नारायण गिरी
युवाहरूको गीत चीनकी क्रान्तिकारी एवं सिर्जनशील लेखिका याङ मो (१९१४ अगस्त २५ – १९९५ डिसेम्बर ११) द्वारा लिखित एक विश्वप्रसिद्ध उपन्यास हो । याङ मोको जन्म पेइचिङमा भएको थियो तर उनको पुख्र्यौली घर हुनान प्रान्तमा थियो । उनको लेखन चिनियाँ कम्युनिस्ट क्रान्ति, नारीवाद र समाजवादी यथार्थवादबाट गहनतापूर्वक प्रभावित भएको देखिन्छ । उनको मुख्य नाम याङ चेङयी थियो र उनी जिओ हुई उपनाले चिनिन्थिन् । याङको बालककाल आर्थिक सङ्कट र पारिवारिक कलहमा बितेको थियो । उनी १३ वर्षको उमेरमा पेइचिङको बाहिरी क्षेत्र पश्चिम पहाडी भागमा एउटा केटीहरूको स्कूलमा भर्ना भएकी थिइन् । तर, उनको परिरवारलाई परिस्थितिले साथ नदिएपछि उनले स्कूल छोडेर जीविकाको लागि काममा जान विवश हुनुपरेको थियो । सुरुमा उनी हेबेई प्रान्तको डिङजियानमा एउटा प्राथमिक विद्यालयको शिक्षिका बनिन् । पछि पुस्तक पसलमा काम गरिन् । त्यसपछि पेइचिङमा एक निजी शिक्षिका बनिन् । यही क्रममा उनी कम्युनिस्ट विचारधाराबाट प्रभावित भइन् ।
सन् १९३४ बाट उनले लेखन कार्य सुरु गरेकी थिइन् । त्यहीँ वर्ष उनले आफ्नो निबन्ध ‘रेहे प्रान्तको पहाडी इलाकाका निवासीहरूको एक रेखाचित्र’ प्रकाशित गरिन् । सन् १९३७ मा जापानको विरूद्धमा प्रतिरोध युद्ध सुरु भएपछि उनी शाङ्कसी चाहर हेबेई सीमाक्षेत्र गइन् । त्यहाँ उनी अंगुओ काउन्टीमा राष्ट्रिय मुक्ति महिला सङ्घको निर्देशक बनिन् । यसको साथै केन्द्रीय हेबेई क्षेत्रमा राष्ट्रिय मुक्तिको लागि महिला सङ्घको सूचना ब्युरोको निर्देशक पनि बनिन् । सन् १९४२ मा उनी ‘डन लाइट डेली’ को सम्पादक बनिन् र पछि शाङ्कसी–चाहर–हेबेई डेली र पिपुल्स डेलीमा काम गरिन् । कहिलेकाहीँ उनले यी पत्रिकाहारूको पुरकको कार्यभार पनि सम्हालिन् । उनले सन् १९४९ मा लेखेको उपन्यास ‘लाइफ अन द रिडी लेक’ प्रतिरोध युद्धको एक यथार्थवादी अभिलेख हो । सन् १९४९ मा जनवादी गणतन्त्र चीनको स्थापनापछि याङले पेइचिङ महिला सङ्घको सूचना विभागमा काम गरिन् । सन् १९५२ मा उनले केन्द्रीय चलचित्र प्रशासनिक ब्युरोको परिदृश्य बोर्डमा काम गरिन् । यसपछि उनले विभिन्न पत्रिकाको सम्पादकको जिम्मेवारी पनि सम्हालिन् ।
सन् १९५८ मा प्रकाशित उनको उपन्यास ‘द सङ अफ युथ’ (युवाहरूको गीत) ले सम्पूर्ण चीनमा पाठकहरूको बिचमा हङ्गामा मच्चायो र सर्वाधिक बिक्रीको सूचीमा पुग्यो । यसले चिनियाँ युवाहरूलाई क्रान्तिको लागि प्रेरित ग¥यो । स्वतन्त्र र स्पष्ट शैलीमा लेखिएको यो कृतिले सन् १९३१ को डिसेम्बरको घटनादेखि लिएर १९३५ को डिसेम्बरको आन्दोलनसम्मको महत्वपूर्ण समयक्रममा चीनको कम्युनिस्ट पार्टीको नेतृत्वमा देशभक्त युवा–विद्यार्थीहरूको कठिन जीवन र निरन्तर सङ्घर्षलाई दर्साउँछ । सन् १९८० को दशकमा उनले आत्मकथा ‘फ्लावर अफ लाइफ’ लेखिन्, जसमा उनले आफ्ना सङ्घर्षहरूलाई उजागर गरिन् । सन् १९८५ मा प्रकाशित उनको दोस्रो उपन्यास ‘द बेस्ट सङ इन हर प्राइम’ मा विश्वविद्यालयमा मानसिक पीडाबाट पीडित भएपछि जापान र मुक्ति युद्धमा स्वयम्लाई झोकिदिने एक छात्राको बारेमा उल्लेख गरिएको छ । याङ मोका अन्य प्रमुख कृतिहरूमा ‘टिनेन्ट’ (१९६३), ‘माई फिजिसियन’ (१९६४), ‘द रेड मर्निङस्टार लिली’ (१९६४) हुन् । उनका धेरै लघुकथा र निबन्ध पनि प्रकाशित भए, जसमा नारीवाद, समाजवाद र देशभक्तिको विषयलाई समेटिएको छ । याङले चिनियाँ युवा र महिलाहरूको सङ्घर्षलाई आफ्ना रचनामा प्रमुख स्थान दिएकी छिन् । उनको लेखनलाई चिनियाँ इतिहास र समाजको दर्पण मानिन्छ । युवाहरूको गीत उपन्यासलाई आज पनि साहित्यको एक प्रमुख कृति मानिन्छ ।
युवाहरूको गीत एक चर्चित क्रान्तिकारी युवा–विद्यार्थीहरूको वीरताको गाथा हो । यसमा एक युवती लिन ताओचिङको व्यक्तिगत सङ्घर्ष र क्रान्तिकारी जीवनलाई दर्साइएको छ । यो उपन्यासमा अर्ध–सामन्ती र अर्ध–औपनिवेशिक चिनियाँ समाजको मुक्तिको लागि अजेय उत्साह र अत्यधिक बलिदानीपूर्ण सङ्कल्पसहित सङ्घर्षरत युवा–विद्यार्थीहरूको वीरगाथाको सजीव, प्रेरणादायी र रोचक वर्णन गरिएको छ । यो उपन्यास क्रान्तिकारी सङ्घर्षहरूको विवरण मात्र नभएर क्रान्तिकारी सङ्घर्षको राजनीति, क्रान्तिको दिशा, सही रणनीति र त्यसअनुसार सही रणकौशलको सैद्धान्तिक विवेचना तथा तिनीहरूको व्यावहारिक प्रयोगको एक अमूल्य दस्ताबेज नै हो । यसले चीन निर्माणको कथा बताउँछ । चीनको विगतको सङ्घर्षको कथा बताउँछ । युवाहरूको गीतमा समाजको क्रान्तिकारी परिवर्तनको एक सुनिश्चत र उद्देश्यपूर्ण विचारधाराले लैस युवाहरूको कथा छ । उनीहरूको जीवनको एक–एक क्षणले, उनीहरूको रगतको एक–एक थोपाले क्रान्तिकारी चेतनाअन्तर्गत आफ्नो महान् लक्ष्यको दिशामा सार्थक योगदान गर्दछ । यो उपन्यासको सबभन्दा महत्वपूर्ण पक्ष एक युवक वा युवती क्रान्तिकारी जीवनको अग्निदीक्षा कसरी हुन्छन् भन्ने हो ।
युवाहरूको गीत उपन्यासमा विद्रोह, राजनीतिक जागृति, क्रान्तिमा समर्पणजस्ता विषयहरूलाई समेटिएको छ । यसरी नै यहाँ नारीवाद र सामाजिक बन्धनबाट मुक्ति, सामाजिक हितार्थ जीवन वा क्रान्तिको यात्रा, राष्ट्रवाद, त्याग, साहस, सौर्य, प्रेम आदि विषयको बडो रोचक ढङ्गले उल्लेख गरिएको छ । यो उपन्यास सामाजिक यथार्थवादी र भावनात्मक शैलीमा लेखिएको छ । यसमा पात्रहरूको मनोवैज्ञानिक विकासलाई धेरै गहिराइपूर्वक देखाइएको छ । यो उपन्यासले चिनियाँ युवाहरूमा देशभक्ति र सामाजिक जिम्मेवारीको भावना जागृत गराउनुका साथै महिला सशक्तीकरणमा पनि महत्वपूर्ण योगदान दिएको थियो । त्यसकारण, युवाहरूको गीत उपन्यासलाई इतिहासको दस्ताबेज मान्ने गरिन्छ । यसले युवाहरूको ऊर्जा, महिलाहरूको सङ्घर्ष र क्रान्तिको सपनालाई दर्शाउँछ ।
उपन्यासमा लिन ताओचिङ सुरुमा एक परम्परावादी र दमनकारी परिवारबाट विद्रोह गरेर आत्मनिर्मर हुने प्रयास गर्छिन् । उनी विस्तारै कम्युनिस्ट विचारधाराबाट प्रभावित हुन्छिन् र राष्ट्रिय सङ्घर्षमा सामेल हुन्छिन् । उनको यात्रा व्यक्तिगत मुक्तिबाट सामूहिक क्रान्तितर्फ अगाडि बढ्छ । यहाँ ताओचिङले महिला मुक्तिको पनि प्रतिनिधित्व गर्छिन् । उनी पुरुषप्रधान समाजको बन्धनलाई तोडेर शिक्षा, राजनीति र युद्धमा सक्रिय भूमिका निभाउँछिन् । यो उपन्यासमा लू चियाचुआन र चियाङ हुआजस्ता पुरुष क्रान्तिकारीहरूसँग उनको सम्बन्ध र समानताको भावना पनि दर्शाइएको छ । यो उपन्यासमा जापानी साम्राज्यवादी आक्रमणको विरोध र कम्युनिस्टहरूको प्रतिरोध आन्दोलनलाई प्रमुख रूपमा देखाइएको छ ।
उपन्यासको कथा सङ्क्षिप्तमा
बीसौँ शताब्दीको चौथो दशक चीनको लागि एक भयङ्कर समय थियो । देश निराशापूर्ण राष्ट्रिय सङ्कटले घेरिएको थियो र छटपटाइरहेको थियो । एकातिर जापानी साम्राज्यवादी आक्रमणकारी चीनको उत्तर–पूर्वी प्रान्तहरूमा कब्जा गरेर तीव्रतापूर्वक चीनभित्र पस्दै आइरहेको थियो† अर्कोतिर सत्तासीन कोमिन्ताङ सरकारले च्याङ काइशेकको नेतृत्वमा अप्रतिरोध र आत्मसमर्पणको नीति अपनाउँदै विभिन्न अपमानजनक सम्झौतामा हस्ताक्षर गरी चीनका धेरै प्रान्तमा जापानको सम्प्रभुता स्वीकारेको थियो । यतिमात्र होइन, च्याङ काइशेक सरकारले जापानी साम्राज्यवादी आक्रमणको प्रतिरोध युद्ध गरिरहेका लाल सेना र कम्युनिस्ट पार्टीको नेतृत्वमा सङ्घर्ष गरिरहेका क्रान्तिकारी कार्यकर्ताहरू तथा देशप्रेमी युवाहरूलाई निर्दयितापूर्वक दमन र हत्या गरिरहेको थियो ।
सन् १९३५ को चिसो मौसममा जापानी साम्राज्यवादीहरूले चीनको होपेई र चाहार प्रान्तमा आफ्नो कठपुतली सरकार गठन गरेपछि र यसरी सम्पूर्ण उत्तरी चीनमा खतरा पैदा भएपछि पेइपिङका युवा–विद्यार्थीहरूले देशका जनतालाई ‘चिनियाँ जनता देशको रक्षाको लागि उभियौँ !’ भन्ने नारासहित आह्वान गरे र ९ डिसेम्बरदेखि चिनियाँ जनताले जापानी आक्रमण र प्रतिक्रियावादी कोमिन्ताङ सरकारको अप्रतिरोधको नीतिको विरोधमा शानदार सुरुआत गरे । यिनै घटनालाई युवाहरूको गीत उपन्यासको पृष्ठभूमिमा उल्लेख गरिएको छ । यसपछि धेरै सङ्ख्यामा वीर युवक–युवतीहरू मेसिनगन, सङ्गीन, क्रूर यातना, लामो जेल सजाय र मृत्युदण्डसमेतको बेवास्ता गर्दै शत्रुहरूको विरूद्धमा सङ्घर्षमा हाम फाले । यो सङ्घर्षमा वीरतापूर्ण ढङ्गले युवाहरूले मुस्कुराउँदै प्राण उत्सर्ग गरे । सबै जनतालाई के विश्वास थियो भने एक दिन अवश्य आफ्नो देशले साम्राज्यवादीहरूलाई मात्र परास्त गर्दैन, बरू सामन्ती शोषण र उत्पीडनको पनि अन्त्य गर्नेछ र एक नयाँ समाजको उदय हुनेछ, जसको रक्तकिरणले समाजवादी समाज निर्माणको मार्ग तयार हुनेछ ।
युवाहरूको गीतको मुख्य पात्र लिन ताओ–चिङले एक पिछडिएको अर्धसामन्ती–अर्धऔपनिवेशिक समाजको क्रूरता र अमानवीयताको सङ्घर्षमा दृढतापूर्वक लागिरहेकी एक युवा बुद्धिजीको प्रतिनिधित्व गर्छिन् । ताओ–चिङको जन्म र बालकालको कथा सामन्ती व्यवस्थाको चरम पतनको क्रममा सामन्ती जमिनदारको क्रूर विलाशिता र निकृष्ट सम्पत्ति लिप्साको गाथा हो । जेहोक प्रान्तको सुदूर पहाडी गाउँमा एउटा अत्यन्त गरिब मजदुर परिवारको एउटा विधुवा स्त्री सिउ–नीलाई त्यो इलाकाको जमिनदार लिन पो–ताङले आफ्नो वासनाको शिकार बनाउँछ । उनीबाट एउटी बच्ची जन्मिएपछि जमिनदारले सिउ–नीलाई आफ्नो महलबाट निकालेर उनको पहाडी गाउँमा पठाइदिन्छ । त्यसपछि त्यहाँ उनले लुटिएर, पिटिएर र विक्षिप्त अवस्थामा नदीमा हाम फालेर आत्महत्या गर्छिन् ।
जमिनदारको महलमा ताओ–चिङले सामान्य गल्तीमा पनि कुटाइ खान्थिन् । उनी दासको रूपमा रहन्थिन् । उनकी सौतेनी आमा उनलाई हरेक दुःख दिइरहन्थिन् । उनी नोकरहरूको कोठामा सुत्थिन् । उनका कपडाहरू फाटेका हुन्थे, चिसोमा उनी कामिरहन्थिन् र नाङ्गा खुट्टा पूरै फुटेका हुन्थे । उनी आफ्नो सम्पूर्ण समय नोकरहरू, उनीहरूका बच्चा र गल्लीमा कपडा र कोइला बनाउने गरिब र अनाथ केटाकेटीहरूको बिचमा बिताउँथिन् । जीवनको यो अवस्थाले उनलाई गरिब र श्रमजीवीहरूप्रति दया र आफ्नो जमिनदार पिता र उसकी पत्नीप्रति घृणाले भरिदिएको थियो ।
ताओ–चिङ केही ठुली भइन् र त्यसपछि जमिनदारकी पत्नीले उनलाई स्कूल पठाउन सुरु गरिन्, किनभने पढेलेखेकी युवतीको बजारमा बढी मूल्य थियो । तर, हाइस्कूलको परीक्षा हुनुभन्दा दुई महिना पहिले नै उनकी सौतेनी आमाले पढाइ खर्च पठाउन बन्द गरिन् किनभने ताओ–चिङले एउटा धनी बुढो र अशिष्ट अधिकारीसँग विवाह गर्न अस्वीकार गरेकी थिइन् । ताओ–चिङले जमिनदारको महलकी नोकर्नी काकी वाङबाट आफ्नी आमामाथि भएको अत्याचारको वास्तविकता पनि थाहा पाइसकेकी थिइन् । त्यसपछि उनले फेरि कहिल्यै आफ्नो घर नफर्किने निर्णय गरिन् । साथीहरूको सहयोगबाट उनले हाइस्कूलको पढाइ सकिन् र कामको खोजीमा गाउँको एउटा विद्यालयमा शिक्षक रहेको आफ्नो एक फुपूको छोराकोमा गइन् । तर, त्यहाँ पुगेपछि उनलाई के थाहा भयो भने ऊ आफ्नो प्राध्यापकको बदमासीबाट आजित भएर आफ्नी पत्नीसहित कतै गइसकेको थियो । यद्यपि, प्रधानाध्यापकले उनलाई स्कूलमा रहने ठाउँ दिने र मेजिस्ट्रेडलाई सिफारिस गरेर उनलाई जागिर दिलाइदिने आश्वासन दियो ।
वास्तवमा प्रधानाध्यापक यी सुन्दर युवतीलाई मजिस्ट्रेटकोमा सप्लाई गरेर आफ्नो प्रगतिको मार्ग खोल्न चाहन्थ्यो । पर्खाइको समयमा ताओ–चिङले पेचिङ विश्वविद्यालयको एक विद्यार्थी युङ–त्सेलाई भेट्छिन् । ऊ त्यही गाउँमा बस्दथ्यो र प्रधानाध्यापकको फुपूको छोरो थियो । उसको पिता गाउँको एक प्रभावकारी जमिनदार थियो र मेजिस्ट्रेटको पनि साथी थियो । युङ–त्सेले आफ्ना साहित्यिक कुराले कल्पनाशील ताओ–चिङलाई आफूतिर आकर्षित ग¥यो । एकपटक प्रधानाध्यापकको कुत्सित हर्कत थाहा पाएपछि ताओ–चिङ हतास भएर आत्महत्या गर्न गइरहेकी बेला युङ–त्सेले उनलाई बचायो । उनले आफ्नो प्रभावबाट ताओ–चिङलाई त्यो प्राथमिक स्कूलमा अध्यापिका बनाइदियो । यी सबै कुराले गर्दा ताओ–चिङ युङ–त्सेसँग धेरै आकर्षित भइन् । पढाइको लागि पेचिङ जाँदा पनि उसले ताओ–चिङलाई लगातार चिठी लेखिरहन्थ्यो । त्यसपछि ताओ–चिङ ऊप्रति बढीभन्दा बढी भावुक हुँदै गइन् ।
यसरी रोमान्टिक परिकल्पनामा विचार गरिरहेको बेलामा ताओ–चिङले पेचिङ विश्वविद्यालयको विद्यार्थी रहेको कम्युनिस्ट कार्यकर्ता लू चिआ–चुआनलाई भेटिन् । त्यसपछि उनको दिमागमा राजनीतिले सबभन्दा पहिले प्रवेश पायो । लू चिआ–चिआन आफ्नी बिरामी आमा र बहिनीलाई भेट्न गाउँ आएको थियो । यही बेलामा जापानले चीनमाथि आक्रमण गरी तीनवटा उत्तरपूर्वी प्रान्तहरूमा कब्जा गरेको थियो । यसको सबैतिर उच्च बहस भइरहेको थियो । अध्यापक कक्षमा चलिरहेको बहसको क्रममा लू चिआ–चुआनले स्पष्ट र गहन राजनीतिक समझदारीको परिचय दिँदै आफ्नो कुरा राखेपछि उसबाट ताओ–चिङमा एक नयाँ ज्ञान प्राप्त भयो । लू चिआ–चुआनको कुराबाट उनले सशस्त्र सङ्घर्षबिना जापानी साम्राज्यवादलाई परास्त गर्न सकिंदैन भन्ने कुरा त बुझिरहेकी थिइन् तर अन्य अध्यापकहरू जसरी नै उनले पनि यसमा बुद्धिजीवीहरूको के भूमिका हुनसक्छ भन्ने कुरा बुझिरहेकी थिइनन् ।
लू चिआ–चुआनको उत्तर थियो – हरेक देशभक्तले आफ्नो काँधमा राइफल बोकेर युद्धक्षेत्रमा गएर लड्नु आवश्यक छैन । तपाईँहरूले प्रचार कार्यद्वारा जनतालाई जागृत गर्न सक्नुहुन्छ । यदि तपाईँहरूले विद्यार्थीहरूलाई आफ्नो देशप्रति प्रेम गर्ने र सम्मान दिने शिक्षा दिनुभयो भने त्यो हतियार उठाउनु समान हुन्छ । वास्तवमा कुनै पनि सशस्त्र क्रान्तिको लागि विचारको क्रान्ति एक अनिवार्य सर्त हो । यो क्रान्तिकारी सिद्धान्तको पहिलो शिक्षा ताओ–चिङलाई लू चिया–चुआनबाट प्राप्त भयो । उसको प्रभावशाली व्यक्तित्व, गहन राजनीतिक बुझाई, स्पष्टवादीताले ताओ–चिङलाई अभिभूत गरिदियो । त्यसपछि उनी के तुलना गर्न लागिन् भने जहाँ एकातिर युङ–त्से केवल सुन्दर साहित्यिक रूप र प्रचलित प्रेमालापहरूको मात्र चर्चा गर्दथ्यो र वर्तमान समाजका विद्रुपता र भयङ्करताबाट एकदमै कटेर आफ्नो रूमानी संसारमा मग्न रहन्थ्यो, त्यसको विपरीत लु चिआ–चुआन वर्तमान सामाजिक जीवनसँग एक सजीव सरोकार राख्दथ्यो ।
त्यसपछि ताओ–चिङले आफ्नो हृदयबाट युङ–त्सेलाई निकाल्न त सकिनन्, तर उनले राजनीतिक जीवनमा प्रवेश गर्नको लागि आवश्यक ठानिन् । यसपछि उनी अध्यापक र विद्यार्थीहरूको बिचमा जनविरोधी कोमिन्ताङ सरकारको अप्रतिरोध नीतिको आलोचना गर्थिन् र बच्चाहरूलाई महान् देशभक्तिपूर्ण कथाहरू सुनाउने गर्थिन् । यसरी उनको र विद्यार्थीहरूको बिचमा जीवन्त राजनीतिक सम्बन्ध फस्टाउन लाग्यो । ताओ–चिङको व्यक्तित्वमा पनि रूपान्तरण भइसकेको थियो । तर, प्रधानाध्यापकको प्रलाप र नीचतापूर्ण व्यवहारबाट वाक्व भएर ताओ–चिङले स्कूलको जागिर छोडिन् ।
उनी आफ्नो घर फर्किन सक्दिनथिन् । त्यसकारण, उनी पेचिङ विश्वविद्यालयमा युङ–त्सेकोमा गइन् । युङ–त्से एक अत्यन्तै निकृष्ट स्तरको बुद्धिजीवी थियो । उसको संसार एकदमै आत्मकेन्द्रित थियो । अझै उसको पढाइ पूरा भएको थिएन, तर पनि उसले आफ्नो प्रयासबाट उनलाई कुनै न कुनै राम्रो जागिर मिल्छ भन्ने आशाले आफ्ना साथी र प्रोफेसरहरूको चाप्लुसी र प्रशंसा सुरु गरेको थियो । ताओ–चिङ जीविकाको मामिलामा स्वयं आत्मनिर्भर बन्न चाहन्थिन् र उनले धेरै ठाउँमा कोसिस गरिन् तर सफल हुन सकिनन् ।
– क्रमशः