(नेमकिपाका अध्यक्ष रोहितद्वारा लिखित ‘नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन’ पुस्तकको पहिलो प्रकाशन वि.सं. २०३३ (१ सेप्टेम्बर, १९७६) मा भएको थियो । यो पुस्तक नेपाल मजदुर किसान पार्टीको स्थापनाका आधारभूत तत्वहरूमध्ये एक हो । यो सैद्धान्तिक सङ्घर्षको निचोड हो । नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारको खण्डन नगरी कम्युनिस्ट आन्दोलन अघि बढ्दैन । यो पुस्तक अहिले पनि समय सान्दर्भिक छ । नेमकिपा स्थापना हुनाका सैद्धान्तिक आधार र ठम्याइबारे पुस्तकमा उल्लेख भएकोले पार्टी स्थापना दिवसको अवसरमा यो छापिएको हो । – सं.)
हाम्रा केही साथीहरूले हामीलाई फूटपारुवा भन्ने फतुर लगाउन थालेका छन् । तर, हामीले पार्टीको क्रान्तिकारी एकतालाई कायम राख्नको निम्ति अनेक तीतो पिरोलाई केही वर्षसम्म सहिरह्यौँ । तिनीहरू भने पार्टी एकताको नाममा हामीलाई अचाक्ली गाली–सराप, बेइज्जती, बदनामी र चरित्र हत्या गर्ने अनेक फटाहा फतुरहरूको वर्षा गर्दै छन् । पार्टी एकताको नाममा तिनीहरूले पार्टी सिद्धान्तका अनेक नैतिक नापोहरूलाई नाघेका छन् र अनुशासनसम्बन्धी सबै नियमहरूलाई च्यातच्युत पारिदिएका छन् ।
तर, पार्टी एकता किन र पार्टीमा किन मतभेद उठ्यो भन्ने कुरोमा राम्रो जाँचबुझ नगरिएसम्म वास्तवमा फूटपारुवा को हो भन्ने छर्लङ्ग हुँदैन । सैद्धान्तिक क्षेत्रमा माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधाराको ठाउँमा अवसरवाद, संशोधनवाद र सामाजिक–साम्राज्यवादलाई स्वीकार गर्नु फूटको कारण हो । विदेशी दबाब र शान्तिपूर्ण तरिकाले नै क्रान्ति र समाजवाद ल्याउने जाली विचार लिनु फूटको कारण हो । व्यवहारको क्षेत्रमा आफ्नै उद्देश्य र नीति भएको स्वतन्त्र र सर्वहारा पार्टीलाई राजावादी र पुँजीवादी पार्टीको पुच्छर बनाउन खोज्नु, साम्राज्यवाद र उपनिवेशवादको थिचोमिचो, हस्तक्षेप र प्रभुत्ववादको विरोध नगर्नु, एकाधिकार पुँजीवादको विरोध नगर्नु फूटको कारण हो । गाउँ–गाउँमा भइरहेको जाली–फटाहा, जमिनदार र शोषकहरूको विरोधमा भएको किसान सङ्घर्ष र वर्गसङ्घर्षलाई विरोध गर्नु, सानो र स्थानीय वर्गसङ्घर्षबाट ठुलो र देशव्यापीरूपमा विकास गर्ने सिद्धान्तलाई विरोध गर्नु अथवा ‘कुस्ती खेल्ने अभ्यासै नगरी पहलवान बन्ने’ वा एकैचोटि प्रचारले नै विद्रोह गर्ने खोटो विचार गर्नु फूटको कारण हो । आफ्नै देशका जनतालाई नउठाई, मुख्यतः तिनीहरूकै भरमा क्रान्ति गर्ने नीति नलिई विदेशको भरमा क्रान्ति गर्ने वा मुख ताक्ने नीति लिनु फूटको कारण हो । एकताको नाममा भित्र भित्र गुटबन्दी र पार्टी कामरेडहरूको बद्ख्वाइँ गरेर हिँड्नु, जाली–फट्याइँ र बेइमानी गर्नु फूटको कारण हो । तेस्रो विश्वका देश र जनताको साम्राज्यवाद, उपनिवेशवाद र दुई महाशक्तिको प्रभुत्ववादको विरोधमा गरिने मुक्ति र स्वतन्त्रता आन्दोलनको समर्थन नगर्नु फूटको कारण हो । पञ्चायती सामन्तवादको विरोधमा वास्तविक सङ्घर्ष नगर्नु फूटको कारण हो ।
एकताको नाममा यी खोटा सैद्धान्तिक र अव्यावहारिक पाइलाहरूलाई समर्थन गर्नु वा विरोध नगर्नु वास्तवमा माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई धोखा दिनु थियो । ती खोटो विचारलाई विरोध नगरी चुप लागेर बस्नु देश र जनता अनि पार्टी र क्रान्तिलाई धोखा दिनु थियो । यस्तो अवस्थामा एकताको नाममा क्रान्तिकारी सिद्धान्तलाई त्याग्नु वास्तवमा सबभन्दा ठुलो विश्वासघात र धोखेबाजी हुन्थ्यो । क्रान्तिको निम्ति माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधाराको पवित्रतालाई जोगाउनु सिद्धान्तहीन एकताभन्दा ठुलो कुरो थियो । यो एक माक्र्सवादी अडान हो । माक्र्सले एकताको नाममा सिद्धान्तको बेचबिखनलाई सदा विरोध गर्नुहुन्थ्यो । ५ मई, १८७५ मा बाकेलाई गोथा कार्यक्रमबारे लेख्नुभएको थियो, “थाहै छ कि एकता हुने कुरैले मजदुरहरूलाई सन्तोष हुनसक्छ, तर के विश्वास गर्नु गलत हुन्छ भने यस क्षणिक सफलताको निम्ति धेरै मूल्य दिएर लिइएको छैन ।” यसरी सिद्धान्तलाई ध्यान नदिई गरेको एकता माक्र्स मन पराउनु हुन्नथ्यो ।
२ देखि ७ सेप्टेम्बर, १८७२ मा हेगमा अन्तर्राष्ट्रिय मजदुर सङ्घको महाधिवेशन भएको थियो । १८७१ को कम्युनको पतनपछि मजदुर आन्दोलनभित्र सानो पुँजीवादी विचार बढ्दै गएको थियो । तिनीहरू अन्तर्राष्ट्रियवादको विरोधमा राष्ट्रवादी र सङ्कीर्णतावादलाई चाहन्थे, क्रान्ति होइन अराजकता चाहन्थे । माक्र्स र एङ्गेल्सले हेग महाधिवेशनमा त्यस्ता खोटा विचार राख्नेहरूलाई पार्टीबाट निकाली दिनुभयो । त्यसबेला कति मजदुर प्रतिनिधिहरू फूटले गर्दा निराश भएर घर फर्केका थिए । ती सङ्कीर्ण फूटपारुवाहरूले माक्र्स र एङ्गेल्सलाई झगडालु र तानाशाही भनेर गालीगलौज गरेका थिए । तर, त्यसबेला फूट राम्रो कुरा थियो । सिद्धान्तमाथि अडान लिएर सङ्घर्ष नगरिएको भए ! २० जून, १८७३ मा एङ्गेल्सले अगस्ट बेबेललाई लेख्नुभएजस्तै, “यदि हामीले फूट नगरिकन चुप भई दिएका भए, त्यसको फल के हुन्थ्यो ? सङ्कीर्णतावादीहरू, खास गरेर बाकुनिनहरूले एक वर्ष अरु समय पाएको भए अन्तर्राष्ट्रियको नाममा, झन् ठुलठुला मूर्खता र फोहर कामहरू गर्थे । ……. तब इन्टरनेसनल ‘एकता’ को नाममा साँचो अर्थमा टुक्रा टुक्रा हुन्थ्यो । बरु यसको सट्टा हामीले गौरवपूर्वक सडेका तत्वहरूबाट छुट्कारा पायौ ।” बस्, त्यस्तै हामीले पनि पार्टी एकताको नाममा सैद्धान्तिक सङ्घर्ष नगरेका भए, नेपाली अवसरवादीहरूले पनि पार्टीको नाममा अनेक जालीझेली र सिद्धान्तहीन कामहरू गर्थे, पार्टीलाई सामन्ती र पुँजीवादी पार्टीको पुच्छर बनाई सक्ने थिए ।
रुसी मजदुर आन्दोलन र दोस्रो अन्तर्राष्ट्रियमा एकताको नाममा लेनिनले पनि पार्टीको अवसरवादी सिद्धान्तलाई चुप लागेर सहेर बस्नु भएन, बरु सैद्धान्तिक सङ्घर्ष गर्नुभयो । त्यसबेला लेनिनलाई त्रात्स्की गुट र मेन्शेभिकहरूले ‘फूटपारुवा’ र ‘नेतृत्व हत्याउने’ भनेर सा¥है गाली र निन्दा गरेका थिए । तर, लेनिनले भन्नुभयो, “त्रात्स्कीको व्यवहार अति तल्लो तहको स्वार्थी र गुटबन्दीपूर्ण छ । …. ऊ मुखले पार्टीको भक्त बन्छ तर उसको व्यवहार कुनै पनि गुटबाजभन्दा बढी खराब छ ।”
१९१२ मा त्रोत्स्कीले अलग गुट बनायो । लेनिन र बोल्शेभिकहरूको विरोधमा विर्सजनवादी र बहिष्कारवादीहरू एक भएर एक केन्द्र बनाए । “तर, त्रात्स्कीले विसर्जनवादलाई केन्द्रवादको लुगामा लुकाएको थियो ।” मजदुरवर्गलाई धोखा दिन ऊ आफूलाई न बोल्शेभिक हो र न मेन्शेभिक हो बरु ‘गुटबाजीबाट पर’ एक ‘केन्द्रवाद’ को समर्थक गुटको हो भन्थ्यो ।
स्तालिनले त्यसबारे भन्नुभएको थियो, “केन्द्रवाद एक राजनैतिक धारणा हो । उसको विचारधारा के हो भने एकै पार्टीभित्र सर्वहारावर्गको हितहरूलाई साना–पुँजीवादहरूको हित अनुकूल बनाई दिनु, त्यसको मुठ्ठीमा पार्नु । यो विचारधारा लेनिनवादको निम्ति परको र घीनलाग्दो कुरो थियो ।”
त्रात्स्कीको त्यस ‘केन्द्रवाद’ को विरोध गर्न लेनिनले पनि एक अलग गुट बनाउनुभयो । त्यस गुटमा प्लेखानोभ पनि थिए । त्यस गुटलाई कालापानीबाटै स्तालिनले समर्थन गरेर लेख्नुभएको थियो, “मेरो रायमा (लेनिन–प्लेखानोभको) गुटको नीति एकमात्र सही नीति हो ।”
दोस्रो अन्तर्राष्ट्रियका नेताहरूले अवसरवादी नीति लिँदा लेनिनले सङ्घर्ष र फूटको बाटो लिनुभयो । उहाँले प्रस्ट भन्नुभयो, “आज अवसरवादीसँग एकताको वास्तविक अर्थ हो मजदुर वर्गलाई … पुँजीपतिवर्गको अधीनमा दिनु …. । यसको अर्थ हो … क्रान्तिकारी सर्वहारावर्गमा फूट ल्याउनु ।”
फूटको फलाको र एकताको गुहार गर्ने केही साथीहरूले हामीलाई ‘फूटाहा’ सम्झेका छन् । तिनीहरू ‘पार्टी पद्धतिअनुसार सैद्धान्तिक सङ्घर्ष गर्ने’ कुरामा बल दिन्छन् । तर, तिनीहरूलाई थाहा छैन कि अवसरवादीहरूले क्रान्तिकारीहरूलाई, “नकली कागजी– ‘एकता’ बाट धोखा दिने छन् ।” यस कुरालाई हामीले बिर्सनु हुन्न कि अवसरवाद मजदुर आन्दोलनभित्रको पुँजीवादी विचारधारा हो ।
यसकारण, लेनिनले यस कुरामा जोड दिनुहुन्थ्यो कि जहिलेसम्म संशोधनवादसँग अलग हुन्न, तबसम्म क्रान्तिकारी कार्यनीतिमा खप्पिस हुने कुरै छैन । १९२० तिर लेनिनले भन्नुभएको थियो, “हरेक परिस्थितिमा अल्झिनुभन्दा फूट झन् राम्रो छ, अल्झिनाले पार्टीको सैद्धान्तिक, विचारधारात्मक र क्रान्तिकारी विकासलाई छेकिदिन्छ, पार्टीलाई परिपक्व हुन दिँदैन र पार्टीलाई त्यसले त्यति राम्रो, साँचो अर्थमा मजदुरवर्गको हुकुमको निम्ति बाटो तयार गर्ने सङ्गठित, व्यावहारिक काम गर्न दिंँदैन ।”
यसकारण, हामी भन्छौँ, खराब एकताभन्दा फूट झन् राम्रो छ । तर, केही साथीहरू ‘पुराना नेताहरू गए’ भनेर पिर मान्ने छन् । तर, कुरो त्यसो होइन, “… यदि कुनै पार्टीमा फूट हुन्छ र फूट सहन्छ भने यसले साबित गर्छ कि त्यो विजयी पार्टी हो । सर्वहारावर्गको आन्दोलन जरुरै विकासको विभिन्न अवस्थाहरूबाट गुज्रन्छ† हरेक अवस्थामा एक भाग छुट्छ र त्यसभन्दा अगाडि बढ्दैन† यसले देखाउँछ कि वास्तवमा ‘सर्वहारावर्गको एकता’ जहाँ तहाँ विभिन्न पार्टी गुटहरूमा विभाजित भइरहन्छन्, जो एक अर्काको विरोधमा जीवनमरणको सङ्घर्ष गर्दै छन् … ।”
कुनै पनि क्रान्तिकारी सिद्धान्त विभिन्न खोटा सिद्धान्तहरूसँग सङ्घर्ष गरेर नै अगाडि बढ्छ । माक्र्स र एङ्गेल्सले बाकुनिनवादी, प्रुधोँवादी, ब्लाँकीवादी, लासालवादी आदि विभिन्न खोटा विचारहरूसँग सङ्घर्ष गरेर माक्र्सवादलाई अगाडि बढाउनुभएको थियो । त्यस्तै, लेनिन र स्तालिनले नरोदनिक, अर्थवादी, संशोधनवादी, विसर्जनवादी, बहिष्कारवादी, अन्ध–राष्ट्रवादरी, सामाजिक–साम्राज्यवादी र विभिन्न फलाका र उत्ताउला सिद्धान्तहरूको विरोधमा सङ्घर्ष गर्दै बोल्शेभिकवाद या लेनिनवादलाई अगाडि बढाउनुभएको थियो । त्यस्तै, माओ त्सेतुङको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीले चीनको कम्युनिस्ट पार्टीमा देखापरेका चेन तु–श्यु, लि लि–सान, बाड मिङ, ल्यू शाओ ची, लिन प्याउजस्ता अनेक दक्षिणपन्थी र वामपन्थी अवसरवादीहरूको विरोधमा सङ्घर्ष गरेको थियो । विभिन्न मित्र पार्टीहरूसँग मिलेर माओ त्सेतुङको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीले टिटोको नयाँ संशोधनवाद, सोभियत संशोधनवाद र सामाजिक–साम्राज्यवादको विरोधमा सङ्घर्ष गरेर माक्र्सवाद–लेनिनवादको पवित्रतालाई रक्षा गरेको थियो । १९५७ को मस्को बैठक र १९६० को मस्को सम्मेलनमा संशोधनवादको विरोधमा सङ्घर्ष वा फूट नगरेका भए परिणाम के हुने थियो ? सबै ठाउँमा इन्डोनेसिया र चिलीको घटना घट्ने थियो । पुँजीवाद र साम्राज्यवादले अझ धेरै दिनसम्म संसारमा पहिलेजस्तै रजाइँ चलाइरहने मौका पाउँथ्यो† सबै समाजवादी देशहरू विस्तारै पुँजीवादी देशमै पतन हुने थियो । यसकारण, माओ त्सेतुङ र संसारका अरु सच्चा माक्र्सवादी–लेनिनवादीहरूले सङ्घर्ष र फूट गरेर नै माक्र्सवाद–लेनिनवाद र सर्वहारा अन्तर्राष्ट्रियवादको पवित्रतालाई जोगाउनुभएको थियो र संसारका सबै दलित–पीडित वर्गलाई एक गरेर साम्राज्यवादको विरोधमा सफल सङ्घर्ष चलाउन सफल हुनुभएको थियो । यसकारण, पार्टी भित्रको सैद्धान्तिक सङ्घर्ष र फूटसँग डराउनु हुन्न, त्यो राम्रो कुरा हो । २४ जून, १८५२ मा माक्र्सलाई लासालले लेखेको चिट्ठीलाई लेनिन ‘के गर्ने’ भन्ने आफ्नो रचनामा उल्लेख गर्नुहुन्छ, “.. पार्टी सङ्घर्षहरूले पार्टीलाई शक्ति र जीवन प्रदान गर्छन्, कुनै पनि पार्टीको कमजोरीको सबभन्दा ठुलो प्रमाण यसको छिन्न भिन्नता र स्पष्ट सीमारेखाहरूको अभाव हो† पार्टी आफ्नो अयोग्य सदस्य निकालेपछि बलियो हुन्छ ।”
बस्, हाम्रो पार्टीको पनि यही अवस्था छ । अयोग्य र जालीफटाहा नेताहरूलाई पार्टीबाट निकालेपछि मात्रै हाम्रो पार्टीले जीवन प्राप्त गर्ने छ र क्रान्ति गर्न योग्य हुने छ । यसकारण, पार्टी झगडा र फूटले पीर मान्नुपर्ने कुनै कारण छैन । झगडा र फूटले सैद्धान्तिक पवित्रता जोगिन्छ, व्यवहारमा निखार आउँछ र पार्टी बलियो हुन्छ । यसकारण, हामीले भनेका थियौँ, “सिद्धान्तहीन र खराब एकताभन्दा झगडा र फूट झन् असल कुरा हो ।”
हाम्रो त्यही दृष्टिकोणले गर्दा तिनीहरू हामीलाई ‘एकताविरोधी’, ‘केन्द्रविरोधी’ र ‘फूटपारुवा’ भनेर कलगी लगाई दिन्छन् । हामी त्रात्स्कीको जस्तो ‘केन्द्रवाद’ को विरोधी छौँ । क्रान्तिकारी सिद्धान्तमाथि विश्वासघात गर्नेहरूले हामीलाई ‘एकताविरोधी’ र ‘फूटपारुवा’ भन्नु त ‘चोरले चोर आयो भनेर कराउनु’ र ‘… आफ्नै खुट्टा उचाल्नु’ जत्तिकै हो । यो कुनै नयाँ कुरो होइन ।
२० जून, १८७१ को दिन यस्ता फूटपारुवाहरूबारे एङ्गेल्सले अगस्ट बेबेललाई लेख्नुभएको चिट्ठीमा भन्नुभएको थियो, ‘एकता’ को नाराबाट हामीले बाटो बिराउनुहुन्न । जसका मुखबाट यो शब्द सबभन्दा बढी सुनिन्छ, तिनीहरू नै सबभन्दा बढी फूटका बीउ छरिरहेका छन् । ….. यसको राम्रो उदाहरण तपाई जर्मनीमा देख्नुहुन्छ, जो….. मजदुरहरू र स–साना पुँजीवादीहरूको मेलमिलापको कुरा गर्छन् या तिनीहरू यस्ता मानिसहरू हुन् जसले केही थाहै नपाइकन…. या जानाजान आन्दोलनको पवित्रतालाई बिटुल्याउन खोज्छन् । यसकारण, सबभन्दा ठुलो सङ्कीर्णतावादी र सबभन्दा ठुलो फूटवादी र जालीफटाहाहरू बारम्बार सबभन्दा ठुलो स्वरले एकताको झ्याली पिट्छन् । हाम्रो आफ्नो जीवनमा एकताको गुहार माग्नेहरूले जत्तिको कसैले दुःख दिएका छैनन् र तिनीहरू जस्तो छलकपटी कोही निस्केनन् ।” आज हामी कहाँ एकताको फलाकोमा फूटका बीउ छर्नेहरूले नयाँ उदाहरण दिँदै छन् । साँचा फूटवादी र एकता विरोधीहरू तिनीहरू आफै हुन् ।
हाम्रा केही साथीहरू हामीसँग सोध्छन्, “के तपाईँहरू क्रान्तिकारी एकताको पक्षमा हुनुहुन्छ ?” हामीले उत्तर दियौँ हामी क्रान्तिकारी एकताको पक्षमा छौँ । क्रान्तिकारी फूटले नै क्रान्तिकारी एकता सम्भव हुन्छ । “एकता कायम गर्नु, सङ्घर्ष गर्नु, अथवा यहाँसम्म कि एकता भङ्ग गर्नु र नयाँ आधारमा एक नयाँ एकता कायम गर्नु अन्तर्राष्ट्रिय मजदुर आन्दोलनको विकासको द्वन्द्ववाद हो ।” (४ फेब्रुअरी, १९६४ को दिन ‘हुङ्गछी’ र ‘रेनमिन रिपाओ’ को सम्पादकीय विभाग ।)
क्रान्तिकारी एकताका बाधक हामी होइनौँ । बरु “…. केही व्यक्ति, खास गरेर नेता बन्न असफल दावा गर्नेहरूमध्ये केही (यदि तिनीहरूमा मजदुर अनुशासनको कमी छ र तिनीहरू ‘आफूसँगै इमानदार छैनन्’ भने) धेरै दिनदेखि आफ्नो विरामहरूमा जिद्दी भई बस्ने छन् ।” बस्, लेनिनले भन्नुभए जस्तै आफूलाई सबभन्दा ठुला र पुराना साथी भनी दावा गर्ने केही ‘जिद्दी’ र ‘असफल’ नेताहरूको बेइमानीले गर्दा क्रान्तिकारी एकता हुन नसकेको हो । तिनीहरूको जाली–फट्याइँले विकास, प्रगति र क्रान्तिपछि परे पनि त्यसलाई रोक्न भने सक्दैनन् । “तर, जब परिस्थिति परिपक्व हुनेछ, तब व्यापक मजदुर अति सजिलोसित र सा¥है छिटोसित आफूलाई एक गर्ने छन् र सबै इमानदार कम्युनिस्टहरूको एक यस्तो सिङ्गो पार्टीमा मिलाउने छन्, जसले सोभियत व्यवस्था र मजदुरवर्गको हुकुमको स्थापना गर्न सक्नेछ ।”
हाम्रा केही साथीहरू हामीलाई ‘नेतृत्व हत्याउन चाहने’ भनेर फतुर लगाउँछन् । तर, हामी भन्छौँ, कम्युनिस्टहरू पद र पैसाको निम्ति सङ्घर्ष गर्दैनन् । तिनीहरू नाउँ कमाउन वा ठुला–बडा बन्न कम्युनिस्ट बनेका होइनन् । तिनीहरू क्रान्तिको सेवा गर्न कम्युनिस्ट बनेका हुन् । तिनीहरू आज सामन्तवाद, साम्राज्यवाद, नयाँ र पुरानो उपनिवेशवादको विरोधमा लड्दै छन् । सार रूपले तिनीहरू पुँजीवादी व्यवस्थालाई ध्वस्त पारेर समाजवादको निर्माण गर्न र साम्यवादी समाजमा भित्रिन लड्दैछन् । ‘निःस्वार्थी निडर हुन्छ’ भन्ने जस्तै कम्युनिस्टहरूको आफ्नो कुनै व्यक्तिगत स्वार्थ नहुने भएकोले तिनीहरूले डराउनुपर्ने कुनै कारण छैन । तर, केही साथीहरू पार्टी नेतृत्वलाई पार्टी सदस्य, कार्यकर्ता र जनतालाई दबाउने वा हुकुम चलाउने यन्त्र सम्झन्छन् । यसकारण, शोषकवर्ग आफ्नो ‘स्वर्ग’ (हुकुम) लुटिएला भनेर तर्सेजस्तै ती ‘नेतृत्ववादी’ र ‘प्राधिकारी’ साथीहरूलाई ‘नेतृत्व’ र ‘प्राधिकार’ गुम्ला भन्ने सान्तै डर छ । यदि कुरो त्यसै हो भने हामी त्यस ‘नेतृत्व’ र ‘प्राधिकार’ लाई जरैदेखि उखेल्न चाहन्छौँ । हामी त्यस्तो पार्टी नेतृत्वलाई हुकुम, प्राधिकार (वा शासन गर्ने अधिकार) को रूपमा स्वीकार गर्दैनौँ । पार्टी नेतृत्वको अर्थ क्रान्तिको निम्ति गरिने अगुवाइको जिम्मेवारी हो । उसले त्यस जिम्मेवारीलाई बहुमतको एकता र रायअनुसार अगाडि बढाउने छ । अगुवाइमा खप्पिस, योग्य र सक्षम पार्टीको अङ्ग नै नेतृत्व हो । अगुवाइलाई सफलतापूर्वक सञ्चालन गर्नु नै उसको मुख्य कर्तव्य हो । त्यो कर्तव्य पूरा गर्न सक्दैन भने त्यसले आफूलाई नेतृत्वको दावा पनि गर्न सक्दैन । वैधानिकता लोकप्रियतामा आधारित हुन्छ । अलोकप्रिय नेतृत्वले नेतृत्वको दावा गर्ने अधिकार राख्दैन ।
पार्टी नेतृत्व र प्राधिकारको दाबी गर्नेहरू ‘पार्टी कार्यपद्धति’ र ‘अनुशासन’ को ब्वाँसे गुहार र सर्पको आँसु चुहाउँछन् । हो, क्रान्ति गर्न तम्सेको क्रान्तिकारी पार्टीको निम्ति कार्य सञ्चालन र सिद्धान्तको पवित्रता कायम राख्न, काम गर्ने एक तर्कपूर्ण नियम र अनुशासनको आवश्यकता छ, त्यो राम्रो कुरा हो । त्यो नियम वा ‘कार्यपद्धति र अनुशासन’ बहुमतको राय र इच्छाको एकतामा अडेको हुन्छ । यसकारण, बहुमतको राय र इच्छाको एकता नै जनवादी केन्द्रीयताको जग हो । यदि बहुमतको रायको बेवास्ता गरिन्छ र इच्छाको एकता त्यागिन्छ भने त्यो जनवादी केन्द्रीयताको उल्लङ्घन हो । यदि कुनै नेतृत्वदायी गुटले जनवादी केन्द्रीयताको फलाकोमा बहुमतको रायलाई मिच्छ र इच्छाको एकतालाई अटेर गर्छ भने, यदि त्यो नेतृत्ववादी गुटले क्रान्तिकारी सिद्धान्तलाई विरोध गर्छ भने त्यो नेतृत्वलाई मान्नु हुन्न । बहुमतको राय र इच्छाको एकताको आधारमा त्यस खोटो नेतृत्वको विरोध गर्नु आफै एक क्रान्तिकारी पाइलो र साँचो जनवादी केन्द्रीयता हो ।
पार्टीका केही साथीहरू पुरानो ‘नाउँ चलेको’, ‘जनरल सेक्रेटरी’ वा ‘नेतृत्व’ को आधारमा केही व्यक्ति वा गुटमाथि आफ्नो विश्वास व्यक्त गर्छन् । सिद्धान्तलाई च्याखामा राखेर पुरानियाँको आधारमा आफ्नो दृष्टिकोण बनाउनु एक सामन्तवादी र पुँजीवादी हेराइ हो । त्यस हेराइलाई छ्याँस्नुपर्छ र सच्याउनुपर्छ । एकचोटि पार्टी नेतृत्वमा पुगिसकेको वा ‘नाउँ चलेको’, ‘प्रभावशाली’ अथवा जनरल सेक्रेटरी भएका व्यक्तिका नाताले उनको ठम्याइ र विचार सधैँ ठीक हुन्छ भन्ने सोच्नु एक अन्धविश्वास हो । माक्र्सवाद संसारलाई आलोचनात्मक ढङ्गले हेर्ने एक दृष्टिकोण हो, अन्धविश्वास होइन । यसबारे संसारको कम्युनिस्ट आन्दोलनको इतिहासलाई अध्ययन गरेपछि छर्लङ्ग हुन्छ ।
जर्मन सामाजिक–जनवादी मजदुर पार्टीमा बर्नस्टीन र कात्स्की एकचोटि सा¥है ‘नाउँ चलेका’ नेता थिए । तिनीहरूको प्रभाव युरोपका विभिन्न मजदुर आन्दोलनमा पनि परेको थियो । रुसमा प्लेखानोभ सबभन्दा पुरानो र लेनिनभन्दा पहिलेका माक्र्सवादी नेता थिए । चीनमा चेत तु–श्यु, लि लि–सान र वाड–मिड माओ त्सेतुङभन्दा पहिलेका जनरल सेक्रेटरी र प्रभावशाली नेताहरू थिए । तर, ती सबैले माक्र्सवादी र लेनिनवादी सिद्धान्तलाई विश्वासघात गरी अवसरवादी नीति लिएपछि र क्रान्तिलाई ठुलो हानि–नोक्सानी पु¥याएपछि तिनीहरू नेतृत्वबाट फालिए वा राजनैतिक डबुलीबाट तल झरे । यो स्वाभाविक कुरो हो कि उज्यालो नदिएपछि बत्ती बत्ती रहने छैन । कुनै पनि क्रान्तिकारीले क्रान्तिको बाटो त्यागेपछि ऊ क्रान्तिकारी रहने छैन । कुनै पनि सिद्धान्त र विचारधाराले बाटो देखाउन छोडेपछि त्यो सिद्धान्त र विचारधारा निस्क्रिय भएर जान्छ र त्यसको ठाउँ नयाँ सिद्धान्त र विचारले लिन्छ ।
बर्नस्टिन, त्रात्स्की, प्लेखानोभ, चेन तु–श्यु, लि लि–सान, वाड–मिड आदि दक्षिणपन्थी वा ‘वामपन्थी’ अवसरवादीहरू पनि आफै तल झरेका होइनन्, सच्चा माक्र्सवादी र लेनिनवादी सिंद्धान्त र विचारबाट तिनीहरूलाई राजनैतिक डबुलीबाट तल झारिएका हुन् ।
नेपालको कम्युनिस्ट आन्दोलनमा पनि पुष्पलाल, मनमोहन, डा. रायमाझी, तुल्सीलाल आदि जनरल सेक्रेटरी, ‘नेतृत्व’ र ‘प्राधिकारीहरू’ आएर डबुलीबाट तल झर्दै गए । यो क्रम त्यसबेलासम्म चालु रहने छ, जहिलेसम्म सच्चा र व्यावहारिक माक्र्सवादी–लेनिनवादी विचारहरूले हुतिहारा र उत्ताउला कम्युनिज्मजस्ता काँचा विचारहरूलाई ‘नेतृत्व’ र ‘प्राधिकार’ बाट फालेर क्रान्तिलाई सही बाटो देखाउन सक्दैन । त्यस ऐतिहासिक तथ्यलाई केही अति महत्वाकाङ्क्षी र व्यक्तिवादी विचार लिएका नेतृत्ववादी वा प्राधिकारवादी व्यक्ति वा गुटको छलछाम, जाली–फट्याइँ र दौडधुपले बदल्न सक्दैन । मौका छोप्न पल्केका केही व्यक्ति वा गुटले आफूलाई ‘नेतृत्व’, ‘नेता’, ‘जनरल सेक्रेटरी’ वा ‘प्राधिकार’ स्थापना गर्नु त अन्धोले आफूलाई ‘सुनेत्र’ घोषणा गर्नु जत्तिकै हो । यो मपाइँमार्का नीति धेरै दिन टिक्न सक्दैन । ‘एक पाइलो अगाडि, दुई पाइला पछाडि’ भन्ने आफ्नो रचनामा लेनिनले भन्नुभए जस्तै, “आफूलाई कुनै नाम दिनु एक कुरा हो र साँच्चै त्यस्तो हुनु अर्कै कुरा हो ।”
यसकारण, हामी राजनैतिक फटाहा र नक्कली कम्युनिस्टहरूलाई भन्छौँ, भो, तिमीहरू आफ्नो गाईजात्रे ‘नेतृत्व’ र ‘प्राधिकार’ को बखान हामीसँग नगर । गाईजात्रे नेतृत्व र प्राधिकारको सोखिन हामी होइनौँ । हामी माक्र्सवादी–लेनिनवादी हौँ । हामी आफ्नो सारा बुद्धि र बलले भ्याएसम्म क्रान्ति र जनताको निस्वार्थ सेवा गर्न चाहन्छौँ । हामी जनताबाट सिक्छौँ र जनताकै निम्ति काम गछौँ । ‘नम्र भएर’ मिल्न सक्ने सबै क्रान्तिकारी तत्व र शक्तिसँग मिलेर एक आपसमा सिक्दै अगाडि बढ्छौँ । आलोचनादेखि रिसाउन्नौँ र आत्मालोचनादेखि डराउन्नौँ । ‘धैर्य राखेर’ एक एक पाइला गर्दै, क्रान्तिको निम्ति ‘कष्टपूर्ण’ भौतिक र मानसिक तयारी गर्दै जान्छौँ ।
‘एकमात्र पार्टी’ र ‘नेतृत्व’ गुटका फलाकावादीहरू अन्तर्राष्ट्रिय सन्धि र दबाबबाट देशमा क्रान्ति गर्ने सपना देख्छन्, भने ‘एकमात्र पार्टी’ र ‘प्राधिकार’ गुटका उत्ताउला कम्युनिस्टहरू क्रान्तिको आदेश र परिस्थितिलाई कुरिरहन्छन् । विदेशसँगको सन्धि, दबाब, आदेश र परिस्थितिमा भर परेर क्रान्ति गर्ने ठम्याइ माक्र्सवादी–लेनिनवादी ठम्याइसँग मेल खाँदैन । क्रान्तिको निम्ति मुठ्ठीभर बुद्धिजीवीहरू मात्रै तयार भएर पुग्दैन, बरु देशका अत्यन्त बहुमत वा ‘व्यापक जनतालाई’ उठाउनुपर्छ । तिनीहरूकै भरमा विपरीत परिस्थितिलाई अनुकूल परिस्थितिमा फेर्नुपर्छ । परिवर्तन वा क्रान्तिको मुख्य तत्व भित्री हो, बाहिरी तत्व सहायक मात्रै हुन्छ भन्ने कुरा मनमा लिनुपर्छ ।
मस्कोका मजदुर सङ्घ र कारखाना समितिहरूको चौथो सम्मेलनमा २८ जून १९१८ को दिन तत्कालीन परिस्थितिबारे विरोधीहरूलाई जवाफ दिँदै लेनिनले भन्नुभएको थियो, “आदेश र सम्झौताबाटै विदेशमा क्रान्ति हुन्छ भन्ने विश्वास गर्ने मानिसहरू पनि छन् । ती मानिसहरू कि त बहुला हुन् कि त भड्काउने तत्वहरू हुन् । बितेका १२ वर्षमा हामीले दुइटा क्रान्तिहरूको अनुभव गरेका छौँ । क्रान्तिहरू आदेश या सम्झौताले गर्न सकिन्न भन्ने हामीलाई थाहा छ, लाखौँ–करोडौँ जनता पुरानो ढङ्गले अब बस्न असम्भव छ भन्ने टुङ्गोमा पुगेपछि क्रान्तिहरू हुन्छन् ।”
यसकारण, हामी भन्छाँै, … “क्रान्ति गर्न देशका सबै हेला गरिएका र चुसिएका जनता एक होऔँ !”
हामी अन्तर्राष्ट्रवादी हौँ । यसकारण, हामी भन्छौँ, “थिचोमिचो, आक्रमण र प्रभुत्ववादको विरोध गर्न थिचिएका र पिसिएका संसारका सबै जनता एक होऔँ र एकले अर्कालाई समर्थन गरौँ !”
अन्तमा, हामी ऐतिहासिक नारालाई दोहो¥याउँछौँ, “संसारका मजदुरवर्ग एक होऔँ !”
साभार : नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन