भदौ २६,कञ्चन ।
बंगलादेशका सर्वाधिक सफल ब्याट्सम्यान तमिम इकबालले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) भैरहवा ग्ल्याडियटर्सबाट खेल्ने भएका छन् । भैरहवाले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै तेस्रो विदेशी खेलाडीको रुपमा तमिमसँग सम्झौता गरेको जानकारी दिएको छ ।
३२ वर्षिय बायाँ हाते बंगलादेशका सर्वाधिक सफल ब्याट्सम्यान तमिमले ६४ टेस्ट, २ सय १९ ओडिआई, ७८ टि२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । तमिमसँग २ सय २९ टि२० खेलको अनुभव छ । तमिम बंगलादेशबाट टेस्ट र ओडिआईमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् । टि२० आईमा बंगलादेशबाट सर्वाधिक रन बनाउनेमा दोस्रो स्थानमा छन् ।
तमिमले टि२० आईमा १ शतक र ७ अर्धशतक सहित १ हजार ७ सय ५८ रन बनाएका छन् । तमिम बंगलादेशबाट टि२० आईमा शतक प्रहार गर्ने पहिलो र एक्लो क्रिकेटर हुन् । उनले २०१६ को टि२० विश्वकपमा ओमानविरुद्ध ६३ बलमा १ सय ३ रनको अविजित शतकीय इनिङ सहित इतिहास रचेका थिए ।
तमिमले टेस्टमा ९ शतक र ३१ अर्धशतक सहित कुल ४ हजार ७ सय ८८ रन बनाएका छन् । उत्कृष्ट प्रदर्शन २ सय ६ रन छ । ओडिआईमा १४ शतक र ५१ अर्धशतक सहित ७ हजार ६ सय ६६ रन बनाएका छन् । उत्कृष्ट प्रदर्शन १ सय ५८ रन छ । २०२० मार्चदेखि बंगलादेशको ओडिआई टोलीको कप्तानी सम्हाल्दै आएका छन् ।
तमिमले टि२० विश्वकपबाट आफ्नो नाम फिर्ता लिएका थिए । तमिम बिनानै बंगलादेशले विश्वकप खेल्ने टोली घोषणा गरि सकेको छ । तमिमले आफूले लामो समय देखि टि२० आई खेल बंगलादेशबाट नखेलेको हुँदा विश्वकपको लागि अरुनै लयमा रहेका खेलाडी योग्य भएको बताउँदै नाम फिर्ता लिएका थिए ।
भैरहवाले विदेशी खेलाडीको रुपमा यसअघि श्रीलंका पूर्व कप्तान तथा ओपनर उपुल थरंगा र तीव्र गतिका बलर धाम्मिका प्रसादलाई टोलीमा अनुबन्ध गरि सकेको छ । दीनेश चान्डिमलको नाम सार्वजनिक गरेपनि अन्तर्राष्ट्रिय व्यस्तताको कारण नआउने जानकारी दिई सकेको छ ।
चौथो संस्करणको इपिएल आगमी असोज ९ देखि २३ (सेप्टेम्बर २५ देखि अक्टोवर ९ ) सम्म टियु मैदानमा हुँदै छ ।
भैहरवा पछिल्ला दुबै संस्करणमा उपविजेता सिमित भएको छ । पछिल्लो संस्करणको फाइनल २०१८ मा भैरहवा ललितपुर प्याट्रीयट्र्ससँग १४ रनले पराजित हुँदै च्याम्पियन बन्नबाट चुकेको थियो । दोस्रो संस्करण २०१७ मा विराटनगर वारियर्ससँग एक रनले पराजित हुन पुगेको थियो ।
भैरहवा मुख्य प्रशिक्षकमा नेपाली क्रिकेट टोलीका पूर्व प्रशिक्षक पुबुदु दसानायेके छन् ।
भैरहवामा नेपाली घरेलु क्रिकेटका सफल कप्तान शरद भेषावकरले नेतृत्व गर्दा युवा ब्याट्सम्यान आरिफ शेख, रोहित कुमार पौडेल, कुशल मल्ल र तीव्र गतिका बलर अभिनाश बोहरा जस्ता वर्तमान नेपाली टोलीमा रहेका युवा स्टार छन् । टोलीमा प्रदीप ऐरी, भुवन कार्की, कृष्ण कार्की, अनिल खरेल, हरिशंकर शाह, दीपेश श्रेष्ठ, विकास आग्री, दुर्गेश गुप्ता र हिमान्शु दत्त स्वदेशी खेलाडीको रुपमा छन् ।
भैरहवाले ट्यालेन्ट हन्ट खेलाडीको पनि टुङ्गो लगाइसकेको छ । नाम सार्वजनिक गर्न बाँकी छ । भैरहवाले पुबुद नेपाल आएपछि प्रशिक्षण थाल्ने बुझिएको छ ।