७ काठकाण्डौ
नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूलाई आफ्ना नेताहरूलाई ‘भगवान’ नमानी निरन्तर प्रश्न गर्न सुझाव दिएका छन् । चितवनमा जारी रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशनलाई सम्बोधन गर्दै थापाले पुराना दलहरूले नेतालाई व्यक्तिपूजामार्फत अतिरञ्जित गर्दा गल्ती भएको स्वीकार गर्दै रास्वपालाई त्यस्तो बाटो नलिन सचेत गराएका हुन् ।
सम्बोधनका क्रममा थापाले रास्वपाले छोटो समयमा प्राप्त गरेको जनसमर्थनको प्रशंसा गरे । उनले भने, “पार्टी गठन भएको करिब चार वर्षमै तपाईँहरूले जुन जनसमर्थन प्राप्त गर्नुभएको छ, यो लोभलाग्दो छ। म यसको मुक्तकण्ठले प्रशंसा गर्दछु ।”
थापाले नेपाली राजनीतिमा जनमत पाएका दलहरू पटक–पटक दुर्घटनामा पर्नुका मुख्य दुई कारण औँल्याए । नेताहरूको अहंकार र शक्तिको उन्मादले गर्दा विगतमा ठूला दलहरू असफल भएको उनको विश्लेषण थियो । उनले कार्यकर्ताहरूलाई आग्रह गर्दै भने, “हामीले हाम्रा दलका नेताहरूलाई भगवान बनाएर गल्ती गर्यौँ, ‘बा’ बनाएर गल्ती गर्यौँ । तपाईँहरूले यो गल्ती नगर्नुहोला । गल्ती गरेको बेला आफ्नै नेतालाई पनि प्रश्न गर्ने आँट र साहस गर्नुहोला ।”
आफ्नो पार्टी र रास्वपाबीचको सम्बन्धबारे प्रस्ट पार्दै थापाले दुई दल शत्रु नभई प्रतिस्पर्धी मात्र भएको बताए । “नेपाली कांग्रेस रास्वपाको प्रतिस्पर्धी हो, दुश्मन होइन,” उनले थपे, “हामी प्रतिस्पर्धा गर्ने हो, हामी तपाईँहरू भन्दा राम्रो बन्न चाहन्छौँ तर तपाईँहरूलाई सानो बनाएर वा खुट्टा काटेर होइन, विचार र कर्मले अघि बढ्न चाहन्छौँ ।”
नयाँ दलहरूले विगत ३५ वर्षमा केही पनि भएन भनी गर्ने टिप्पणीप्रति असहमति जनाउँदै थापाले इतिहासको सम्मान गर्न आग्रह गरे । चितवनको भूमिमा प्रजातन्त्रका लागि बलिदानी दिएका शहीदहरूको स्मरण गर्दै उनले भने, “तपाईँहरू यो निलो झण्डामुनि बसेर विगतलाई सराप्दै गर्दा नबिर्सिनुस्, यो भूइँमुनि ५०औँ मानिसहरूको लास गाडिएको छ। ३५ वर्षमा केही भएन नभन्नुहोला, त्यही संघर्षको जगमा आज तपाईँहरूले स्वतन्त्र रूपमा झण्डा फहराउन पाउनुभएको हो ।”
थापाले गरिबी, अज्ञानता, विभेद र अक्षमता नै साझा दुश्मन भएको बताउँदै ती विरुद्ध लड्न रास्वपासँग सहकार्य गर्न कांग्रेस तयार रहेको समेत उल्लेख गरे । उनले रास्वपाको नयाँ नेतृत्वलाई शुभकामना दिँदै पार्टीभित्र लोकतान्त्रिक अभ्यास र सुशासन कायम राख्न सुझाव दिए ।