२४ मंसिर, कञ्चन
रुपन्देहीको कञ्चनमा महिला तथा बालिका विरुद्ध हुने हिंसा रोकथामका लागि स्थानिय स्तरमा नीतिगत पहल सम्बन्धि महिला जनप्रतिनिधी तथा राजनितिक दलका महिला नेतृत्वलाई १ दिने क्षमता विकास तालिम सम्पन्न भएको छ।

महिला तथा बालबालिका विरुद्ध हुने हिंसा रोकथामका लागि सञ्चालित लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आज अभियानको अन्तिम दिन सिर्जनशिल संस्था नेपाल, रुपन्देहीको समन्वय र अविभेद र समानताका लागि कार्यरत संस्था महिला कानुन र बिकास मञ्च रुपन्देहीको सहयोगमा सञ्चालित तालिममा सिर्जनशिल संस्था नेपाल, रुपन्देहीका प्रतिमा शर्माले प्रशिक्षण दिनु भएको थियो। प्रशिक्षक शर्माले महिला अधिकार र त्यसको उपयोग, महिला तथा बालबालिकामा हुने हिंसा र त्यसको कानुनी उपचारबारे सहजिकरण गर्नु भएको थियो।

तालिममा सहभागी स्थानीय तहका महिला अगुवाहरुलाई सम्बोधन गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले समाजमा हुने विभिन्न किसिमका हिंसाहरु मध्ये महिला तथा बालबालिका विरुद्ध हुने हिंसाले समाजलाई विकृत बनाउने भन्दै त्यस किसिमका हिंसाको अन्त्यका लागि सबै पक्षले प्रतिवाद गर्नु पर्ने बताउनु भयो। महिला तथा बालबालिका विरुद्ध हुने हिंसाको कानूनी उपचारबारे पनि हरेक व्यक्तीहरु जानकार भएको अवस्थामा लैंगिक हिंसा कम हुदै जाने उल्लेख गर्दै अध्यक्ष ढकालले हरेक समय सचेत हुन गराउन अगुवाहरुको भूमिका अहम हुने बताउनु भयो।
कार्यक्रमको अध्यक्षता गर्दै कञ्चन गाउपलिकाका उपाध्यक्ष मौसमी थापा मगरले पालिकालाई लैंगिक हिंसा हुनबाट सुरक्षित गर्न महिलाहरु कानूनी रुपमा सचेत हुन आवस्यक रहेको उल्लेख गर्नु भयो। महिला तथा बालबालिका विरुद्ध हुने हिंसा रोकथामका लागि स्थानीय स्तरमा महिलाहरुमा नीतिगत पहल र त्यसको उपयोगबारे सशक्तीकरण गराउन आवस्यक रहेको समेत उपाध्यक्ष थापा मगरले जोड दिनु भयो।

कार्यक्रममा कञ्चन गाउँपालिकाका कार्यपालिका सदस्य कुमारी घर्ति मगरको संयोजकत्वमा महिला तथा बालिका विरुद्ध हुने हिंसा रोकथामका लागि अन्तर पार्टी महिला सञ्जाल समेत गठन गरिएकाो छ। उक्त सञ्जालको सदस्यहरुमा उजेली बि.क., तारा कार्की, पार्वती ढकाल, शान्ति घिमिरे र चेलिका भूजेल रहेका छन।

कञ्चन गाउँपालिकाका न्यायिक समितिका बरिष्ठ प्रशासन सहायक गंगा घिमिरेको सहजिकरणमा भएको कार्यक्रममा सिर्जनशिल संस्था नेपालका कार्यक्रम अधिकृत सोना न्यौपानेले अन्तर पार्टी महिला सञ्जालको आवस्यकता र त्यसले खेल्ने भूमिका र कार्यहरुबारे जानकारी गराउनु भएको थियो। कञ्चन गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा कञ्चनमा कृयाशिल विभिन्न राजनैतिक दलमा आवद्ध महिला नेतृ तथा विभिन्न संघ संस्थामा आवद्ध अगुवा महिलाहरुको सहभागिता रहेको थियो।

