रण गर्ने कार्यक्रम अन्तर्गत प्रदेश सरकारले आगामी बर्ष बिदेश भ्रमणकालागि वजेट बिनियाेजन नगरिएको र स्वास्थ्य र सुरक्षा निकायकालागि बाहेक सवारीसाधन खरिद नगर्ने निति लिएको लिएको मुख्यमन्त्री पाेखरेलले जानकारी गराए ।नयाँ कार्यक्रममा पाल्पाको डुम्रेमा फलामखानि उत्खनन गर्ने प्रदेश सरकारकाे योजना छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिकाे गर्दै मुख्यमन्त्री पाेखरेलले पनि प्रदेशमा सञचालित ठूला योजनाहरूकाे श्रब्य दृश्य माध्यम मार्फत मुख्यमन्त्री कार्यालयबाटै अनुगमन गर्ने योजना बनाएका छन् ।