२० भदौ,बुटवल।
'भाषा, साहित्य, कला र संस्कृति'को उन्नयन र विकासका लागि स्थानीय तहबाट स्थानीय स्तरको प्रज्ञा प्रतिष्ठानको रुपमा बुटवल उपमहानगरपालिकाले विज्ञ झपेन्द्रबहादुर जिसीको अध्यक्षतामा 'भाषा, साहित्य, कला र संस्कृति प्रतिष्ठान' गठन गरेको छ। स्थानीय तहबाट स्थानीय स्तरको प्रज्ञा प्रतिष्ठानको रुपमा पालिकाले कानुन बनाएर गठन भएको यो मुलुककै पहिलो प्रतिष्ठान हो ।
प्रतिष्ठानको उपाध्यक्षमा लक्ष्मी गुरुङ, सचिवमा दलबहादुर गुरुङ र कोषाध्यक्षमा सीता ढुंगाना काफ्ले रहनुभएको छ । प्रतिष्ठानका सदस्यहरुमा डा.शालिकराम पौड्याल, इन्दिरा अर्याल, कपिल ज्ञवाली, नारायणबहादुर थापा, चिरन बराल, चौतारे थारु, रामचन्द्र श्रेष्ठ, झविन्द्र थापा र बीरेन्द्र अग्रहरी रहनुभएको छ । भाषा, साहित्य, कला र संस्कृति प्रतिष्ठान स्थापना र सञ्चालनका लागि बनाइएको ऐन बमोजिम उक्त प्रतिष्ठान गठन भएको थियो ।
नव गठित प्रतिष्ठानले कार्ययोजना बनाउने, मनोनित गर्ने, सल्लाहकार छनौट गर्ने र विद्वत् सभामा पेश गर्ने लगायतका काम गर्ने छ । ‘भाषा, साहित्य, कला, संस्कृति प्रतिष्ठान‘का पदाधिकारी र सदस्यहरुले आइतवार शपथ ग्रहण गरेका छन् । प्रतिष्ठानको आइतबारै बसेको प्रथम बैठकले भाषा, साहित्य, कला र संस्कृतिको उन्नयन र विकासका लागि अभियान सञ्चालन गर्ने अवसर दिएको भन्दै बुटवल उपमहानगरलाई आभार प्रकट गरेको छ ।
उपमहानगरका प्रमुख प्रतिस्थानका लागि प्रमुख संरक्षक र उप प्रमुख संरक्षक रहने कार्यबिधी रहेको छ । उपमहानगरका प्रमुख प्रतिस्थानका प्रमुख संरक्षक शिवराज सुवेदीले आइतबार समारोहबीच प्रतिष्ठानका अध्यक्ष झपेन्द्र जिसीलाई शपथ ग्रहण गराउनुभएको थियो भने सपथ ग्रहण पछि अध्यक्ष जि.सीले पदाधिकारी र सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको थियो ।
प्रतिस्थानका पदाधिकारीहरुलाई शपथ ग्रहण पश्चात प्रमुख सुवेदीले बुटवलको पहिचान बढाउने खालको भाषा, साहित्य र सिर्जनाका कामलाई प्राथमिकतामा राखेर अभियान सञ्चालन गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । राष्ट्रिय स्वाभिमानको जितगढी किल्लालाई केन्द्रमा राखेर समग्र बुटवलको पहिचान स्थापित गर्ने गरी साहित्य साधनाका कामलाई अगाडि बढाउन निर्देशन दिदै प्रमुख सुवेदीले अभियानमा सबै क्षेत्र र पक्षलाई समेटेर अगाडि बढ्न समेत आग्रह गर्नुभयो ।
यस्तै उपप्रमुख तथा प्रतिष्ठानका संरक्षक गुमादेवी आचार्यले भाषा, साहित्य, कला र संस्कृतिको उन्नयन र विकासका लागि आ–आफ्नो प्रतिभालाई सदुपयोग गरेर असल नियतका साथ जिम्मेवारी वहन गर्दै अगाडि बढ्न आग्रह गर्नुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मी, वरिष्ठ अधिकृत भुवाप्रसाद लुइँटेल लगायतले प्रतिष्ठानलाई कार्ययोजना बनाएर प्रभावकारी र रचनात्मक अभियान सञ्चालन गर्न आग्रह गर्नुभयो ।
प्रतिस्थानले आगामी १० महिने कार्ययोजना बनाई भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण र सम्बद्र्धन तथा उन्नयनका गतिबिधी संचालन गर्ने प्रतिस्थानको पहिलो बैठकद्धारा निर्णय गरेको सचिव दलबहादुर गुरुङले जानकारी दिनुभयो ।