असार २७,कञ्चन ।
दशरथ रंगशालामा चैतमा थ्री नेसन्स कप विजेता राष्ट्रिय फुटबल टोलीका सदस्यलाई सरकारले आइतबार नगद पुरस्कार प्रदान गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी ओलीले २३ खेलाडी र ३ प्रशिक्षकलाई नगद पुरस्कार प्रदान गरे ।
खेलाडीले जनही ४ लाख, मुख्य प्रशिक्षक बालगोपाल महर्जन, प्रशिक्षक किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षक विकास मल्ले समान २ लाख रुपैयाँ प्राप्त गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) का एक सदस्य समेत रहेका व्यवस्थापक मधुसुदन उपाध्यायले जानकारी दिए । नेपाली टोलीले चैत १६ गत बंगलादेशलाई २–१ ले हराउँदै थ्री नेसन्स कप जितेको केहि दिनपछि सरकारले टोलीका खेलाडीलाई जनही ४ लाख रुपैयाँ दिने निर्णय गरेको थियो । प्रतियोगितामा अर्को टोलीका रुपमा कीर्गिस्तानको यू २३ टोलीले भाग लिएको थियो ।
कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले साफ च्याम्पियनसिप आयोजनाका लागि प्रक्रिया अघि बढाउन राष्ट्रिय खेलकुद परिषद् र एन्फालाई स्वीकृती दिएका थिए । सेप्टेम्बर दोस्रो सातामा (असोज पहिलो साता) बंगलादेशमा हुने भनिएको प्रतियोगिता विविध कारणले गर्दा सम्भव नहुने भएपछि नेपालले आयोजनाका लागि इच्छा देखाएको छ । अब बंगलादेशले आयोजना नगरेको खण्डमा नेपालले नै आयोजना गर्ने सम्भावना बढेको छ ।
विश्व कप छनोटका ३ खेल दशरथ रंगशालमा चैतका लागि तय भएपनि कोराना महामारीका कारण नेपालबाट कुवेत सारिएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले थ्री नेसन्स कप आयोजना गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले दशरथ रंगशाला पुगेर फाइनल हेरेका थिए । समापनका क्रममा खेलाडीहरुले ‘केपी बा वि लभ यु’ भन्दै नारा लगाएका थिए ।
प्रधानमन्त्री ओलीले दशैंको बेलामा पर्ने हुनाले खेलाडीले साफ जितेर दशैं मनाउन पाउने बताएका थिए । उनले नेपालले खेल्न नभएर जित्नका लागि साफ च्याम्पियनसिप आयोजना गर्ने समेत जनाए । खेलाडीहरुले प्रधानमन्त्री ओलीले साफ आयोजना गर्न भनेसँगै ताली बजाएर निर्णयको स्वागत गरेका थिए ।
गत वर्ष नै बंगलादेशले आयोजना गर्ने भनिएको प्रतियोगिता कोरोना संक्रमणका कारण एक वर्ष पछि धकेलिएको थियो । यसपटक सेप्टेम्बरमा नै प्रतियोगिता आयोजना भएपनि राजधानी ढाकामा नहुने बंगलादेश फुटबल संघले यसअघि नै जनाएको छ । बंगबन्धु अन्तर्राष्ट्रिय रंगशालाको पुनर्निर्माण जारी रहेका कारण सिल्हेट वा चटगाउँमा प्रतियोगिता हुने सम्भावना रहेको साफका महसचिव अन्वरुल हकले जानकारी दिएका थिए ।
पछिल्लो समय भने कोरोना संक्रमण वृद्धि र प्रायोजक नपाएपछि बंगलादेशमा नहुने सम्भावना बढेको हो । नेपालले सेप्टेम्बरमा नै साफ आयोजना गर्ने भन्दै राष्ट्रिय टोलीको तयारी सुरु गरिसकेको छ । सेप्टेम्बरमा फिफाको अन्तर्राष्ट्रिय खेलका लागि विन्डो रहेकाले पनि अन्य ५ देशले नै खेल्ने सम्भावना छ ।
पछिल्लो पटक नेपालले सन् २०१३ मा दशरथ रंगशालामा साफ च्याम्पियनसिप आयोजना गरेको थियो । त्यति बेला नेपाल सेमिफाइनल सम्म पुगेको थियो । नेपालले अहिले सम्म साफ च्याम्पियनसिपको फाइनल पुग्न सकेको छैन । सेमिफाइनलसम्म पुग्नु नै नेपालको अहिले सम्मको उच्च प्रदर्शन हो । पछिल्लो पटक सन् २०१८ मा बंगलादेशमै आयोजना हुँदा पनि नेपाल सेमिफाइनल पुगेको थियो ।