(नेमकिपाका अध्यक्ष रोहितद्वारा लिखित ‘नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन’ पुस्तकको पहिलो प्रकाशन वि.सं. २०३३ (१ सेप्टेम्बर, १९७६) मा भएको थियो । यो पुस्तक नेपाल मजदुर किसान पार्टीको स्थापनाका आधारभूत तत्वहरूमध्ये एक हो । यो सैद्धान्तिक सङ्घर्षको निचोड हो । नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारको खण्डन नगरी कम्युनिस्ट आन्दोलन अघि बढ्दैन । यो पुस्तक अहिले पनि समय सान्दर्भिक छ । नेमकिपा स्थापना हुनाका सैद्धान्तिक आधार र ठम्याइबारे पुस्तकमा उल्लेख भएकोले पार्टी स्थापना दिवसको अवसरमा यो छापिएको हो । – सं.)
“…. कम्युनिस्टहरू फलाको र भ्रमहरूप्रति आलोचनात्मक अडान लिने आफ्नो अधिकारलाई सुरक्षित राख्छन् ।” (कम्युनिस्ट घोषणापत्र) तर, हाम्रा नेपाली उत्ताउला कम्युनिस्टहरूले तिनीहरूका सबै गतिविधि र फलाकाहरूलाई समर्थन र सहानुभूति नगरेकोमा आँखा रातो–पिरो पारी बहुला भएर जथाभावी गाली गर्ने, सराप्ने र डनकुइक्सटले जस्तै अचानक मौखिक वा लिखित आक्रमणहरू गर्न थाले । तिनीहरू अब कम्युनिस्टहरूको आलोचनात्मक अडान लिने आफ्नो अधिकारमा समेत धावा बोल्ने दुस्साहस र छुच्चो काम गर्दै छन् । यस्ता उत्ताउला फलाको, हस्याङफस्याङ र मनपरी गतिविधिहरू नेपालका मजदुर र कम्युनिस्ट आन्दोलनमा मात्रै देखापरेका हुन् वा अरु देशका मजदुर र कम्युनिस्ट आन्दोलनमा पनि देखापरेका थिए ? यस रोगको हामीले राम्रो निदान गर्नु आवश्यक छ ।
“सर्वहारावर्ग विकासका विभिन्न अवस्थाहरूबाट गुज्रन्छ । जन्मेदेखि नै पुँजीपतिवर्गसँग यसको सङ्घर्ष सुरु हुन्छ । पहिले सङ्घर्षलाई मजदुरहरूले व्यक्तिगतरूपले चलाउँछन्, अनि पछि एउटा कारखानाका कामदार जनता मिलेर गर्छन्, अनि एक ठाउँका एक व्यवसायका कामदारहरू मिलेर तिनीहरूलाई प्रत्यक्ष शोषण गर्ने खास पुँजीपतिसँग सङ्घर्ष गर्छन् । तिनीहरूले आफ्नो हमलाको तारो उत्पादनको पुँजीवादी अवस्थाको विरोधमा गर्दैनन्, बरु उत्पादनका ज्यावलहरूमाथि नै बनाउँछन् । तिनीहरू आफ्नो श्रमसँग हानथाप गर्ने विदेशबाट आएका सामानलाई बिगार्छन्, कलपुर्जाहरूलाई टुक्रा टुक्रा पारेर फोर्छन्, कारखानामा आगो लगाई दिन्छन्, तिनीहरू जबरजस्ती लोप भइसकेको मध्य युगको कामदारको स्थितिलाई फेरि ल्याउन खोज्छन् ।”
त्यसबेला पुँजीवादी व्यवस्थाको जन्म, विकास र पतनको नियम पत्ता लागिसकेको थिएन । “पुँजीवादी उत्पादन प्रणाली र त्यो सँगसँगै पुँजीवादीवर्ग र सर्वहाराको विरोध सा¥है अविकसित अवस्थामा थियो । यसकारण, तिनीहरूको प्रत्यक्ष शोषण गर्ने सा¥है निर्दयी र विरोधी पुँजीपतिहरूलाई व्यक्तिगतरूपले हत्या गर्थे । यसरी मजदुर आन्दोलनको सुरुमा अथवा पुँजीवादी उत्पादन प्रणाली र पुँजीपति र सर्वहाराको वर्ग–विरोध सा¥है अविकसित अवस्थामा व्यक्तिहत्या र आतङ्कवाद सुरु भएको थियो । यसको एक प्रस्ट उदाहरण बेलायतको १८११ देखि १८१५ को लुडाइट आन्दोलन हो । पुँजीपतिवर्गले मेसिनविरोधी र व्यक्ति हत्याविरोधी चर्का चर्का ऐनहरू बनाएर लुडाइट आन्दोलनलाई निर्ममतापूर्वक दबाइदियो । किनभने, त्यसबेला “ती ‘केही नभएका’ जनताबाट सर्वहारावर्ग एक वर्गको रूपमा पहिलो चोटि विकास भएको थियो । त्यसबेला त्यो वर्ग स्वतन्त्र राजनैतिक सङ्घर्षको निम्ति एकदम असमर्थ थियो । ऊ यस्तो थिचिएको र पिसिएको रूपमा देखापरेको थियो कि ऊ आफ्नो पनि सहायता गर्न असफल थियो, सहायता गरियो भने पनि बाहिर वा माथिबाट मात्रै गर्न सकिन्थ्यो ।”
मजदुर आन्दोलनको प्रारम्भिक अवस्थामा जहाँतहाँ त्यस्तो व्यक्तिहत्या वा आतङ्कवादको अवस्था आएको देखिन्छ । १८७७–१८७८ मा पनि जर्मनी सामाजिक–प्रजातन्त्रवादी मजदुर पार्टीमा त्यो रोग फैलिएको थियो । त्यसबेला जर्मनीमा मजदुर र समाजवादी आन्दोलनको विरोधमा बिस्मार्कले असाधारण ऐन लागु गरेको थियो । त्यस ऐनअनुसार सामाजिक–जनवादी पार्टीका सबै सङ्गठनहरू र मजदुरहरूको खबर कागतहरू बन्द गरिदिएको थियो । समाजवादी साहित्य जफत गरिन्थ्यो र सामाजिक–जनवादीहरूलाई देश निकाला गरिन्थ्यो । त्यस्तो बेलामा त्यहाँको मजदुर पार्टीमा मोस्टजस्ता मानिसहरू पनि थिए । उनी भन्थे, ‘गतिविधिबाट प्रचार’ गरिनुपर्छ । “व्यक्तिगत आतङ्क क्रान्तिकारी सङ्घर्षको सबभन्दा प्रभावशाली साधन हो ।” माक्र्सले, मोस्टका क्रान्तिकारी शब्दाम्बरलाई सा¥है निन्दा गर्नुभएको थियो ।
यहाँ शब्दाम्बरको अर्थ शब्दजाल र चर्का चर्का शब्दहरूको प्रयोग हो । मोस्टहरू क्रान्तिका चर्का चर्चा शब्द र वाक्यहरू प्रयोग गरेर सबैलाई अन्योलमा पार्थे । एङ्गेल्सले सबै प्रकारका अवसरवाद अर्थात् क्षणिक र सानो उद्देश्यको निम्ति मुख्य हितलाई त्याग्ने वा बेवास्ता गर्ने विचार र गतिविधिको विरोधमा लेखहरू लेख्नुहुन्थ्यो । ‘भोर्वाटर्स’ (अगाडि बढ) भन्ने दैनिक जर्मनीका सामाजिक जनवादको केन्द्रीय मुखपत्र थियो । मोस्ट र उनका साथीहरूले ‘धेरैजसो पाठकहरू त्यसमा कुनै चाख राख्दैनन्’ भनेर एङ्गेल्सका लेखहरू छाप्न रोक लगाएका थिए । मोस्ट र उस्का साथीहरूकै फलाको र खोटपूर्ण क्रान्तिकारी गतिविधिले कडा ऐन–कानुनलाई बोलाउँथ्यो । तर, माक्र्स र एङ्गेल्सको सही निर्देशनअनुसार पार्टीले गुप्त गतिविधि सुरु गर्यो । गुप्त केन्द्रीय समितिको नेतृत्वमा पार्टीको प्रभाव बढ्दै गयो र जर्मनीको संसद् राइखस्टागको चुनावमा १८७८ र १८९० को बिचमा पार्टीको मत तीनगुणा बढ्यो । मजदुर आन्दोलन बढ्दै गएको दबाबले १८९० मा समाजवादविरोधीहरूको असाधारण ऐन खारेज गरियो ।
रुसी भाषामा ‘नरोद’ को अर्थ ‘जनता’ हुन्छ । त्यही शब्दबाट ‘नरोदनिक’ शब्द अथवा ‘जनवादी’ वा ‘लोकवादी’ शब्द बन्यो । रुसमा माक्र्सवादलाई प्रचार गर्नमा ‘नरोदनिक’ विचार एक बाधाको रूपमा उभिएको थियो । १८८३ तिरै त्यहाँ एक माक्र्सवादी गोष्ठी कायम भइसकेको थियो । तर, नरोदनिक विचार त्यसबेला अगाडि बढेका मजदुरहरू र क्रान्तिकारी झुकाव राख्ने बुद्धिजीवीहरूमा फैलिएको थियो । तिनीहरू जार सरकारलाई उल्टाउन किसानहरूलाई उचाल्न चाहन्थे, मजदुरवर्गलाई क्रान्तिको मुख्य शक्ति नमान्ने विराम गर्थे । त्यही उद्देश्यले क्रान्तिकारी युवक बुद्धिजीवीहरू ‘जनताको तर्फ’ भन्दै किसानकै लुगा लगाएर गाउँ–गाउँमा गए । यसकारण, तिनीहरूको नाम ‘नरोद’ वा ‘जनता’ बाट ‘नरोदनिक’ भएको थियो । तर, तिनीहरूले किसानहरूलाई आफ्नो समर्थनमा ल्याउन सकेनन् । तिनीहरूमध्ये धेरै पुलिसद्वारा पक्रिए । अनि नरोदनिकहरूले जनताबिना नै आफू एक्लैले निरङ्कुश जारतन्त्रलाई लडेर फाल्ने निधो गरे । यो नरोदनिकहरूको ठुलो विराम थियो ।
नरोदनिक अथवा जनवादी (लोकवादी) हरूको ‘नरोदनाया बोल्या’ (जनताको इच्छा) भन्ने एक गुप्त सङ्गठन थियो । त्यसले राजा जारलाई मार्ने षडयन्त्र गर्यो । १८८१ पहिलो मार्चको दिन त्यो सङ्गठन राजा जार अलेक्जेन्डर दोस्रोलाई बमले मार्न सफल भयो । तर, त्यसले जनतालाई कुनै फाइदा भएन । एक दुईजना मानिस मारेर निरङ्कुश राजतन्त्र खतम हुँदैनथ्यो । न त जमिनदारवर्ग नै जरैदेखि उखेलिन्थ्यो । मारिएको राजाको गद्दीमा अर्को राजा अलेक्जेन्डर तेस्रो बस्यो । त्यसको शासनमा मजदुर र किसानहरूको अवस्था झन् खराब भयो ।
“लोकवादीहरूले जारतन्त्रको विरोध गर्नको निम्ति एक–दुईजना व्यक्तिहरूलाई मार्ने व्यक्तिगत आतङ्कको जुन बाटो लिएको थियो, त्यो खोटो थियो र क्रान्तिको निम्ति हानिकारक थियो । व्यक्तिगत आतङ्कवादको नीति यस खोटो लोकवादी सिद्धान्तमा अडेको थियो कि केही मानिसहरू सक्रिय ‘वीर’ हुन्छन् र बाँकी जनता निस्क्रिय ‘भेडा बाख्राजस्तो एकोहोरो पछि लाग्ने’ हुन्छन् । तिनीहरू ‘वीरहरू’ बाट ठुलठुला काम होस् भन्ने आशा गर्थे । यो खोटो सिद्धान्तको दाबी थियो कि केही ठुला–बडा मानिसहरूले नै इतिहास बनाउँछन्, जब कि जनसमुदाय, जनता, वर्ग ‘भेडाजस्तो एकोहोरो पछि लाग्ने’ हुन्छन् र सचेत र सङ्गठित भएर काम गर्ने कुरामा अयोग्य हुन्छन् । यसो भनेर लोकवादी लेखकहरू जनतालाई हेपेर भन्थे, जनता आँखा चिम्लेर ‘वीरहरू’ को पछि लाग्न सक्छन् । यसकारण, लोकवादीहरूले किसान र मजदुरवर्गमा व्यापक क्रान्तिकारी काम गर्न छाडिदिए र व्यक्तिगत आतङ्कवादको बाटो लिए । त्यसबेला स्तपान खाल्लुरिन एकजना सा¥है नै मानिएका क्रान्तिकारी थिए । उनलाई लोकवादीहरूले क्रान्तिकारी मजदुर सङ्घहरू बनाउने काम छोड्न मनाए र सारा समय आतङ्कवादमा लगाए ।”
“शोषकवर्गका एक–दुईजना प्रतिनिधिहरूका यी हत्याहरूबाट लोकवादीहरूले कामदार जनताको ध्यान त्यस पूरै वर्गको विरोधमा गरिने सङ्घर्षबाट पन्छाई दिए, त्यस्ता हत्याहरूबाट क्रान्तिलाई कुनै फाइदा हुन्नथ्यो । मजदुरवर्ग र किसानवर्गको क्रान्तिकारी अगुवाइ र गतिविधिको विकासमा तिनीहरूले छेकवार हाले ।”
“लोकवादीहरूले क्रान्तिमा मजदुरवर्गको आफ्नो मुख्य अगुवाइ बुझ्नबाट रोके र मजदुरवर्गको स्वतन्त्र पार्टी बनाउनमा ढिलो गरिदिए ।”
“हुन त जार सरकारले लोकवादी गुप्त सङ्गठनलाई दबाइदिएको थियो, तर तिनीहरूको विचार क्रान्तिकारी झुकाव भएका बुद्धिजीवीहरूमा धेरै दिनसम्म बाँकी रह्यो । बाँकी भएका लोकवादीहरूले रुसमा माक्र्सवादको प्रसारलाई जिद्दी भएर विरोध गरिरहे र मजदुरवर्गको सङ्गठनमा तगारो हालिरहे ।”
त्यस नरोदनिक विचारको विरोध गरेर नै रुसमा माक्र्सवाद फैलिन सक्यो र बलियो बन्न सक्यो । यसकारण, प्लेखानोभ, लेनिन र अरु माक्र्सवादीहरूले अनेक पुस्तकहरू लेखेर त्यस खोटो विचारलाई उदाङ्ग्याइदिएका थिए ।
रुसमा पछि पछि पनि अनेक रङ्गका फलाकावादी र उत्ताउलावादीहरू देखापरे । १९०५ को क्रान्ति असफल भएपछि १९०८ तिर पार्टीमा दुई किसिमका खोटा विचारहरू देखापरे । पहिलो खोटो विचारलाई ‘विसर्जनवाद’ भनिन्थ्यो । बुद्धिजीवीहरूको त्यो गुटले पार्टीका सबै गुप्त सङ्गठनलाई भङ्ग गरेर कानुनी किसिमले काम गर्न चाहन्थ्यो । यसको अर्थ पार्टीलाई पूरै भङ्ग अथवा विसर्जन नै गर्नु थियो । यसकारण, त्यो विचारधारालाई विसर्जनवाद भनियो । लेनिनले त्यस्ता उदार पुँजीवादी विचारधारालाई कम्मर कसेर विरोध गर्नुभयो ।
अर्को खोटो विचार थियो, ‘बहिष्कारवाद’ । यस विचारलाई मान्नेहरू मजदुर सङ्गठन र अरु सबै कानुनी सङ्घ–संस्थाहरूमा गएर काम नगर्ने कुरा गर्थे । तिनीहरू क्रान्तिका चर्का चर्का नाराहरू र कुराहरू फलाक्थे । वास्तवमा तिनीहरू “आफ्नो अवसरवादलाई ‘वामपन्थी’ फलाकोमा लुकाउँथे ।” तिनीहरूको विचारले पार्टीलाई जनताबाट अलग्याउँथ्यो र पार्टी ध्वस्त हुन्थ्यो । यसकारण, तिनीहरू ‘लुकेका विसर्जनवादी’ थिए । यसका मुख्य नेता डान, एक्सेलरोद र पेट्रोभ थिए । मारतोभ, त्रात्स्की र अरु मेन्शेभिकहरू त्यसका सहयोगीहरू थिए । “तिनीहरू कानुनी किसिमले चलेको सङ्गठनहरूलाई उपयोग गर्ने सम्भावना नै खतम गर्ने कोसिस गर्थे र वास्तवमा तिनीहरूले पार्टीमा भन्दा बाहिरका सारा जनतामाथि सर्वहारा नेतृत्वको काम नै छोडिदिए, क्रान्तिकारी काम छोडिदिए ।” १९०९ मा विसर्जनवादीहरू बोल्शेभिक सङ्गठनबाट निकालिए ।
बोल्शेभिक पार्टी त्यस्ता फलाकावाद र उत्ताउला साम्यवादी विचारसँग सङ्घर्ष गर्दै अगाडि बढेको देखिन्छ । लेनिनले मोस्ट र हैस्सेलमैनको ‘तुरुन्तै हिंसा र आतङ्कले जवाफ दिने …… आतङ्कवादी’ ‘योजनाको रूपमा कार्यनीति’ लिन खोज्ने र अस्पष्ट कुराहरूमा मात्रै आफूलाई अलमल्याउने सोचाइलाई ‘विचार–दरिद्रताको प्रमाण’ हो भन्नुभएको थियो । लेनिनले के भन्नुभयो भने तिनीहरूका विचारमा ‘राजनैतिक प्रचार, आन्दोलन र सङ्गठनको विकासको अभाव’ थियो । आफूसँग क्रान्तिकारी कार्यको धेरै व्यापक सङ्गठनको कुनै ‘योजनाहरू’ नभएको बेलामा योजनाको रूपमा कार्यनीतिको कुरा गर्नु माक्र्सवादको मूल भावनाको विरुद्ध छ । त्यो सिद्धान्तको क्षेत्रमा माक्र्सवादलाई बग्याउनु मात्रै होइन, बरु व्यवहारको क्षेत्रमा पनि पार्टीलाई पछाडि घिसार्नु हो ।”
जर्मनीको समाजवादको विकासबारे लेनिनले भन्नुभएको थियो, जर्मनीका फलाकावादीहरू, मोस्ट र हैस्सेलमैनले जनतालाई विवेकहीन ‘क्रान्तिकारी’ कार्य गर्न उचाल्थे र “दृढ र स्थिर चित्त भएका नेताहरूप्रति अविश्वास फैलाउँथे । समाजवादी आन्दोलनभित्र पाइने यस्ता सबै तत्वहरूको विरोधमा दृढतापूर्वक र निर्ममतापूर्वक सङ्घर्ष गरेर नै जर्मनीको समाजवाद अगाडि बढेको हो ।”
फलाकावादीहरूबारे लेनिनले भन्नुभयो, “फलाकावादीहरू मजदुरवर्गको सबभन्दा खराब शत्रु हुन् । सबभन्दा खराब शत्रु यसकारणले हो कि तिनीहरू हुलको नराम्रो प्रवृत्तिलाई उचाल्छन् । पिछडिएका मजदुरहरू के चिन्दैनन् भने फलाकावादी मजदुरहरूलाई आफ्नो साथी बनाउँछन् र कहिलेकाही इमानदारीपूर्वक व्यवहार पनि गर्छन्, तर तिनीहरू वास्तवमा मजदुरहरूका शत्रु हुन् ।”
सन् १९०३ मा बोल्शेभिक पार्टीको स्थापना हुनासाथै बोल्शेभिकवादले सानो–पुँजीवाद, अर्ध–अराजकतावादी (अथवा सोखिन अराजकतावादी) क्रान्तिवादको विरोधमा दृढतापूर्वक सङ्घर्ष गर्ने परम्परा कायम गर्यो । विरोधका कुराहरू के के थिए त ? पहिलो, कुनै प्रकारको राजनैतिक गतिविधि सुरु गर्नुभन्दा पहिले, वर्ग शक्तिहरूको र त्यसको आपसी सम्बन्धको सही र वास्तविक मूल्याङ्कन गर्नु आवश्यक छ । तर, तिनीहरू यस्तो माक्र्सवादी सिद्धान्तलाई मान्दैनथे । दोस्रो, त्यो पार्टी यसकारण आफूलाई विशेषरूपले ‘क्रान्तिकारी’ अथवा ‘वामपन्थी’ सम्झन्थ्यो किनभने त्यो व्यक्तिगत आतङ्कवादको हत्यालाई ठीक सम्झन्थ्यो, हामी माक्र्सवादी भने त्यसको पूरै विरोधमा थियौँ । थाहै छ, हामी खालि उपयोगिताको आधारमा व्यक्तिगत आतङ्कको विरोधमा थियौँ … ।” तेस्रो, खेतीको प्रश्नमा या मजदुरवर्गको हुकुमको प्रश्नमा तिनीहरू सा¥है महत्वाकाङ्क्षी र अवसरवादी विचार राख्थे ।
जर्मनीका उत्ताउला कम्युनिस्टहरूले आफ्ना ‘नेताहरू’ लाई ‘मान्न अस्वीकार’ गरिदिएका थिए । लेनिनले तिनीहरूको त्यस अस्वीकारलाई ‘मूर्खता’ भनेर झपार्नुभएको थियो, किनभने “….. जब परिस्थितिहरू यस्ता हुन्छन् कि ‘नेताहरू’ लाई प्रायः लुकाएर राख्नुपर्ने हुन्छ तबसम्म पन्छाउन सकिन्न जबसम्म कानुनी र नकानुनी कामहरूलाई मिलाइन्न … ।”
सन् १९३० को मध्यतिर चिनियाँ कम्युनिस्ट पार्टीमा पनि लि लि– सानको उत्ताउलो विचार र काम गर्ने तरिका देखापरेको थियो । त्यसबेला चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिमा लि लि– सानको सबभन्दा बढी प्रभाव थियो । उनी क्रान्तिको निम्ति व्यापक जनताको या जनसमुदायको शक्तिको निर्माण गर्नुपर्छ भन्ने कुरो मान्दैनथे । क्रान्तिको विकास असमानरूपले हुन्छ भन्ने कुरो मान्दैनथे । उनी तुरुन्तै देशभरि विद्रोह गर्न चाहन्थे । उनले देशको मुख्य मुख्य सहरहरूमा तुरुन्तै सशस्त्र विद्रोहहरू सङ्गठित गर्ने दुस्साहसवादी योजना बनाए । “…. क्रान्तिमा छिट्टै विजय पाउने उद्देश्यले उनले बालक अवस्थामै रहेको लालसेनालाई उहानमाथि हमला गर्ने आदेश दिए र राष्ट्रव्यापी सशस्त्र विद्रोह गर्न पनि आदेश दिए । यसरी उनले ‘वामपन्थी’ अवसरवादको विराम गरे ।” (हामीले यहाँ ‘बालक अवस्था’ को शब्दमाथि ध्यान दिनुपर्छ । नत्र हामीले पनि त्यही विराम गर्ने छौँ ।)
उनी विश्व क्रान्ति असमानरूपले हुन्छ भन्ने कुरालाई मान्दैनथे । उनी चिनियाँ क्रान्तिको साधारण पड्काइले विश्व क्रान्ति फुट्छ भन्ने सम्झन्थे । उनी चीनको पुँजीवादी–जनवादी क्रान्ति लामो समयको रूपको हुनेछ भन्ने कुरालाई मान्दैनथे । माओ त्सेतुङ र पार्टीका व्यापक कार्यकर्ता र सदस्यहरूले लि लि–सानको विचारलाई सच्याउने माग गरे । १९३० सेप्टेम्बर महिनामा छैटौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा लि लि– सानले आफ्नो विराम र खोटहरूलाई स्वीकार गरे र उनी केन्द्रीय समितिबाट झिकिए । चिनियाँ कम्युनिस्ट पार्टीको इतिहासमा अरु पनि त्यस्तै उत्ताउला विरामहरू देखापरेका थिए । जसले गर्दा शत्रुको ‘घेर्ने र दवाउने’ पाँचौँ हुल–हुज्जतलाई हराउनुको सट्टा कृषि क्रान्तिको युद्धलाई ठुलो नोक्सान पार्यो । लालइलाका गुम्यो र लालसेना कमजोर भयो । त्यस्ता उत्ताउला विरामहरूलाई ‘१९३५ जनवरी महिनामा चुनइमा भएको केन्द्रीय समितिको राजनैतिक ब्युरोको लामो बैठकले …. सपार्यो ।’
जर्मनी, रुसी र चिनियाँ कम्युनिस्ट पार्टीको अनुभवले हामीलाई प्रस्ट हुन्छ कि माक्र्सवाद–लेनिनवाद र उत्ताउला साम्यवादमा के फरक छ । पुँजीवाद र मजदुर आन्दोलनको अविकसित अवस्थामा, क्रान्तिको हार र जीतहरूको अवस्थामा मजदुर आन्दोलनभित्र यस्ता ‘आतङ्कवाद’ र ‘व्यक्तिहत्या’ जस्ता चर्का चर्का शब्द र वाक्यांशहरूको प्रचार गरेर क्रान्ति गर्ने ‘फलाकावाद’ को लहर आउने गर्छन् । बेलायतका मजदुरहरूको लुडाइट आन्दोलन, रुसको नरोदनिक आन्दोलन, पेरिस कम्युन पछिको जर्मनी पार्टीमा मोस्ट र हैस्सेलमैनका विचारहरू, १९०३ मा बोल्शेभिक पार्टीको स्थापना भएपछिको अराजकतावाद, १९०५ को क्रान्ति असफल भएपछि देखापरेको बहिष्कार गर्ने फलाकोवाद, १९१७ को रुसी अक्टोबर क्रान्तिपछि जर्मनी, इटाली आदि युरोपेली देशहरूमा देखापरेका उत्ताउला कम्युनिज्मका विभिन्न प्रकारका विचारहरू र १९२६–२७ को क्रान्ति असफल हुँदाको चीनमा देखापरेका फलाको र उत्ताउला कम्युनिज्मले त्यस कुरालाई प्रमाणित गर्छ । नेपालमा पनि मजदुर आन्दोलनको अविकसित अवस्थामै ‘लाल कम्युनिस्ट’ को नामबाट हिंसा, हत्या, आतङ्क र लुटपाटबाट क्रान्ति गर्ने विचारधारा देखापरेको थियो । २–४ ठाउँमा प्रयोग गरेका गतिविधि असफल भएपछि २००७ सालको दमनले ‘लाल कम्युनिस्ट’ को विचारधारा निष्क्रिय भयो । चीनको सर्वहारा सांस्कृतिक क्रान्ति, भियतनाम र हिन्द–चिनी जनताको साम्राज्यवादविरोधी सङ्घर्षले, नेपालजस्तै केही एसियाली देशहरूमा उत्ताउला साम्यवादी विचारहरू देखापर्यो । त्यो विचारधारा आकाशमा चट्याङ र बिजुली चम्केजस्तै एकछिन जाज्वल्यमान देखियो । सबै क्रान्तिकारीहरूले सोचेका थिए कि थुप्रै देशहरूको सशस्त्र क्रान्तिको रचनात्मक अनुभवले त्यो रातो झन्डा धेरै दिनसम्म फहरिरहने छ । तर, त्यो आकाशको मेघ र बिजुलीजस्तै क्षणिक भयो । पानीको फोकाजस्तै क्षणभङ्गुर भएर बिलायो । तर, आज पनि फाटफुट कहिलेकाहीँ पानीको फोका र बिजुलीको सानो अति क्षणिक चमकभन्दा केही देखिन्न । खोटो विचारलाई नसच्याएसम्म र ठीक बाटोमा नआएसम्म एक सानो फिलिङ्गो र झिल्को स्थायी र व्यापक आकारमा विकास हुन्न । आजका उत्ताउला कम्युनिस्टहरूको एक चर्को ठम्याइ हो, “अहिले देशभित्र र बाहिर क्रान्तिको जबरजस्त परिस्थिति छ । एउटै फिलिङ्गोले डढेलो लाउन सक्छ ।” यसबारे चिनियाँ कम्युनिस्ट पार्टीको ठम्याइ अघि सार्नु उत्ताउलाहरूलाई मुखभरिको जवाफ हुनेछ ।
“हाम्रो सधैँ यो मत रहिआएको छ कि क्रान्ति इच्छाले मात्र कहिले गर्न सकिन्न र जबसम्म वस्तुगतरूपले क्रान्तिकारी परिस्थिति तयार भएको हुन्न, त्यसबेलासम्म क्रान्ति गर्नु असम्भव छ । तर, क्रान्ति सुरु गर्नु र त्यसमा विजय प्राप्त गर्नु खालि क्रान्तिकारी परिस्थितिको उपस्थितिमा मात्रै निर्भर गर्दैन, बरु मनोगत क्रान्तिकारी शक्तिहरूले गरिएका तयारीहरू र कोसिसहरूमा पनि निर्भर गर्छ ।”
“यदि सर्वहारावर्गको पार्टीले क्रान्ति गर्नको निम्ति वस्तुगत परिस्थितिहरू र मनोगत शक्तिहरू दुवैको ठीक ठीक मूल्याङ्कन गरेन भने र पछि त्यो परिस्थिति परिपक्व हुनुभन्दा पहिले नै हतरपतर कान्ति छेडिदियो भने त्यो ‘वामपन्थी’ दुस्साहसवाद भनिने छ । तर, यदि सर्वहारा पार्टी परिस्थिति परिपक्व हुनुभन्दा पहिले क्रान्तिको निम्ति सक्रियतापूर्वक कुनै तयारी गर्दैन अथवा क्रान्तिकारी परिस्थिति तयार छँदा र परिस्थिति परिपक्व भएर पनि क्रान्तिको नेतृत्व गर्न र राज्यसत्ता हत्याउने साहस गर्दैन भने त्यो दक्षिणपन्थी अवसरवाद या संशोधनवाद भनिने छ ।”
“जहिलेसम्म राजसत्ता हत्याउने समय आउँदैन, तबसम्म सर्वहारा पार्टीको मुख्य र सबभन्दा महत्वपूर्ण काम हो, क्रान्तिकारी शक्ति जम्मा गर्ने कष्टपूर्ण काममा आफ्नो ध्यान केन्द्रित गर्नु । दैनिक समस्याका सङ्घर्षहरूमा गरिने सक्रिय नेतृत्वको मुख्य उद्देश्य हुनुपर्छ, क्रान्तिकारी शक्तिको निर्माण गर्नु र परिस्थिति परिपक्व भएपछि क्रान्तिले विजयलाई, हत्याउने तयारी गर्नु । सर्वहारा पार्टीले दैनिक समस्याका सङ्घर्षका विभिन्न रूपहरूको माध्यमबाट सर्वहारावर्ग र व्यापक जनताको राजनैतिक चेतनाको स्तर माथि उठाउनु, आफ्नो वर्ग–शक्तिहरूलाई तालिम दिनु, आफ्नो जुझ्ने क्षमतालाई तिखार्नु र विचारात्मक राजनीतिक, सङ्गठनात्मक र फौजी दृष्टिबाट क्रान्ति गर्नको निम्ति तयार पार्नुपर्छ । यसरी मात्रै सर्वहारा पार्टीले क्रान्तिको परिस्थिति परिपक्व भएपछि विजय हत्याउने मौकालाई फुत्कन दिने छैन । नत्रभने क्रान्तिकारी परिस्थिति वस्तुगतरूपले तयार भएर पनि क्रान्ति गर्ने मौका सर्वहारा पार्टीको हातबाट गुम्नेछ ।”
हाम्रा उत्ताउला कम्युनिस्टहरू ‘क्रान्ति’ र ‘क्रान्तिको जबरजस्ती परिस्थितिको’ सा¥है फलाको गर्छन्, तर तिनीहरू सर्वहारावर्ग र सारा कामदार शोषित जनतालाई क्रान्तिको निमित्त तयार गर्ने साहस र कष्टपूर्ण काम कहाँ गरिरहेका छन् र तिनीहरू १० वर्षदेखि ‘क्रान्तिको जबरजस्त परिस्थिति मौजुद छ’ र एक जिल्लाको ‘एक फिलिगोले देशभरि डढेलो लाउँछ’ भनेर कराउँदै छन् । अरुलाई गाली सराप दिनु र क्रान्ति नहुनुको दोष सबै अरुलाई थुपार्दै छन् । तिनीहरूले न क्रान्तिको तयारीको ‘कष्टपूर्ण’ काम गरे, न त एक जिल्लाको फिलिङ्गोले कुनै जङ्गलमै आगो लगाउन सके । बरु एक जिल्लाको फिलिङ्गोलाई उत्ताउलाहरू अगुल्टो सम्झेर तर्सिरहेका छन् ।
२ अप्रिल, १९४८ मा माओ त्सेतुङले भन्नुभएको थियो, “जनसमूह सजग हुन नपाउँदैमा हामी जाइलाग्ने काम गर्न खोज्छौँ भने त्यो दुस्साहसवाद हुनेछ । जनसमूहलाई उनीहरूका इच्छाको विरुद्ध कुनै काम गराउन अघि सार्ने बल गर्यो भने हामी निश्चय नै असफल हुने छौँ ।”
हाम्रा उत्ताउला कम्युनिस्टहरूको हालत यस्तै छ । यसकारण, तिनीहरूले जनताको गुरु होइन शिष्य बन्ने पनि धैर्य गर्नुपर्छ । ‘प्राधिकारी’ होइन समान, विनम्र र साथी बन्नुपर्छ । व्यापक जनतासँग हामी एकाकार भएनौँ भने क्रान्ति पनि हुन्न । यसकारण, हाम्रा उत्ताउला साथीहरूले माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधाराको पूर्ण शिक्षा प्राप्त गर्नु जरुरी छ ।
उत्ताउला र फलाकावादीहरूले तिनीहरूको सबै गतिविधि र फलाको ‘माओ त्सेतुङ विचारधारा’ कै नाममा गर्दै छन् । यसबारे लेनिनले एकचोटि भन्नुभएको थियो, “कुनै नयाँ राजनैतिक (र खालि राजनैतिक मात्रै होइन) विचारलाई बदनाम गर्ने र हानि गर्ने सबभन्दा प्रभावशाली तरिका के हो भने समर्थन गर्ने नाउँमा त्यस विचारलाई यति बढाइ–चढाइकन राखिन्छ कि त्यो मूर्खताको सीमासम्म पुग्छ ।” आजका उत्ताउला कम्युनिस्टहरूले माओ त्सेतुङ विचारधारालाई यस्तै गर्न खोजेका छन् । तिनीहरूको खोटपूर्ण र अव्यावहारिक सिद्धान्त र गतिविधिले माओ त्सेतुङ विचारधारालाई नै बदनाम गर्दै छन् । तिनीहरूले माओ त्सेतुङका यस शिक्षालाई जानाजानै बेवास्ता गरेका हुन् ।
“कुनै पनि विचारधाराले अत्यन्त धेरै राम्रोले पनि, माक्र्सवाद–लेनिनवादले नै पनि, यदि वस्तुगत तथ्यसँग सम्बन्धित छैन, वस्तुगतरूपमा विद्यमान आवश्यकता पूरा गर्न सक्दैन र आमजनताले बुझेर समाएको छैन भने, केही पनि प्रभाव पार्न सक्दैन । हामीहरू ऐतिहासिक भौतिकवादी हौँ, ऐतिहासिक आदर्शवादका विरोधी ।”
यी सबै तथ्यहरूले हाम्रा उत्ताउला कम्युनिस्ट साथीहरू माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई नै बङ्ग्याउँदै र बदनाम गर्दै छन् भन्ने प्रस्ट हुन्छ । तिनीहरू त्यस सिद्धान्तलाई धर्म, फलाको र सुगा रटाइको रूपमा फेर्न चाहन्छन् । लेनिनले भन्नुभएको थियो, “क्रान्तिकारी युद्धमा क्रान्तिकारी वाक्यांशले क्रान्तिलाई ध्वस्त पार्छ ।” त्यस्तै, आजका हाम्रा फलाकावादीहरू र उत्ताउला साथीहरू क्रान्तिका ठुलठुला फलाको र उत्ताउला कुराहरू भट्याएर क्रान्तिलाई नोक्सान पार्दै छन् । यसकारण, माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधाराका सच्चा समर्थकहरूले सिद्धान्तको पवित्रतालाई जोगाउन र त्यसअनुसार क्रान्तिलाई अगाडि बढाउन ‘रातो झन्डाको विरोध गर्न रातो झन्डा हल्लाउनेहरू’ सँग दृढ सैद्धान्तिक सङ्घर्ष गर्नुपर्छ । बाहिरबाट हेर्दा ‘वामपन्थी’ र सारमा दक्षिणपन्थीहरूसँग छिनोफानो हुने गरी सैद्धान्तिक सङ्घर्ष गर्नुपर्छ ।
साभार : नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन