११मार्च,ब्रासिलिया,
ब्राजिलका सर्वोच्च अदालतका न्यायाधीशले सोमबार त्यहाँका पूर्ववामपन्थी राष्ट्रपति लुइस इनासिओ लुला डा सिल्भाविरुद्धका सबै फौजदारी मुद्दा खारेज गर्दै आगामी वर्ष हुने निर्वाचनमा जनप्रिय नेतालाई उम्मेदवारी दिन मार्गप्रशस्त गरेको छ ।
ब्राजिलको दक्षिणी सहर कुरितिबाको एउटा अदालतका न्यायाधीश इडसन फाचिनले गरेको आश्चर्यजनक फैसला गर्दै लुलामाथिको भ्रष्टाचारसम्बन्धी मुद्दा भने आफ्नो क्षेत्राधिकारभित्र नरहेको बताएका छन् । त्यसको निम्ति राजधानी ब्रासिलियास्थित सङ्घीय अदालतमै मुद्दाको सुनुवाइ हुने बताइएको छ ।
फैसलाले लुलाको राजनीतिक अधिकार पुनः स्थापना गर्नुको साथै सन् २०२२ मा हुने राष्ट्रपति चुनावमा प्रतिस्पर्धा गर्न बाटो खोलेको विश्लेषण गरिएको छ । सन् २०२२ को निर्वाचनमा दोस्रो कार्यकालको लागि वर्तमान दक्षिणपन्थी राष्ट्रपति जाएर बोल्सोनारो पनि प्रतिस्पर्धा गर्दै छन् ।
ब्राजिलका महान्यायाधिवक्ताले अदालतको सो फैसलाको विरोधमा पुनरावेदन दिने प्रतिक्रिया दिएका थिए ।
लुलाले ट्वीटरमा सो फैसलाबारे प्रतिक्रिया दिँदै ‘कुरितिबाको अदालतले गरेको फैसलाले सङ्घीय अदालतको अक्षमता प्रस्ट पारेको’ लेखेका छन् । यो फैसलाले प्रकारान्तरले कानुनी लडाइँमा आफू सत्य प्रमाणित हुने बताएका छन् ।
दक्षिणपन्थी राष्ट्रपति बोल्सोनारोले सोमबार सर्वोच्च अदालतले सो फैसला उल्टाउने अपेक्षा व्यक्त गरेका छन् । उनले लुलाको पक्षमा फैसला गर्ने न्यायाधीश लुलाको पीटी पार्टीसँग सम्बन्धित भएको पनि बताए ।
ब्राजिलका राष्ट्रपति बोल्सोनारो पछिल्लो समय कोभिड–१९ को व्यवस्थापनको सन्दर्भमा भएका कमी कमजोरीको कारण आलोचित छन् ।
वामपन्थी विचारधाराका पूर्वराष्ट्रपति लुलामाथिको कारबाहीलाई बहुतम ब्राजिलका जनताले राजनीतिक अभिप्रायबाट प्रेरित भएको बताउँदै आएका छन् । लुलाको पक्षमा अदालतले गरेको फैसलालाई पीटी पार्टीले स्वागत गरेको छ । पीटी पार्टीका सांसद जिन पाउल प्राट्सले ढिलै भए पनि न्याय पाएकोमा खुसी व्यक्त गरे ।
हालै ब्राजिलमा गरिएको एक मत सर्वेक्षणअनुसार सन् २०२२ को चुनावमा बोल्सोनारोलाई माथ खुवाउन सक्ने एकै जनामात्र उम्मेदवार लुला भएको देखाएको छ ।