इकुश्रे
१. जोडा मिलाउने : पाठका शब्दहरू पाठसँगै ध्यान दिएर पढी याद गर्ने ।
२. उपयुक्त शब्द पहिचान : व्याकरण शब्दभण्डार याद गर्नुपर्ने । खाली ठाउँ भर्दा आवश्यक शब्दमात्र नलेखी पूरै वाक्य लेखेर थपिएको शब्दलाई रेखाङ्कन गर्ने । यसमा, सिङ्गो शब्द छान्दा ध्यान पु¥याउने ।
३. वाक्यमा प्रयोग : चल्तीका उखान तथा टुक्का याद गर्ने । अनुकरणात्मक शब्द,पारिभाषिक–प्राविधिक शब्द र निपात पनि प्रायः पाठ्यपुस्तकबाटै आउने । यसमा पारिभाषिक शब्द छान्दा ध्यान पु¥याउने ।
४. (क) शुद्ध शब्द छान्ने : यसमा पनि पाठमै प्रयोग भएका शब्द सोधिने । ब/व, श/ष/स, पञ्चम वर्ण तथा ‘र’ का विभिन्न रूप प्रयोग भएका शब्द समूहमध्ये कुनै २ ओटा शब्द सोेधिने हुँदा यतिमा ध्यान दिए पुग्ने ।
(ख) वाक्य शुद्ध पार्ने : यसमा पनि ह्रस्व, दीर्घ, लेख्य चिह्न, पदयोग÷पदवियोग, चन्द्रबिन्दु/शिरबिन्दु, य/ए, क्ष/छ्य, ग्यँ/ज्ञ प्रयोग भएका शब्दमध्येबाट शुद्ध पार्न (चार ठाउँमा) सोधिने हुँदा थोरै ध्यान दिन सके गा¥हो हुनेछैन । (व्याकरणमा वर्णविन्यास शीर्षक फेरि एक पटक हेरौँ ।)
५. शब्दवर्ग/पदवर्ग छुट्याउने : व्याकरणको शब्दवर्ग/पदवर्ग शीर्षकमा पढ्ने । यसमा ६ ठाउँमा रेखाङ्कन गरिएको हुन्छ । यीमध्ये एउटा पदवर्ग विचलन भएको दिन्छ । ‘पदवर्ग विचलन’ भनेको एउटा पदवर्गका रूपमा जानिराखेको तर त्यहाँ प्रयोगका कारणले अर्कै पदवर्गका रूपमा रहेको भन्ने बुझ्नुपर्छ । यो विशेषतः ‘विशेषण : नाम, सर्वनाम : विशेषण, विशेषण : क्रियायोगी’ का रूपमा आउँछन् । जस्तै, ‘बुढो मान्छे’ भन्दा यहाँ बुढो विशेषण छ तर ‘यो टोलमा पाँचजना बुढाहरू ९० वर्ष काटेका छन्’ भनियो भने यहाँ ‘बुढाहरू’ नाम हुने भयो । त्यस्तै, ऊ घरभित्र छ । (भित्र : नामयोगी), ऊ भित्र गयो । (भित्र : क्रियायोगी) ।
६. उपसर्ग/प्रत्यय पहिचान गर्ने तथा समास÷विग्रह र तिनको निर्माण प्रक्रियासमेत देखाउने : दिइएको अनुच्छेद राम्ररी पढेर आवश्यक शब्द त्यहीँ खोज्ने । उपसर्ग शब्दको देब्रेपट्टि आउँछ र प्रत्यय दाहिनेपट्टि आउँछ भन्ने कुरा हामीलाई थाहै छ । ‘कतिपय उपसर्गहरू नदेखिने गरी आउँछन् भने प्रत्ययहरू त झन् शब्दमा टाँसिएका हुन्छन्’ भन्ने कुरा ख्याल गर्ने । तिनको निर्माण प्रक्रिया देखाउन पनि गा¥हो छैन । परीक्षामा सोधिने ‘उपसर्ग र ‘प्रत्यय’ तोकिएका छन् । (यसबारे ‘प्राक्टिस बुक’ को पाठ्यक्रममा हेरौँ ।) समास गर्दा, छुट्टिएका शब्द जोड्ने र विग्रह गर्दा जोडिएका शब्द छुट्याउने हुँदै हो ।
७. कुनै पनि कालको पक्षमा परिवर्तन : काल र पक्षबारे राम्ररी थाहा पाउने ।
लागेको बानी : सामान्य वर्तमान –ऊ दिनको पाँच गिलास चिया पिउँछ ।
छोेडेको बानी : अभ्यस्त भूत – ऊ दिनको पाँच गिलास चिया पिउँथ्यो ।
काम पहिला भएर पछि थाहा पाएको अज्ञात भूत : डाँडामा हिउँ परेछ । (हिउँ राति नै परेको थियो, बिहान हेर्दा थाहा भयो ।)
सबै कालका अपूर्ण पक्षमा तै÷दै र पूर्ण पक्षमा एको/एकी/एका–आदरार्थीमा नु भएको) आउँछ भन्ने कुरा हामीलाई थाहै छ ।
८. कुनै एक प्रश्नको मात्र उत्तर दिनुपर्ने :
– भावका लागि सामान्यार्थ, आज्ञार्थ, इच्छार्थ, सम्भावनार्थ, सङ्केतार्थबारे फेरि एकपटक पढौँ । कुनै पनि भाव (चार वाक्य) मा वाक्य लेख्दा अर्थगत क्रमबद्धता र शुद्धतामा पनि ध्यान दिऊँ ।
– एउटा लिङ्ग, वचन, पुरुष, आदरमा रहेको वाक्यलाई अर्को लिङ्ग, वचन, पुरुष, आदरमा परिवर्तन गर्न कुनै गा¥हो छैन । यस क्रममा पदसङ्गतिको पनि ख्याल गर्ने ।
९. कोष्ठकमा दिइएका धातु र सङ्केतका आधारमा वाक्य परिवर्तन : वाच्य, प्रेरणाार्थक, वाक्य संश्लेषण/विश्लेषण, प्रत्यक्ष/अप्रत्यक्ष कथनबारे फेरि एकपटक व्याकरणमा पढ्ने । वाच्य, प्रेरणाार्थक, वाक्य संश्लेषण÷विश्लेषणमा काल परिवर्तन नगर्ने ।
१०. अनुच्छेद पढेर करण/अकरण परिवर्तन, रेखाङ्कन गरिएको वाक्यमा कारक र विभक्ति चिनेर लेख्नुपर्ने, उद्देश्य र विधेय चिन्नुपर्ने (उद्देश्य भनेको कर्ता भए पनि यो वाक्यको सुरुमै नआएको पनि हुन सक्छ), आलङ्कारिक पदक्रम र व्याकरिणक पदक्रममा परिवर्तन गर्नुपर्ने हुन्छ । सरल, मिश्र र संयुक्त वाक्यमा परिवर्तन गर्नुपर्ने पनि हुन्छ । यसबारे अझै कुनै कन्फ्युज भए सोधौँ ।
११. पाठ्यपुस्तकमा नभएको अनुच्छेद (अनसिन प्यासेज) पढेर चारओटा प्रश्नको उत्तर दिनुपर्ने : यस्ता प्रश्नको उत्तर लेख्दा अनुच्छेदमा दिइएको कुरा जस्ताको तस्तै नसार्ने । प्रश्न जुन कालमा सोधिएको छ उत्तर पनि त्यही कालमा लेख्ने । कतिपय प्रश्नको उत्तर लेख्दा आफ्नो धारणा र प्रतिक्रियासहितको मौलिक उत्तर लेख्नुपर्ने हुँदा दिइएको अनुच्छेद राम्ररी बुझेर पढ्ने । प्रश्न कुन क्रियामा टुङ्गिएको छ भन्ने कुरा ख्याल गर्ने ।
१२. बुँदाका आधारमा कथा वा जीवनी लेख्नुपर्नेबाट १ र वादविवाद, मनोवाद र संवादमध्ये १ को उत्तर लेख्नुपर्ने गरी जम्मा दुईओटा प्रश्न सोधिने । यिनमा पनि एउटा मात्र प्रश्नको उत्तर लेखे पुग्ने भएकोले कथा वा जीवनी मात्र लेख्न जाने हुने भयो । यी दुवैमा जे लेखे पनि शीर्षक लेख्न नबिर्सने । दिइएको बुँदामा प्रयुक्त शब्दको अर्थ बुझेको हुनुपर्ने ।
१३. कार्यालयीय चिठी/निवेदन/व्यावसायिक चिठी/सम्पादकलाई चिठी – मध्येबाट १ र समाचार लेखन/विज्ञापन/निमन्त्रणापत्र लेखन १ गरी दुईओटा प्रश्न सोधिए पनि कुनै १ को मात्र उत्तर लेख्दा हुने भएकोले सोहीअनुसार तयार हुने । चिठी लेख्दा पूरै एक पेज खर्च गरौँ ।
१४. बुँदा टिपोट गर्नुपर्ने : गद्यांश पाठ्यपुस्तकबाटै आउने । बुँदा टिपोट गर्दा, दिइएको अनुच्छेद राम्ररी पढेर दुई–तीन वाक्यका कुरा एउटै बुँदामा पर्ने गरी टिप्दै जाने । यस क्रममा जान्छ/पढ्छ/लेख्छ/गयो/पढ्यो/लेख्योजस्ता क्रिया लेखेर वाक्य नटुङ्ग्याउने ।
१५. सारांश लेख्नुपर्ने : गद्यांश पाठ्यपुस्तकबाटै आउने । एकै पटक सारांश लेख्न खोज्दा गा¥हो हुने भएकोले यसमा पनि पहिला बुँदा टिपोट नै गर्ने र सारांश लेख्दा तिनै टिपिएका बुँदालाई लिएर वाक्य टुङ्ग्याउने । सुहाउँदो शीर्षक दिन नबिर्सने ।
१६. पाठ्यपुस्तककै कथा वा कविताबाट दिइएको अनुच्छेद पढेर उत्तर दिनुपर्ने प्रश्न (२ ओटामा २/२ गरी चार ओटा : उत्तर, ५/७ वाक्यको मात्र तर प्रश्नले खोजेको कुरा ठम्याई गहिरो अर्थ लाग्ने वाक्यमा लेखिएको हुनुपर्ने । अनावश्यक लामो र गन्थने उत्तर लेखेर अङ्क नपाइने । साथै उत्तरका लागि त्यही अनुच्छेद सार्न नहुने । उक्त अनुच्छेद जुन पाठबाट निकालिएको हो, त्यो पाठ राम्ररी बुझेको हुनुपर्ने ।
त्यस्तै, निबन्ध, जीवनी वा रूपकबाट सोधिएका प्रश्न (२ ओटा) को उत्तर लेख्दा पनि मूल अनुच्छेद नै सार्ने नगरी प्रश्नले मागेको कुरो मात्र मौलिक शैलीमा लेख्ने । उक्त अंशले दिन सक्ने लाक्षणिक अर्थसमेत ठम्याएर उत्तर लेख्नुपर्ने ।
१७. आफ्नो विचार दिनुपर्ने तार्किक उत्तर : पहिला पाठमा भएको सन्दर्भ लेख्ने । त्यसपछि कल्पना गरेर तार्किकरूपमा आफ्ना विचार लेख्ने । यस्तो उत्तर दुई अनुच्छेदमा हुनुपर्ने ।
१८. भाव विस्तार वा व्याख्या दुईओटा (एउटा, पाठ्यपुस्तकमा भएका तीन ओटा कवितामध्येबाट आउने) – मध्ये एउटा गर्नुपर्ने । यो सामान्यतः तीनओटा अनुच्छेदमा गरिन्छ । उक्त पङ्क्तिले दिने सिधा अर्थभन्दा पनि लाक्षणिक अर्थमा ध्यान दिनुपर्छ । अन्तिम अनुच्छेदमा –कथांश भए सन्देशको, कविता भए छन्द वा लयको, एकाङ्की भए संवादको र निबन्ध भए विचारको पनि कुरा गरे राम्रो । स्मरणीय छ, प्रश्नमा दिइएको अंश सार्नैपर्छ, सुरुका दुई शब्द र अन्तिमका दुई शब्द भए पनि । त्यो प्रस्तुतै नगरी, ‘प्रस्तुत हरफ’ भन्न मिल्दैन ।
१९. समीक्षात्मक उत्तर : लामो उत्तर लेख्नुपर्ने । यो लेख्दा तीन खण्डमा लेख्नुपर्छ :
पहिलो अनुच्छेदमा : लेखकको नाम र लेखनको मूल विधाको चिनारी ।
दोस्रो अनुच्छेदमा : प्रश्नमा केन्द्रित भएर पाठको तर्कपूर्ण विश्लेषण, सम्बन्धित अंशले दिने अनेकौँ अर्थ, प्रेरणा र सन्देशको सामान्य चर्चा ।
तेस्रो अनुच्छेदमा : कविता भए छन्द र लयको चर्चा, निबन्ध भए विचारको चर्चा, कथा भए सन्देशको चर्चा गर्दै प्रश्नको आशयमा केन्द्रित रहेर उत्तर टुङ्ग्याउने । यस क्रममा प्रश्नको अन्तिम क्रियापदलाई ध्यान दिने ।
२०. निबन्ध (तीनमध्ये एक शीर्षकमा : उक्त शीर्षकबारे आफूले पहिल्यै जानेको÷बुझेको कुरा लेख्ने हो । यसका लागि हामीमा अध्ययनशीलता र लेख्ने अभ्यास पनि भएको हुुनुप¥यो । निबन्ध लेखनमा पनि परिचय खण्ड, व्याख्या खण्ड र निष्कर्ष खण्ड गरी तीन खण्डमा बाँडेर लेख्न सकिन्छ । प्रश्नमा ‘१५० शब्दसम्मको’ भनिए पनि यति शब्द थोरै हुने हुँदा ३५०–४०० शब्दसम्मको (मार्जिन छोडिएको उत्तर पुस्तिकामा आधा पृष्ठभन्दा बढी) लेख्ने । यसका लागि अहिले नै अभ्याससहित शब्द गणना गर्ने ।