
१३ असार, काठमाण्डौ
नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले सोमबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयहरूको विभिन्न शीर्षकमाथिको छलफलको क्रममा मन्त्रीहरूसँग जिज्ञासा राख्नुभयो । सांसद सुवालले राख्नुभएको प्रश्न र मन्त्रीहरूको स्पष्टीकरणको सार : सं
ऊर्जामन्त्री दीपक खड्कासँग प्रश्न
भक्तपुर जगातीमा केही व्यक्तिको जग्गाबाट बिनामुआब्जा लगिएको हातेल्टेज लाइन ठाउँ सार्न स्थानीय जनताबाट पैसा उठाइएको वर्षौँ हुँदासमेत लाइन नसारिएको जनगुनासोबारे मन्त्रीजी के भन्नुहुन्छ ? मुआब्जाबिना व्यक्तिको जग्गामा लाइन राख्ने अनि लाइन सार्न पैसा उठाउने काम विद्युत् प्राधिकरणको हो र ?
मन्त्रीजीले जगडुला जलविद्युत् आयोजनाबारे ठेक्का नपाएकाले झन्झट खडा गरेको बताउनुुभयो । तर, जगडुलाबाट मन्त्रालयभित्रै तीन करोडको चेक आदानप्रदान भएको सार्वजनिक भएको बारे स्पष्ट गर्नुभएन नि ?
दुई–चार सय मेगावाट बिजुली नहुँदा सरकारले रासायनिक मल कारखाना स्थापना गर्न नसकेको अवस्थामा मन्त्रीजीले भारतलाई १५ हजार मेगावाट बिजुली निर्यात गर्ने दाबी गर्नु कसरी उचित होला ?
ऊर्जामन्त्री खड्काको स्पष्टीकरण
जगडुलामा कार्यरत कम्पनीले नै सम्पूर्ण जिम्मेवारी लिएर कार्य गर्ने भएकोले आवश्यकताभन्दा बाहिर गएर मन्त्रालयले एक्कासि चासो, चिन्ता र हस्तक्षेप गर्दैन । मन्त्रालयले चलखेल गरेको छैन । भारतसँग किन्नेबेच्ने भइरहेको छ । यसरी नै नेपालमा लोडसेडिङ अन्त्य भइरहेको छ ।
तराईका जनतालाई आर्सेनिकमुक्त खानेपानी कहिले ?
खानेपानीमन्त्री प्रदीप यादवसँग प्रश्न
स्वच्छ खानेपानी र सुरक्षित सरसफाइको प्रत्याभूत गर्ने मन्त्रीजीको भनाइअनुसार सन् २०३० सम्म ९९ प्रतिशत जनतालाई आधारभूत खानेपानी र ९० प्रतिशत जनतालाई सुरक्षित खानेपानी पु¥याउन के कति बजेट आवश्यक हुने अनुमान छ ? तराईका जनताले आर्सेनिकमुक्त खानेपानी कहिलेदेखि पाउने होला ?
भक्तपुर जिल्लाको खानेपानीको स्थानीय स्रोत नगरकोट–वागीश्वरीको जङ्गल संरक्षण गर्ने, पानी आउने जातको वृक्षारोपण गरी जलाधार क्षेत्र घोषणा गर्ने र वर्षाको पानी सङ्कलन गरी हिउँदमा आपूर्ति गर्न स्थानीय मुहान खोलामा बाँध बनाउने योजना बजेटमा किन आएन ? २०६७/६८ को बजेटमा उल्लेख योजना यो बजेटमा किन आएन ? काठमाडौँ उपत्यकाका १८ वटा नदीनालामा फोहर ढल जोडिएकोलाई उपचार गर्ने योजना के कस्तो छ ?
खानेपानीमन्त्री यादवको स्पष्टीकरण
सन् २०३० सम्म ९० प्रतिशत जनतालाई सुरक्षित खानेपानी पु¥याउन अनुमानित १२ देखि १५ अर्ब रुपैयाँ बजेट चाहिन्छ । काठमाडौँ उपत्यकाका १८ वटा खोला सफा राख्ने विषय मन्त्रालयअन्तर्गत परेन । (मन्त्रीको यो जवाफ गलत हो । फोहोर ढलको व्यवस्थापन गर्ने जिम्मेवारी खानेपानी तथा सरसफाइ मन्त्रालयमा पर्दछ ।)
प्यालेस्टिन र इरानविरुद्ध आक्रमण गर्ने इजरायल र अमेरिकाको विरोध किन गर्दैन सरकार ?
परराष्ट्रमन्त्री आरजु राणासँग प्रश्न
मन्त्रीको कुन कुन देशमा भ्रमण भयो ? अन्य मन्त्रीको कुन कुन देशमा भ्रमण भयो ? ती भ्रमणबाट नेपाललाई राजनीतिक, आर्थिक, सांस्कृतिकलगायत क्षेत्रमा के कति उपलब्धि भयो ? अनिवार्य प्रतिनिधित्व हुन नपर्ने भए पनि मन्त्रीहरूको विदेश भ्रमण भएको सत्य हो कि होइन ? ती भ्रमण सरकारी स्रोतमा भएको हो कि होइन ?
इजरायलले प्यालेस्टिन र इरानमा आक्रमण ग¥यो । अमेरिकाले पनि इरानमा आक्रमण ग¥यो । यसबाट नेपालको आपूर्ति श्रृङ्खला, तेलको मूल्य, मुद्रास्फीति विप्रेषणमा के कस्तो असर पर्ला ? इरानमा इजरायल र अमेरिकी आक्रमणको नेपाल सरकारले विरोध गर्नुपर्दैन र ? एउटै मन्त्रीमण्डलमा बसेकाहरूको एनआरएनको दुई सङ्गठन बनाउनु के सङ्घीय निर्वाचनमा चन्दा उठाउनको लागि हो र ?
परराष्ट्रमन्त्री आरजूको स्पष्टीकरण
इरानले हर्मोज बन्दरगाह बन्द ग¥यो भने तेलको मूल्य बढ्नेछ । शान्तिवार्ता भयो भने त्यसो नहोला ।
अमेरिकाले मध्यपूर्वका कुनै देशबाट हतियार फायर गरेन । यसरी लडाइँ मध्यपूर्वबाट सीधा नहुने देखिन्छ । लडाइँ मध्यपूर्वबाट सीधा भयो भने हामीलाई त्यसको प्रभाव पर्नसक्छ ।
इजरायलमा २००० नेपाली जीटुजीमार्फत गएका छन् । उनीहरूलाई उद्धार गर्न गा¥हो छैन । धेरैजना नक्कली भारतीय राहदानी लिएर पनि गएका छन् । ५०० जति नेपालीहरू त्यहीँ बिहेवारी गरेर बसेका पनि छन् । हामीले ट्राभल डकुमेन्ट नभएकाहरूको नाम गृहमन्त्रालयमा लेखेर दिएका छौँ । श्रम र अर्थ मन्त्रालयलाई पनि पत्र लेखेका छौँ ।
एनआरएनको सन्दर्भमा परमादेशको आधारमा हामीले गरेको हो ?
हरियो वन तस्करको धन बनाउनेहरूमाथि कारबाही खोइ ?
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग प्रश्न
सवारी साधन, उद्योग, निर्माण, वन डढेलो, परम्परागत खाना पकाउने विधि र सीमापारबाट आउने वायु प्रदूषणसमेत अब ‘मौन महामारी’ भइसकेको छ । एक प्रतिवेदनअनुसार वायु प्रदूषणको कारण प्रत्येक वर्ष २६ हजार नेपालीको मृत्यु हुने र वायु प्रदूषणको केन्द्र काठमाडौँ उपत्यका र तराई भएको सार्वजनिक भयो । प्रदूषण फैलाउने र बाक्लो बस्तीमाझमा परेको भक्तपुर औद्योगिक क्षेत्र आगामी आवभित्र स्थानान्तरण गर्ने योजना बजेटमा किन आएन ? यसलाई सम्बोधन गर्ने सरकारको कार्यक्रम के कस्तो छ ? भक्तपुरको चाँगुनारायण, सूर्यविनायक, नगरकोट, नीलबाराहीको जङ्गल संरक्षण गराउन योजना बजेटमा राख्नु जरुरी छ । हरियो वन तस्करको धन बनाउनेहरूलाई कारबाही गर्न एउटा संसदीय छानबिन समिति गठन गर्नु पर्दैन र ?
मन्त्री शाही ठकुरीको स्पष्टीकरण
वायु प्रदूषण भारतलगायत विभिन्न छिमेकी देशहरूमा सिजनल छ्वाली बाल्नेजस्ता कारणले आएको विभिन्न अध्ययनले देखाएको छ । यसको निराकरणको लागि सार्कस्तरीय क्षेत्रीय गोष्ठी गर्ने योजना छ ।
काठमाडौँ उपत्यकामा भएका औद्योगिक क्षेत्रलाई उपत्यकाबाहिर लाने कार्ययोजना बनिरहेको छ । भक्तपुरका वनक्षेत्र जोगाउन यो मन्त्रालयले आवश्यक प्रबन्ध मिलाइरहेको छ ।
च्वङा गणेशस्थान, रानीपोखरी, सिद्धपोखरी, टुँडिखेल सार्वजनिक गर्नु जरुरी
रक्षामन्त्री मानवीर राईसँग प्रश्न
नेपाली सेना बस्नुअगाडि नै भक्तपुरको च्वङा गणेशस्थान र त्यहाँको टँुडिखेल, पोखरी, जनताको सांस्कृतिक स्थल, खेल्ने मैदान र डुल्ने पोखरी थिए । सेना बसेपछि पनि त्यो ठाउँ सार्वजनिक नै थियो । धेरै वर्षपछि ४०–४१ सालतिर मात्र सेनालाई सो जग्गा पोखरी कब्जा गर्न लगाइएको हो । सेनाको नाममा दर्ता भएपछि भक्तपुरका जनताको श्रमदान र चन्दामा सांस्कृतिक स्थल पोखरी, टुँडिखेल संरक्षण र निर्माणमा अवरोध भयो । सांस्कृतिक सम्पदा र मुआब्जा विवाद भएको बारा काठमाडौँको फास्टट्रयाकमा नेपाली सेना संलग्न रहनु ठीक होइन । जिल्ला जिल्लामा विद्यालय, कलेज, अस्पताल बनाउनको निम्ति फास्टट्रयाकको बजेट लगेको खण्डमा देशको सन्तुलित विकास हुन्छ । रक्षा मन्त्रालयले यो विषय सोच्नुपर्दछ ।
मन्त्री राईको स्पष्टीकरण
एकदिन च्वङापा हेर्न आउँला । रक्षा मन्त्रालय, त्यहाँका माननीय, स्थानीयवासीसँग छलफल गरेर, हेरेर समाधान गरौँला ।
फास्टट्रयाकको ४० प्रतिशत काम सकिएको छ । तराई क्षेत्रको जमिनको समस्या समाधान भइसकेको छ । खोकनामा प्वाइन्ट बनाउने विषयमा भएको विवादबारे छलफल भइरहेको छ ।