अमेरिकाका चिकित्सक सइद नेपालबाट नारायणी तेल मगाइरहन्छन् । मैले एकचोटि मजाक गरेर सोधेकी थिएँ, “तिमी कति तेल प्रयोग गर्छौ है, कतै व्यापार त गर्दैनौ ?” उनले भनेका थिए, “हेर म प्रत्येक दुई वर्षमा हज गर्न जान्छु । त्यो बेला नाङ्गो खुट्टाले हिँड्नुपर्छ । दिनभर हिँडेपछि पैताला पोल्छ, दुख्छ । त्यतिबेला तेल मसाज गरेपछि भोलिपल्ट त दुखाइ चट हुन्छ ।”
उनको माग पूरा गर्न म सिंहदरबारको वैद्यखाना पुगिरहेँ । जब वैद्यखानामा पाइन छाड्यो, निजी वैद्यखानाबाट किनेर सइदलाई पठाउने गरेकी छु । जनतालाई रोगबाट बचाउने बुढो वैद्यखाना अहिले आफैँ थला परेको छ ।
सिंहदरबार वैद्यखानाबाट खदिरादी पनि किन्थेँ । मलार्ई कतै यात्रामा जाँदा, लामो समय बोल्नुपर्दा वा घाँटी दुखेको बेला मुखमा राखेर चुसिरहँदा बडो सञ्चो मिल्छ । मेरो ब्यागमा खदिरादी र सुठोको टुक्रा जहिले पनि भइरहन्छ । यस्ता वस्तु ओखतीका रूपमा प्रयोग गर्न सिकाउने मेरा केही आयुर्वेदिक चिकित्सक साथी नै हुन् । मैले उनीहरूबाट क्षारसूत्र नाम सुनेकी थिएँ । मेरी ७४ वर्षकी आमालाई पायल्स हुँदा कीर्तिपुर आयुर्वेद अस्पताल लगेर क्षारसूत्र पद्घतिबाट झन्डै १२ वर्षअगाडि उपचार गराएकी थिएँ ।
मैले त्यो बेलामा त्यहाँका कविराजहरूलाई भनेको थिएँ, “तपाईँहरूको यस्तो ठुलो अस्पताल छ । विशेषज्ञहरू हुनुहुन्छ तर किन यहाँ बिरामीहरू आउँदैनन्, किन यत्रो लगानीको सदुपयोग भएको छैन ?”
कविराजहरूले भन्नुभएको थियो, “के गर्नु, हामी ठुलो स्वरले बोल्न सक्दैनौँ । सरकारले पनि स्वास्थ्यको बारेमा कुरा गर्दा आधुनिक औषधिको बारेमा मात्र छलफल गर्छ । हामी त हेपिएका छौँ ।”
उहाँहरूको कुराले मलाई मन दुखेको थियो ।
नेपालमा पतञ्जलीको कति ठुलो उद्योग खोलिएको छ । रामदेव आउँदा नेपालका सरकारी कर्मचारी र मन्त्रीहरू पाउमा नै परेर ढोग्छन् र ठुलो स्वरले ‘आयुर्वेद नेपालका लागि महत्वपूर्ण छ’ भनेर भट्टयाउँछन् । तर, सिहंदरबारको वैद्यखाना, कीर्तिपुर र जिल्ला–जिल्लाका आयुर्वेदिक अस्पताल चाहिँ बेवास्तामा पर्छन् । स्वास्थ्य मन्त्रालयले कहिले पनि जनस्वास्थ्यको बारेमा छलफल गर्दा आयुर्वेदको उन्नति गर्नुपर्छ र त्यसको प्रयोग गर्नुपर्छ भन्दैन । कुनै पनि स्वास्थ्य मन्त्री कुर्सीमा बस्नेबित्तिकै नेपालीको स्वास्थ्य अवस्था सुधार्न हामी जिल्ला–जिल्ला र गाउँ–गाउँमा डाक्टर र औषधि पठाउँछौँ भनेर राग अलापिहाल्छन् । मानौँ, डाक्टर र अस्पताल हुनेबित्तिकै जनताको स्वास्थ्य राम्रो भइहाल्छ ।
गर्भवती महिलालाई फोलिक एसिड, क्याल्सियम र आइरन चक्की दिनुपर्छ भनेर भन्ने स्वास्थ्य मन्त्रालयले आयुर्वेद विज्ञानमा लेखेको र आधुनिक विज्ञानले पनि सिद्ध गरिसकेको तिल, आलास, भट्ट, ज्वानो आदिमा क्याल्सियम र आइरन पाइन्छ भन्ने कुरा बेवास्ता गर्छन् ।
नेपालमा प्रायः मन्त्री र नेताहरू गलत जीवनशैली र तनावको कारणले गर्दा मुटु–पेट–टाउको दुखेर विदेशमा ठुलो अस्पताल र काठमाडौँमा महँगो अस्पताल धाउँछन् । यो कुरा आमसञ्चारमा आएपछि ती अस्पतालको विज्ञापन सित्तैमा हुन्छ । तर, भुँडी बढेका, मधुमेह र तनावले गर्दा समस्या भएका नेतालाई आयुर्वेदिक विज्ञानको सहायताले पनि यस्ता समस्या कम गर्न सघाउ पु¥याउँछ भन्ने कहिले पनि हेक्का नै रहँदैन । उनीहरूलाई त केबल रामदेव नेपाल आएको बेला भाषण छाँट्न पाए भयो ।
मैले आयुर्वेद र परम्परागत ज्ञानबारे बोल्दा, लेख्दा कति जनाले ‘तपाईँले आयुर्वेद पढेको हो’ भनेर सोध्छन् । म भन्छु, “आयुर्वेद पढेको छैन, तर मेरी आमा र हजुरआमाबाट परम्परागत ज्ञान सिकेकी हुँ ।” निम र तितेपाती प्रयोग गरेर हजुरआमाले घाउ ठीक पार्नुहुन्थ्यो । फोहोर पानीमा खेलेर खुट्टाभरि घाउ हुँदा बेसार र तेलको मिश्रण लगाइदिनुहुन्थ्यो । मेरी हजुरआमा निरक्षर हुनुहुन्थ्यो । तर, परम्परागत ज्ञानबाट उहाँले हामीलाई ठीक पार्नुहुन्थ्यो । घाउ लाग्दा दूधमा मरीच र बेसार हालेर खुवाउनुहुन्थ्यो । आधुनिक विज्ञानले भन्छ, बेसार छालामा शोषण हुन चिल्लो चाहिन्छ । बेसार प्रयोग गर्दा अलिकता मरीच प्रयोग गर्नुपर्छ । तर, यो ज्ञान नै नभइकन पनि निरक्षर मेरी हजुरआमा र ठुलीआमा जीवनमा प्रयोग गर्नुहुन्थ्यो । निम, तुलसी, बेसार, पुदिना, असुरो, अनेक वनस्पतिको प्रयोग गर्नुहुन्थ्यो । अहिले त क्याप्सुलसमेत पाइन्छ । बजारमा महँगा वस्तुको क्याप्सुलको सट्टा खेतबारीमा सहज पाइने वस्तु प्रयोग गर्न सिकाउने काम पनि त परम्परागत ज्ञानले सिकाउँछ ।
आयुर्वेदको ज्ञानलाई महत्व दिनुको अर्थ आधुनिक ज्ञानलाई नकार्नु चाहिँ पक्कै होइन । बिफर, पोलियोजस्ता रोग निमिट्यान्न पार्न र क्यान्सर, कुष्ठरोगजस्ता समस्यामा महिलाको प्रजनन स्वास्थ्य, गर्भावस्थाका कतिपय जटिलतामा शल्यक्रिया पद्धति नै चहिन्छ ।
तर, जीवनमा स्वस्थ भएर लामो समय बाँच्न परम्परागत ज्ञान, आयुर्वेद र आधुनिक चिकित्सा दुवैले भूमिका खेल्न सक्छन् । अफसोच, यो भूमिका खेल्न सक्ने सिंहदरबार वैद्यखाना पक्षघातको बिरामीझैँ भएर बसेको छ ।