दिमित्री कोन्सतान्ताकोपोलस
“प्यालेस्टिन र लेबनानलाई नबिर्सी भन्ने हो भने दमास्कसदेखि तेहरान जाने रेल छुट्न तयार हुँदै छ ।” यो विचार अघि सारेको दुईचार दिन बितेको थियो, भर्खरै रेल छुट्ने सिट्टी बजिहाल्यो ।
इजरायली प्रधानमन्त्रीले हालसालै सिरियामा ‘विजयी’ भएकोमा आफैलाई बधाई दिए । इरानी जनतालाई सम्बोधन गर्दै उनले हत्तारिँदै अङ्ग्रेजीमा भाषण दिए । उनले आफूले सोचेभन्दा अघि नै ‘सत्ता परिवर्तन’ गर्न सघाउने कसमै खाए । सिरियामा जे भयो, त्यसलाई हेर्दा इजरायलको योजना फलिभूत भए इरान र इरानीहरूको भविष्य कस्तो होला भनी सजिलै कल्पना गर्न सकिन्छ ।
‘टाइम्स अफ इजरायल’ पत्रिकाका अनुसार इजरायली सेनाले सिरिया ध्वस्त भएलगत्तै इरानी आणविक पूर्वाधारहरूमाथि आक्रमण गर्ने तयारी थालिसकेको छ । ‘अवसरको एउटा झ्याल’ तयार पारिएको छ । इराक र इरानले आणविक हतियार निर्माण गर्ने तयारी गरेको भनी नेतन्याहुले सन् १९९२ मै आरोप लगाएका थिए । त्यो आरोप कहिल्यै प्रमाणित भएन । यथार्थ बरु उल्टो निस्कियो । तर, यही आरोपलाई निहुँ बनाएर संरा अमेरिका र बेलायतले इराकमाथि हमला गरे । यो हमलाको वास्तुकार नेतन्याहु थिए । इजरायलको तातो मगजलाई ठन्डा राख्न खोज्दै अमेरिकी गुप्तचर निकाय सीआईका प्रमुख विलियम बन्र्सले गत अक्टोबरमा आणविक हतियार निर्माण नगर्ने तेहरानको निर्णयमा हेरफेर आएको कुनै छनक नपाइएको बताए । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी र अमेरिकी रक्षा मन्त्रालयले समेत यस्तै निष्कर्ष दिएका छन् ।
इजरायल इरानको आणविक कार्यक्रम नष्ट पार्न चाहन्छ । तर, यसपालि पनि इराकमा जस्तै आणविक हतियार उत्पादन गर्ने तयारी हुँदै छ भन्ने आरोप नै आक्रमणको निहुँ बन्दै छ । वास्तविक उद्देश्य इरानको सत्ता उल्ट्याउनु हो । यद्यपि, नवरुढीवादीहरूले कोरेको मध्यपूर्वको युद्ध खाकामा इरानलाई टुक्र्याउनेसम्मको योजना छ । इजरायलका वर्तमान प्रधानमन्त्रीको परिवेक्षणमा यो खाका कोरिएको थियो । (यस योजनाबारे थप अध्ययन गर्न कोलम्बिया विश्वविद्यालयका प्रोफेसर ज्याफ्री साख्स र यहुदीवादको भूराजनीतिबारे एकातेरिना मातोइका रचना पढौँ ।)
इरानविरुद्ध लगातार आक्रामकता देखाइएको छ, उसलाई लगातार धम्की दिइँदै छ । यस्तो स्थितिमा अन्ततोगत्वा इरान आणविक हतियार उत्पादन गर्न बाध्य हुनसक्छ ।
एक खेलाडी अमेरिका
नेतन्याहुलाई राम्रै थाहा छ, इरानविरोधी सो योजना पूरा गर्न इजरायलको बलबुत्ताको कुरा होइन । इजरायलले जति नै हर्षबढाइँ गरे पनि, पछिल्लोपल्ट इजरायलले ठुला विजय हात पारेको भए पनि, इरान सैनिक हिसाबले एउटा बलियो शक्ति हो† एउटा गम्भीर मुलुक हो । त्यहाँ हमला गरे के होला वा त्यो हमलाको परिणाम के होला भनी कसैले ढुक्कसित भन्न सक्दैन ।
त्यसैकारण, नेतन्याहु अमेरिकीहरूको समर्थन र सहयोग दुवै चाहन्छन् । किनभने, यी दुई चीज पाउन उनले धेरैचोटि प्रयास गरिसकेका छन् । प्रायः छलछाम र दुस्प्रचारको प्रयोग गरी उनले यी प्रयास गर्दै आएका छन् । यसरी उनले अमेरिकाभित्र एकखाले इजरायली ‘जीवाणु’ नै पैदा गरेका छन् । अमेरिकी सेना, केही हदसम्म सीआईए र अमेरिकाको राजनीतिक नेतृत्वको केही हिस्सामा यी जीवाणु छन् । अमेरिकाको राजनीतिक नेतृत्व इजरायली लबीमाथि यसअघि यतिबिघ्न निर्भर थिएन ।
नेतन्याहुका अमेरिकी दस्ताले ट्रम्प आसपास काम थालिसकेको छ । उनीहरू नवनिर्वाचित अमेरिकी राष्ट्रपतिबाट इरानमाथि आक्रमण गर्नका लागि समर्थन चाहन्छन् । आफ्नो अघिल्लो कार्यकालमा डोनाल्ड ट्रम्पले एक हदसम्म नेतन्याहुको छायाँले झैँ काम गरेका थिए । इजरायली गुप्तचर विभागको सहयोगले पनि सन् २०१६ को ट्रम्पको विजयमा निर्णायक भूमिका खेलेको थियो । ट्रम्पले अघिल्ला राष्ट्रपति ओबामाले इरानसँग गरेको अन्तर्राष्ट्रिय आणविक सम्झौताबाट अमेरिकालाई पछि हटाए । यसरी हाल भइरहेका युद्धहरूको बाटो खोलिएको थियो । यीमध्ये सबैभन्दा ठुलो युद्ध आँगनमै आउने खतरा छ ।
यसै पनि अक्टोबरको अन्त्यतिर ट्रम्प आफैले नेतन्याहुलाई इरानका आणविक पूर्वाधार भएका क्षेत्रमा हमला गर्न आग्रह गरेका थिए । कि त उनी यसमा इजरायलसँग सहमत छन् कि उनी इजरायली लबीबाट सकेसम्म बढी सहयोग चाहन्छन् । इजरायलले हमला गरे अमेरिकाले के गर्ला ? यसबारे बाठा ट्रम्पले बोल्ने कुरा भएन । इरानका एक नेता जनरल सुलेमानीको हत्या गर्ने संयुक्त कारबाहीमा आफू नेतन्याहुसँग सहमत भएको उनले एकचोटि भनेकै पनि हुन् । तर, अन्त्यमा इजरायलले उनलाई सुइँको नदिई आफै त्यो काम फत्ते गरेको थियो । सुलेमानीको हत्याका कारण संरा अमेरिका र इरानबिच युद्धको बादल नै मडारिएको थियो ।
ट्रम्पसामु दुई समस्या छन् । पहिलो, उनी अमेरिकीहरूसँग युद्ध रोक्ने र थप युद्ध नगर्ने वाचा गरेर निर्वाचित भएका हुन् । यद्यपि, पश्चिमा राजनीतिमा जनतालाई छल्नु र आफूले गरेको वाचाविपरीत काम गर्नु दूधभात हो । पश्चिमा राजनीतिमा बहुमत जनताका आशा र आकाङ्क्षाविपरीत नीति निर्माण गरिँदै आएको छ । आफूले नचाहँदा नचाहँदै पनि अधिकांश पश्चिमा राजनेताले जनतालाई ढाँट्ने गरेका छन् ।
जिहादीहरू र टर्कीको सेनाले सिरियामाथि हमला गरेपछि ट्रम्पले आफूलाई त्यसमा कुनै चासो नभएको, बरु त्यो सिरियाकै मामिला भएको बताए । निश्चय नै ती जिहादीहरूसँग अमेरिकी, बेलायती र इजरायली गुप्तचर निकायहरूको घनिष्ट सम्बन्ध रहिआएको छ । टर्की नेटो गठबन्धनको सदस्य हो । सिरियामाथि हमला हुनुभन्दा ठीक अघि नेटोका महासचिव रुट्टे अफ्रिकाको अङ्कारामा थिए । इजरायली गुप्तचर निकायका प्रमुख शिन बेत पनि त्यहीँ पुगे । अमेरिकाको प्रत्यक्ष र गोचर संलग्नताको अभावमा ट्रम्पले आफ्नो चासोको विषय होइन भन्न सके । अमेरिकी पत्रिका ‘टाइम’ ले नवनिर्वाचित राष्ट्रपति ट्रम्पसँग एउटा लम्बेतान अन्तर्वार्ता लियो । तर, त्यसमा उनलाई सिरियाबारे एक शब्द सोधिएन ।
ट्रम्पले सामना गर्ने दोस्रो समस्या के भने इरान रुस र चीनको महत्वपूर्ण रणनीतिक साझेदार हो । इरानमाथि हमला गरेको खण्डमा रुस र चीन तेहरानलाई सघाउन आउने छैनन् भनी उनी ढुक्क हुनैपर्छ ।
पहिलो समस्याको सामना गर्न ट्रम्पले जनमतलाई आफ्नो पोल्टोमा पार्ने तयारी थालिसकेका छन् । ‘टाइम’ पत्रिकासँग कुरा गर्दै उनले अमेरिका इरानसँग युद्धमा जाने सम्भावनालाई नकार्न नसकिने बताए । तेहरानले उनको हत्या गर्न खोजेको रिस उठ्दो प्रश्न उठाएर पत्रिकाले उनलाई बोल्न अझ सजिलो पारिदियो । अन्तर्वार्ताभरि ट्रम्पले नेतन्याहुको मध्यपूर्वी एजेन्डामा सहमति जनाइरहे । ट्रम्पले लामो समयदेखि प्यालेस्टिनी भूमिमा रहेको दुई राज्यको बचाउ गरेनन् । प्यालेस्टिनको पश्चिम किनार क्षेत्रलाई इजरायलले कब्जा गर्न सक्ने सम्भावनालाई ट्रम्पले नकारेनन् । उनले अन्तर्वार्ता दिँदै गर्दा उनको ‘सङ्क्रमणकालीन टोली’ का एक कर्मचारीले एउटा गोप्य सूचना सार्वजनिक गरे । वालस्ट्रीट जर्नललाई ती कर्मचारीले बताएअनुसार ट्रम्प अहिले इरानका आणविक पूर्वाधारमाथि हमला गर्ने विषयमा गम्भीर छलफल गर्दै छन् ।
तेहरानलाई चुटाइ, मस्कोलाई मिठाइ
इरानमाथि हमला गर्ने हो भने ट्रम्पले मस्कोलाई पनि शान्त पार्नुपर्छ । ‘टाइम’ पत्रिकालाई दिएको सोही अन्तर्वार्तामा ट्रम्पले लामो दूरीका पश्चिमा मिसाइलहरूले रुसका भित्री भूभागमाथि प्रहार गरेकोमा खेद प्रकट गरे र युक्रेनको द्वन्द्व रोक्नुपर्नेमा जोड दिए । एक प्रसङ्गमा उनले किभ अलि पछि हट्नुपर्छ समेत भने । तर, उनी कस्तो सम्झौता चाहन्छन् र कस्तो सम्झौता सम्भव छ भन्ने विषयमा उनले केही बताएनन् । बरु यी प्रश्नको प्रस्ट जवाफ दिनबाट उनी पन्छिए । भित्री रुसमाथि हमला भएपछि जवाफमा मस्कोले सैन्य मुठभेड चर्किने चेतावनी दियो र त्यसको एक महिनापछि बल्ल ट्रम्पको विरोध आएको छ । भित्री रुसमा प्रहार गर्नुअघि ट्रम्पसँग भएको भेटमा बाइडेनले ट्रम्पलाई हमलाको ब्रिफ नगरेका होलान् भनी पत्याउन गा¥हो छ । ट्रम्पले कडा विरोध गरेका होलान् भनी पत्याउन पनि गा¥हो छ । विरोध गरेका हुन्थे पनि बेलैमा उनले आफ्नो विमति किन सार्वजनिक गरेनन् ?
पक्कै पनि पदभार ग्रहण गरेपछि ट्रम्पले युक्रेन मामिलामा के गर्लान्, ठेगान छैन । अहिलेलाई मध्यपूर्वमा के हुने हो, त्यति मात्र निश्चित छ ।
पश्चिमा सरकारहरू झन्भन्दा झन् पङ्गु बन्दै छन् । तिनको वास्तविक चालक साम्राज्यवाद हो । तिनको मुटुमा साम्राज्यवादी ढुकढुकी हुन्छ । अहिले साम्राज्यवादको यो मुटु विभिन्न गुट–उपगुटमा विभाजित देखिन्छ । यीमध्ये धेरैको रणनीतिक लक्ष्य एउटै छ – जुनसुकै मूल्य चुकाएर भए पनि विश्वभरि पश्चिमा प्रभुत्व कायम गर्ने । कतिसम्म भने यिनीहरू विश्व युद्धकै आगो बाल्न पनि तयार छन् । जबकि यिनीहरू नै आणविक विनाश रोक्ने कुरा पनि गर्छन् । विश्व युद्ध भएको खण्डमा आणविक अस्त्रको प्रयोगले मानव जाति नै आणविक विनाशको आहार बन्ने सम्भावना छ । यो सम्भावनालाई नकार्न मिल्दैन र भविष्यमा ढिलोचाँडो यो सम्भावना यथार्थमा बदलिने देखिन्छ ।
निश्चय पनि पश्चिमका शासक घरानाका विभिन्न तहतप्काबिच गम्भीर रणनीतिक मतभेदहरू छन् । कसलाई तारो बनाउने, हमला कहिले गर्ने भन्ने विषयमा उनीहरूबिच थरीथरी विचार छत् । कसैले तारो रुसलाई बनाउनुपर्ने, कसैले इरानलाई बनाउनुपर्ने त कसैले चीनलाई बनाउनुपर्ने बताउँछन् । यी सबै हमला घातक मात्र होइन्, आत्मघाती खेल हुने कुरा महसुस गर्नेहरूको तप्का निकै सानो छ । नेटो यो उद्देश्य पूरा गर्न अक्षम छ किनभने नेटो अहिले नै पराजित भइसकेको अवस्था हो भन्ने कुरा थोरैले मात्र बुझेका छन् । त्यसैले यी जानकारहरू यथार्थलाई हृदयंगम गर्नुपर्ने र युक्रेनको घटनाबाट विचलित नभई अन्य मोर्चामा जानुपर्ने सुझाउँछन् । यति हुँदाहुँदै पनि उनीहरू रुसबाट जति दुहुन सकिन्छ दुहुनुपर्छ भन्ठान्छन् । केही यस्तो तप्का पनि छ, जसले यथार्थलाई स्वीकार्नु विपत्ति बोलाउनु हो भन्छन् । युक्रेनमा नेटो हारिसकेको छ – यथार्थ यही हो । यी विभिन्न विचारमध्ये कसको विचार हाबी हुने हो, भन्न सकिने स्थिति छैन ।
इरान, वर्तमान विश्वको कुँजी
इराक र यमनमा हान्दै नेतन्याहु प्यालेस्टिन, लेबनान, सिरिया र इरानमा कुदिरहेका छन् । उनको गति देख्दा कताकता सन् १९३९ देखि १९४१ बिच जर्मनीले चलाएको ‘चट्याङसरि युद्धहरू’ को झझल्को आउँछ । तिनताक जर्मनीले एकपछि अर्को युरोपेली देशलाई कब्जा गर्दै सन् १९४१ को जूनमा सोभियत सङ्घमाथि आक्रमण गरेको थियो । जबकि ऊ सोभियत सङ्घसँगलाई आफ्नो गठबन्धन ठान्दै थियो ।
नेतन्याहुको दौडाइले सन् १९८९ देखि १९९१ को अवधि पनि सम्झना गराउँछ । त्यसबेला पूर्वका धेरै सरकार गल्र्यामगुर्लुम्म ढलेका थिए । गति कति तीव्र थियो भने, खेलाडीहरूले परिस्थिति आकलन गर्न पाएकै थिएनन् । यसले गर्दा बचाउमा तिनले आफूलाई सम्हाल्न पाएनन् ।
सिरियाको विध्वंश अमेरिकी–इजरायली बर्चस्व तथा विश्वलाई पुनः एकध्रुवीय बनाउने लालसाको प्रतिकार गरिरहेको विश्व शक्तिका लागि ठुलो बज्रपात हो । सिरियाको विध्वंश अराजकता तथा ‘सभ्यता–सभ्यताको द्वन्द्व’ का पुजारीहरूको लागि परम विजय हो । तिनीहरू यसलाई ‘सभ्यता–सभ्यताको द्वन्द्व’ (क्ल्यास अफ सिभिलाइजेसन) भन्छन् । व्यवहारमा यो सभ्यताविरुद्धको युद्ध हो ।
यथार्थलाई अस्वीकार गर्नुको कुनै अर्थ छैन । तर, इरानी सरकार गिराए वा इरानलाई टुक्र्याए विश्वस्तरमा विपत्ति आउने निश्चित छ । त्यो स्थितिमा मध्यपूर्वमा अराजकता छाउनेछ, सबै चिनियाँ योजनाहरू भताभुङ्ग हुनेछन् र अत्यावश्यक ऊर्जा स्रोतमाथिको पेइचिङको पहुँच चुँड्ने छ । त्यसपछि मध्यपूर्व पूर्व सोभियत गणराज्यहरू, रुस र चीनका साथै आसपासका अन्य देशविरुद्ध आक्रामक कारबाही चलाउने सहज अखडामा फेरिनेछ । यसै पनि मोल्डोभा, रोमानिया र जर्जियादेखि दक्षिण कोरिया, भेनेजुयला र क्युवासम्मका देशमा एकैचोटि पश्चिमा आक्रामकता बढिरहेको छ । मध्यपूर्व पश्चिमा पोल्टोमा पुगे आगोमा घ्यू थपे सरी हुनेछ ।
त्यो दिन साकार भए सारा पश्चिमा जगतको लागि ठुलो रणनीतिक विजयको दिन हुनेछ । यो पश्चिमा जगतको अग्रमोर्चामा निश्चय नै इजरायल हुनेछ । ऊ विशेष ‘नेता’ को भूमिकामा हुनेछ । लामो समय लगाएर त्यो दिन आयो नै भने पनि पश्चिमा साम्राज्यसँग पूरै विश्वलाई कब्जामा लिने क्षमता छैन । तर, ऊसँग मानव सभ्यतालाई नष्ट गर्ने क्षमता भने छ । सिरियाको घटनाक्रमले यो कुरा प्रमाणित गरेको छ ।
पृथ्वीमा जीवन नष्ट गर्न सक्ने प्रविधि र उत्पादक शक्तिलाई व्यवस्थापन गर्न आवश्यक विश्वव्यापी सहकार्यतर्फ लाग्नुको साटो हामी पुरानो मानसिकतातिर फर्किँदै छौँ । सिकन्दर महान्, रोमन सम्राटहरू, नेपोलियन वा हिटलरको जमानामै संसार फर्किरहेको छ । यो सोच अनैतिकमात्र होइन, अव्यवहारिक पनि छ । शासकहरूको यस्तो सोचले एक दिन मानव जातिको नै जरो उखेल्नेछ । मानव जातिलाई जोगाउने हो भने हामी सबै परिचालित हुन जरुरी छ ।
मानव जाति फेरि एकचोटि इतिहासकै अहम् मोडमा पुगेको छ । सन् १९८९ को जस्तै यो मोडको ठुलो ऐतिहासिक महत्ता छ । विश्व इतिहासमा हामी नौलो चौबाटोमा पुगेका छौँ । सन् १९८९–९१ को जस्तै अहिले हामी अत्यन्त रूपान्तरणकारी अवधिमा बाँचिरहेका छौँ ।
आउँदा दशकहरूमा हाम्रो विश्वले कुन बाटो लेला ? सबै कुरा इरानमा जे हुन्छ, त्यसले निक्र्योल गर्नेछ ।
पुनश्चः मध्यपूर्वको सङ्कटमा चीनको सबैले देख्ने अनुपस्थिति हेरी छक्क नपरी बस्न सकिन्न । चारैतिरबाट आर्थिक प्रतिबन्ध र हवाई हमलाले आक्रान्त सिरियातर्फ चीनले अलिकति आर्थिक सहायताको हात बढाउन किन सकेन ? आफू एउटा कुनामा चुपचाप डलरका डलर धन जम्मा गरी बसेर अन्य देश (खासगरी साना देश) लाई सैनिक, आर्थिक र राजनीतिक दबाबको हिसाबले महाबलि पश्चिमा देशहरूलाई कुल्चेर धुलोपिठो पार्न दिने चीनको कस्तो रणनीति हो ? के चीन अमेरिका कहिले ताइवान जलडमरु अथवा कोरियाली प्रायःद्वीपमा आउला र जवाफ दिउँला भनी पर्खँदै छ ? त्यस बेलासम्म समय घर्किसकेको हुनेछ र चीनले ठुलो मूल्य चुकाउनुपर्नेछ ।
– ‘एमआर अनलाइन’ बाट
अनुवाद : सम्यक