२२ साउन, काठमाडौं
नेपालमा उद्यमशीलता, नवप्रवर्तन, आत्मनिर्भर अर्थतन्त्र र रोजगारी सिर्जनाको संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ स्टार्टअप समिट नेपाल–२०२६ को औपचारिक शुभारम्भ गरिएको छ। ‘राष्ट्र निर्माणमा स्टार्टअपको भूमिका’ भन्ने मूल विषयमा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय सभाहलमा आयोजित विशेष कार्यक्रममार्फत अभियानको उद्घाटन गरिएको हो।
नेपालमा बढ्दो ब्रेन ड्रेन लाई ब्रेन गेन मा रूपान्तरण गर्दै युवाको सिर्जनशीलता, ज्ञान, सीप र क्षमतालाई स्वदेशमै उपयोग गर्ने लक्ष्यसहित सुरु गरिएको अभियानले विद्यार्थी, युवा, उद्यमी तथा व्यवसाय गर्न इच्छुक व्यक्तिलाई स्टार्टअप, व्यवसाय दर्ता प्रक्रिया, व्यवसाय योजना निर्माण, स्टार्टअप कर्जा, लगानी व्यवस्थापन, बजार विस्तार तथा व्यवसाय सञ्चालनका चुनौती र अवसरबारे व्यवहारिक ज्ञान प्रदान गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले विश्वविद्यालय शिक्षालाई रोजगारमुखी मात्र नभई उद्यमशीलतासँग जोड्नुपर्ने आवश्यकता औँल्याउँदै स्टार्टअपले नेपालको समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
उहाँले यस्ता कार्यक्रम त्रिभुवन विश्वविद्यालयमा मात्र सीमित नराखी देशभर सञ्चालन गर्नुपर्नेमा जोड दिँदै विश्वविद्यालय आवश्यक सहकार्यका लागि सदैव तयार रहेको बताउनुभयो। विद्यार्थीलाई सिर्जनशील, अनुसन्धानमुखी र उद्यमशील बनाउनु आजको आवश्यकता भएको उहाँको भनाइ थियो।
कार्यक्रमकी अध्यक्ष तथा स्टार्टअप समिट नेपाल–२०२६ की अध्यक्ष शोभा ज्ञवालीले नेपालमा बढ्दो युवा पलायनलाई अवसरमा रूपान्तरण गर्न सबै सरोकारवाला एकजुट हुनुपर्ने बताउनुभयो।
उहाँले नेपालमा प्रतिभा, सम्भावना र सिर्जनशीलताको कमी नभएको उल्लेख गर्दै सही सोच, उचित मार्गदर्शन र अवसर उपलब्ध गराउन सके युवाले विदेशमा अवसर खोज्नुको सट्टा स्वदेशमै अवसर सिर्जना गर्न सक्ने बताउनुभयो। समिट आजबाट औपचारिक रूपमा सुरु भएको जानकारी दिँदै आगामी दिनमा सातै प्रदेश र ७७ जिल्लामा पुगेर स्टार्टअप, नवप्रवर्तन, व्यवसाय सञ्चालन, लगानीका अवसर तथा सरकारी नीतिबारे व्यवहारिक प्रशिक्षण सञ्चालन गरिने जानकारी दिनुभयो।
कार्यक्रमका विशेष अतिथि तथा किनोट वक्ता, औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका निवर्तमान कार्यकारी निर्देशक इन्जिनियर उमेश कुमार गुप्ता रौनियारले सफल व्यवसायका लागि ठूलो पूँजीभन्दा सही सोच, इच्छाशक्ति र निरन्तर मेहनत आवश्यक हुने बताउनुभयो।
उहाँले कम्पनी दर्तादेखि व्यवसाय सञ्चालन, कानुनी प्रक्रिया, बजार अध्ययन, लगानी व्यवस्थापन तथा स्टार्टअप कर्जासम्बन्धी विस्तृत कार्यपत्र प्रस्तुत गर्दै विद्यार्थी जीवनमै सीप, अनुभव र आत्मविश्वास विकास गर्न सके सफल उद्यमी बन्न सहज हुने धारणा राख्नुभयो।
त्रिभुवन विश्वविद्यालय, केन्द्रीय व्यवस्थापन विभागका प्राध्यापक डा. भारत थापाले शैक्षिक संस्थामा यस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै भविष्यमा पनि विश्वविद्यालयले सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा सफल नेपाली स्टार्टअप उद्यमी तथा वैदेशिक रोजगारीबाट फर्किएर स्टार्टअप कर्जाको उपयोगमार्फत सफल व्यवसाय स्थापना गरेका उद्यमीहरूको प्रेरणादायी वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो। वृत्तचित्रले सहभागी विद्यार्थी तथा युवामा उत्साह र आत्मविश्वास बढाएको आयोजकको दाबी छ।
प्रश्नोत्तर सत्रमा सहभागीहरूले स्टार्टअप, लगानी, व्यवसाय सञ्चालन, बजार विस्तार तथा सरकारी नीतिसम्बन्धी जिज्ञासा राखेका थिए। वक्ताहरूले व्यवहारिक सुझाव र मार्गदर्शन प्रदान गरेका थिए।
कार्यक्रमको पहिलो चरण त्रिभुवन विश्वविद्यालयबाट सुरु गरिएको हो। आगामी दिनमा काठमाडौं विश्वविद्यालयसहित देशभरका विश्वविद्यालय, कलेज, विद्यालय तथा सातै प्रदेशमा यस्ता कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ। सरकार, विश्वविद्यालय, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, उद्योगी–व्यवसायी, लगानीकर्ता र युवाबीच सहकार्यको वातावरण निर्माण गर्दै नेपालमा सशक्त स्टार्टअप इकोसिस्टम विकास गर्ने लक्ष्य अभियानले लिएको छ।
करिब २०० जना विद्यार्थी, प्राध्यापक, कर्मचारी, उद्योगी–व्यवसायी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको उक्त कार्यक्रम स्टार्टअप समिट नेपाल–२०२६ को आयोजना तथा त्रिभुवन विश्वविद्यालय, केन्द्रीय व्यवस्थापन विभागको सहकार्यमा सम्पन्न भएको हो।
आयोजकका अनुसार स्टार्टअप समिट नेपाल–२०२६ कुनै एकदिने कार्यक्रम नभई नेपालमा नवप्रवर्तन, उद्यमशीलता र स्टार्टअप संस्कृतिको विकास गर्ने दीर्घकालीन राष्ट्रिय अभियान हो। नीति रिसर्च प्रालिद्वारा सञ्चालित यस अभियानले युवालाई आत्मनिर्भर, उत्पादनमुखी र रोजगारी सिर्जना गर्ने नेतृत्वका रूपमा विकास गर्दै नवप्रवर्तनमा आधारित आर्थिक विकासलाई देशव्यापी रूपमा अघि बढाउने लक्ष्य राखेको छ।