२१ मंसिर, एजेन्सी ।
राजस्थानको सवाई माधोपुरको सिक्स सेन्सेस फोर्ट बरवाडा बलिउडको सवैभन्दा ठूलो विवाहको साक्षी बन्न गाइरहेको छ । बलिउड कलाकारद्वय कट्रिना कैफ र विक्की कौशल त्यो भव्य महलमा विवाह गर्दैछन् । विवाहको सम्पूर्ण तयारी पूरा भइसकेको छ भने नृत्याङ्गनाहरू नाचका लागि तयारी गरिरहेका छन्।
विक्की र कट्रिनाको प्रेम कहानी ?
विक्की र कट्रिनाको प्रेमको कहानीको चर्चा भने चर्चित टक शो ‘कफी विथ करण’बाट सुरु भएको हो । बलिउड फिल्मका निर्माता तथा निर्देशकसमेत रहेका करण जोहरको शो मा कट्रिनालाई कुन अभिनेतासँगको जोडी सुहाउँछ भनेर सोधेको प्रश्नमा उनले विक्कीको नाम लिएकी थिइन् । करण सोही शोमा गएको समयमा विक्कीलाई कट्रिनाले भनेका कुरा देखाउँदा उनी निकै खुसी देखिएका थिए ।
अवार्ड शो देखिएको माया ?
विक्कीले कैयौं अवार्ड कार्यक्रममा कट्रिनाप्रति माया देखाएका छन् । २०१९ मा आइफा अवार्ड र जी सिने अवार्डमा दुवैलाई एकैपटक रेड कार्पेटमा देखिएको थियो । २०२० मा मुकेश अम्बानीको होली पार्टीमा पनि दुवै सँगै होली खेल्दै थिए ।
विस्तारै–विस्तारै उनीहरुबीचको प्रेम गहिरिँदै गयो । दुई वर्षदेखि प्रेममा रहे पनि उनीहरुले आफ्नो सम्बन्धलाई गोप्य राखेका थिए । उनीहरुले आफ्नो प्रेमको विषयमा चर्चा हुन थाल्नेवित्तिकै विवाहको घोषणा गरेर सबैलाई अचम्मित बनाइदिए ।
कसरी हुँदैछ विवाह ?
कट्रिना र विक्कीले विवाहको लागि राजस्थानको सिक्स सेन्स फोर्ट बरवाडालाई रोजेका छन् । १४औं शताब्दीमा चौहानहरूले बनाएको यो अति विलासी किल्ला अहिले होटल र रिर्सोटमा परिणत भएको छ । यहाँ ४८ वटा कोठाहरु छन् । पाहुनाहरूको लागि कट्रिना र विक्कीले विशेष होटल र कोठाको व्यवस्था गरेका छन् । विवाहअघि विक्की मानसिंह र कट्रिना रानी राजकुमारीको कोठामा बस्नेछन् ।
उक्त कोठाहरूको मूल्य एक रातको सात लाख रुपैयाँ पर्ने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । जहाँ गोलाकार पुल, बाथटबका साथै अन्य धेरै सुविधाहरु रहेका छन् । विवाहको लागि ६ देखि ११ डिसेम्बरसम्म होटलको सबै कोठाहरु बुक भइसकेका छन् । विवाहको हरेक कार्यक्रमलाई फरक–फरक व्यवस्थापन कम्पनीहरुले व्यवस्थापन गरिरहेका छन् । रिपोर्टका अनुुसार कट्रिना र विक्कीको विवाहको गोप्य कोडबाट मात्रै पाहुनाले विवाहमा प्रवेश पाउनेछन् । कोड देखाएपछि मात्र पाहुनाहरुले होटलको सेवासुविधा पाउनेछन् ।
भारतीय सञ्चार माध्यमका अनुसार उनीहरूको विवाहमा आउने पाउनाहरूले फोन बन्द राख्नुपर्ने सम्झौतामा हस्ताक्षर गराइएको छ । सम्झौतामा फोन चलाउन र फोटो खिच्न निषेध गरिएको छ । उनीहरुको विवाहको तस्वीरलाई विदेशी म्यागेजिनमा छाप्नका लागि करोडौंको सम्झौता भएको बताइएको छ । पछिल्लो खबरअनुसार कट्रिना र विक्कीको परिवार विवाहको लागि राजस्थान पुगिसकेका छन् भने पाहुनाहरू पुग्ने क्रम जारी छ ।