४ जेठ,बुटवल
लुम्बिनी प्रदेश सरकारले कोरोना संक्रमितको उपचारलाई प्रभावकारी बनाउन निजी अस्पताललाई थप कोरोना युनिट र कम्तीमा ५० प्रतिशत कोभिडका बिरामी राख्नुपर्ने नियम बनाएको छ।
प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले पदबहाली गरेको १२ औं दिनमा सोमबार गरिएको भर्चुअल पत्रकार सम्मेलनमा सो कुरा बताउदै कोरोनाको नयाँ भेरियन्टले निम्त्याएको संकट समाधानमा निजी स्वास्थ्य संस्थासँग सहकार्य गर्ने बताए।
कोरोना संक्रमितको उपचारमा सरकारी अस्पतालका अतिरिक्त बेड नपाएका बिरामीका लागि निजी तथा सामुदायिक स्वास्थ्य संस्थाहरुसँग कोभिड केयर युनिट सेवा सञ्चालनका लागि सम्झौता भएको बताउदै मन्त्री श्रोष्ठले कोरोनाको हटस्पट बनेको रुपन्देहीका संक्रमितहरुको उपचार देवदह मेडिकल कलेज, आम्दा अस्पताल र गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा गर्ने गरी सम्झौता भएको बताएका छन। सो भर्चुअल पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले लुम्बिनीका मेडिकल कलेजहरुमा कुल बेडको ५० प्रतिशत कोभिड बिरामी राख्न निर्देशन दिइएको बताए।
कोरोनाले लुम्बिनी प्रदेशको स्थिति निकै असहज भएको भन्दै यसमा सरकारको तर्फबाट सक्दो पहलकदमी भइरहेको उनको दाबी छ। ‘प्रदेशमा यो बीचमा अक्सिजनको अभावले उपचार प्रभावित भयो’ उनले भने, ‘अक्सिजन प्लान्ट जोड्ने तथा भारत र वीरगंजबाट अक्सिजन ल्याएर आपूर्ति गर्ने काम भइरहेको छ।’
स्थानीय, प्रदेश र संघीय सरकार तथा निजी क्षेत्रको सहकार्यले मात्रै कोरोना नियन्त्रण गर्न सकिने बताउदै मन्त्री श्रोष्ठले प्रदेश सरकारले कोभिड १९ उपचार तथा नियन्त्रण कोषलाई भरपुर प्रयोग गरेको बताए ।
मन्त्रालयले मातहतका १० वटा अस्पताललाई १ करोड १५ लाख, १२ वटा स्वास्थ्य कार्यालयलाई ५ ५ लाखका दरले ६० लाख, आयूर्वेदिक स्वास्थ्य संस्थालाई १४ लाख, भैरहवास्थित भीम अस्पतालमा अक्सिजन व्यवस्थापनका लागि १५ लाख र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ घोराहीलाई कोभिड १९ केयर युनिट र पूूर्वाधार विकासका लागि ५० लाख उपलब्ध गराएको छ।
यसैगरी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई कोभिड नियन्त्रणका लागि अत्यावश्यक सामाग्री खरिद गर्न ५ करोडको स्रोत सुनिश्चता गरिएको सरकारले जनाएको छ। यस्तै प्रदेश जनस्वास्थ्य प्रयोगशालाका लागि किट्स र रिएजेन्ट व्यवस्थापनका लागि २० लाख उपलब्ध गराइएको उनले बताए।
सो भर्चुअवल सम्मेलनमा नेपाल पत्रकार महासंघ,रुपन्देहीका निवर्तमान उपाध्यक्ष दिनेश पाण्डे,नेपाल पत्रकार महासंघ,लुम्बिनी प्रदेशका कोषाध्यक्ष बिक्रम खडका,रिमा बि.सी., डि आर बञ्जाडे,लुम्बिनी प्रेस क्लवका सचिव नरेश के.सी. लगायतले अस्पतालहरुले अक्सिजिनको व्यबस्था नगरी कोभिड संक्रमितका आफन्तहरुलाई अक्सिजन खोज्न लगाउनु,स्वास्थ्य मन्त्रालयका कर्मचारीहरुले अस्पतालहरुका लागि आवस्यक स्वास्थ्य सामाग्री,अक्सिजन तथा थप जन शक्ती व्यबस्थापन गर्नमा कुनै प्रभावकारी भुमिका नखेलेको,कोभिड १९ को संक्रमण,त्यसले पारेको प्रभाव,संक्रमणबाट थप जटिलता उत्पन्न नदिन प्रदेश सरकारले गरेका योजना,कार्यक्रम तथा पहलहरुका बारेमा संचार गृह तथा संचारकर्मीहरुलाई कुनै जानकारी नदिएको र संचार गृहहरुसंग कुनै समन्वय नगरेको लगायतका बिषयहरुमा स्वास्थ्य मन्त्री श्रेष्ठसंग अन्तर सम्वाद गरेका थिए ।