अर्थशास्त्रको प्रवेशिका
जर्मनीको समाजवादी प्रजातान्त्रिक पार्टीले बर्लिनमा एक पार्टी स्कूल (तालिम केन्द्र) स्थापना गर्यो । त्यो स्कूल जाडोको समयमा मजदुर र पार्टी कार्यकर्ताको तालिमको निमित्त बनाइएको थियो । त्यहाँ सामाजिक विज्ञान (भूगोल, इतिहास, अर्थशास्त्र, राजनीतिशास्त्र आदि) र आन्दोलनका प्रचारात्मक शिक्षा दिइन्थ्यो । त्यसमा सम्पादकहरू, भाषणकर्ताहरू र अरू पदाधिकारीहरूको व्यवस्था गरिएको थियो । त्यसमा ३० जवान व्यक्तिहरू मजदुर सङ्घहरूबाट चुनिन्थे । रोजा पनि त्यसमा शिक्षिका चुनिनुभयो ।
त्यस तालिम केन्द्रमा विभिन्न सांस्कृतिक स्तरका कार्यकर्ताहरू आउँथे । यसकारण, तिनीहरूको पढाइ पुँजीवादी स्कूल कलेजको कक्षाभन्दा भिन्न खालको हुन्थ्यो । रोजाको पनि आफ्नै ढङ्गको शिक्षण कला (सिकाउने तरिका) थियो । उहाँले विद्यार्थीहरूमा आफैले सोच–विचार गर्ने उत्सुकता जगाउने खालको प्रश्न उत्तरको तरिका प्रयोग गर्नुहुन्थ्यो । उहाँ निरङ्कुश पिताजस्तो शिक्षिका नभई एक साथीजस्तो भइदिनुहुन्थ्यो । उहाँको पढाउने तरिकाले गर्दा उहाँसँग विरोध राख्ने विद्यार्थीहरूसमेत प्रभावित हुन्थे ।
त्यस शिक्षण कार्यको निम्ति रोजाले केही टिपोटहरू गर्नुभएको थियो । त्यहीँ टिपोटलाई पछि उहाँले एक किताबको रूपमा विकास गर्नुभयो । किताबको नाम हो, ‘अर्थशास्त्रको प्रवेशिका ।’ त्यस पुस्तकमा उहाँले त्यसबेलाको अर्थशास्त्र सामन्तवादको विरोधमा पुँजीपतिवर्ग (पुँजीवाद) ले बनाएको शास्त्र हो भनेर छर्लङ्ग पारिदिनुभयो । त्यसले पुँजीवादी व्यवस्थाको मात्रै सेवा गर्छ, जब कि समाजमा मजदुरवर्गको पनि जन्म भइसकेको छ । यसकारण, त्यसमा उहाँले त्यस स्वार्थी अर्थशास्त्र र त्यसका विद्वान्हरूलाई खुबसित छ्यास्नुभएको थियो ।
रोजाले पुँजीको बारेमा पनि एउटा पुस्तक लेख्नुभयो । उहाँले त्यसमा पुँजीवाद कसरी तीन तहबाट विकास भयो र सङ्कटहरूले त्यो कसरी ध्वस्त हुन्छ भन्ने कुरा पनि देखाइदिनुभयो । पुँजीवादको तीन अवस्थाहरूलाई उहाँले यसरी व्यक्त गर्नुभयो –
१. सुरूमा पुँजीवाद सामन्तवादकै स्वावलम्बी समाजको अर्थनीतिभित्र जन्म्यो र आफ्नो भौगोलिक सीमालाई नाघेर अर्को देशसम्म पुग्यो ।
२. पुँजीवादको व्यापारिक माल सरल उत्पादन प्रणालीको सङ्घर्षबाट अगाडि बढ्यो ।
३. पुँजीवादी संसारको अन्तिम अवस्था हो – विदेशी बजारलाई लुट्न चर्को हान–थाप अथवा पुँजीको अन्तिम सङ्कट ।
पुँजीवादको अन्तिम अवस्थाबारे उहाँ भन्नुहुन्छ, “साम्राज्यवादले एकातिर पुँजीवादको उमेरलाई बढाउँछ, अर्कोतिर ऊ बाँधिन्छ पनि । यसको अर्थ यो होइन कि त्यसको अन्तिम सीमा आफैले बाँध्न कर लाग्छ । …. पुँजीवादको अन्तिम अवस्था एक ठुलो सङ्कट र विनाशको युद्ध सिद्ध हुनेछ ।”
अन्धराष्ट्रवाद र सर्वहारा अन्धराष्ट्रवाद उपनिवेश र विदेशी बजारको निम्ति पुँजीवादी राज्यहरूको माझमा हानथाप सुरू हुन्छ । हातहतियारमा वृद्धि हुन थाल्छ । यो पुँजीवादको अन्तिम अवस्था हो । यस अन्तिम अवस्थाको विषयमा मजदुरवर्गले राम्रोसँग बुझ्नुपर्छ । यसको ज्ञान भएन भने साम्राज्यवादको विरोधमा लड्न न त स्पष्टता हुन्छ न त शक्ति नै । तर, संशोधनवादीहरूले यस कुरालाई बङ्ग्याई के भन्न थाले भने साम्राज्यवाद पुँजीवादको विकसित रूप हो भने त्यसलाई विकसित हुन दिनुपर्छ । त्यसले बहुमत पुँजीपतिहरू एक मुट्ठी युद्धपिपासु पुँजीपतिवर्गहरूको विरोधमा जानेछन् । अनि साम्राज्यवाद एक्लिएर ‘स्वतन्त्र व्यापार’ पूर्णतया स्थापना हुनेछ ।
संशोधनवादीहरूको त्यस मूर्खतालाई रोजाले उदाङ्ग्याउँदै के भन्नुभयो भने तिनीहरू पुँजीपतिहरूलाई ‘समझदार’ र ‘नासमझदार’ भनेर छुट्याउन पुगेका छन् । यो कुरो त मूर्ख राजाहरूलाई ‘बुद्धिमान् राजाहरू’ भनेर प्रजातन्त्र स्थापना गर्न अपिल गरेजस्तै हुन्छ । बहुमत पुँजीपतिहरूलाई फकाएर साम्राज्यवादलाई नाकाबन्दी गर्न खोज्नु मृगतृष्णा हो । ‘समझदार’ पुँजीपतिहरूलाई मिलाएर अस्त्रशास्त्रको वृद्धिलाई रोक्न खोज्नु र विश्वयुद्धको बदला प्रजातान्त्रिक सरकार स्थापना गर्ने कल्पना त सतुर्मुर्गे बुद्धिमात्रै होइन, पुँजीवादको विरोधमा मजदुरवर्गको अन्तिम युद्धको तयारीलाई भ्रम दिनु पनि हुनेछ ।
तर, जर्मनीको समाजवादी–प्रजातान्त्रिक पार्टी साम्राज्यवाद र युद्धको पक्षमा अन्धराष्ट्रवादको बाटोमा लाग्दै थियो । त्यस सङ्कीर्ण राष्ट्रवादको विरोधमा लेनिन र रोजाहरू मिलेर सन् १९०७ मा भएको दोस्रो इन्टरनेसनलमा एक प्रस्ताव सर्वसम्मतिबाट पारित गराउनुभयो, “लडाइँको खतरा देखिनासाथै ती देशका मजदुरहरू तिनीहरूका संसद् सदस्यहरूले युद्धलाई रोक्नको निम्ति उचित उपायहरूलाई काममा लगाउनुपर्छ र यदि युद्ध रोक्ने तिनीहरूको प्रयत्नपछि पनि युद्ध सुरु भयो भने त्यसलाई चाँडै समाप्त गर्न उपाय गर्नुपर्छ र युद्धको कारण हुने आर्थिक र राजनैतिक सङ्कटहरूको उपयोग गरेर जनतालाई उठाउने र पुँजीवादी शासनलाई पल्टाएर फ्याँक्ने कोसिस गर्ने तिनीहरूको कर्तव्य हुनेछ ।”
लेनिन र रोजाहरूले पास गर्नुभएको यो प्रस्ताव आज पनि त्यतिकै सान्दर्भिक छ । तर, कति देशका कम्युनिस्ट भनाउँदा पार्टीहरूले यस सिद्धान्तलाई लत्याउँदै पनि छन् ।
जर्मनको पार्टीमा फुट
सन् १९०८ मा जर्मनीमा जुलुस प्रदर्शनीमाथि निषेध गरियो । प्रदर्शन रोक्ने काममा पुलिस सा¥है सक्रिय देखियो । तर, मजदुरहरूले पुलिसको त्यस प्रदर्शनविरोधी गतिविधिमा रोक लगाउन विरोध प्रदर्शनहरू गर्न थाले । मन्त्रिमण्डलले बाध्य भएर मजदुरहरूलाई मत दिने अधिकार दियो । मजदुर आन्दोलनमा अलि शिथिलता आउनासाथै सरकारले मजदुरहरूको मत दिने अधिकारलाई फिर्ता लियो । त्यसको बदला लिन मजदुरहरूले फेरि आफूलाई तयार गरे । फ्रेबुअरी र मार्चको हरेक आइतबारको दिन जर्मनीका हरेक ठुलठुला सहरहरूमा विरोध प्रदर्शनहरू सुरु भयो । मजदुरहरू पुलिससँग निडर भएर सङ्घर्ष गर्थे । प्रदर्शन रोक्ने सबै कोसिसहरू बेकार सिद्ध भयो । यस जीतबाट मजदुरहरूले सरकारको ताकत र आफ्नो ताकतको लेखाजोखा गरे तथा दुई लाख मजदुरहरूले फेरि ज्याला बढाउने माग लिएर हडताल सुरु गरिदिए ।
रोजा परिस्थितिको अध्ययन गर्दै हुनुहुन्थ्यो । उहाँले मजदुरहरूको एक व्यापक राजनैतिक हडतालको आह्वान गर्नुभयो । त्यस हडतालले उमेर पुगेका सबै नागरिकहरूले मत दिने अधिकार प्राप्त गरे । सन् १९०८ मा चुनाव भयो । मजदुर प्रतिनिधिहरूले ६ लाख मत प्राप्त गरे । तर, प्रतिनिधिसभामा तिनीहरूको ६ जना प्रतिनिधि मात्र चुनिए । विरोधी उम्मेदवारहरूले ४ लाख मात्रै मत पाए तर तिनीहरूले २१२ स्थान प्राप्त गरे । यस्तो धाँधलीपूर्ण चुनाव परिणाम देखेर रोजाले मजदुरहरूलाई अगाडि बढ्न आह्वान गर्नुभयो । उहाँको विचारमा बढ्दै गइरहेको क्रान्तिकारी परिस्थितिलाई त्यसै राख्नुको अर्थ मजदुरवर्गलाई अगाडि बढ्न रोक्नु हो र आफैले हारलाई स्वीकार गर्नु थियो । उहाँको यस विचारलाई जर्मनीका विभिन्न ठाउँका पार्टी समितिहरूले प्रस्ताव पारित गर्दै केन्द्रीय समितिमा पठाउन थाले । जर्मनीको उत्तरमा रहेको ट्रीर नगर र मध्य जर्मनीका फ्यान्कफर्ट सहरमा मजदुरहरूको प्रदर्शन र हडतालहरू सुरु भयो । तर, पार्टी नेतृत्वले सङ्घर्षलाई अगाडि बढाउन स्वीकार गरेन न त नेतृत्वले त्यस्तो क्षमता नै राख्थ्यो ।
रोजाले सङ्घर्षलाई अगाडि बढाउने विचार राखेर पार्टीको मुखपत्र ‘अग्रदूत’ (वोखार्ट) काउत्स्कीको ‘न्युजीत’ भन्ने पत्रिकामा छाप्न पठाउनुभयो । तर, तिनीहरूले रोजाको लेखलाई छाप्न अस्वीकार गरिदिए । यसै विषयलाई लिएर अनेक विवाद चल्यो । रोजाले त्यस लेखलाई टुक्रा–टुक्रा गरेर दैनिक समाचारपत्रमा छाप्न लगाउनुभयो । यसप्रकार काउत्स्कीसँग पनि रोजाको सम्बन्धविच्छेद भयो । अब, जर्मनीको समाजवादी–प्रजातान्त्रिक मजदुर पार्टी तीन गुटमा टुक्रियो । पहिलो गुट संशोधनवादीहरूको थियो, त्यसले बिस्तारै साम्राज्यवादी नीतिलाई समर्थन गर्दै गइरहेको थियो । दोस्रो गुट बिचको बाटो लिनेहरूको थियो । तिनीहरू क्रान्तिकारीको खोलभित्र बसेका संशोधनवादीहरू थिए । तेस्रो गुट वामपन्थीहरूको थियो । त्यसमा रोजा लक्जेम्वर्ग, क्लारा जेट्किन, फ्रेज मेहरिङ्ग, कार्ल लिब्ख्नेत, काट्स्की र पनेकोयक आदि थिए ।
फ्रेज मेहरिङ्ग (सन् १८६४–१९१९) जर्मन मजदुर आन्दोलनको नाउँ चलेका एक नेता, समाजवादी–प्रजातान्त्रिक पार्टीको वामपन्थी पक्षका प्रमुख दार्शनिक, इतिहासकार र पत्रकार हुनुहुन्थ्यो । सन् १८९० तिर उहाँले माक्र्सवादलाई स्वीकार गर्नुभयो र जर्मनीको इतिहास र जर्मनीको समाजवादी–प्रजातन्त्रबारे धेरै पुस्तक लेख्नुभयो । सन् १९१८ मा उहाँले ‘कार्ल माक्र्स’ को जीवनी (Karl Marx-The Story of the life) लेख्नुभयो । त्यसमा माक्र्सको जीवन कहानी थियो । त्यस पुस्तकले कार्ल माक्र्सबारे खोजबिनको नयाँ ढोका खोलिदियो । ‘डाई न्यु जेट’ भन्ने पत्रिकाको एक सम्पादक, जर्मनीको समाजवादी प्रजातान्त्रिक आन्दोलनको वामपन्थी पक्षको एक नेता र सिद्धान्तकार हुनुभयो । त्यस जीवनको अङ्ग्रेजी अनुवाद एडवार्ड फिटजेराल्डले गरेका थिए । त्यसको पहिलो प्रकाशन सन् १९३६ मा भएको थियो ।
कार्ल लिब्ख्नेत (सन् १८७०–१९१९) जर्मनीका एक मजदुर नेता र प्रसिद्ध माक्र्सवादी विलियम लिब्ख्नेतका छोरा हुनुहुन्थ्यो । विलियम लिब्ख्नेत साक्सोन मजदुर सङ्घका मुख्य नेता हुनुहुन्थ्यो । उहाँले सन् १८४८ को क्रान्तिमा भाग लिनुभएको थियो । पछि उहाँले माक्र्स र एङ्गेल्ससँग घनिष्ट सम्बन्ध राख्नुभयो । कार्ल लिब्ख्नेत आफ्ना बाबुजस्तै एक माक्र्सवादी हुनुहुन्थ्यो । उहाँ एक जोशिलो आन्दोलनकर्ता हुनुहुन्थ्यो । क्रान्तिप्रति उहाँको गहिरो विश्वास र उहाँको आगोजस्तो चर्को भाषण दिने शक्ति र कलाले व्यापक मजदुरवर्गमा सङ्घर्ष गर्ने इच्छालाई जगाइदिन्थ्यो । साम्राज्यवाद र साम्राज्यवादी युद्धको खतराको विरोधमा सबभन्दा पहिले खुला सङ्घर्ष गर्ने उहाँ पहिलो जर्मन समाजवादी–प्रजातन्त्रवादीहरूमध्ये एक हुनुहुन्थ्यो । उहाँ अन्तर्राष्ट्रिय युवा आन्दोलनका सङ्गठनकर्ता हुनुहुन्थ्यो ।
जर्मन समाजवादी–प्रजातान्त्रिक पार्टीमा फुट भयो तर रोजा र अरू नेताहरूले मजदुर आन्दोलनलाई अगाडि बढाउँदै जानुभयो । सन् १९१० सेप्टेम्बर १८ को दिन माआविट भन्ने ठाउँमा हडताल सुरु भयो । मजदुरविरोधी गुण्डा र पुलिसहरूले कोइला ओसार्ने काम चालु गर्न खोजे । हडताली मजदुरहरूले त्यसको विरोधमा सङ्घर्ष गरे । सडकका सबै इँटा र ढुङ्गाहरू उप्काएर थुपारे तथा मालसामान ओसार्ने कामलाई बाधा दिए । २६ सेप्टेम्बरको दिन एक हजार पुलिस बर्लिनमा तयार राखियो र त्यहाँ लगियो । समुचा इलाका पुलिस, सादा पोशाकका पुलिस र गुण्डाहरूको कब्जाजस्तै थियो । साँझको ५ बजेपछि जनतालाई झ्याल–ढोका थुन्न लगाइयो । मजदुरहरू अलिकति पनि नडराई कोइला ओसार्नमा बाधा दिदै गए र पुलिससँग भिडन्त गरे । पुलिसले मजदुर, महिला र बिरामीहरूमाथि पनि हतियार चलायो, धेरै घाइते भए । मजदुर जनताले पनि पुलिसलाई ‘अत्याचारी कुकुर’ र ‘ज्यानमारा’ भनेर गाली–सराप र विरोध गर्न लागे । पुलिसले गोली चलायो । मजदुरहरू र महिलाहरूले पनि झ्याल–झ्यालबाट पुलिसहरू माथि गमला, सिसी, भाँडा–कुँडा, कोइलाले हान्न थाले । २७ सेप्टेम्बरको दिन सङ्घर्ष चर्को भयो । पुलिसले झ्याल–झ्यालमा १७३ चोटि गोली चलायो, २ जना मजदुर मारिए । सङ्घर्षमा १०४ पुलिस र १५० मजदुरहरू घाइते भए ।
सङ्घर्ष २९ सेप्टेम्बरसम्म चल्यो । मजदुरहरूले थुपारेका बाटाका ढुङ्गा इँटाको थुप्रोबाट पुलिसहरू छिर्नै सकेका थिएनन् र काम पनि पूरै बन्द रहेको थियो । यस सङ्घर्षको प्रभाव अरू इलाकामा पनि पर्नु स्वाभाविक थियो ।
समाजवादी प्रजातान्त्रिक पत्र
जर्मनीको सरकारले युद्धको तयारी गर्दै थियो । सन् १९१० मा डेनमार्कको राजधानी कोपनहेगनमा दोस्रो अन्तर्राष्ट्रियको महाधिवेशन भएको थियो । त्यस बैठकमा समाजवादीहरूले संसद्मा युद्धको ऋणहरूको विरोधमा मत दिने निर्णय गरेका थिए ।
जर्मनीको सामाजिक जनवादी पार्टी
सन् १९०६ मा (एसपीडी) ले बर्लिनमा एउटा विशेष पार्टी विद्यालय बोलेको थियो । पार्टी र मजदुर सङ्घले छानेका ३० विद्यार्थीलाई ६ महिनाको निम्ति समाजवादको इतिहास, अर्थशास्त्र र मजदुर सङ्घहरूका सङ्घर्षहरू तथा अन्य विविध विषयमा सघन कक्षा सञ्चालन गर्थे ।
सन् १९१२ तिर त्यस पार्टी विद्यालयमा रोजा लक्जेम्वर्गले अर्थशास्त्रबारे प्रवचन दिनुभयो । त्यसकारण, उहाँले ‘अर्थशास्त्र के हो ?’ भन्ने १० खण्डको लेखमाला तयार गर्नुभयो । त्यस लेखमालामा जर्मनीका अर्थशास्त्रीहरूदेखि माक्र्सको ‘राजनैतिक अर्थशास्त्रको आलोचना’ को समेत अध्ययन समावेश थियो ।
युरोपका साम्राज्यवादी देशहरू युद्धको तयारी गर्दै थिए । कार्ल काउत्स्की एसपीडीका प्रवक्ता थिए । उनले सङ्कीर्ण र अन्धराष्ट्रवादी दृष्टिकोण देखाउन थाले अर्थात् आफ्नो देशको साम्राज्यवादी युद्धको समर्थन हुने अभिव्यक्तिहरू दिन थालेका थिए । यसकारण, रोजाले ‘शान्तिको कल्पना लोक’ भन्दै काउत्स्कीमाथि व्यङ्ग्य गर्न थाल्नुभयो । एकएक पाइला गरेर काउत्स्कीको राष्ट्रिय अहङ्कारवाद उदाङ्गिँदै गयो ।
मार्च १९१४ मा फ्रीवर्गमा रोजाले जर्मनी सेनामा सिपाहीहरूलाई अफिसरहरूले दुव्र्यवहार गरेको बारे भाषण दिनुभयो । तर, युद्धमन्त्रीले त्यसलाई सेनाको अपमान भएको सम्झ्यो र मुद्दा चल्यो । अनेक बयान र छानबिनपछि रोजा सही ठहरिनुभयो ।
२९ जून सन् १९१४ को दिन बर्लिनमा मुद्दाको सुनुवाइमा रोजाले सा¥है सशक्त बयान दिनुभयो तर अदालतले फैसला सुनाएन र मुलतबिमा राख्यो । केही पत्रपत्रिकाहरूले सैनिक अफिसरहरूको भ्रष्टाचारको समाचारहरू छापे । त्यसकारण, ३ जुलाईको दिन पनि अदालतले रोजाको मुद्दाको फैसला सुनाएन† केही समयपछि उहाँलाई एक वर्षको जेल सजाय सुनायो ।
४ अगस्ट सन् १९१४ मा पश्चिमी युरोपका सामाजिक जनवादी दलहरूले आ–आफ्ना साम्राज्यवादी सरकारहरूको समर्थन गर्न थाले । जर्मनी, अस्ट्रिया, फ्रान्स र रुसी जारको सेना अगाडि बढे । जर्मनीको संसद्मा सरकारले ‘आफ्नो मातृभूमिको रक्षा’ को निम्ति युद्ध ऋण उठाउन मतदान गरायो । एकसत्न्दा बढी सांसदहरूले त्यसको पक्षमा मतदान गरे ।
त्यस्तै, सर्वहारा अन्तर्राष्ट्रवादको सिद्धान्तविपरीत फ्रान्स र बेलायतका सामाजिक जनवादी पार्टीहरूले आ–आफ्ना साम्राज्यवादी सरकारहरूको पक्षमा मतदान गरे । तर, रुस, सर्विया, पोल्यान्ड, इटाली, बुल्गेरिया र संरा अमेरिकी सामाजिक–जनवादी दलहरूको बहुमतले राष्ट्रिय अहङ्कारवाद र देशभक्तिपूर्ण युद्धको उन्मादको पक्षमा मत दिएनन् ।
जर्मनीको सामाजिक–जनवादी दलको बहुमतले राष्ट्रिय अहङ्कारवादको पक्षमा मत दिँदा सुरुमा लेनिनले पनि गुप्तचर विभागको गलत सूचना होला भनी पत्याउनुभएन । रोजाले जर्मनीको सामाजिक–जनवादी दलमा अन्तर्राष्ट्रवाद र क्रान्तिकारी विचारको विरोधमा देखापरेको प्रवृत्ति र त्यो पार्टी भित्रभित्र कुहिसकेको अनुभव गर्नुभयो ।
रोजाले त्यस कदमको विरोधमा तत्काल गतिविधि सुरु गर्नुभयो र १० सेप्टेम्बर सन् १९१४ मा कार्ल लिब्ख्नेत, फ्रान्ज मेहरिङ्ग, क्लारा जेट्किन र रोजाले हस्ताक्षर गरेर जर्मनी समाजवादी जनवादी दलको आधिकारिक निर्णयको विरोधमा स्वीट्जरल्यान्डको एक अखबारमा वक्तव्य दिनुभयो ।
डिसेम्बर सन् १९१४ मा पुनः जर्मनीको संसद् राइखस्टागमा युद्ध ऋणबारे मतदान भयो, लिब्ख्नेत एक्लैले त्यस ऋणको विपक्षमा मतदान गरे । सन् १९१५ को वसन्तमा ‘अन्तर्राष्ट्रिय’ भन्ने एक सैद्धान्तिक पत्रिका प्रकाशित भयो, जर्मनी सरकारले त्यसमाथि प्रतिबन्ध लगायो ।
सन् १९१५ डिसेम्बर महिनामा लिब्ख्नेतले शान्तिपूर्ण विरोध जनाए र १२ जना सांसद मिलेर युद्ध ऋणको विरोधमा मतदान गरे तथा २७ जनाभन्दा बढी सांसदहरू अनुपस्थित भए । जनवरी १९१७ मा ‘स्वतन्त्र सामाजिक पार्टी’ को एक तयारी समिति गठन गरियो ।
सन् १९१६ को नयाँ वर्षको अवसरमा अन्तर्राष्ट्रिय समूहको एक दल ‘स्पार्टाकस’ को सङ्गठन विस्तार हुँदै गयो र ‘अन्तर्राष्ट्रिय सामाजिक जनवादी कार्यको अवधारणा’ प्रकाशित भयो । सो पुस्तिका पहिले लिथोबाट छापिएको थियो ।
सन् १९१६ मई महिनामा बर्लिनको केन्द्रमा ‘स्पार्टाकस’ समूहले ठुलो मई दिवसको प्रदर्शन गर्यो । १० हजार मजदुर प्रदर्शनकारीको माझ पोत्सड्याम चोकमा कार्ल लिब्ख्नेतले नारा लगाए ‘सरकार मुर्दावाद !’, ‘युद्ध मुर्दावाद !’ लिब्ख्नेत गिरफ्तार भए तथा उनको गिरफ्तारीपछि पनि प्रदर्शन घण्टौँसम्म चालु रह्यो । पक्राउपछि उनलाई ४ वर्ष एक महिनाको जेल सजाय भयो । रोजामाथि प्रहरीको चर्को निगरानी रह्यो । ४ जुलाई १९१६ मा रोजा सादा पोशाकका प्रहरीहरूबाट पक्राउ पर्नुभयो र महिला जेलमा पठाइनुभयो । युद्धको अवधिमा रोजा जम्मा ३ वर्ष ४ महिना कारागारमा रहनुभयो ।
सन् १९१८ नोभेम्बरमा स्थापना भएको अन्तर्राष्ट्रवादी समूहको स्पार्टाकस लिग स्थापना भयो र १९१८ डिसेम्बरमा जर्मनी कम्युनिस्ट पार्टीको एक समिति विधिवत स्थापना भयो ।
साभार : विश्वका क्रान्तिकारी महिलाहरू