कोभिड–१९ को महामारीले संसारका अत्यधिक बहुमत जनताले विश्वास गरेका ढाँचाहरूका कमी–कमजोरी निकै नराम्ररी उदाङ्गिो बनाइदिएको छ । यहाँ ढाँचाहरू भन्नाले सबै देशका सरकारहरू र अन्तर्राष्ट्रिय प्रणाली (संरा सङ्घ, युरोपेली सङ्घ आदि) दुवैलाई बुझ्नुपर्छ । अहिले भोगिरहेको महामारीपछि ती दुवै संरचना न अहिलेको अवस्थामा टिक्नेछ न त टिकाउनु नै हुन्छ ।
धेरैअघि केही बाठा टिप्पणीकारहरूले प्रकृतिमाथि मानिसको प्रभाव रहने मानवप्रधान (एन्थ्रोपोसिन) युग सुरु भएको घोषणा गरेका थिए । अत्याधुनिक औद्योगिक अर्थतन्त्रमा यो भनाइ सत्य हो । जहाँ सिङ्गो पृथ्वी मूलतः मानिसको नियन्त्रणमा हुन्छ । त्यसपछि संसारमा देखियो–सुक्ष्म जीवाणुहरू । मानिसका सबै वैज्ञानिक ज्ञान र प्राविधिक क्षमतालाई लत्याएर केही समयको लागि भए पनि कोभिड–१९ आज संसारमा हावी बनेको छ ।
विडम्बनाको कुरा, संसारको सबभन्दा विकसित र शक्तिशाली देशहरू नै महामारीको लागि सबभन्दा न्यून तयारीमा रहेको देखियो । अनुसन्धान र विकास क्षेत्रमा अरबौँ अरब डलर खर्च गरेर उनीहरूले संसारकै सबभन्दा अत्याधुनिक प्रविधि र शक्तिशाली सेना बनाएका छन् । तर, उनीहरूले प्रकृतिबाट कुनै ठूलो चुनौती आउन सक्ने कुरालाई गम्भीरतापूर्वक लिएनन् । आज हामीले महसुस गरिरहेका छौं, वास्तवमा यो चुनौतीलाई गम्भीरतापूर्वक नलिनु मानिसको ऐतिहासिक गल्ती थियो । फलतः आज हामी कुनै नरोकिनेजस्तो आँधी सामना गरिरहेका छौं । काला साँपका सबै अवतार यतिबेला धर्तीमा झरेजस्तो भएको छ ।
पहिलो चरणमा कोभिड–१९ को महाविपत्तिले अहिलेका विद्यमान स्थापित संरचनाहरूलाई बलियो बनाउने देखिएको थियो । परम्परागत सरकारहरू भाइरसमाथि नियन्त्रण र विपतकालीन अर्थतन्त्र पुनःस्थापना गर्न सक्षम हुने ठानिएको थियो । दोस्रो विश्वयुद्धपछि स्थापना भएका बहुपक्षीय संस्थाहरूले सहयोगात्मक भूमिका मात्र खेल्ने सोचिएको थियो । युरोपमा पनि युरोपेली सङ्घले भन्दा देशका सरकारहरूले महामारीविरुद्धको लडाइँमा नेतृत्व गरिरहेका थिए ।
तथापि अहिलेको अवस्थाले हाम्रा ती बुझाइ गलत भएको देखाएको छ । अन्तर्राष्ट्रिय प्रणालीअन्तर्गत आकार र शक्तिको आधारमा निकै धेरै भिन्नता भएका राज्यहरू समावेश छन् । तर, ती सबै राज्यहरूले राष्ट्रिय सार्वभौमिकताको पुरानो मान्यता बोकेका छन् । त्यस्तो प्रणाली सत्रौँ शताब्दीमा युरोपमा भएका धार्मिक युद्धको खरानीबाट उदाएको थियो । उपनिवेशवाद अनि त्यसपछि उपनिवेशवाद मुक्तिका अनेकन चरण हुँदै ती राज्यहरू अघि बढे ।
बीसौँ शताब्दीको सुरुका पचास वर्षमा भएका दुई विश्वयुद्ध र आणविक युगको सुरुआतसँगै अन्तर्राष्ट्रिय बन्दोबस्तमा ठूला सुधारको आवश्यकता देखिएको थियो । सरकारहरूबीचको आपसी तनाव न्यूनीकरण गर्न संयुक्त राष्ट्र सङ्घको स्थापना भयो । अन्तर्राष्ट्रवाद नयाँ मान्यताको रूपमा विकास भयो । सबै सरकारहरूले आफ्ना अहम् त्यागेर विश्वव्यापी संरचनाभित्र रही शान्ति र सहकार्य कायम राख्ने अपेक्षा गरियो ।
तर, व्यवहारमा शक्ति संयुक्त राष्ट्र सङ्घको कैदी कहिल्यै भएन । अहिले पनि शक्ति विश्वका महाशक्तिहरूकै बगलमा छ । महाशक्ति भन्नाले लगभग संरा सङ्घको सुरक्षा परिषद्का स्थायी सदस्यहरू मान्नु उचित हुन्छ । फलतः अन्तर्राष्ट्रिय प्रणाली राष्ट्रवाद र अन्तर्राष्ट्रवादबीच आपसी सम्झौतामा दसकौंसम्म अघि बढ्यो । अमेरिकाले पनि बहुपक्षीय संरचना (संयुक्त राष्ट्र सङ्घलगायत) जोगाउँदै आफू सोही ढाँचाअनुसार काम गरिरह्यो । तर, जसै राष्ट्रपति डोनाल्ड ट्रम्प पदमा आए संरा अमेरिकाले यस्ता कुनै पनि संरचनाप्रति आफू जिम्मेवार भएको कुरा मान्न छोड्यो ।
दोस्रो विश्वयुद्ध पछिको समयमा संसार मानवप्रधान(एन्थ्रोपोसिन) युगमा प्रवेश गर्यो । विश्वव्यापीरूपमै मानिसको भौतिक प्रगतिका विचार हाबी बने । त्यसपछिका दसकमा संसारको जनसङ्ख्यामा नाटकीय परिवर्तन भयो । २ अर्ब ५० करोड जनसङ्ख्याबाट संसारको जनसङ्ख्या झन्डै ८ अर्ब पुग्यो ।
तर, मानवप्रधान युगले मानिसको भविष्यमाथि नै चुनौती पनि थपिदियो । संसारका अधिकांश भूभाग औद्योगिकरण भएसँगै प्राकृतिक स्रोतसाधनको दोहन अचाक्ली बढ्यो । त्यसका धेरै परिणाममध्ये एउटा परिणाम भनेको विश्वव्यापी तापमान वृद्धि हो । हामीले तापमान वृद्धिको कुनै उपयुक्त प्रतिरोध थाल्नुअघि नै तापमान वृद्धि खतरनाक तहमा पुगिसकेको थियो ।
यही समयमा नयाँ सूचना प्रविधिले श्रम विभाजनमा परिवर्तन ल्यायो । विश्वव्यापी मूल्यको विकास गर्यो जसले संसारका मानिसहरू एकआपसमा अन्तरनिर्भर बने । अहिले भाइरसको कारण संसार ठप्प छ । यस्तो परिस्थितिमा हामीले बुझ्यौं–विश्वव्यापी अर्थतन्त्र भनेको तीब्र गतिमा दौडिने रेस कार रहेछ जो निकै तीब्र गतिमा दौडिन सक्छ तर आफै भने अत्यन्त कमजोर पनि हुन्छ ।
संरा अमेरिका र चीन जस्ता शक्तिशाली परम्परागत राज्यहरूले पनि ८ अर्ब जनसङ्ख्या भएको संसारको उचित व्यवस्थापन गर्न सक्दैन । राज्यहरूका हित सामान्यतः निकै साँघुरो गरी परिभाषित हुन्छन् । मानवप्रधान युगले निःसन्देह मानव जातिको साझा हितलाई पहिलो प्राथमिकतामा राख्छ, मानिसको अस्तित्वको निरन्तरताको त कुनै प्रश्न नै छैन । अन्तर्राष्ट्रिय सहकार्य आवश्यक पर्ने कोभिड–१९ महामारीले कुनै एकाध देशको हितका विषयलाई पृष्ठभूमिका धकेलिदिएको छ । जलवायु परिवर्तनले निम्त्याएका विपद् अझ बृहत् हुन सक्छ । त्यसका परिणाम सम्हाल्न नै नसकिने हुन सक्छ ।
असल शासन गर्ने राज्यहरूको भूमिका अझै उस्तै रहनेमा कुनै सन्देह छैन । साथै विश्वव्यापी पहलकदमीमा राज्यहरूको भूमिका महत्वपूर्ण नै हुनेछ । राष्ट्रवादको सिद्धान्त भविष्यका सङ्कट सामना गर्न हानिकारक हुनसक्छ । महामारीले अन्तर्राष्ट्रिय सहकार्यको नयाँ युग आरम्भ गरेको छ । बहुपक्षीय संस्थाहरूलाई बलियो बनाउनेछ । विशेषतः युरोपको सन्दर्भमा यो कुरा अझै बढी लागू हुनेछ ।
यतिबेला हामीले अरु बेलाभन्दा बढी सन् १९४५ को भावनालाई अङ्गीकार गर्नुपर्छ । हामीले एक्काइसौँ शताब्दीका दुई महाशक्ति अमेरिका र चीनले आपसी दुश्मनी त्यागेर अहिलेको महाविपद्को सामूहिक सामना गर्न सबै मानव जातिलाई एक बनाउने उदाहरण बन्नुपर्ने खाँचो छ । कोभिड–१९ ले हामीलाई पुरानो अन्तर्राष्ट्रिय प्रणालीले अब मानिसको सुरक्षा सुनिश्चित गर्न नसक्ने कुरा सिकाएको छ । हामीले एउटै पाठ दुई दुई पटक सिक्न सक्दैनौं ।
स्रोतः सीजीटीएन मार्फत प्रोजेक्ट सिन्डिकेटबाट
नेपाली अनुवाद : सुमन