कुरै कुरोको कुरोमा हामीहरू कुरा गर्ने गर्छौँ मानौँ कुरा नै जिन्दगी हो ! अस्ति पनि कुरै कुरोको कुरामा उहाँले भन्नुभएथ्यो नेपाली समय रे ! मनमा कौतूहलताका छाल तरङ्ग उठेथ्यो; तर निच्च मारेँ । नेपाली समयको निन्दा नेपाली बानी बेहोराको निन्दा । नेपाली बानी बेहोराको निन्दा नेपाली प्रवृत्तिकै निन्दा ! नेपाली प्रवृत्तिको निन्दा नेपाली संस्कारकै निन्दा ।
बानी बेहोरा भन्नु प्रवृत्तिकै अभिव्यक्ति ! प्रवृत्तिको अभिव्यक्ति पाउँदा बानीबेहोरा जन्मन पुग्छ । त्यसैले प्रवृत्ति बानी बेहोराको मर्म । प्रवृत्तिको मर्मबाट पलाएको बानी बेहोराले जातीय संस्कारको स्वरूप निर्धारण गर्छ । नेपाली समयको कुरो एउटा लापरवाहीपनको चुरो बनिसकेको छ ।
यतिकैमा सकार्न यो मन मान्दैन । आफ्नो संस्कारलाई बिर्सेर बाह्य संस्कारबाट प्रभावित हुनुले आफूप्रतिको आस्था पनि बिर्सिएको रहेछ । कतिपय कुरो त बिर्सनु पनि पर्छ– शान्तमय जीवन यापन निमित्त । कतिपय कुरो सम्झनु पनि पर्छ– शान्तिपूर्ण जीवन बिताउन । बिर्सी हाल्नुपर्ने कुरो सम्झन पुग्दा मनको शान्ति बिलाउँछ । सम्झनैपर्ने कुरो बिर्सिँदा पनि मनको स्थिति अशान्त बन्न पुग्छ ।
सम्झनुपर्ने कुरा लालचको होइन । बिर्सनुपर्ने कुरो चिन्तनको होइन । सम्झनुपर्ने बिर्सेर अनि बिर्सिनुपर्ने सम्झनाभित्र अटेर मनको शान्ति भङ्ग भइरहेको हुन्छ । मैले निदाउनुपर्ने बेला आँखै झिम्क्याउन नसकेको चिरन्तनप्रति आस्था लगाएर निदाएको छु । निन्दा नसाद्वारा मोलिएर मैले रात छर्लङ्ग भएको पनि छु । निन्दा नसा नपिएर म आनन्द विभोर पनि भएको छु । यी दुवै समय संस्कारगत चर्चा हो ।
समय संस्कार अनौठो छ । हामीले हामीलाई हाम्रै समय संस्कारसित परिचित गर्नु प¥याछ । साइतको कुरो समय संस्कारसितकै कुरो हो । लगनको कुरो समय संस्कारकै कुरो रहेको छ । शुभमुहूर्तको कुरो समय संस्कारअन्तर्गतकै अन्तराल रहेको छ । दृढ सङ्कल्पको कुरो पनि समय संस्कारभित्रकै कुरा हो ।
मानिसले बुझेरै समय संस्कारलाई च्यापेको छ । हामीले पनि हाम्रो संस्कारभित्र समय संस्कारको विधा थपेका थियौँ । समय संस्कार प्रवृतिपरक हुन्छ । समय संस्कार पर्यावरणपरक हुन्छ । समय संस्कार भौगोलिक स्थिति अनुकूल बन्छ । समय संस्कार सामाजिक रीतिअनुरूप बन्छ । समय संस्कार मानिसको प्रवृत्तिमूलक बन्छ ।
बिहान १०ः१५ को साइतमा टीका ग्रहण गर्ने शुभमुहूर्तको लगनको कुरो सम्झँदा मलाई समय संस्कारको तासीरले कुत्कुत्याउन थाल्यो । ज्योतिषले दिएको लगनमा टीका ग्रहण गर्ने विजयादशमीको सन्दर्भलाई सबै नेपालीले अपनाएकै हुन्छ । सबैलाई शुभमुहूर्तको साइत जोड्नैपर्ने हुन्छ । हाम्रा नेपाली घरद्वारहरू सबै समय–संस्कारको डोरीले डो¥याइएकै हुन्थ्यौँ । त्यस साइतले भरेको समय संस्कार पाउन हामी हरसम्भव कोसिस गरिरहेकै हुन्छौँ ।
बिहानी एक डाँको भालेको स्वरसितै बिउँझिसकेको हुन्छ । सबै क्रियाशील बनेको हुन्छ । मानौँ क्रियाशील बन्नुको पर्याय समय संस्कारसित परिचित हुनुको व्याख्या थियो जस्तो ! मानौँ क्रियाशीलताभित्रै मात्र साइत छोप्ने समय संस्कार सजीव बनेको हुन्छ । मानौँ, सक्रिय पार्न नै ज्योतिषले साइत लगाइदिएको हुन्थ्यो । साइत सक्रियताको पहिलो झुल्का बन्छ, यदि संस्कारगत समयको सार्थक समीक्षा गर्न सके हामीले ।
जे चाहिएको छ नेपालीलाई नेपाली साइत, लगन, मुहूर्त, शुभबेला जे भनौँ । नेपाली साइत छोप्ने संस्कारलाई रीतिरिवाजमा ढालेर हामी त ब्रिटिस टाइमको परछायमा दागिएछौँ । मलाई पनि यस चेतनाले यसपालिको विजया टीका साइतको घडीसम्म उघार्न सकेको रहेन छ । मेरा स्वरलहरीहरू परछायकै कम्पनमा उत्रने चढ्ने गरिरहेको थियो । संस्कृतिको अँगालोभित्र पलापला र निमेषभरको साइत, लगन र मुहूर्त छोप्न तर्खरिने नेपाली संस्कारविहीन त पक्कै थिएनौँ ।
हामीले हाम्रो संस्कारगत मूल्य र मान्यताहरूको महिमा, गरिमा बुझेनौँ, बुझ्न सकेनौँ । बुझ्न सक्न, बुझाउने कोही हुनुपथ्र्यो । बुझाउने पौराणिक महिमा गाथा गायनका टोलटोलका परम्पराहरू सुके, नासिए । विद्यालय, महाविद्यालय र विश्वविद्यालयहरू खुले र नेपाली संस्कारका महिमा गाउने कण्ठ र स्वरविहीन पाठशालाहरू संस्कृतिका हिमायती थिएनन् । पाठ्यक्रम र पठन सामग्री तर्जुमा विधा संस्कारगत बन्न सकेनन् । नेपाली साइत, समय, संस्कारको महिमा गाउन सिकाउने पाठ्यसामग्री सृजना हुन बाँकी नै रह्यो । हामी त्यसैले रूपरङमा नेपाली रहेर पनि परछायका मुद्रा बन्यौँ कि कसोकसो सन्देह लाग्न थाल्छ ।
सन्देह त अस्थिर विश्वासबाट निस्कने दोधारेपनको प्रज्ञापन बन्छ । म सन्दिग्ध छैन । तै पनि, सन्देहात्मक कथावस्तु बटुलिरहेछु । हामी हामी नै भइदिँदा सन्देह लाग्दैनथ्यो होला । समय संस्कारविहिन भइदिँदा नेपाली अस्तित्व असमयी बने । एकपटक हामीलाई समसामयिक बन्न समय संस्कारको सुरिलो स्वर मच्चाउन सक्नुप¥या हुन्छ । समय संस्कारलाई दरिलो बनाउन नसकी हामी कसरी युगका सारथि बनौँ क्यार !
समय संस्कार त नेपालीका वैदिक परम्परा न हो ? हामीले वेद पढेनौँ । पढाउने संस्कार पनि कुन्जिन पुगेछ । राम्रा, असल, मङ्गल सूत्रहरू साझा सम्पत्ति बन्नुपथ्र्यो । तर, बन्न सकेन अथवा पाएन पनि । हामीले समय संस्कारलाई हुर्काउन सकेनौँ अथवा जानेनौँ पनि ।
संस्कारका मूलमन्त्रहरू निर्बन्ध रहन सकेन; भनौँ अझ पाएन पनि । संस्कृतिमूलक संस्कारहरू जातिगत पेसा बन्नु थिएन । असल, राम्रा र सुयशमान बोधिज्ञानहरू साझा सम्पत्ति हुन् । यशमान ज्ञान तत्वहरू सङ्कुचित बन्न पुगे जाति, वर्ण र समाज अपाङ्ग बन्न पुग्छ । नेपाली समय संस्कार सङ्कीर्ण थिएन । परन्तु, सङ्कीर्णताले विस्तीर्ण संस्कृतिका सारहरूलाई पिरोलिन पुगे । हामी सगर्व समय संस्कारबाट सङ्कुचित साधन प्रयोगतिर हुर्रिएथ्यौँ र नेपाली समय अशोभनीय संस्कारमा रूपान्तरित हुन पुगे ।
ब्रह्म ज्ञानको तुजुक फराक फराकिलो आकाश बन्न सक्नुपथ्र्याे । ब्रह्म साँघुरोपनको प्रतिकूल प्रतिबिम्ब हो, प्रतीक हो । ब्रह्मज्ञानीहरूका लागि को उँच को नीच, अन्तर हुँदैन । जहाँ उँच नीचको विभेद जाति, स्थान, अभिव्यक्तिका माध्यम, रहनसहन, पहिरन र भोजनका आधारमा गरिन्छ त्यहाँ ब्रह्मज्ञानको ब्रह्माण्ड प्रजनन शून्य भद्दा आकारमात्र बनेको हुन्छ । उँच नीचका मापन हुनुपथ्र्याे स्वस्थ विचार, तर्कसङ्गत उक्ति, उदार आस्था, आदरयोग्य अस्तित्वबोध, अनुशरणीय आचरण आदिको आधारमा । नेपाली संस्कार हुर्काउन नेपाली समय संस्कारले नेपालीहरू परिशीलन भएको हुनुपथ्र्याे । किन्तु नेपालीहरू नै आफूभित्रबाट परिशीलन हुननसकी नेपाली समय संस्कारले हाम्रा नेपालीहरूलाई कसरी परिशीलन गरोस् !
समय संस्कारभित्र जीवित स्वस्थ आत्माहरू स्वयम् समय संस्कारका प्रणेताहरू थिए, बने । आफ्नै कुदरत, मेहनत, श्रम, साधना, स्वार्थविहीन प्रयास ब्रह्मज्ञानीहरूको नेतृत्वदायी चरित्र थिए । प्रणेता हुन प्रवीण चरित्रको आवश्यकता हुन्छ । चरित्र निर्माण गर्न संयमित साधना हुनु पर्दोरहेछ । संयमित साधनाको घेराभित्र वितराग, द्वेष, अहङ्कार र श्लाघा अटाएको हुन्न । हामी भने कुरै कुरोमा कुरोकै निमित्त संयम संयन्त्रका चेवा चर्चा गरिरहेका हुन्छौँ । प्रयोगबिनाको प्रवचन तामसी धर्म बन्छ । अहिलेको नेपाली समय संस्कारको परिप्रेक्ष्यमा देखावटी प्रपञ्चको बाहुल्य पिरोल्छ । नेपाली अस्तित्वको जगेर्ना प्रपञ्चबाट भन्दा परिशीलनबाट हुनसक्छ ।
परन्तु, परिशीलन के को ? अनुशरणीय आचरणको अनुशरणीय आचरण कस्तो ? निरीपेक्ष गरिबीको रेखामुनिका मनुष्य प्राणीका जीवन ज्योति प्रज्ज्वलित पार्ने खालका गराइ र भनाइमा तादात्म्य रहेको हुनुपर्छ । समय संस्कारले एउटा लक्ष्मण रेखा कोरिसकेको नेपाली मात्रको चासो र सरोकार बनेको हुनुपर्छ । प्रत्येक गाउँमा उपलब्ध साधन अवसरहरू र व्यवधानहरूको वस्तुगत लेखाजोखा भई सम्भाव्य कार्ययोजना निर्धारण गर्न राष्ट्र सेवकहरूको क्षमता बढ्नु थियो । ६७ प्रतिशत ग्रामीण जनता निरक्षर रहेको समाजको राष्ट्रले अपेक्षा राखेको क्षमतावान उत्तरदायित्वको बहन कसबाट हुनसक्छ ? जसले सुविधा, सहुलियत, शिक्षादीक्षा र अवसर पाएको हुन्छ– उसैबाट मात्र । समय संस्कारको आचार अचारमा परिणत हुनु थिएन ।
समय संस्कारको जगेर्ना नेपालीहरूले गरेका कुरा कुरै मात्र थिएन, भएन र रहेन । प्रत्यक्ष अनुभूतिहरू बटुलौँ । बालक जन्मँदा प्रायः सबै हामी समय सारिणी दुरुष्ट राख्न हतारिएकै हुन्छौँ । अस्ति राति ‘हाकुचा’ ले समय सोध्न आएथ्यो । उनको अर्धाङ्गिनीले एक बालक पाउँदा उसलाई समयको घडी, पला जान्न तरखराउनु परेथ्यो । पोर साल ‘काले’ कान ठाडो पार्दै रहेको पनि त समय संस्कारलाई परिपालन गर्ने त थियो । नामकरणको शुभमुहूर्त सँगाल्न ‘काले’ दत्तचित्त थिए । मानौँ, नामकरणको शुभ साइत समेट्न नसकेका उनको छोरोका नाम सुनामधन्य नै हुने थिएन । अथवा यसो भनौँ कि ज्योतिषले दिएको लगन भ्याउन सचेष्ट नेपाली समय संस्कारको मूल्य र मान्यतादेखि टाढा रहेको बुझिन्न ।
आजभन्दा १५ वर्ष पुरानो संस्मरण । शिलु मैयाँको छोरोको छेवरको सन्दर्भ । उनी निकै अत्तालिएर तल माथि, माथि तल ओहरदोहर गरिरहेकी थिइन् । आकृतिमा अनौठो आतुरीका झुल्काहरू झ्यापझुप बलिरहेको थियो । बेलुकी ९ः०० बजेको साइत । मामाले कपालका केस मुठ्ठा पारी नबस्ने औँठी बाँध्नुपर्ने थियो । नवरत्ने औँठीको घेराभित्र पर्ने सबै कपाल टुपीको चकला बनाउनुपर्ने मुहूर्तको कार्य । ठीक साइतकै पला, घडीभित्र सुनौलो र चाँदीका छुराले भानिजको कपाल काट्ने काम पनि मामाकै हातबाट सम्पन्न हुनुपर्ने लगनभरिका समय संस्कार । टुप्लुक्क मामा पाँच मिनेट अगावै आइपुग्दा शिलु मैयाँको मुहार पूर्णिमाको चन्द्रमाजस्तै भएथ्यो ।
सिताराम पण्डितको छोरोको व्रतबन्धको साइत छोप्ने काम पनि उस्तै थियो । सब कुरो लगनकै बेला सम्पन्न नभए कार्य सिद्धि नहुने रे । हथात्हथात् घरभरिका मानिसहरू आँगनभरि यताउता गरिरहेका थिए । धोती पहिरनदेखि धनुषटङ्कार काँधमा भिर्नु भिराउनुसम्म र धनुषधारी व्रतबन्धका पात्रले वाण प्रस्थाश्रममा लाग्नुसम्म पनि ज्योतिषीका साइतमा गर्नैपर्ने रीतिथिति नेपाली समय संस्कारका सन्दर्भ हुन् ।
विवाह र स्वयम्बरका लगनहरू साइतकै घडीमा सम्पन्न हुनैपर्ने । आदिदेखि रीतिरिवाजभित्र संस्कार हुर्के, बचेको छ । बुबाले आफ्ना पालाको विवाह मुहूर्त जगेर्ना निमित्त गर्नुपरेको प्रयास । कुदरत र मेहनतका बखान गर्नुभएको ताजा रोचक लाग्थ्यो । आफ्नै बिहेको लगन साइत छोप्नुपर्ने तरखरका अनुभूति हामी सबैलाई अझै ताजा अनुरणका घन्काईझैँ लागिरहनु स्वाभाविक छ । परन्तु, हामी नेपालीहरूमध्ये धेरैजसो आफ्नै अनुभव, संस्कार र रीतिरिवाजप्रति आफै आत्मविवेचना गरिरहेका हुन्नौँ । आत्मविवेचना भन्नु आफ्नै अनुभवबाट साँचिएका अनुभूतिहरूलाई आफैले वल्टाई पल्टाई कनिकुथी गर्नु हुन आउँछ । आत्मविवेचना, त्यसकारण आफूप्रतिको इमानदारीपूर्ण समीक्षाबाट पूर्ण सम्भव हुन्छ । आत्मसमीक्षाबाट मात्र विवेक फस्टाउने क्रम पलाउन सक्छ ।
संस्कार भन्नु पनि वास्तवमा जाति, समाज र राष्ट्रकै विवेक फस्टाउन सकेको प्रमाणहरूका प्रस्तुति हुन् । नेपाली समय संस्कारगत मूल्य, मान्यता, धारणा र व्यवहारलाई केलाऔँ । नेपालीहरू समयका मूल्य स्थापना गर्ने संस्कारका धनाद्धय भएका अनुभव हुन आउँछन् । परन्तु, यो धनीपनको परिचय मात्र विशेष संस्कृतिमूलक रीतिरिवाज परिपालनमा सीमित हुनु थिएन र भएन । नेपाली जीवनका प्रत्येक घडी पाइला र मुहूर्तमा यिनै संस्कारगत मूल्य र मान्यताले व्यावहारिक मूर्त रूप लिऊन् । अहिले हामीलाई परिपालनभन्दा परिशीलनकै बढी चाहना हुन आएको छ ।
बूढोपास्नीको कुरा गरौँ । अस्ति शाक्यजीको हजुरबुबाको बूढोपास्नी साइतकै घडीपलाभित्र सम्पन्न गर्न कत्रो तरखर मच्चिएथ्यो । त्यस्तै, तरखर, जाँगर र दत्तचित्त मनस्थिति, शारीरिक तत्परता प्रत्येक नेपालीमा सदाबहार रहे हामी पछ्यौटेपनबाट विमुक्ति पाउने थियौँ होला । नेपाली जोश, जाँगर र हौसला सांस्कृतिक परम्परामा मात्र एकदिन पुगेर हैरान भएछु । बिहानीदेखि बेलुकी शøया–शयनसम्मका काम कुरो यथासमयमा सम्पन्न नहुँदा बेचैनी अनुभव गर्न सक्ने र जान्ने नेपाली तिनै अपेक्षाकृत आवश्यकताहरूका परिपूर्ति गर्न जोश, होस र जाँगरका गरिब भए छन् । गरिबीमात्र आर्थिक मामला नभई प्रवृत्तिजन्य अवस्था पनि हो । हामी धनले भन्दा पनि समय संस्कारलाई जीवनको हरेक मोडहरूमा सान्दर्भिक बनाउन गरिब भएछौँ । स्वीकृत प्रवृत्तिमूलक समय संस्कार हुर्कनुको साटो विकृत समय संस्कारलाई च्यापेर आस्था आर्जन गर्न सकिन्न । यसकारण, सच्चा र सार्थक प्रवृत्तिका धनी नेपाली समय संस्कार हुर्काउनसके हामीले स्थापना गर्न उद्वेत, मूल्य, मान्यता र संस्कार पनि हर्लक्क हुनेछ । विश्वासले बढ्नुपर्छ, आस्थाले चल्नुपर्छ समय संस्कार सार्थक बन्छ ।
गरिबीका अनेक स्वरूप र विभेदमा आर्थिक, औद्योगिक र वैज्ञानिक साधन स्रोतका गरिबीभन्दा भयानक गरिबी प्रवृत्तिको गरिबी खतरनाक हुन्छ । आर्थिक गरिबीले समाज निर्धन रहला, औद्योगिक गरिबीले समाज स्रोतमा कमजोर रहला, वैज्ञानिक गरिबीले समाज अकर्मठ रहला । परन्तु, प्रवृत्तिकै गरिबीले त मानिस आचरहीन, दरिद्र र दुष्ट कपटी बन्छ । त्यसैले गरिबीमा सबैभन्दा निर्धिन दरिद्रता प्रवृत्तिको गरिबीभन्दा अरू केही पनि रहन सक्दैन । प्रवृत्तिले नै गरिब भएपछि समाज र राष्ट्र कमजोर, निर्बल र निस्तेज बन्न पुग्छ । यतिन्जेल समय संस्कार भन्छ कि मानिस, समाज र राष्ट्र उठाउन नेपाली प्रवृत्तिलाई सबैभन्दा उँचो उठाउनु आवश्यक छ । यो निर्माणको पहिलो खुड्किलो पनि हो ।
समय संस्कारको अन्तिम चक्रअन्तर्गत पर्ने व्यूह शवयात्रा अनि श्राद्ध हुन् । मृत्यु यति सत्य र समय संस्कारपरक छ जति कि जन्म पनि रहेको हुन्न । जन्म तुहिन पनि सक्छ । तुहिएको पनि छ । मृत्यु तुहिन्न । तुहिएको पनि छैन कतै । जन्म जिउनु एक थोक हो । तर, मृत्युपछि जिउनु अस्तित्व । अस्तित्वमुखी जीवन कुटिल, कपटी र कैफियती जिइन्न । अब भने हामी अस्तित्वमुखी जीवन बाँच्न र जिउन सिक्नुलाई गर्नुपर्ने अवस्थामा पुगेका छौँ । अस्तित्व बाहिरी तडकभडक होइन । यो त स्वनिर्मित साधना हुन्छ, बन्छ । बहिर्मुखी तत्व मृत्युउन्मुख लालसा रहन्छ । अनन्तमुखी साधना अस्तित्वमूलक आदर्श हुन्छ, बन्छ । नेपालीका लागि अब एउटा अन्तरमुखी साधना सङ्गम या दोभान भेट्नु प¥याछ, जहाँ एकपटक डुबुल्की मार्दा बहिरङ्ग रञ्जित अनेक प्रकारका क्लेश नेपाली मन–मस्तिष्कबाट धोइऊन् । समय संस्कारको संसार यिनै साधना–सङ्गम निहालिरहेको महक पाइन्छ यत्रतत्र सर्वत्र ।
समय संस्कारविहीन जीवन, जीवन होइन, मृत्यु । मृत्यु स्वाभाविक संस्कार हो, प्राकृतिक नियम हो, ध्रुवसत्य हो । परन्तु, मृत्यु चहारी जीवन जिइन्न । जिइन्छ भने मृत्यु संस्कारलाई परंपर सारेर मात्र । मृत्युलाई परपर सारेर नजिइने जीवन जड हुन्छ । जसको मृत्यु नै छैन तिनको जीवन पनि रहेको हुन्न । जीवनमै मात्र मृत्यु गाँसिएको हुन्छ । जीवन र मृत्यु समय संस्कारका दुईछेउ हुन् जसलाई वृत्ताकारमा गाँसिँदा दुवै छेउ आपसमा विलिन हुन पुग्छन् । हामीलाई विलय श्रेयस्कर लाग्छ, प्रलय होइन कदापि । विलयमा अँगालो हुन्छ, प्रवाह चल्छ, दुई नदीका सङ्गममा झैँ । सङ्गम समागम विलयका विलक्षण स्वभाव हुन् । त्यहाँ बृहत्तर फाँट, गहिराई र प्रवाहबाट उपज व्यापक अस्तित्वबोधका गतिशील सङ्लो मर्म मुसुक्क हाँसेको हुन्छ । जे होस् अस्तित्व आफ्नैभित्रबाट उदाउने अनुपम आभा भएकाले अन्त खोजी, चहारिरहनु परोइन । नेपालीले आफ्नै नेपाली संस्कारलाई पुनस्र्थापनाका निमित्त जीवनको प्रत्येक पाइलाहरूमा गाँसिएको समय संस्कारलाई पुनस्र्थापन, व्यापकीकरण र मर्यादित बनाउनु छ । समय संस्कारविमुख जीवन क्रिया वियोग र दुःखान्तदायी हुन्छ, बरदान बन्न सक्दैन । जय–समय–संस्कारम् !
२०४६/०७/०२
(सोमबार विमोचन गरिएको वरिष्ठ संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगको पुस्तक ‘मै एक मै अनेक’ बाट ।)