१५ असोज, एजेन्सी ।
चीन संसारको सबैभन्दा धेरै जनसंख्या भएको मुलुक हो। अहिले चीनको जनसंख्या १ अर्ब ४० करोडभन्दा बढी छ। अबको ४५ वर्षपछि चीनको जनसंख्या यति नै नरहन सक्छ। एउटा नयाँ अध्ययनले अहिलेकै दरमा चिनियाँ महिलाहरूले सन्तान जन्माउने हो भने ४५ वर्षपछि चीनको जनसंख्याको अहिलेको भन्दा आधा कम हुने देखाएको छ।
द साउथ चाइना मर्निङ पोष्ट समाचार पत्रका अनुसार सियान जियाटोङ विश्वविद्यालयका प्राध्यापक जियाङ छ्वानवाओ र उनका सहकर्मीहरूले गरेको अध्ययनमा यसअघि अनुमान गरेभन्दा निकै तीव्र गतिमा चीनको जनसंख्या घट्न सक्ने चेतावनी दिइएको छ।
संयुक्त राष्ट्र संघको एउटा अध्यननले सन् २०६५ सम्म पनि चीनको जनसंख्या १ अर्ब ३० करोड हुन सक्ने देखाएको थियो। उसको अध्ययनमा चिनियाँ महिलाहरूले औसतमा १।७ बच्चा जन्माउने अनुमानमा आधारित थियो।
ल्यान्सेटले गरेको अर्को अध्ययनले सन् २१०० सम्म चिनियाँ जनसंख्या अहिलेको भन्दा आधा हुने प्रक्षेपण गरेको थियो।
चिनियाँ विश्वविद्यालयका प्राध्यापकहरूले नै गरेको अध्ययनले भने जनसंख्यालाई घट्न नदिन जन्मिनुपर्ने बच्चाहरूको संख्या निकै कम भएको देखाएको हो। उनीहरूले यसका लागि गत वर्षको तथ्यांकलाई आधार मानेका थिए। चीनमा गत वर्ष औसतमा एक महिलाले १।३ बच्चा जन्माएका थिए। जनसंख्यालाई सन्तुलनमा राख्न एक महिलाले कम्तीमा दुई बच्चा जन्माउनु पर्ने विज्ञहरू बताउँछन्।
‘यदि चिनियाँ महिलाहरूले औसतमा एउटामात्र बच्चा जन्माए भने २९ वर्षपछि चीनको जनसंख्या आधा हुन्छ,’ अध्ययनमा भनिएको छ।
अहिले नै चीनमा बच्चाहरूको संख्या १७ प्रतिशत छ भने ६० वर्ष माथिका मानिसको संख्या १८ प्रतिशतभन्दा बढी छ। चिनियाँ इतिहासमा पहिलो पटक बच्चाभन्दा वृद्धहरूको संख्या बढी भएको अनुसन्धानकर्ताहरूले बताएका छन्।
चीनमा सन् १९४९ मा कम्युनिष्ट पार्टीले सत्ता चलाउन सुरू गरेको थियो। त्यसयता सन् १९५९(६१ मा चीनको जनसंख्या घटेको थियो।
लअभिि ष्ल
जनसंख्याको वृद्धिदर निकै बढेपछि सन् १९८० मा चीनले एक बच्चामात्रै जन्माउन पाउने नीति लागू गरेको थियो।
३५ वर्षपछि सन् २०१५ मा चिनियाँ अधिकारीहरूले एक बच्चाको नीति हटाएर एक दम्पतीले दुई बच्चा जन्माउन पाउने बनाए पनि चीनमा जनसंख्या बढ्न नसकेको हो।
यसै वर्ष चीन सरकारले तीन बच्चा जन्माउन दम्पतीलाई प्रोत्साहन गर्ने निर्णय गरेको थियो।
चीनमा गहिरिँदै गएको जनसंख्या घट्ने समस्यालाई रोक्न महत्वपूर्ण कदम चाल्न आवश्यक भएकाले यस्तो निर्णय गरिएको हो।
तेस्रो बच्चा जन्माउन प्रोत्साहनस्वरूप रिटार्यड हुने समय सार्ने, युवाहरूलाई विवाह र परिवारबारे शिक्षा दिने, चाइल्डकेयर सेवा सुधार्ने, सुत्केरी विदा बढाउने र चाइल्ड बर्थ इन्सुरेन्स गर्नेलगायतका कुराहरू गरिने जनाइएको छ।