अमेरिकी सञ्चार–माध्यमले नै अहिले अमेरिकालाई असफल राष्ट्र भन्दै छन्, जस्तो पहिला अमेरिका आफैँ इरान र इराकजस्ता मुलुकलाई आरोप लाउने गथ्र्यो । अमेरिकाको ‘थिंक ट्यांक’ फन्ड फर पिसले सन् २००५ देखि नै असफल राष्ट्रको सूचकांक सार्वजनिक गर्न थालेको हो । पछि यसलाई अस्थिर मुलुकको सूचकांक भन्न थालियो र यसको सूचीमा पर्न अमेरिका स्वयंलाई घेरै वर्ष लागेन । अमेरिकी राजनीतिशास्त्री फ्रान्सिस फुकुयामा कुनै दिन उदारवादी प्रजातन्त्र नै सर्वेसर्वा हो भन्ने गर्थे । अब भने उनको आफ्नै विचार पनि बदलिसकेको छ । सन् २०१६ को उनले एक लेखमा अमेरिका असफल भएको भन्दै उसले विश्वको नेतृत्व छोड्नुपर्ने बताएका थिए । त्यस्तै द एट्लान्टामा छापिएको ‘हामी असफल मुलुकमा बसिरहेका छौँ’ भन्ने अर्को लेखमा भनिएको छ, ‘कोरोना भाइरसले अमेरिकालाई अस्तव्यस्त र भिखमङ्गाको मुलुक बनाइदिएको छ । सन् २०२० को अमेरिका सन् १९४० को फ्रान्सझैँ आफैँ बर्बाद हुँदै छ र यो एउटा नेतृत्व बर्बाद हुनुभन्दा कैयौँ गुणा भयानक छ।’
कुनै समय चिनियाँहरू अमेरिकालाई आसाध्यै मान्थे । अहिले पनि अमेरिकाको पतन हेर्न तिनलाई कत्ति दिलचस्पी छैन । तिनलाई अमेरिकीप्रति चिन्ता छ । २० अप्रिलसम्ममा चीनले अमेरिकालाई प्रतिनागरिक सातवटा पुग्ने गरी २.४६ बिलियन मास्क, पाँच हजार भेन्टिलेटर तथा अन्य स्वास्थ्य सामग्री दिएको कुरा परराष्ट्र मन्त्रालयका प्रवक्ताले बताएका छन् ।
एउटा ठूलो शक्तिराष्ट्र कसरी धराशयी बन्छ र ऊ आफ्नै नागरिकको ज्यान बचाउन नसक्ने निरीह बन्न सक्छ भनेर अमेरिकाबाट चीनले पाठ सिक्नुपर्छ । अमेरिकाको कुटिल नीतिसँग सशंकित हुँदै उसको पतनमा आफू बलिको बोको बन्नबाट चीनले बच्नुपर्छ । किनकि अमेरिकाको नेसनल रिपब्लिकन सेक्रेटरियल कमिटीले कोरोना भाइरसलाई चीनविरुद्धको आक्रमणका रूपमा प्रयोग गर्ने रणनीति अख्तियार गरेको छ । रिपब्लिकनहरूको सन् २०२० को मुख्य रणनीति नै यही छ । चीनलाई बदनाम गर्न लागिपर्नुले अमेरिकाको निरीहता उजागर गर्छ । यही गरेर ऊ महामारीको विनाशको क्षतिपूर्ति उठाउँदै छ ।
"अब अमेरिकाको हालीमुहाली विश्वभर नचले पनि यो एउटा शक्तिशाली मुलुक हो । वासिंटनको सानो लापर्बाहीले अमेरिकाको मात्र होइन, मानवजातिकै विनाश निम्त्याउन सक्छ ।"
तीन महिनायता ट्रम्प प्रशासनले शीतयुद्धपछि स्थापित अन्तर्राष्ट्रिय शक्ति सन्तुलनका आधार भत्काइरहेको छ । यो अन्तर–प्यासिफिक सहकार्य, पेरिस सम्झौता, संयुक्त राष्ट्रसंघीय मानव–अधिकार आयोगलगायत अन्तर्राष्ट्रिय सन्धि–सम्झौताबाट पछि हटिसकेको छ । त्यस्तै तीन महिनायता, ट्रम्प प्रशासनले फेडरल रिजर्भको निक्षेप दुई गुणा बढाउँदा अमेरिकी डलरले विश्वको मौद्रिक सन्तुलन नै खलबल्याएको छ । तीन सातायता तेलको मूल्य गिराएर अन्तर्राष्ट्रिय बजारमा असहज परिस्थिति निम्त्याएको छ । इतिहासमै पहिलोपटक अप्रिल २० मा विश्व बजारको तेलको मूल्य ऋणात्मक पुगेको थियो । ५० वर्षयताको इन्धन बजारको अमेरिकी एकाधिकारबाट यसले हात झिकेको छ । तीन सेकेन्डयता ट्रम्पले फेरि अर्को कुनै अनपेक्षित अभिव्यक्ति दिइसकेका हुन सक्छन् । यस्तो व्यक्तिलाई अमेरिकी प्रणालीले कसरी धानिरहेको छ भनेर धेरै मानिस चिन्तित छन् । वासिंटन सन्धि मरिसकेको छ, प्रजातन्त्र, स्वतन्त्रता र मानव–अधिकारको औचित्य सकिइसकेको छ ।
प्रायजसो प्रबुद्ध वर्ग असन्तुष्ट रहेको अहिलेको अमेरिकी सरकारले आफैँलाई मात्र घात गरिरहेको छैन, यो चीनविरुद्ध पनि त्यत्तिकै लागिपरेको छ । कोरोना भाइरसको विषयमा अमेरिकाले अहिले चीनलाई अनाहकमा दुःख दिइरहेको छ, यो ठ्याक्कै परीक्षामा फेल हुने केटोले अर्को जान्नेलाई दोष थोपरेर उम्कने कुचेष्टाजस्तै हो । चीन अमेरिकी आरोपमै अल्झिरहनेछैन, न त हात धोएर अमेरिकाको पतनको पछि दौडन्छ । चीन भाइरस नियन्त्रणमा मात्र होइन, अन्य आर्थिक गतिविधि सहज बनाउनतिर दिलोज्यानले लाग्नेछ ।
विश्वमा युद्ध, द्वेष, विभाजन र विभेद फैलाउने ‘प्यान्डोराको बाकस’ ट्रम्प प्रशासनले खोल्नु एकदमै दुःखद विषय हो । अब अमेरिकाको हालीमुहाली विश्वभर नचले पनि यो एउटा शक्तिशाली मुलुक हो । वासिंटनको सानो लापर्बाहीले अमेरिकाको मात्र होइन, मानवजातिकै विनाश निम्त्याउन सक्छ । अर्थशास्त्रमा नोबल पुरस्कार बिजेता जोसेफ इ स्टिग्लिजले एकपटक भनेका थिए, ‘हामीले हाम्रो पृथ्वी र मानव सभ्यता बचाउन हाम्रो इतिहास फेरि एकपटक ब्युँझाउनुपर्छ, हामीले ‘इनलाइटनमेन्ट’का स्वतन्त्रता, प्रजातन्त्र र ज्ञानको महत्वजस्ता मूल्य र मान्यतालाई पुनर्जीवित गर्नुपर्छ ।
(वेन रेनमिन विश्वविद्यालय, चीनका प्राध्यापक हुन्)
ग्लोबल टाइम्सबाट