आजभन्दा दुई वा तीन शताब्दीपछि भविष्यको कुनै समयमा त्यत्तिबेलाका इतिहासकार र सामाजिक वैज्ञानिकहरूले त्यत्तिञ्जेल लोप भइसकेको अमेरिकी व्यवस्थाको असफलताको कारणबारे कुनै पुस्तक लेखे एउटा सत्यमा सबैजना सहमति हुनेछन्ः ‘अमेरिकीहरूले स्वतन्त्रता र समानताको घोषणा गरे पनि त्यो समाजमा व्याप्त जातिवाद, पुरुष अहङ्कारवाद, समलिङ्गी विरोधी, विदेशीप्रति घृणा गर्ने र बृहत् आर्थिक असमानताले ती अमेरिकी आदर्शलाई लगातार लत्याउने गरेको थियो ।’
अमेरिकी आदर्शले वास्तवमै फल्ने फुल्ने कुनै मौका पाएका थिए अथवा त्यो अमेरिकी अहम्लाई सुहाउने केही मिथकमात्र थिए भन्ने विषयमा भविष्यका विज्ञहरूले घोत्लिनुपर्नेछ ।
एउटा महाशक्ति, राष्ट्र–राज्य र विचारधाराको रूपमा अमेरिका पराजित हुनुपर्नाका कारण खोतल्नेछन् र उनीहरूसँग असफलताका कारणको सूची निकै लामो हुनेछ ।
सन् १९४५ देखि सन् १९८० दसकमा शीतयुद्ध, भियतनाम युद्ध र आणविक हतियारको प्रतिस्पर्धामा संरा अमेरिकाले अथाह डलर खेर पठायो । रिचर्ड निक्सनको राष्ट्रपतिकाल, वाटरगेट र सरकारको फैलिँदो भ्रष्टाचारले अमेरिकी व्यवस्थालाई कमजोर बनायो । सन् १९८० को दसकमा राष्ट्रपति रोनाल्ड रेगनको कार्यकालमा अमेरिकी सामाजिक सुरक्षा संयन्त्रमा व्यापक लगानी कटौती गरियो । व्यापार व्यवसायमा कुनै किसिमको नियमन गरिएन । ‘फेरि अमेरिकाको पुनःउदय’ को घोषणासँगै यो क्रम राष्ट्रपति बिल क्लिन्टन, जर्ज डब्ल्यु बुश र बराक ओबामासम्म चालु रह्यो । सन् १९९०–९१ मा पहिलो खाडी युद्ध भयो । त्यसपछिका दसकमा संरा अमेरिका अफगानिस्तान, इराक र अन्यत्र पनि अन्त्यहीन लडाइँमा होमियो । सन् २००८ मा अमेरिकी अर्थतन्त्रमा ठूलो मन्दी आयो । तर, त्यो मन्दीले पनि ठूला पुँजीपति वर्गलाई नै फाइदा पुर्यायो । लाखौं मानिसलाई गरिबीको खाडलमा धकेल्यो ।
आज संरा अमेरिकाले सामना गरिरहेका सङ्कटको मूल जग यिनै हुन् । अहिले नोबेल कोरोना भाइरसको महामारीले अमेरिकामा लाखौँ मानिसलाई विरामी बनाएको र हजारौँ मानिसको निधन भएको छ । विश्व स्वास्थ्य सङ्गठन, अमेरिकी रोग नियन्त्रण केन्द्र र ओबामा सरकारले महामारीको विपत्ति सामना गर्न तयारीको लागि गरेको आग्रहलाई बेवास्ता गर्दा राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले यसलाई नियन्त्रणमा ल्याउन सकेको छैन ।
ट्रम्पले वास्तवमा यो महामारीको प्रभाव कम गर्न सक्थे । तर, यो काममा उनी असफल भए । उनले कोभिड–१९ लाई डेमोक्रेटिक पार्टीका मानिसहरूले फैलाएको ‘नयाँ हल्ला’ भने ।
कोभिड–१९ को महामारीले अमेरिकी समाजमा जरा गाडेको अर्को एउटा महामारी पनि उजागर गरेको छ । त्यो नयाँ महामारी हो–अमेरिकी आत्मरति । सन् १६०७ मा उत्तर अमेरिकामा पहिलो पटक अङ्ग्रेजहरूको स्थायी बसोबास बसाएको जेम्सटाउनको स्थापनादेखि नै अमेरिकामा यो रोग लागेको थियो ।
अमेरिकी आत्मरतिको यो रोग कुनै पनि भाइरसभन्दा बढी खतरनाक छ । पुस्तौँ पुस्तादेखि अमेरिकीहरू अथाह धन र असीमित सफलताको आकर्षणमा घमण्ड गर्ने गर्छन् । भलै त्यस्तो घमण्ड जतिसुकै हावादारी किन नहोस् ।
जनवरीको सुरुमा चीनको उहान सहरमा पहिलो सङ्क्रमित व्यक्तिको निधन भए यता संरा अमेरिकाले कोरोना भाइरसको प्रतिरोध गर्न के कस्ता काम गर्यो, हेरौँ । संरा अमेरिकाको केन्द्रीय सरकारले देशभित्र सम्भावित र सङ्क्रमित व्यक्तिहरूको परीक्षणको लागि कहिल्यै पनि न त स्रोत साधन प्रयोग गर्यो न आफूसँग भएका संयन्त्र नै परिचालन गर्यो ।
जनवरी महिनाको अन्त्यतिर वासिङ्टन राज्यमा भाइरस सङ्क्रमण भएको पुष्टि भयो । तर, संरा अमेरिकी सरकारले सङ्क्रमण रोकथामको लागि गम्भीरतापूर्वक कुनै काम गरेन । राष्ट्रपति कार्यालय, संसद् र सबै सरकारी अधिकारीहरू मार्च महिनाको सुरुसम्म महाभियोगदेखि निर्वाचनसम्मका आफ्ना नियमित काममा तल्लीन थिए । जब अमेरिकी सरकार कोभिड–१९ को महामारी रोक्न असफल भएको भन्ने प्रस्ट हुँदै गयो, सारा देश छाँगाबाट खसेजस्तै भयो । ट्वाइलेट पेपर, बोटलको पिउने पानी, स्यानिटाइजर, झोल साबुन, सर्जिकल फेस मास्क, कागजको रुमाल, सुन्तलाको पेयपदार्थ, ज्वरो नाप्ने औजार आदि सबै विशालबजारमा एकाएक सकिए । औषधि पसलहरू रित्तिन थाले । त्यो पीडा र वियोगको अवस्थामा केही अमेरिकीहरूको ध्यान भने नाफा कसरी बढाउने भन्नेमा केन्द्रित थियो । सयौँ खरबको व्यापार गर्ने अमेजनजस्ता कम्पनीले मानिसको पीडा, शोषण र कष्ट रोक्न केही पनि गरेन ।
मध्य मार्चअघिसम्म आफ्ना कर्मचारीको रक्षा गर्नसमेत ठूला–साना कम्पनीले केही गरेनन् । जब कि भरपर्दा चिकित्सकहरू सामाजिक दुरी कायम गर्न र घरभित्रै बस्न मानिसलाई आग्रह गरिरहेका थिए ।
हवार्ड विश्वविद्यालयले आफ्ना सबै कक्षाहरू बन्द गर्ने घोषणा गर्यो । नेशनल बास्केटबल एसोसिएसन (एनबीए) ले आफ्ना सबै खेल कार्यक्रम स्थगित गर्यो । अनि बल्ल अमेरिकाका अरू विश्वविद्यालय, खेलकुद केन्द्र र अन्य संस्थाहरू बन्द गरिए । विश्वविद्यालय र खेलकुद प्रतिष्ठानहरूको अन्तर्राष्ट्रिय प्रकृतिको कारण त्यो निर्णय आवश्यक थियो । महामारीको कारण सबभन्दा दूरगामी प्रभाव तिनमा पर्ने सम्भावना बढी थियो ।
न्युयोर्क, इलियोनाइस, न्यु जर्सी र क्यार्लिफोनिया आदि राज्यमा लकडाउनकै अवस्था बन्यो । अलाबामा, फ्लोरिडा र टेक्सासमा सामान्य सावधानीका सूचना जारी गरिए । तथापि सामाजिक दुरीका सामान्य नियमसमेत अमेरिकी नागरिकबाट लगातार मिच्ने काम भइरह्यो । मानिसको भीड समुद्र किनारामा कम भएन । सार्वजनिक सभा समारोहमा कुनै कमी भएन । अमेरिकीहरूलाई विश्वव्यापी महामारी कुनै गर्मी बिदाजस्तै भएको थियो ।
मार्च महिनामा टेक्सासका गभर्नर डान पेट्रिकजस्ता केही मानिसले भाइरस प्रतिरोधको लागि सरकारले लगाएका रोकहरूप्रति असन्तोष व्यक्त गरे । उनले भने,“हामी काममा फर्किऔं, दैनिक जीवनमा फर्किऔँ । ७० वर्षभन्दा माथिको मानिसको हामी आफैले हेरचाह गर्छौं । तर, त्यही बहानामा देशलाई बलिदान नगरौँ ।” अमेरिकी अर्थतन्त्रको स्थायित्वभन्दा ज्येष्ठ नागरिकको जीवनलाई कम महत्व दिइयो ।
मिसिसिपीका गभर्नर टेट रिभ्सले अत्यावश्यक बाहेकका व्यापारमाथि लगाएको रोक र सामाजिक दुरीमाथिको कडाइ खुकुलो पारे । सो राज्यका जनतालाई सामान्य जीवनमा फर्किने बाटो रिभ्सको त्यो सूचनाले खोल्यो ।
भर्जिनियाको लिबर्टी विश्वविद्यालयका कुलपति जेरी फलेव जुनियर र उनका अन्य सहकर्मीहरूले हरेक दिन सङ्क्रमितको सङ्ख्या बढिरहेको सन्दर्भमा विश्वविद्यालयका कक्षाहरू पुनः सुचारु गर्नु बुद्धिमानी भएको बताए । अमेरिकी आत्मरतिका यी केही नमूना हुन् ।
अमेरिकी आत्मरतिजस्तै त्यही विषाक्त माटोबाट हुर्केको अर्को विरुवा हो–अमेरिकी जातिवाद । मानवताको भावनाप्रति पूर्णतः बेवास्ता गर्दै शक्तिको भोक र चाहनामा अमेरिकी जातिवाद हुर्केको हो । अमेरिकी आत्मरति र जातिवाद सँगसँगै काम गरिरहेको हुन्छ । मार्च महिनामा एउटा प्रेस सम्मेलनमा वाचन गरेको वक्तव्यमा ट्रम्पले ‘कोरोना’ शब्द काटेर किन ‘चाइना भाइरस’ शब्द राखेका थिए ?
संरा अमेरिकामा गत महिना एसियाली र चिनियाँविरुद्ध ११ सयभन्दा बढी आक्रमणका घटना किन भए ? जातिवादी मनसायबाट अनलाइन कक्षा ह्याकिङ गर्नुको कारण के हो ? निःसन्देह आत्मरति र जातिवादका साथै पराई बनाउने प्रक्रिया (अर्डरिङ) वास्तवमा एक अर्कोसँग अन्तरसम्बन्धित छन् । ऐतिहासिकरूपमा सत्य यो कुरा कोभिड–१९ को महामारीको समयमा पनि सत्य छ ।
अहिलेको समय संरा अमेरिका कसैले कल्पना पनि गर्न नसकिने तहसम्म कमजोर छ । संरा अमेरिकी स्वास्थ्य प्रणाली भयावह हुनुको अर्थ गरिब, घरबारविहीन, उपेक्षित, असक्त र मनोवैज्ञानिक रोगीहरू सबै आगामी साता वा महिना कोरोना भाइरसबाट सङ्क्रमित हुने खतरा हो ।
आगामी १२ देखि १८ महिनाभित्र संरा अमेरिकामा २ लाख मानिसको निधन हुने पूर्वानुमान गरिएको छ । मर्नेमा तिनै मानिस पर्ने हुन् । जीवित रहन ती मानिसहरूसँग कुनै स्वास्थ्य सुविधा छैन । संसदले अमेरिकी अर्थतन्त्रमा क्षति हुन नदिन दिएको २ त्रिलियन डलरले ती मानिसलाई कहींकतै छुने छैन । त्यो पैसाले धनी व्यापारी एकाधिकारवादीहरूकै सेवा गर्ने हो । कसैको भागमा थोरै परिहाले पनि पैसा हातमा पर्दासम्म निकै ढिला हुनेछ । त्यसको अर्थ अमेरिकामा अरु धेरै मानिस बेरोजगार, अर्ध बेरोजगार, स्थायी र अस्थायीरूपमा घरबारविहीन हुनेछन् । कति मानिस बिरामी हुनेछन्, कति जेलमा कोचिनेछन् त कतिको मृत्यु हुनेछ ।
अमेरिकाभित्र र बाहिर पनि यो महामारीको समयमा नेतृत्वको अभाव कहालीलाग्दो छ ।
वास्तविकता के हो भने धेरै अमेरिकीहरू अरू अमेरिकीहरूबारे कुनै पर्वाह गर्दैनन् । विशेषतः यस्तो महामारीको समयमा काला र खैरा मानिसबारे उनीहरूको कुनै चासो र चिन्ता हुँदैन । चार सय वर्षको आत्मरति र जातिवादको इतिहासले यही भन्छ । अधिकांश अमेरिकीहरू भूमण्डलीकरण र जलवायु परिवर्तनको कारण प्रकृतिमा पर्ने असरबारे खासै वास्ता गर्दैनन् । ती विषय आफ्नो टाउको दुःखाईको विषय नभएको उनीहरूको सोचाइ छ । संसारको सबभन्दा शक्तिशाली भएर पनि संसारमै सबभन्दा केही पनि नगर्ने देशको रुपमा अमेरिकी छवि यो महामारीको समयमा पुनः उजागर भएको छ ।
के अमेरिकाको दिन सकियो ? पक्कै पनि अझै लामो समय अमेरिका महाशक्ति र धनी देशको रुपमा रहनेछ । तर, त्यो शक्ति र धनले धनी गोरा र पुँजीपति वर्गको मात्र सेवा गर्नेछ ।
कोरोना महामारीले संरा अमेरिकालाई कालरात्रीतिर धकेल्नेछैन । तर, अहिलेको विपत्ति एउटा पूर्व सङ्केत हो । संरा अमेरिका र सबै स्थायी देशहरूको लागि यो सावधानीको घण्टी हो । स्वतन्त्रता र असलशासन सबै झूटा सावित भएका छन् ।
आजकै अमेरिकाको निरन्तरता चाहनेहरू अमेरिकी आत्मरति र जातिवादको प्रवद्र्धन मात्र होइन, बरु भविष्यको महाविपत्तिको आमन्त्रण गर्दैछन् । लेनडन जोनसनदेखिका सबै अमेरिकी राष्ट्रपतिले गरेका राजनीतिक प्रयोगको असफलताको निम्ति अन्ततः ती सबैजना दोषी हुनेछन् ।
(लेखक वाशिङ्टन डीसीस्थित अमेरिकन विश्वविद्यालयमा इतिहासका अध्यापक हुनुहुन्छ ।)
श्रोत : बहुचर्चित अन्तराट्रिय संचार गृह अल जजिरासंगको सहकार्यमा प्रकाशित
नेपाली अनुवादः सुमन