८ माघ, कञ्चन
रुपन्देहीको कञ्चनमारोजगारीमा खटिनुपूर्व रोजगारीमा खटिनेहरुका लागि अभिमुखीकरण कार्यक्रम गरिएको छ। तालिमको सहभागी र छनौटको आधार काममा खटिने सुचिकृत वेरोजगारहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगारमा सूचिकृत भएकाहरुका लागि उक्त अभिमुखीकरण कार्यक्रम संचालन गरिएको हो।
अभिमुखीकरण कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचिकृत व्यक्तीहरुलाई निर्देशन दिदै कन्चन गाउँपालिका अध्यक्ष नवराज ढकालले कार्यक्षेत्रमा प्रवेश गर्नु भन्दा कार्यक्षेत्रमा आफुले के गर्ने र मेरो जिम्मेवारी र दायित्व के हो भन्नेबारे जानकार हुनुपर्ने उल्लेख गर्नुभयो। अध्यक्ष ढकालले कुनैपनि काम शुरुवात गर्नु भन्दा आफुले पाएको जिम्मेवारी र सतर्कता अपनाउनु पर्नेमा जोड दिदै सम्मुनत कञ्चन, सुखी कञ्चनवासी बनाउन सबैको बराबर भूमिका रहने बताउनु भयो।
यस्तै उपाध्यक्ष मौसमी थापा मगरले वडा वडाबाट प्राप्त सूचिकृत बेरोजगार व्यक्तीहरुको आवेदनको आधारमा सिप, क्षमता, कार्यदक्षतालाई आधार बनाएर रोजगारका लागि अन्तिम सूचिकरण गरिएको उल्लेख गर्नुभयो। पालिकामा संचालन हुने बिभिन्न भौतिक पूर्वाधार बिकासलाई दीगो र सेवाग्राहीहरुको अपनत्व स्थापित गराउन प्रधानमन्त्री रोजगार कार्यक्रममा संलग्न व्यक्तीहरुको जिम्मेवारी रहेको उपाध्यक्ष थापा मगरले बताउनु भयो।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत सागर गौतमले प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्देश्य र प्रकृती कामको स्थानको जानकारीबारे, सूचना अधिकारी तथा प्रशासन प्रमुख गिरिराज अर्यालले कामको जिम्मेवारी र कार्यसम्पादन गर्नै विधि तथा तरीकाबारे, पूर्वाधार बिकास शाखा प्रमुख इन्जिनियर सुवोध ज्ञवालीले कार्यस्थल जोखिम र कार्यस्थल सुरक्षाका आधारभुत विषय, प्राथमिक स्वास्थ्यर उपचार विषय, प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक ईश्वरी ज्ञवालीले पालिका भित्र सन्चालन हुने आयोजनाहरुको परिचय, कार्य, हाजिरी, पारिश्रमिक तथा अन्य सेवा सुविधाबारे र सामी परियोजनाका मनोसामजिक परामर्शदाता भुमिका तरामुले कार्यस्थलमा हुनसक्ने हिँसा,आचरण र अनुशासनसम्वन्धी अभिमुखीकरण गर्नु भएको थियो।
कार्यक्रममा वडा नं. १ वडा अध्यक्ष हरि नारायण थारु, वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्री कार्यपालिका सदस्य रञ्जना थारु, शुसिला थापा लागायतले समेत सूचिकृत सेवाग्राहीहरुका लागि शुभकामना ब्यक्त गर्नुभएको थियो। कार्यक्रममा रोजगारमा संलग्न सूचिकृत सेवाग्राहीहरुले रोजगार कार्यक्रमको निरन्तरता र बर्षै भरी काम गर्ने वातावरण सृजना तयार गरिदिन पालिका समक्ष आग्रह गरेका थिए।
नेपालको संविधानको धारा ३३ ले रोजगारीको हकलाई मौलिक हकका रुपमा समावेश गरेको छ । संविधानमा उल्लेखित उक्त हकको कार्यान्वयन गर्न सरकारले रोजगारीको हक सम्बन्धी ऐन, २०७५ जारी गरि कार्यान्वयनमा ल्याएको छ । नेपाल सरकारले आर्थिक वर्ष ०७५/०७६ को नीति तथा कार्यक्रम र बजेटमार्फत सार्वजनिक विकास निर्माणका कार्यहरूमा रोजगारीका अवसर सिर्जना गरी आगामी पाँच वर्ष भित्रमा कुनै पनि नेपाली नागरिकले वाध्यताले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्ने घोषणा गरेको छ । सार्वजनिक विकास निर्माण सम्बन्धी कार्यक्रम तथा आयोजनाहरू सरकारका विभिन्न तह अन्तर्गतका विषयगत मन्त्रालय तथा निकायहरूबाट संचालन हुने गरेका छन् ।
यस्तै हकसम्बन्धी ऐन, २०७५ ले प्रत्येक स्थानीय तहमा रोजगार सेवा केन्द्रको स्थापना गरी बेरोजगारहरुको पहिचान र सूचीकरण गर्ने र रोजगार सेवा केन्द्रमा सूचीकृत भएका बेरोजगार व्यक्तिहरूलाई एक आर्थिक वर्षमा न्यूनतम एक सय दिनको रोजगारी प्रत्याभूति गरिने व्यवस्था गरेको छ । रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगार व्यक्तिहरुलाई न्यूनतम रोजगारी सुनिश्चित गर्न नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहहरुका सार्वजनिक निर्माण तथा सार्वजनिक क्षेत्रका अन्य कार्यक्रमहरुमा पर्याप्त संख्यामा थप रोजगारी सिर्जना गर्ने गरी समन्वयात्मक र योजनावध्द ढंगले तिनीहरुको कार्यान्वयन गर्ने प्रबन्ध गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम संचालनमा आएको हो । कार्यक्रम कार्यान्वयनका लागि स्थानीय तहमा २०७७ फाल्गुण देखि रोजगार सेवा केन्द्रको स्थापना गिरएको हो । स्थानीय स्तरमा रोजगारी श्रृजना गर्दा सार्वजनिक क्षेत्रका विकास निर्माण सम्बन्धी कार्यक्रम तथा आयोजनाहरूमा श्रमिकको माग हुने र माग बमोजिमका श्रमिकहरूको आपूर्ति रोजगार सेवा केन्द्रमार्फत भई सबै स्थानीय तहमा श्रमिकको माग र आपूर्तिको औपचारिक संयन्त्रको रुपमा रोजगार सेवा केन्द्र रहेको छ ।
यसैगरी रोजगार सेवा केन्द्रबाट स्थानीय तहभित्र रहेका बेरोजगार व्यक्तिको तथ्यांक संकलन तथा विश्लेषण गरी बेरोजगारको सूची अद्यावधिक गर्ने, सूचीकृत बेरोजगार व्यक्तिलाई परिचयपत्रवितरण गर्ने, स्थानीय तहभित्र उपलब्ध रोजगारीका अवसरहरुको पहिचान गरी सोको सूचना प्रवाह गर्ने,स्थानीय तहभित्रको रोजगारीको सम्भाव्य स्थिति विश्लेषण गरी रोजगारीको तथ्यांक संकलन गर्ने, रोजगार नक्सांकन गर्ने तथा रोजगारीका अवसरको अभिलेखांकन गर्ने, रोजगारदाताका लागि श्रमिकको उपलब्धताको सम्भाव्यता जानकारी गराउने, रोजगारदाताबाट माग भए बमोजिम सूचीकृत बेरोजगार व्यक्तिलाई रोजगारीका लागि काममा जान सूचित गर्ने,बेरोजगारहरुको ज्ञान, सीप, योग्यता, अनुभव, र बजारको मागका आधारमा आवश्यक पर्ने सीप विकास तालिमको पहिचान गरी सम्बन्धित तालिम केन्द्रमा सिफारिस गर्ने, आफ्नो कार्यक्षेत्रभित्रबाट वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरुका लागि सूचना सम्प्रेषण गर्ने लगायत कार्यहरु गर्दै आइरहेको छ।
यस्तै वैदेशिक रोजगार बोर्डबाट उपलब्ध गराइने आर्थिक सहायता (मृत्यु, गम्भिर बिरामी भएमा नियमानुसार पाइने आर्थिक सहायता, शैक्षिक छात्रवृत्ति, श्रमिकको परिवारले पाउने स्वास्थ्य उपचार खर्च, अलपत्र शव नेपाल झिकाउने, अलपत्र श्रमिकलाई उद्दार गरी स्वदेश ल्याउने, निःशुल्क शव ढुवानी सेवालगायतका सेवाहरू) वितरण सम्बन्धी कार्यमा सहयोग पुर्याउदै आइरहेको छ । यसैगरी बेरोजगार परिवारलाई प्रदान गर्ने निर्वाह भत्ता वितरण गर्ने, सम्बन्धित स्थानीय तहमा रोजगारी तथा स्वरोजगारी सम्बन्धी कार्य गर्ने अन्य सरकारी निकाय वा त्यस्ता निकायद्वारा सञ्चालित कार्यक्रमसँग समन्वय र सहकार्य गर्ने,रोजगार सम्बन्धी सरोकारवालालाई अन्य सेवा प्रदान गर्ने जस्ता कार्यहरु समेत संचलन गर्दै आइरहेको छ।