सृजना सैंजू
बाल विकास सेकेण्डरी स्कुलको ३७ औँ वार्षिकोत्सव, बाल विकास शैक्षिक मेला—२०८१ भव्य सफलताको कामना गर्दछु । आज माघको १५ गते । माघ हाम्रो निम्ति अत्यन्त महत्वपूर्ण महिना, माघको यो हप्ता झनै महत्वपूर्ण अनुभव हुन्छ । आजभन्दा ५० वर्ष अघि, २०३१ माघ १० गते नेपाल मजदुर किसान पार्टीको स्थापना भयो । विद्यालयको ३७ औँ वार्षिकोत्सव समारोहमा यो प्रसङ्ग जोड्नु अन्यथा हुँदैन भन्ने पूर्ण विश्वास छ । यो विद्यालय आफैमा पनि पार्टीको स्थापना दिवससँग सरोकार राख्दछ । पार्टीको स्थापना नहुँदो हो त यो विद्यालयको जन्म सम्भव थियो या थिएन इतिहासको गर्भमा उत्तर जरुर भेटिनेछ । यो मात्र होइन भक्तपुरका धेरैधेरै विद्यालय जन्मको साइनो पार्टी स्थापनासँग छ भन्दा अतिशयोक्ति नहोला !
विद्यालयहरूको जन्म अगाडि यहाँ तल्लो वर्गलाई साँवा अक्षर सिकाउने, प्रौढ कक्षा, साक्षरता कक्षा, किसानहरूको लागि रात्री कक्षा सञ्चालन गर्नेदेखि लिएर शिक्षाको जग हाल्दै–हाल्दै नेपाल मजदुर किसान पार्टी अगाडि बढ्यो । कुनैबेला शैक्षिक क्षेत्रमा बदनाम या पछाडि पारिएको भक्तपुरलाई शिक्षाको गन्तव्यको रूपमा विकास ग¥यो । ‘एसएलसी पास नभए भक्तपुर जानू’ भन्ने अपमानविरुद्ध लड्यो, जाँचमा चिट चोर्ने गतल प्रवृत्तिविरुद्ध विद्यालय, घर, टोल—टोलबाट सङ्घर्ष ग¥यो । सरकारी विद्यालयहरूको स्तर उठायो । आज गुणस्तरीय शिक्षाका लागि देशैभरिका विद्यार्थीको शैक्षिक रोजाइ बनेको छ यो ठाउँ । छोरीलाई नपढाउने समाजमा किसानका छोरीहरूलाई पढ्न उत्साहितमात्र गरेन हात समाई समाई विद्यालय कलेज पु¥यायो । आज शैक्षिक क्षेत्रमा छोरीहरू अगाडि बढेको सहरमध्ये अग्रपङ्क्तिमा छ, यो भक्तपुर ।
शिक्षामा राज्यको विभेद, द्वैधशिक्षा नीतिका कारण गरिबहरू मारमा परेको हामीलाई थाहा छ । धनीमानीलाई दिइने शिक्षा र गरिबलाई दिइने शिक्षाबीच अग्लो पर्खाल खडा गरियो । शिक्षा निःशुल्क हुनुपर्ने हाम्रो मान्यता एकातिर छँदै थियो तर किसान–मजदुर, स–साना व्यापारीका छोराछोरीलाई यो व्यवस्थामै कम शुल्कमा गुणस्तरीय तथा प्रतिस्पर्धी शिक्षा दिने सवाल महत्वपूर्ण बन्यो । त्यही आवश्यकता, उद्देश्य र शैक्षिक आन्दोलनको क्रममा यस विद्यालयको जन्म भएको नाताले पनि पार्टी स्थापनासँग विद्यालयको तादात्म्यता र साइनो गहिरो भएको प्रस्ट छ । अझ माघ महिनामै विद्यालयले यस्ता महत्वपूर्ण कार्यक्रमहरू, समारोह आयोजना गर्नुले पनि हाम्रो उत्सुकता मेटिएको छ ।
अध्यक्षज्यू यहाँ उपस्थित हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘श्रममा आधारित, उत्पादन श्रमसँग जोडिएको शिक्षा जरुरी छ । परिवर्तनलाई घच्घच्याउने, परिवर्तनलाई नजिक ल्याउने – सामाजिक, आर्थिक, सांस्कृतिक परिवर्तन, चेतनाको क्षेत्रमा परिवर्तन ल्याउने शिक्षामा जोड आवश्यक छ ।’
नेमकिपाले उत्पादन श्रमसँग जोडिएको जुन शिक्षाको वकालत गर्दै छ । विद्यालय–विद्यालयले त्यसका निम्ति व्यावहारिक पाइला नचाले त्यो केवल नारामा सीमित हुनेछ । त्यसकारण, यस विद्यालयले आयोजना गरेको यो दुई दिने शैक्षिक मेला त्यही व्यावहारिक पाइला हो भन्ने लाग्दछ । नेमकिपाले सुरू गरेको शैक्षिक अभियान र विश्वविद्यालयसम्मको परिकल्पनालाई साकार रूप दिन यस्ता शैक्षिक अगुवाइ विद्यालय तहबाटै जरुरी छ । विज्ञान प्रविधि र एआईको यो जमानामा विद्यालय–विद्यालयबाट सीपमा आधारित सिकाइ, प्रयोग विधिमा आधारित सिकाइलाई जोड दिन सकेनौँ भने हामी निकै पछाडि पर्नेछौँ । उत्पादन श्रमसँग जोडिएको शिक्षा प्रणालीको नजिक पुग्न गा¥हो पर्नेछ । नेपालको हकमा त झन् कृषि उत्पादन वृद्धिसँग सम्बन्धित शिक्षालाई राज्यले प्राथमिकतामा राख्नुपर्ने हो । त्यसो नहुँदा कृषिप्रधान देश कृषिमा परनिर्भर हुँदै छ । शिक्षा तथा शिक्षण अर्थ सामाजिक परिवेशमा परिवर्तन ल्याउने उद्देश्यबाट प्रेरित नहुँदा देश खोेक्रोमात्र होइन जनशक्तिविहीन बन्दै छ । देशको विषम अवस्थाविरुद्ध लड्ने एउटा माध्यम शिक्षा क्षेत्र हो ।
५१ वर्षको सङ्घर्षको एउटा सानो पाइला यो विद्यालयले शिक्षाको त्यो मर्मलाई आत्मसात् गर्दै छ र गर्दै जाने विश्वास छ । पार्टी १४ वर्ष पुग्दा जन्म भएको यो विद्यालय र यो जस्ता थुप्रै अन्य विद्यालयहरू शिक्षा क्षेत्रमा योगदान पु¥याउँदै छन् । एउटा राजनीतिक पार्टीले चुनाव जित्ने र पदमा पुग्नेमात्र काम गर्दैन, जनताको सेवा गर्दछ । विभिन्न रूपमा जनताको सेवा गर्दछ भन्ने सानो दृष्टान्त हो यो । नेमकिपाको असल तथा दूरदर्शी राजनीतिले जन्माएको यो सुन्दर शिक्षालयलाई आगामी वर्षहरूमा अपार सफलताको शुभकामना ।
(बाल विकास सेकेन्डरी स्कुलको गत माघ १५ र १६ गते सम्पन्न बाल विकास शैक्षिक मेला—०८१ को उद्घाटन समारोहमा नेमकिपाका केन्द्रीय सदस्य सृजना सैंजूले व्यक्त गर्नुभएको मन्तव्य सामान्य सम्पादनसहित प्रस्तुत छ ।)