कोभिड–१९ महामारी फैलिन नदिन देशव्यापीरूपमा लागू गरिएको लकडाउनकै बीच गएको अप्रिल १८ मा लोकप्रिय इस्लामिक गुरु मौलाना जुबाएर अहमेद अन्सारीको मलामीमा सहभागी बन्न बङ्गलादेशको बर्टोला गाउँको रहमानिया मद्रसामा झन्डै दस हजार मानिस भेला भए । त्यसको एक महिनाअघि मात्र लक्ष्मीपुर गाउँको रायपुरमा झन्डै २५ हजार मानिस विशाल प्रार्थना सभामा सहभागी बने । कोरोना भाइरसको सङ्क्रमणबाट जोगिने विश्वासका साथ सो सभा आयोजना गरिएको थियो ।
धार्मिक विषय बङ्गलादेशमा निकै संवदेनशील हुने गरेको छ । सत्तारूढ अवामी लिग धर्मनिरपेक्ष राजनीतिक दल हो । त्यसकारण, उसमाथि धार्मिक कट्टरपन्थीहरूबाट बेलाबेला दबाब आउने गरेको छ । यस्तो परिस्थितिमा सरकारलाई धार्मिक चाडको बेला ती नियम लागू गर्नु त्यत्ति सहज भने थिएन । तथापि, कोभिड–१९ को महामारी फैलिरहेको र त्यसमाथि नियन्त्रणको लागि आपसी दुरी कायम गर्नुपर्ने अवस्थामा बङ्गलादेश सरकारसँग ती नियमको कडाइपूर्वक पालना गर्नुको दोस्रो विकल्प पनि छैन ।
एसियाका विभिन्न देशमा नयाँ कोरोना भाइरस फैलिनुको मुख्य कारण धार्मिक भेलाहरू हुन् । बङ्गलादेशी जनताको ठूलो हिस्सामा धार्मिक आस्था बलियो गरी गडेको छ । मानिसहरू सरकारले भनेको कुरा भन्दा बढी धार्मिक गुरुले भनेको कुरा बढी टेर्छन् । बङ्गलादेशी जनताको सोच र व्यवहारमा धार्मिक मौलानाहरूको ठूलो भूमिका हुने गरेको छ । त्यसै पनि कोरोना भाइरसका सङ्क्रमितहरूको सङ्ख्या उकालो लागिरहेको देशमा त्यस्ता सभा र भेलाले कोभिड–१९ बाट प्रभावितको सङ्ख्या अझ बढाउन सक्नेप्रति त्यहाँको सरकार सजग छ ।
मार्च महिनाको सुरुबाट नै सरकारले सर्वसाधारणलाई ठूलो सङ्ख्यामा भेला र जमघट नगर्न र सकेसम्म घरभित्रै बस्न सूचना जारी गर्दै आएको छ । मार्च २६ मा सरकारले मे ५ सम्मको लागि देशव्यापी लकडाउनको घोषणा गरेको थियो । कलेज, विद्यालय र कलकारखानाका साथै यातायात सेवा, औद्योगिक तथा कृषि क्षेत्र पनि बन्द गरिएको छ ।
इस्लाम धर्मावलम्बीहरूले पवित्र मान्ने रमादानको समयमा मस्जिद र बजारमा लाखौँ लाख मानिसको भीड लाग्न सक्ने सम्भावनालाई ध्यानमा राखी सरकारले त्यो अवधिमा थप नियम लागू ग¥यो । नयाँ नियमअनुसार रमादानको प्रार्थनाको क्रममा प्रार्थनास्थलमा धार्मिक गुरु र मस्जिदका अधिकारीहरू समेत गरी बा¥ह जनाभन्दा बढी मानिस भेला हुन पाइएन । रमादानको महिनामा ब्रत तोडेपछि साँझ खाना खाने इफ्तर भेलामाथि पनि सरकारले निषेध ग¥यो । धार्मिक परम्पराको उत्कर्षमा सरकारले लकडाउनको प्रभावकारी पालना गर्न सक्छ सक्दैन भन्ने अहम् प्रश्न थियो ।
धार्मिक विषय बङ्गलादेशमा निकै संवदेनशील हुने गरेको छ । सत्तारूढ अवामी लिग धर्मनिरपेक्ष राजनीतिक दल हो । त्यसकारण, उसमाथि धार्मिक कट्टरपन्थीहरूबाट बेलाबेला दबाब आउने गरेको छ । यस्तो परिस्थितिमा सरकारलाई धार्मिक चाडको बेला ती नियम लागू गर्नु त्यत्ति सहज भने थिएन । तथापि, कोभिड–१९ को महामारी फैलिरहेको र त्यसमाथि नियन्त्रणको लागि आपसी दुरी कायम गर्नुपर्ने अवस्थामा बङ्गलादेश सरकारसँग ती नियमको कडाइपूर्वक पालना गर्नुको दोस्रो विकल्प पनि छैन ।
बङ्गलादेशमा मार्च ७ मा पहिलो कोभिड–१९ को सङ्क्रमित बिरामी फेला प¥यो । त्यसयता सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढिरहेको छ । हालसम्म बङ्गलादेशमा २२८ जनाको निधन भइसकेको छ । १४ हजार ७५७ जना सङ्क्रमित र २६ सय ५० जना निको भएका छन् ।
मार्च महिनामा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या न्यून थियो । अप्रिल लागेदेखि सङ्क्रमितको सङ्ख्या भने एकाएक बढेको छ । अप्रिल २८ को दिन २४ घन्टामा सङ्क्रमितको सङ्ख्या ५४९ पुग्यो । त्यसको भोलिपल्ट त्यो सङ्ख्या ६४१ पुग्यो । कोभिड–१९ बाट ६० वर्षभन्दा माथिका मानिस सबभन्दा बढी प्रभावित भएको विश्वव्यापी तथ्याङ्कले देखाए पनि बङ्गलादेशमा भने कूल सङ्क्रमितमध्ये ६० वर्षभन्दा माथिका मानिसको सङ्ख्या १० प्रतिशतमा सीमित छ ।
तथ्याङ्कको नियाल्दा बङ्गलादेशमा कोभिड–१९ को सङ्क्रमण त्यति गम्भीर नभएजस्तै देखिन्छ । १६ करोड ३० लाखको ठूलो जनसङ्ख्या र अरू देशमा ठूलो सङ्ख्यामा फैलिरहेको सङ्क्रमणको आधारमा बङ्गलादेशमा सङ्क्रमणको सङ्ख्यालाई कम नै मान्नुपर्छ ।
तर, जनस्वास्थ्य क्षेत्रका विज्ञहरू भने अहिले सार्वजनिक तथ्याङ्क त्यहाँको वास्तविक अवस्थाको तथ्याङ्क नभएको बताउँछन् । बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको परीक्षण नै न्यून भएकोले त्यहाँ कममात्र सङ्क्रमित देखिएको उनीहरूको बुझाइ छ । ढाकाको महामारी, रोग नियन्त्रण अनुसन्धान केन्द्रले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अप्रिल १८ सम्म बङ्गलादेशमा प्रति दस लाख १२४ जना मानिसमा मात्र कोभिड–१९ को परीक्षण भएको थियो । अप्रिल २५ सम्ममा परीक्षण दर २४० प्रति दस लाख पु¥याइयो । यो परीक्षण दर निकै कम हो । बङ्गलादेशका भाइरोलोजिस्ट नजरुल इस्लामका अनुसार वास्तवमा बङ्गलादेशका कति मानिसलाई भाइरस सङ्क्रमण भयो भन्ने कुराको सही तस्वीर खिच्न हरेक दिन दस हजार मानिसको परीक्षण हुनुपर्छ ।
कोरोना भाइरस सङ्क्रमितको परीक्षण, बिरामीलाई अलग (आइसोलेसन) राख्ने र उपचार गर्ने क्षमताको लागि बङ्गलादेशको कमजोर जनस्वास्थ्य पूर्वाधार नै सबभन्दा प्रमुख अवरोध हुन् । बङ्गलादेशका सबै अस्पतालमा कूल शैय्या जम्मा १ लाख २७ हजार छन् । तीमध्ये ९१ हजार सरकारी अस्पतालमा छन् । जम्मा ७३७ वटा सघन उपचार एकाइ छन् । तीमध्ये ४३२ वटा मात्र सरकारी अस्पतालमा उपलब्ध छन् । अधिकांश सघन उपचार एकाइ ढाकामै केन्द्रित छन् । सामान्य अवस्थामा समेत ‘खचाखच’ हुने ती स्वास्थ्य पूर्वाधारले कोभिड–१९ ले निम्त्याएको चुनौती सामना गर्न सक्दैनन् ।
अन्य देशका सरकारजस्तै बङ्गलादेशको सरकारले पनि महामारीको सुरुआती चरणमै भाइरसको रोकथाम र नियन्त्रणमा लाग्न ढिलाइ गरेको हो । सरकारले रोकथाम र नियन्त्रणको काम थालेयता धेरै परीक्षण केन्द्र र क्वारेन्टिन स्थलहरू स्थापना गरिसकेको छ । साथै, विदेशबाट परीक्षण किट र चिकित्सकीय सामग्री आयात गरेको छ । लकडाउन जारी गरी सरकारले आपसी दुरीलाई कडाइका साथ लागू गरेको छ । तर, लकडाउन भने पूर्ण सफल हुन सकेको छैन । धेरै कारणले बङ्गलादेशमा लकडाउनको पूर्णपालना लगभग असम्भव जस्तै भएको छ ।
पहिलो कारण त आपसी दुरी कायम गर्नु बङ्गलादेशी समाज र संस्कृतिमा असाध्यै नरुचाइएको विषय हो । मानिसहरूले सरकारी सूचना पालना गर्न चाहे पनि अरू देशमा जस्तै बङ्गलादेशका धनी र मध्यम वर्गीय परिवारको निम्ति आपसी दुरी आरामको समय जस्तै भएको छ । बङ्गलादेशका अधिकांश जनता भने एकअर्कोसँग नजिक बस्ने गर्छन् । परिवारको सङ्ख्या धेरै ठूलो हुने गर्छ । त्यस्ता परिवार स–साना साँघुरा टहरामा बस्ने गर्छन् । धेरै परिवारले एउटै धारा र शौचालय प्रयोग गर्ने गर्छन् । चित्तगाउँको शरणार्थी शिविरको सन्दर्भमा यी कुरा अझ बढी लागू हुने गरेको छ । त्यहाँ झन्डै दस लाख रोहिन्ग्या शरणार्थीहरू सानो ठाउँमा अस्थायी शिविर बनाएर बसेका छन् । बङ्गलादेशका अन्य भूभागको तुलनामा त्यहाँका बासिन्दाको स्वास्थ्य र अन्य पूर्वाधारमा पहुँच निकै कम छ ।
बङ्गलादेशका रिक्सा मजदुरहरूजस्तै घरबाहिर निस्केर काम गरेमात्र दैनिक गुजारा चल्ने मानिस धेरै छन् । त्यो वर्गका मानिसको निम्ति घरभित्रैबाट काम गर्ने विकल्प उपलब्ध छैन । त्यसकारण, प्राणघातक भाइरसबाट जोगिन घर बस्नुपर्ने वा आपसी दुरी कायम राख्नुपर्ने विषयमा सचेत भएर पनि त्यसको पूर्ण पालना गर्नु निकै कठिन बनेको छ ।
रमादानको कारण मात्र बङ्गलादेशमा लकडाउनको कार्यान्वयनमा कठिनाइ भएको छैन बरु धेरै मानिसको दैनिक गुजाराको लागि समेत समस्या हुन थालेपछि लकडाउनको कार्यान्वयनमा कठिनाइ हुन थालेको छ । त्यसै कारण लकडाउन लागू रहेकै अवस्थामा पनि तयारी पोशाक कारखानाहरूले आफ्नो उत्पादनको थालनी गरेका छन् ।
अप्रिल २६ देखि राजधानी ढाका वरपरका गाजीपुर र अशुलियाका औद्योगिक क्षेत्रका सयौँ तयारी पोशाक कारखानामा काम सुचारु गरिएको छ । अमेरिका र युरोपेली तयारी पोशाक ब्रान्डले दिएको समयसीमा नाघ्ने र व्यापार घाटा हुने सम्भावनाको कारण कारखाना मालिकहरूले कारखाना पुनः सुचारु गर्न थालेका हुन् । अशुलियामा मात्र झन्डै दुई लाख मजदुर काममा फर्किसकेका छन् । कारखाना खुलेसँगै आ–आफ्ना गाउँ फर्केका अरू दसौँ लाख मजदुर पनि पैदल वा खचाखच भरिएका गाडीमा बसेर ढाका र अन्य प्रमुख सहरमा फर्किनेछन् । त्यो भीडभाडमा कोभिड–१९ को महामारी फैलिने जोखिम पनि बढ्नेछ ।
कोभिड–१९ बाट बच्न गरिएको लकडाउनको कारण बङ्गलादेशको आर्थिक र राजनीतिक स्थायित्व कमजोर बन्नेछ । एसियाली विकास बैङ्कको अध्ययन उद्र्धृत गर्दै बङ्गलादेशका अर्थमन्त्री एएचएम मस्ताफा कमालले मार्च महिनाको अन्तिमतिर महामारीको कारण देशले कूल गार्हस्थ उत्पादनको १.१ प्रतिशत गुमाउने प्रक्षेपण सार्वजनिक गरे ।
बङ्गलादेशको अर्थतन्त्रमा तयारी पोशाक क्षेत्र र रेमिट्यान्स नै प्रमुख दुई आधार हुन् । तयारी पोशाकको उत्पादन र निर्यातले त्यहाँको कूल गार्हस्थ उत्पादनको १३ प्रतिशत ओगटेको छ । साथै, झन्डै चालिस लाख मानिस सो क्षेत्रमा रोजगार छन् । गत आर्थिक वर्षको पहिलो ६ महिनामा त्यहाँको अर्थतन्त्र ५.७१ प्रतिशत ऋणात्मक वृद्धि भएको थियो । कोभिड–१९ महामारी यता संरा अमेरिका, बेलायत र युरोपका धेरै कम्पनीहरूले आफ्नो माग स्थगित गरेका छन् । त्यसकारण, सो क्षेत्रको भविष्य त्यति राम्रो देखिएको छैन ।
बङ्गलादेशमा भित्रिने गरेको विदेशी रेमिट्यान्स सन् २०१९ को १८ अर्ब ३२ करोड अमेरिकी डलर अर्थात् १४ अर्ब अमेरिकी डलर अर्थात् २२ प्रतिशतले झर्ने पूर्वानुमान गरिएको छ ।
अहिलेको विपद्को अवस्थालाई कोभिड–१९ सङ्कटको रूपमा व्याख्या गरिएको छ । तर, यतिले मात्र कोरोना भाइरसले समाजमा निम्त्याउने विनाशलाई पूर्णतः व्याख्या गर्न सम्भव छैन । ढाकामा मुख्यालय रहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था बङ्गलादेश पुनः स्थापना सहयोग समिति (ब्राक) का कार्यकारी निर्देशक असिफ सलेहले भनेका छन्, “अहिलेको विपत्ति जनस्वास्थ्यको आयाममा व्यक्त हुने मानवीय सङ्कट हो ।”
अहिले बङ्गलादेश न्यून विकसित देश (एलडीसी) भित्र पर्दछ । बितेका पाँच वर्षमा त्यहाँको अर्थतन्त्र ७ प्रतिशतले बढ्यो । आगामी सन् २०२१ सम्ममा बङ्गलादेश विकासशील देशमा उक्लिने अपेक्षा गरिएको थियो । कोरोना भाइरसको महामारीको कारण बङ्गलादेशको यो आशामा तुषारापात भएको छ । पछिल्ला केही वर्षयता बङ्गलादेशमा तुलनात्मकरूपमा राजनीतिक स्थायित्व कायम भएको थियो । तर, कोरोना महामारीले त्यसमा समेत खतरा निम्त्याएको छ । अर्थतन्त्रमा आएको सुधारको कारण मानिसले अवामी लिगलाई समर्थन गर्दै आएका थिए । तर, अहिले जनजीवनमा आइपर्ने समस्या समाधान गर्न सरकार असमर्थ भए जनताको समर्थन समेत धरमर हुन सक्छ ।
कोभिड–१९ महामारीको असर बङ्गलादेशको अर्थतन्त्रमा मात्र सीमित हुने छैन । बरु लाखौँ लाख बङ्गलादेशीको दैनिकीमा समेत यसले प्रत्यक्ष असर गर्नेछ । महामारीको भयावह प्रभाव बङ्गलादेशमा अनेक रूपरङ्गमा देखिन थालेको छ । दैनिक कमाइ गरी गुजारा चलाउने जनतामाथि चर्को प्रहार भएको छ । धेरैको घरमा खानेकुरा केही बाँकी छैन । परिवारको लागि आवश्यक खानेकुरा किन्न समेत मानिसको गोजी रित्तिएको छ । महामारीको कारण भोक, कुपोषण र अन्य समस्याले बङ्गलादेशलाई अँठ्याउन थालेको छ ।
विभिन्न देशमा रोजगारीको लागि गएका आप्रवासी बङ्गलादेशीहरू स्वदेश फर्केपछि अवस्था थप भयावह बन्ने पक्का छ । महामारी सुरु भएयता ५ लाख आप्रवासी मजदुर फर्किसकेका छन् । अरू लाखौँ मानिस पनि फर्किनेछन् । अधिकांश बङ्गलादेशी मजदुरहरू पश्चिम एसियाली देशमा रोजगारीको लागि गएका छन् । अहिले पश्चिम एसियाली देशहरू समेत तेलको मूल्य ओरालो लागेसँगै आर्थिक सङ्कटमा परेका छन् । त्यसकारण, त्यहाँ काम गरिरहेका बङ्गलादेशी मजदुरहरूले रोजगारी गुमाउने छन् । उनीहरू बेरोजगार भएपछि स्वदेश फर्किनेछन् ।
बङ्गलादेशका अधिकांश छिमेकीभन्दा भिन्न त्यहाँका अधिकांश नागरिक विदेशमा गएर काम गर्ने मजदुरहरू गरिब र ग्रामीण परिवारका छन् । रेमिट्यान्स नै उनीहरूको परिवार चल्ने मुख्य आधार हो । बङ्गलादेशमा गरिबी निवारणको निम्ति विदेशमा गएर रोजगार गर्ने ती मजदुरहरूले भूमिका खेल्दै आएका छन् । अब यो अवस्थामा गन्जागोल हुने भयो ।
अहिलेको विपद्को अवस्थालाई कोभिड–१९ सङ्कटको रूपमा व्याख्या गरिएको छ । तर, यतिले मात्र कोरोना भाइरसले समाजमा निम्त्याउने विनाशलाई पूर्णतः व्याख्या गर्न सम्भव छैन । ढाकामा मुख्यालय रहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था बङ्गलादेश पुनः स्थापना सहयोग समिति (ब्राक) का कार्यकारी निर्देशक असिफ सलेहले भनेका छन्, “अहिलेको विपत्ति जनस्वास्थ्यको आयाममा व्यक्त हुने मानवीय सङ्कट हो ।”
श्रोत : मन्थ्ली रिभ्यु
नेपाली :अनुवाद नीरज
(लेखक रामचन्द्रन भारतको बैङ्गलुरुका स्वतन्त्र पत्रकार हुनुहुन्छ । उहाँ दक्षिण एसियाली राजनीतिक तथा सुरक्षाको विषयमा कलम चलाउनुहुन्छ ।)