रोजा सङ्घर्षको मैदानमा
सन् १९१५ को अक्टोबरतिर रुसमा क्रान्तिको ज्वार माथि पुगिसकेको थियो । ठुल्ठुला राजनैतिक हडतालहरूले कलकारखाना, रेल , तार–टेलिफोन, हुलाक, पे्रस सारा बन्द भयो । सरकार त लुलो साबित भयो । १७ अक्टोबरको दिन जारले व्यक्तिको वास्तविक स्वतन्त्रता, विचार, भाषण, सभा र सङ्गठन गर्ने स्वतन्त्रता दिने, जनताका सबै वर्गले मत दिन पाउने र वैधानिक ड्युमा (प्रतिनिधिसभा वा संसद्) बोलाउने प्रतिज्ञा ग¥यो । २१ अक्टोबरको दिन केही राजनैतिक बन्दीहरू छोडिए तर मजदुर–किसानहरूको माग पूरा भएन, झूटो वचन दिएर जार सङ्कटबाट सास फेर्न र दमनको निम्ति नयाँ तयारी गर्न चाहन्थ्यो । तर, क्रान्ति अगाडि बढ्दै गयो । मस्कोमा डिसेम्बरमा फेरि हडताल सुरु भयो, रेल बन्द भयो र विद्रोह तथा सशस्त्र भिडन्त चर्किदै गयो । विद्रोहको आगो पोल्यान्डमा पुगिरहेको थियो । रोजा एक नक्कली पासपोर्ट लिएर पोल्यान्डतर्फ हिँड्नुभयो । बिच बाटोमा रेल अडियो । सेनाले भरिएको एक रेल राजधानी वार्सातिर गइरहेको थियो , रोजा त्यही रेलको एक कुनामा लुकेर बस्नुभयो । एकएक पाइलामा खतरा थियो, तैपनि उहाँ वार्सा पुग्नुभयो । वार्सामा रोजाको लोग्ने लियो जोगिचेस पहिलो नै पुग्नुभएको थियो । रोजा त्यहाँ पुग्दा वार्सामा फौजी कानुन लागू गरिसकिएको थियो र जहाँतहाँ सिपाहीँहरूको पहरा थियो ।
हडताल भइरहेको थियो तर मस्को विद्रोह दबाइँदै थियो र मजदुरहरूको हार हुँदै थियो । विद्रोहको लेखाजोखा गर्दै रोजाले काउत्स्कीलाई लेख्नुभयो,“यस हारको कारण प्रस्ट छ, ठुल्ठुला हडतालले मात्रै काम हुने छाँट छैन । एक सशस्त्र ठुलो विद्रोहले मात्रै फैसला मजदुरवर्गको पक्षमा हुनेछ । तर, यसको निम्ति तयारी जरुरी छ ।”
रोजा तेस्रो पटक गिरफ्तार
पोल्यान्डको मजदुर पार्टीको सङ्ख्या सन् १९०४ मा एक हजार मात्रै थियो । सन् १९०५ मा त्यो सङ्ख्या २५ हजार पुग्यो । पोली, यहुदी र जर्मनी भाषाहरूमा अखबारहरू प्रकाशित हुन थाल्यो । मजदुर सङ्गठनै बलियो थियो । सरकारले मजदुर सङ्घ र सभाहरूमाथि प्रतिबन्ध लगायो तर कारखानाहरूमा सभाहरू भइरहेका थिए । मजदुर सङ्गठनहरू बलियो हुँदै थियो र मजदुर अखबारमाथि सरकारले प्रतिबन्ध लगायो । समाजवादी–जनवादी पार्टीको मुखपत्र ‘रातो झन्डा’ दैनिकरूपमा निस्किरहेको थियो । छाप्ने काम गुप्तरूपले ठाउँ फेरिफेरि गरिन्थ्यो । ‘रातो झन्डा’ को छपाखाना जफत हुँदा पनि अखबारका सञ्चालकहरूले हातमा पेस्तोल लिएर विभिन्न प्रेसहरूमा घुस्थे र पेस्तोल सोझ्याउँदै अखबार छपाउँथे र समयमै निकाल्थे । रात–दिन पुलिसको पिछा थियो तर ज्यानको डरले छापाखानाका मालिकहरू छाप्न बाध्य थिए । बिहान सबेरै अखबार बेच्ने केटाहरू ‘रातो झन्डा’ भन्दै बेच्न सडकमा पुगिहाल्थे ।
क्रान्तिमाथि दमन सुरु भयो । हडतालहरू हुन थाले । पार्टी सदस्यहरूको गिरफ्तारी सुरु भयो, पुलिसले घरहरू घेर्दै खानतलासी लिन लागे, मुद्दा नचलाउँदै जेलको सजाय सुनाउन थालियो, पुँजीवादी पत्रिकाहरू आगोमा घिउ थप्दै थिए । पार्टीमाथि आक्रमण चर्किँदै थियो तर रोजा आत्तिनुभएन । उहाँले कारखानाका सभाहरू चालु राख्ने, फौजी छाउनीमा प्रचार कार्य गर्दै जाने, अखबार, पर्चा र पुस्तिकाहरू निकाल्ने काम गर्दै जानुभयो । सँगसँगै सङ्गठन गर्ने काम पनि गर्दै जानुहुन्थ्यो । सङ्कटको बेलामा उहाँ अज्ञात प्रश्नहरूको मस्तिष्कले सदा फूर्तिसाथ काम गरिरहन्थ्यो ।
पुलिस, गुप्ती र सेना रोजाको काम कारबाहीबाट आछुआछु भइरहेका थिए । खोजबिन मिहीन र नदेखिने हुँदै गयो । तर, रोजाले तिनीहरूलाई छल्दै स्थितिलाई अन्तसम्म आफ्नो पक्षमा फेर्न खोजिरहनुहुन्थ्यो । तीन महिनासम्म यस्तो लुकामारीको सङ्घर्ष चल्दै गयो । सन् १९१६ मार्च ४ को दिन रोजा आफ्नो लोग्ने लियो जोगिचेससँगै गिरफ्तार हुनुभयो । उहाँहरूले आफनो नाम फेर्नुभएको थियो ।
पुलिसले एक हप्तासम्म उहाँहरूबारे छानबिन गर्दै गयो । गिरफ्तार व्यक्तिहरू चिन्न सकेको थिएन । एक हप्तापछि पुलिसले रोजाकी बहिनीसँग रोजाको एक तस्विर भेटायो । तैपनि जोगिचेसलाई भने चिन्न र यकिन गर्न सकेन । तीन महिनापछि बल्ल पुलिस जोगिचेसबारे पत्ता लगाउन सफल भयो । यसप्रकार रोजा तेस्रोपटक गिरफ्तार हुनुभयो ।
रोजाको जेल जीवन
रोजा वार्साको नगर भवन (सभा भवन) मा थुनिनुभयो । त्यहाँ सबै प्रकारका अपराधी, बहुला र राजबन्दीहरूसँग राखिएका थिए । कोठाहरूमा बन्दीहरूलाई गुन्द्रुक कोचेजस्तै कोचेर राखिएको थियो । चर्पी गन्हाएर बस्नै नहुने थियो । रोजाको कोठासँगै थुप्रै बेश्याहरू पनि थुनिएका थिए । ११ अप्रिलको दिन रोजा वार्साको किल्लामा लगिनुभयो ।
जेलको बन्दोबस्त सा¥है खराब भएको हुनाले तीन महिनाभित्रै रोजाको स्वास्थ्य खराब हुँदै थियो । यसकारण, उहाँले जेलको खराब बन्दोबस्तको विरोधमा अनसन गर्नुभयो । एक हप्ताको अनसनपछि उहाँ झन्झन् निर्बलियो हुँदै जानुभयो । रोजाको भाइलाई भेट्न दिँदा दुवैलाई अलग–अलग पिँजडामा राखिएको थियो । आफ्नो भाइ देखा नपरेको हुनाले रोजाले भाइ, तिमी कहाँ छौ भनेर बोलाउनुभयो । भाइले “दिदी तपार्इँ कहाँ हुनुहुन्छ” भनेर रुँदै जवाफ दिएका थिए । रोजालाई यस्ता अनेकौँ मानसिक कष्टहरू दिए पनि उहाँ शत्रुको अगाडि झुक्नुभएन र सबै दुःख, कष्ट र अपमान सँगै जुझ्दै अगाडि बढ्नुभयो ।
रोजालाई बाहिरको सम्पर्कबाट टाढा राख्न जेल अधिकारीहरूले पर्खालमाथि पर्खाल उभ्याइदिएका थिए । उहाँले जेल अधिकारीहरूको अत्याचारको विरोधमा पनि सङ्घर्ष गर्दै जानुभयो र भित्रैबाट पार्टी साथीहरूसँग छलफल र निर्देशनको चाँजोपाँजो पनि मिलाउँदै जानुभयो । राति अरु सबै बन्दीहरू सुत्थे† उहाँ राति ९ बजेदेखि २ बजेसम्म पार्टी अखबारको निम्ति लेखहरू लेख्नुहुन्थ्यो । बाहिर कामको निराशापूर्ण समाचारहरू सुनेर उहाँ भन्नुहुन्थ्यो, “ओहो ¤ कस्तो गोलमाल ¤ निर्णय र शक्तिको कस्तो अभाव ? कुनै प्रकारले म बाहिर जान्छु र तिनीहरूलाई उठाउँछु, यसको निम्ति जुनसुकै दण्ड भोग्नुपरोस् ।”
उहाँको स्वास्थ्य खराब हुँदै गयो । डाक्टरको भनाइअनुसार उहाँमा रगतको कमी र स्नायुको कमजोरी थियो । उहाँमा पेटको पनि खराबी थियो । आफ्नो नागरिकलाई जेलबाट छुटाउन जर्मनीको समाजवादी–प्रजातान्त्रिक पार्टीले रुसमाथि दबाब दिन आफ्नो सरकारलाई बाध्य गराउँदै थियो । तर, रोजा जर्मन सरकारको कुनै पनि सहानुभूति लिन चाहनुहुन्नथ्यो ।
पार्टीको ‘युद्ध विभाग’ ले गुप्तीहरूलाई रोजाको जीवन खतरामा भएको कुरो प्रचार ग¥यो । रोजालाई केही भयो भने त्यसको बदला लिने धम्की पनि दियो । ठुल्ठुला अफिसरहरूले घुस पनि खाए र आखिर डाक्टरकै सल्लाहअनुसार रुसी सरकारले २८ जूनको दिन रोजालाई ३ हजार रुबल जमानी लिएर छाडिदिए । रोजालाई जल–चिकित्साको आवश्यकता छ र खानाको राम्रो प्रबन्ध चाहिन्छ भन्ने डाक्टरको सिफारिस थियो ।
रोजा फिनल्यान्ड र लन्डनमा
वार्सा जेलबाट छुटिसकेपछि रोजा पिटसवर्ग (आजको लेनिनग्राड) जानुभयो । पिटसवर्गबाट उहाँ फिनल्यान्ड पुग्नुभयो । त्यहाँ अरु पनि राजनैतिक बन्दीहरू थिए र उहाँको सबैसँग भेटघाट भयो । त्यही उहाँले ‘व्यापक हडताल, पार्टी र मजदुर सङ्घ’ भन्ने किताब लेख्नुभयो ।
रुस र जर्मनीको पुलिसले उहाँलाई फेरि गिरफ्तार गर्न योजना बनाइरहेका थिए । जेनामा भएको पार्टी महाधिवेशनमा उहाँले दिनुभएको भाषणलाई लिएर पुलिस राजकाजको मुद्दा चलाउने तर्खरमा थियो । रोजा र लियो जोगिचेसलाई सशस्त्र विद्रोह गरेर रुसी सरकार पल्टाउने र पोल्यान्ड स्वतन्त्र गर्ने आरोप लगाइयो ।
सन् १९१७ को जनवरी महिनामा उहाँहरूमाथि मुद्दा चल्यो । रोजाले सैनिक अदालतमा हाजिर हुन अस्वीकार गरिदिनुभयो । लियो जोगिचेसलाई अदालतमा हाजिर गराइयो । अदालतले उहाँलाई ‘तिमी’ शब्द प्रयोग ग¥यो । दियो जोगिचेस र उहाँको वकिलले अदालतको त्यस शब्दको प्रयोगको विरोध गर्नुभयो । लियोलाई मध्यम वर्गको परिवारको मानेको हुनाले अदालतले त्यस शब्दलाई फिर्ता लिन मानेन । लियोले पनि अदालतको कारबाहीमा भाग लिन अस्वीकार गर्नुभयो । तर, अदालतले एकतर्फी फैसला ग¥यो, लियोलाई ८ वर्षको कडा सजाय सुनायो । अप्रिलतिर उहाँ साइबेरियाको कालापानी पठाइनुभयो । लियो जोगिचेस एक पुलिससहित कैदबाट भाग्न सफल हुनुभयो । रोजा पनि अदालतमा हाजिर हुनुभएको भए उहाँ पनि त्यही सजायमा पर्नुहुन्थ्यो । तर, रोजा बच्नुभयो ।
सन् १९०५ को रुसी क्रान्ति असफल भएपछि रुस र जर्मनी पार्टीहरूमा मतभेद चकिँदै गयो । बोल्शेभिकहरू ड्युमालाई क्रान्तिको हितमा सङ्घर्ष गर्ने एक मञ्चको रूपमा प्रयोग गर्न चाहन्थे । मेन्शेभिकहरू त्यसलाई ऐन–कानुन बनाउने संस्था र जार सरकारमाथि लगाम लगाउने संस्थाको रूपमा मान्थे तथा तिनीहरू संवैधानिक प्रजातन्त्रवादीहरू अर्थात् वैधानिक राजतन्त्रवादीहरूसँग चुनाव सम्झौता गर्न चाहन्थे । बहुमत पार्टी सङ्गठनहरूले मेन्शेभिक केन्द्रीय समिति नीतिको विरोध गरे र बोल्शेभिकहरूले पार्टी महाधिवेशनको माग गरे ।
सन् १९०७ को मईमा लन्डनमा रुसी समाजवादी प्रजातान्त्रिक मजदुर पार्टीको पाँचौँ महाधिवेशन भयो त्यसबेला सबै मिलाएर पार्टीको डेढ लाख सदस्य सङ्ख्या थियो । ३३६ प्रतिनिधिहरूमध्ये ११५ बोल्शेभिक र ९७ मेन्शेभिकहरू थिए । अरु पोल्यान्ड र लाटभियाका समाजवादी–प्रजातन्त्रवादीहरू, जातीय समाजवादी प्रजातन्त्रवादी र त्रोत्स्कीवादी सङ्गठनका प्रतिनिधिहरू पनि थिए । रोजाले आफ्नो दुई भाषणहरूमा मेन्शेभिको आलोचना गर्नुभयो । त्यसबेलासम्म जर्मनी पार्टीमा पुरानो उत्साह सेलाइसकेको थियो र रुसी मजदुर आनदोलनप्रतिको भावना पनि बिलाइसकेको थियो ।
जर्मनी पार्टीमा रोजा झन्डै एक्लो हुनुभयो । चारैतिर शान्तिको पक्ष र हड्तालको विरोधमा कुरा भइरहेको थियो । प्रतिक्रियावादी वकिलहरू पनि हडतालको विरोधमा कुरा भइरहेको थियो । प्रतिक्रियावादी वकिलहरू पनि हडताललाई ‘सम्झौता च्यात्ने भयङ्कर षड्यन्त्र’ भनेर गैरकानुनी काम साबित गर्न खोज्दै थिए । यस्तो गन्जागोलको अवस्थामा रोजाको व्यापक हडताल, पार्टी र मजदुर सङ्घ’ शीर्षकको पुस्तक प्रकाशित भयो ।
‘व्यापक हडताल, पार्टी र मजदुर सङ्घ’
त्यस पुस्तकमा भनिएको थियो, “रुसी क्रान्तिमा हामीले व्यापक हडताललाई विभिन्न रूपमा देख्यौँ । हामीले त्यस राजनैतिक र आर्थिक सङ्घर्षको रूप देख्यौँ र क्रान्तिको सबै अवस्थाहरूको झल्को हामीले त्यसमा पायौँ । त्यसको प्रयोग, प्रभाव र कारण लगातार बदलिरहन्छ । यस्तो लाग्थ्यो –क्रान्ति समाप्त हुँदै छ तर, अकस्मात् त्यसलाई हामी नयाँ सम्भावनाहरूसँगै देख्छौँ । फेरि सफलता सा¥है नजिकै आएको जस्तो लाग्छ तर तुरुन्तै खत्तम भएको देख्छौँ । कुनैबेला त्यसले सारा देशलाई नै मुछिदिएको हुन्थ्यो भने कहिले सानो खोल्साको रूपमा एक कुनामा कलकल र झरझर गरिरहेको देख्यौँ । कहिले त्यो ज्वालामुखीजस्तै फुट्थ्यो भने कहिले परालको आगोजस्तै हर्रर बल्दै तुरुन्तै खरानी हुन्थ्यो । राजनैतिक र आर्थिक हडताल, व्यापक हडताल र आंशिक हडताल, प्रदर्शन, लडाकु हडताल, सम्पूर्ण कल–कारखानामा व्यापक हडताल एक सहरका सबै कलकारखानाहरूको हडताल, ज्याला वा तलबको निम्ति सम्पूर्ण सङ्घर्ष र किल्ला (छेकवार) बनाएर सडकहरूमा खुला लडाइँ आदि हडतालका यी सबै रूपहरू एक अर्कोमा मिसिएका हुन्थे । कहिले किनारैकिनार भएर बहन्थे, कहिले एक अर्कोलाई उछिन्थे । बरोबर एक अर्कोमा मिल्थ्यो, कहिले अर्कोसित बहन्थ्यो, कहिले भूमरी बनेर फनफनी घुम्थ्यो । त्यसमा एक गजबको धारा प्रवाह देखिन्थ्यो ।
हडताल क्रान्तिको सबभन्दा बलियो र ज्वरो नाप्ने चर्को नाडी हो । सन् १८९१–९३ मा बेल्जियममा मजदुरहरूको हडतालमा १ लाख २५ हजारबाट २ लाख ५१ हजार मजदुरहरूले भाग लिएका थिए । ती हडतालबाट मजदुरहरूले मत दिने अधिकार पाए र संसद्मा मजदुर प्रतिनिधिहरू पुग्ने बाटो खोलिदियो । सन् १९१२ मा लेबर (श्रमिक) पार्टीले व्यापक हडतालको आह्वान ग¥यो, त्यसमा ३ लाख मजदुरहरूले भाग लिएका थिए । तर, फितला (उदारवादी) धोकेबाजहरूले गर्दा बृहत् हडताल असफल भयो । त्यस असफलताको सम्बन्धमा रोजाले भन्नुभयो, “व्यापक हडताललाई कठोर अनुशासनमा राख्नु त्यस्तै हो, जस्तो बन्दुक लिएर फौजी प्रदर्शन गर्नु । आफ्नो हात खल्तीमा घुसारी राख, त्यसलाई फिटिक्क यताउता नहल्लाउनु भन्ने नारालाई कुन्नि कसले ध्यान दिन्छ ? सन् १८९१ –९३ को हडताल सफल हुनुको कारण के थियो भने माग पूरा गरिएन, अस्थिरताले क्रान्तिकारी रूप लिनेछ भन्ने विश्वास बेल्जियमको सरकारलाई भयो । यदि मजदुर आन्दोलनका नेताहरूले पहिले नै आफ्नो गोलीलाई बन्दुकबाट झिकेर नफ्याँकेका भए, फौजी प्रदर्शनलाई धार्मिक जुलुस नबनाइएको भए र व्यापक हडतालको आकाशलाई हल्लाउने गर्जनलाई इच्छा र निवेदनको रूपमा परिणत नगरिएको भए यसपालि पनि बिनाहिंसाले नै सफलता प्राप्त हुने थियो ।
समाजवादी पार्टी मजदुरहरूको सबभन्दा सुझबुझको र वर्गीयरूपले ब्युँझेको भागबाट बनेको हुन्छ । त्यो पार्टी हातमाथि हात राखेर ‘क्रान्तिकारी परिस्थिति’ लाई कहिले आउँछ भनेर पर्खिरहन्न । ‘ठुलो हडताल आफै आकाशबाट तल झर्दैन । …ठुलो हडतालको बेलामा त्यसलाई उद्देश्य र बाटो देखाउनु नै पार्टी नेतृत्वको सबभन्दा महत्वपूर्ण काम हो पार्टी नेतृत्वले सङ्घर्षको हरेक क्षणमा मजदुरवर्गको सारा सक्रिय शक्तिहरू जोडतोडले काममा ल्याउन र त्यसमा पार्टी र समाजवादी सिद्धान्तको युद्ध प्रवृत्ति ल्याउने राजनैतिक रणकौशल उपयोग गर्नुपर्छ । …. पार्टीले दिन मिल्दो (तर्कसङ्गत), दृढ प्रतिज्ञा र अगाडि बढेको रणकौशलले मजदुरहरूमा आत्म–विश्वासलाई जगाइ दिनेछ, तिनीहरूको युद्ध प्रवृत्ति बढ्नेछ । यसको ठीक उल्टो यदि पार्टी हिचकिच्याहतमा प¥यो भने, मजदुरहरूको बलमा भर परेन भने मजदुरहरूमा अन्योलको भावना फैलिनेछ र आखिर त्यसको अन्त हुनु अनिवार्य छ ।”
–विश्वका क्रान्तिकारी महिलाहरूबाट