२६ असार, काठमाण्डौ
नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले सभापति गगन थापाले पार्टी फुटाउन खोजेको तर आफूहरूले त्यसलाई रोकिरहेको गम्भीर आरोप लगाएका छन् । एक टेलिभिजन अन्तर्वार्तामा बोल्दै नेता विश्वकर्माले पार्टीभित्रको वर्तमान अवस्थालाई 'इतर समूह' भन्दा पनि 'तितरबितर समूह' भन्नु उपयुक्त हुने टिप्पणी गरे।
पार्टीको आन्तरिक कलह र पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा बोल्दै उनले भने, "सानेपामा भूमिका छैन, सानेपामा रहने साथीहरूसँग सम्पर्क छैन र बाहिर रहेका साथीहरू तितरबितर भयौँ। बाहिरको भाषामा इतर समूह भने पनि अहिले यो तितरबितर समूह हो।" उनले पार्टीका ८२–८३ प्रतिशत साथीहरूलाई भूमिकाविहीन बनाएर बाहिर फालिएकाले ती साथीहरूलाई गोलबद्ध गर्न 'सम्पर्क कार्यालय' खोल्नुपरेको स्पष्ट पारे।
'गगनजीले राजनीति जलाइदिए'
विश्वकर्माले सभापति थापामाथि राजनीतिक रूपमै आक्रमण गरेको आरोप लगाए। उनले भने, "तत्कालीन पार्टी नेतृत्वको त राजनीति पनि जल्यो नि त। जेनजीले घर जलाए, हाम्रा पार्टीका जेनजी (गगन थापा र समूह) ले त राजनीति नै ज*लाइदिए।" उनले गगन थापाले विशेष महाधिवेशनको नाममा ५४ प्रतिशतको मात्र सभापति भएर आउन खोजेको र ४६ प्रतिशतलाई उपेक्षा गरेको दाबी गरे।
पार्टी फुटको आशङ्का र बचाउ
पार्टी फुटको चर्चाबारे टिप्पणी गर्दै विश्वकर्माले गगन थापा र विश्वप्रकाश शर्माले पार्टी फुटाएको अपजस लिन नचाहेर मात्रै नयाँ पार्टी घोषणा नगरेको जिकिर गरे। उनले भने, "गगनजी पार्टी फुटाउन चाहनुहुन्छ, हामी रोक्दैछौँ। उहाँहरू पार्टी फुटेको अपजस लिन पनि चाहनुहुन्न। फुट्न त प्राविधिक रूपमा फुटिसकिएको छ, सँगै बस्ने हार्दिकता समाप्त हुँदै गएको छ।"
विश्वकर्माका अनुसार सभापति शेरबहादुर देउवा भने पार्टी एक बनाउने पक्षमा छन्। उनले देउवाको भनाइ उद्धृत गर्दै भने, "पार्टी मिलाऊ, मेरो आँखा अगाडि दुइटा कांग्रेस नबनाऊ।" नेता विश्वकर्माले आफूहरूले 'रगतको आँसु पिएर' र 'मुटुमाथि ढुङ्गा राखेर' भए पनि पार्टी एकताका लागि रुख चिन्हमै बसेर अघि बढ्न खोजेको बताए।
१५औँ महाधिवेशनको तयारी
हालै खोलिएको सम्पर्क कार्यालय पार्टी फुटाउन नभई १५औँ महाधिवेशनको तयारीका लागि भएको उनले प्रस्ट पारे। "नेपाली कांग्रेस १५औँ महाधिवेशन तयारी सम्पर्क कार्यालय भनेको जसको कार्यालय छैन, कार्यालय नहुनेहरूको सम्पर्क कार्यालय हो" भन्दै उनले संवादहीनताका कारण पार्टीमा समस्या बल्झिएको बताए। उनले गगन–विश्व समूहलाई इगो त्यागेर पार्टी एकतामा आउन समेत आग्रह गरे।