७ पुस, एजेन्सी ।
‘हिरो नम्बर वान’ गोविन्दा आज ५८ वर्ष पुगेका छन् । गोविन्दा आफ्नो कमेडी प्रस्तुतिका लागि चिनिँदै आएका छन् । ९० को दशकमा उनले कयौँ यस्ता कमेडी फिल्म गरे, जुन हेरेपछि आज पनि उनका फ्यानहरू पेट मिचिमिची हाँस्न बाध्य हुन्छन् । कुली नम्बर वान’ होस् वा ‘हद कर दि आप्ने’ जस्ता फिल्म हेरेपछि नहाँसी बस्नै सकिन्न । ८० र ९० को दशकमा उनी एक त्यस्ता स्टार थिए, जुन फिल्ममा खेल्थे, त्यो बक्स अफिसमा ब्लकबस्टर हुन्थ्यो । त्यतिबेला उनले तीनै खानलाई एक्लै टक्कर दिन्थे ।
उक्त समयमा गोविन्दाले जस्तो काम गरिरहेका थिए त्यो काम न शाहरुख खानले गर्न सकेका थिए न आमिर खानले नै गर्न सक्दथे । सलमानको शरीर वा अक्षय कुमारको एक्सन पनि गोविन्दाका अगाडि फिका पर्न जान्थ्यो । उनको जन्म १९६३ को २१ डिसेम्बरमा भएको थियो । २१ वर्षको उमेरसम्म कसैले नचिनेका उनले २२ वर्षको उमेरमा ५० फिल्ममा हस्ताक्षर गरिसकेका थिए । गोविन्दाले आफ्नो फिल्मी करियरमा १६५ भन्दा बढी फिल्ममा काम गरिसकेका छन् । साथै उनले कयौँ पुरस्कार पनि हात पारिसकेका छन् । उनले कतिपय चर्चित नृत्य फिल्मी उद्योगका लागि दिएका छन् । जसमा यूपी वाला ठुुम्का, किसी डिस्कोमे जाएँसहित कयौँ गाना समावेश छन् ।
थिएटर बाहिर लाग्थ्यो मानिसहरुको लाइन
राजा बाबू, कुली नम्बर वान, दिवाना मस्ताना, बडेमिया छोटे मिया, हिरो नम्बर वान, साजन चले ससुराल, दुलारा, शोला और सबनम , दुले राजा , हसिना मान जाएगि यस्ता फिल्महरु हुन्, जुन एक पछि अर्को ब्लकबस्टर प्रमाणित भएका थिए । सिनेमा हलमा मानिसको भीड लाग्यो भने मानिसहरु गोविन्दाको फिल्म लागेको चर्चा गर्ने गर्दथे ।
फिल्मी दुनियाँमा उनको माता–पिताको नाम
गोविन्दका पिता अरुण कुमार अहुजा आफ्नो समयमा एक उत्कृष्ट कलाकार थिए । उनले ३०–४० फिल्ममा काम पनि गरेका थिए । यसैगरी गोविन्दाको आमा निर्मला देवी शास्त्रीय गायिका थिइन्, जो फिल्ममा गाना गाउने गर्थिन् । गोविन्दाले भने व्यवस्थापन विषयमा स्नातक गरेका छन् । उनले अभिनेता बन्नु पहिले कयौँ ठाउमा जागिरको खोजी समेत गरेका थिए । सन् १९८६ मा उनको पहिलो फिल्म इल्जाम रिलिज भएको थियो ।