कोभिड–१९ ले संसारभरको जनजीवन प्रभावित बनाएको छ । तर, संरा अमेरिकाजस्ता केही देश भने यो प्राणघातक महाव्याधिबाट अझ बढी प्रभावित बनेको छ । त्यसको मूल कारण भने सरकारहरूको धेरै पछिसम्मको विचार गर्नसक्ने क्षमताको अभाव हो ।
संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प महामारी रोकथाम र नियन्त्रणको लागि आवश्यक कदम चाल्न अग्रसर भएनन् । त्यसकारण त्यहाँ कोरोना भाइरसका बिरामी र मर्नेको सङ्ख्या संसारकै सबभन्दा बढी छ । अहिलेसम्म १४ लाख १० हजारभन्दा बढी अमेरिकीहरू कोभिड–१९ भाइरसबाट सङ्क्रमित भएका छन् भने ८४ हजारभन्दा बढी मानिसको निधन भइसकेको छ ।
कोभिड–१९ को महामारीबाट सबभन्दा बढी प्रभावित अर्को देश हो–इरान । आधिकारिक तथ्याङ्कअनुसार त्यहाँ हालसम्म ११ लाख २७ हजार ७२५ भन्दा बढी मानिस यो भाइरसबाट सङ्क्रमित भएका छन् भने ६ हजार ७ सयभन्दा बढी मानिसको निधन भइसकेको छ । इरानकै र विदेशका विज्ञहरूले मर्ने र सङ्क्रमितको सङ्ख्या अहिले सार्वजनिक सङ्ख्याभन्दा धेरै भएको वास्तविकता निःसङ्कोच भनिरहेका छन् ।
ट्रम्प सरकार आफूले अहिलेको विपत्तिको व्यवस्थापन भद्रगोल तरिकाले गरेको स्वीकार्न तयार छैन । त्यस्तै इरानमा कोरोना भाइरसको कारण मर्नेको सङ्ख्या बढ्नुको कारण इरान सरकारको अक्षमता र भ्रष्टाचार भएको अमेरिकाको बुझाइ छ । निःसन्देह इरानी नेतृत्वले यो आपत्कालीन जनस्वास्थ्य सङ्कट व्यवस्थापनमा केही कमी कमजोरी गरेको छ । सुरुमा इरान सरकारले पनि भाइरसको खतरालाई न्यूनाङ्कन गरेको थियो । साथै, देशको सिमाना बन्द गर्न ढिलाइ गरेको थियो । तर, इरानको भयावह अवस्थाको निम्ति यी कारणमात्र दोषी भने छैनन् ।
ट्रम्प सरकारले दुई वर्षअघि संयुक्त विस्तृत कार्य योजनाबाट हात झिकेर इरानमाथि थप दबाब बढाउने रणनीति अङ्गीकार गरे यता इरानले थप कडा आर्थिक नाकाबन्दी सामना गर्दै आएको छ । त्यसले उसको व्यापार क्षमतामा र्हास ल्याएको छ । ट्रम्प सरकारले थोपरेको आर्थिक नाकाबन्दीले इरानको तेल निर्यातमा सङ्कुचन ल्यायो । त्यसले उसको अर्थतन्त्रमा गहिरो असर पार्यो । अन्तर्राष्ट्रिय बैङ्किङ प्रणालीबाट इरानलाई अलग बनायो । फलतः आफ्ना नागरिकलाई कोरोना भाइरसबाट जोगाउन इरानले स्वास्थ्य पूर्वाधार, आर्थिक र सामाजिक क्षेत्रमा पैसा गर्न सकेन ।
इरानमा कोभिड–१९ महाव्याधिले निम्त्याएको विपत्तिको निम्ति संरा अमेरिकी नाकाबन्दीले निकै ठूलो भूमिका खेलिरहेको छ । त्यसकारण अहिले संरा अमेरिकाले इरानमा मात्र होइन, संसारभर थोपरेको नाकाबन्दीको वैधता र प्रभावकारितामाथि प्रश्न उठिरहेको छ ।
एसियादेखि युरोपसम्मका राजनीतिक नेता, कूटनीतिज्ञ, रक्षा अधिकारी, विज्ञ, नागरिक सङ्गठन र अभियन्ताहरू ट्रम्प सरकारलाई इरानमाथिको नाकाबन्दी खुकुलो बनाउन आह्वान गरिरहेका छन् । यसले इरानलाई कोरोना भाइरसविरुद्ध लड्न मद्दत पुग्ने उनीहरूको भनाइ छ । जसले लाखौँ मानिसको ज्यान जोगिन सम्भव हुनेछ ।
इरान सरकारले कोभिड–१९ का बिरामीको उपचार गर्न अत्यावश्यक चिकित्सकीय सामग्री पाउन समस्या भएकोले इरानमाथिको नाकाबन्दी खारेज गर्न माग गरेको छ । इरानी विदेशमन्त्री जाभेद जरिफले आफ्नो एउटा ट्वीटमा ‘मध्य फेब्रुअरीबाट इरानमा कोरोना भाइरस फैलिन थालेपछि नाकाबन्दी नहटाएकोले संरा अमेरिकी नाकाबन्दी अब ‘आर्थिक आतङ्कवाद’ बाट ‘चिकित्सकीय आतङ्कवाद’ मा पुगेको लेखे । उनले अन्तर्राष्ट्रिय समुदायलाई ‘अवैध र अनैतिक नाकाबन्दी’ को पालना गरेर ‘युद्ध अपराध’ लाई सहयोग गर्ने काम छोड्नुपर्ने बताए ।
संरा अमेरिकाभित्रै पनि इरानमाथिको नाकाबन्दी फिर्ता हुनुपर्ने माग व्यापक बन्दै गएको छ । राष्ट्रपति पदका लागि डेमोक्रेटिक दलका पहिलेका उम्मेदवार एलिजावेथ वारेन र बर्ने स्यान्डरसहित नौ जना संरा अमेरिकी नेताहरूले ट्रम्प सरकारलाई खुला पत्रमार्फत कोभिड–१९ को अवधिमा इरानमाथिको नाकाबन्दी फिर्ता गर्न माग गरेका छन् । द न्यु योर्क टाइम्स पत्रिकाले सम्पादकीय नै छापेर इरानमाथिको नाकाबन्दी खुकुलो बनाउनुपर्ने मत व्यक्त गरेको थियो ।
तर, संरा अमेरिकाभित्र अर्कोतिर अहिलेको आपत्कालीन समयमा नाकाबन्दीलाई निरन्तरमात्र होइन, बरु अझ कडाइ गर्नुपर्ने मागसमेत भएका छन् । प्रजातन्त्र रक्षा फाउन्डेसन (एफडीडी) अमेरिकी प्रतिष्ठान (एइआई) को नेतृत्वमा रहेका वाशिङ्टनका दक्षिणपन्थी बुद्धिजीवीहरूले ट्रम्प सरकारलाई इरानमाथिको नाकाबन्दी महाव्याधिको समयमा अझ कडाइ गर्न आह्वान गरेका थिए । द वाल स्ट्रिट जर्नलले सम्पादकीय नै प्रकाशित गरेर ‘इरानमाथि नाकाबन्दी हटाउने यो उपयुक्त समय नभएको’ मत व्यक्त गर्यो । अमेरिकाका प्रतिष्ठित सञ्चार प्रतिष्ठानहरू जस्तै फोरेन पोलिसी र ब्लुमवर्गले पनि यस्तै विभिन्न समाचार र विचार प्रकाशित गरेका छन् ।
ट्रम्प सरकारले यतिबेला दक्षिणपन्थी व्यक्ति र संस्थाहरूले गरेको आग्रहलाई नै स्वीकार्दै महामारीको समयमा नै इरानमाथि ‘अधिकतम दबाब’ दिइरहेको छ । कोभिड–१९ को प्रतिरोधको लागि विश्व बैङ्कबाट ५ अर्ब अमेरिकी डलर बराबरको ऋण सहयोग लिन खोज्दा वाशिङ्टनले रोकेन मात्र, बरु नाकाबन्दीलाई अझ पेचिलो बनायो । इरानविरुद्ध सशस्त्र बल प्रयोग गरी हमला गर्नसक्ने राष्ट्रपतिको अधिकारमाथि अङ्कुश लगाउने संरा अमेरिकी काङ्ग्रेसको प्रस्तावलाई ट्रम्पले भिटो प्रयोग गरी बेकामको बनाइदियो ।
विश्वव्यापी महामारीको समयमा इरानमाथि दबाब बढाएर ट्रम्पले मध्यपूर्वका आफ्ना सहयोगीहरू साउदी अरब र इजरायललाई खुसी बनाउन खोजेका छन् । अरू बेलाभन्दा महाव्याधिको समयमा इरानमाथिको नाकाबन्दीले अझ बढी दबाब दिने ट्रम्पको बुझाइ छ । यतिबेला इरानलाई पेल्न सके ऊ बाध्य भएर कमजोर अवस्थामा वार्तामा आउने ट्रम्पको सोचाइ छ । आफ्नो शत्रुविरुद्ध कठिन समयमा बढी दबाब दिन सके ट्रम्पलाई आफ्नो समर्थकको घेरा फराकिलो बनाउन सकिन्छ । त्यसले अति राष्ट्रवादलाई बलियो बनाउन सकिन्छ र त्यसो गरे आगामी नोभेम्बरमा हुने निर्वाचनमा पुनः निर्वाचित सम्भावना बढाउने ट्रम्पको सोचाइ हो ।
तर, संरा अमेरिकी राष्ट्रपति आफ्नो राजनीतिक आवश्यकता र चाहना पूरा गर्न आफ्ना निर्णयमा आनका तान तलमाथि पार्न पनि निपुण मानिन्छन् । अहिलेको बढ्दो आर्थिक, राजनीतिक र कूटनीतिक दबाब पनि इरानले सहजै झेल्न सके ट्रम्पले इरानमाथिको नाकाबन्दी खुकुलो बनाउने निर्णय पनि गर्नसक्छन् । तर, शान्तितर्फको त्यो बाटोले आफ्नो राजनीतिक भविष्य सुनिश्चित हुनेमा उनी ढुक्क हुनुपर्नेछ । उनले अहिलेको कोरोना महाव्याधिको कारण इरानमा भइरहेको मानवीय सङ्कटलाई नै आफूले निर्णय बदल्नुको मूल कारण बनाइदिन सक्छन् । यसप्रकार उनले आफूले चाहेको परिणाम अधिकतम दबाबको नीतिबाट हासिल हुन नसकेको कुरालाई छोपेर ‘इरान समस्या’ समाधान गर्न आफू सफल भएको प्रचारबाजी गर्नसक्छन् ।
संरा अमेरिकी राष्ट्रपति ट्रम्पले यी दुई मार्गमध्ये कुन बाटो छान्ने हुन्, त्यसको पूर्वानुमान गर्न सकिन्न । यदि ट्रम्पले वासिङ्टन र मध्यपूर्वका युद्धपिपासुका सल्लाह मान्ने क्रम चालू राखे आगामी महिनामा संरा अमेरिका र इरानबीच सैनिक तनाव बढ्ने सम्भावना हुनेछ । त्यस्तो अवस्थाले अहिले नै द्वन्द्वग्रस्त क्षेत्रलाई अझ ध्वस्तमात्र बनाउने छैन बरु इरानमा कोरोना भाइरसको सङ्कट अझ उचाइमा पुर्याउनेछ ।तर, ट्रम्पले त्यो बाटो परिवर्तन गरेर कोभिड–१९ लाई ‘मानवीय कूटनीति’ को प्रस्थानबिन्दुको रूपमा उपयोग गर्नसक्छन् ।
त्यसको निम्ति पहिलो चरणमा उनले इरानका वित्तीय संस्थामाथिको नाकाबन्दी हटाउनुपर्छ र तेलबाट हुने आम्दानीको केही भाग भए पनि कमाउन दिनुपर्छ । त्यसले इरानलाई कोभिड–१९ का बिरामीको उपचारको लागि आवश्यक चिकित्सकीय सामग्री र औषधि खरिद गर्नसक्ने बनाउनेछ ।
त्यसपछि उनले संरा अमेरिकामा बसेका इरानीलाई इरानमा रहेका आफ्ना परिवारको नाममा पैसा पठाउने बाटो खोलिदिनुपर्छ । त्यसले गरिबीको दलदलमा फसेको इरानी समाजको आर्थिक स्तर उकास्न केही मद्दत गर्नेछ । प्रकारान्तरले त्यसले पनि कोभिड–१९ विरुद्ध इरानको लडाइँलाई मद्दत गर्नेछ ।
अर्को चरणमा ट्रम्पले दुवै देशबीच आ–आफ्नो देशका कैदीको आदानप्रदान गर्नसक्छन् । त्यसले महाव्याधिको समयमा हजारौँ परिवारलाई आफ्नो प्रियजनको विषयमा चिन्ता मान्नुपर्ने अवस्थाको अन्त्य गर्नेछ ।
अनि ‘कोभिड–१९ मानवीय कूटनीतिक योजना’ अन्तर्गत ट्रम्पले अमेरिकी र इरानी जनताबीचको सम्बन्ध सामान्यकरण गर्न मार्गप्रशस्त गर्नसक्छन् । दुवै देशका निजी क्षेत्र र व्यक्तिलाई सामान्य अवस्थामा जस्तो सम्बन्ध विकास गर्न दिनुपर्छ । ट्रम्पले धेरै क्षेत्रमा अमेरिका–इरान साझेदारीको प्रवद्र्धन गर्नसक्छन् । विशेषतः चिकित्सकीय अनुसन्धान र विकास निर्माण त्यस्तो साझेदारीका क्षेत्र हुनसक्छन् ।
यी सबै कदमले दुई देशका सरकारलाई वार्तामा बस्ने अवस्था बनाउनेछ । यसले उनीहरूलाई युद्धको बाटोमा नभई शान्तिको बाटोमा जान उत्साहित गर्नेछ ।
यो शताब्दीमा संसारले सामना गरेको सबभन्दा गम्भीर जनस्वास्थ्य चुनौती नोबेल कोरोना भाइरसको महाव्याधि हो । महामारीले इरानमाथि संरा अमेरिकी अमानवीय र अन्यायपूर्ण नाकाबन्दीलाई अझ बढी घातक बनाएको छ । ट्रम्प सरकारले अब आफ्नो बाटो बदल्नुपर्छ र इरानमाथिका नाकाबन्दी ढिलै भए पनि फिर्ता लिनुपर्छ । अब पनि ढिला भए त्यसले लाखौँ मानिसको जीवन लिनसक्नेछ ।
स्रोत : अल जजिरा
नेपाली अनुवाद : नीरज
(लेखक प्रिन्सटन विश्वविद्यालय अन्तर्गत मध्यपूर्व सुरक्षा र आणविक नीतिका विशेषज्ञ हुनुहुन्छ ।)