सन् १९६१ मा गोवा पोर्चुगाली शासनबाट मुक्त भयो । त्यसभन्दा अघि भारतको गोवाका मानिस पोर्चुगाली साम्राज्यका कुनै पनि अरू उपनिवेशमा बिनारोकतोक जानसक्थे । पोर्चुगलले उपनिवेश बनाएका अफ्रिकी राज्यहरूजस्तै मोजाम्बिक, अङ्गोला र केप भेर्देमा पनि उनीहरू आवतजावत गर्नसक्थे । यस्तो अवसरलाई गोवाका केही आप्रवासी र तिनका केटाकेटीले सुखपूर्ण जीवनयापनको लागि प्रयोग गरे भने कसैकसैले आफू जुन देशमा पुगे, त्यहीँ देशको उपनिवेशवादविरोधी स्वतन्त्रता आन्दोलनमा भाग लिएका थिए ।
त्यस्तै एकजना क्रान्तिकारीको नाम हो सीता बायस । उनका आमा–बुबा रोजगारीको सिलसिलामा भारतको गोवाबाट अफ्रिकी देश अङ्गोला पुगेका थिए । अङ्गोलामा नै सीताको जन्म भएको थियो । आउनुहोस्, इतिहासका पानामा झण्डै छाया परिसकेकी बहादुर, विद्रोही क्रान्तिकारी गोवाकी छोरीको वियोगान्त कथा सुनौँ ।
विद्यार्थी नेतृको रूपमा राजनीतिक गतिविधिमा सामेल भएकी थिइन्–सीता । त्यतिबेलादेखि सन् १९७७ को अगस्ट १ मा जीवनबाट सधैँको लागि विश्राम नगर्दासम्म राजनीतिक सक्रियतामा उनले कहिल्यै आराम गरिनन् । “पहिला उनका दुवै हातमा गोली हानियो, अनि दुवै खुट्टामा । त्यसपछि उनलाई पुर्ने प्रयोजनले खनिएको खाल्डोमा उनी खसिन् । अनि उनीमाथि हानिएको गोलीले उनको प्राणपखेरु उड्यो । यसप्रकार २६ वर्षकी एकजना चिकित्सकले जीवनबाट बिदा लिइन् । बायसको जीवनी लेखेका पोर्चुगाली–अङ्गोली पत्रकार लिओनर फिग्युरेदोले लेखेका छन् ।
सन् १९७८ को मार्चमा उनका दाजु अल्देमर बायसको हत्या भयो । उनी इलेक्ट्रिकल इन्जिनियर थिए । अल्देमर राजनीतिक गतिविधिमा संलग्न थिएनन् । तथापि उनको बिनाकुनै कानुनी सुनुवाइ हत्या गरियो । कारण एउटै थियो, उनको थर बहिनी सीता बायससँग मिल्नु । जीवनी लेखक फिग्युरेदोका अनुसार सीता र अल्देमरको हत्याबारे उनीहरूको परिवारलाई कहिल्यै कुनै खबर गरिएन । वर्षाैँसम्म उनीहरूका आमाबुबा आफ्ना ‘बेपत्ता’ सन्तानको खोजीमा कहिले कहाँ कहिले कहाँ भौतारिरहे । बुढो उमेरका आमाबुबा आफ्ना छोराछोरीको खोजीमा यताउता भौतारिरहनु कम कष्टकर थिएन । उनीहरूले एम्नेस्टी इन्टरनेसनल, पोर्चुगल तथा अङ्गोल सरकार र संयुक्त राष्ट्र सङ्घीय जबरजस्ती बेपत्तासम्बन्धी कार्यसमूहको ढोका घच्घच्याए ।
इतिहासको घुम्ती
सीता बायस २६ वर्षकी थिइन् । अङ्गोला सरकारले उनीविरुद्ध सन् १९७७ को मे २७ मा भएको सत्ताविप्लवका प्रमुख योजनाकारमध्ये एकजना भएको आरोप लगायो । उनीसँगै उनका श्रीमान् जोसे भान–दुनेम पनि यो योजना पछाडि संलग्न भएको सरकारको आरोप थियो । जोसे अङ्गोला मुक्ति जनआन्दोलन (एमपीएलए) नामको राजनीतिक पार्टीका पूर्व केन्द्रीय सदस्य थिए । उनीहरूसँगै एमपीएलएका पूर्व गुरिल्ला लडाकु तथा अपदस्थ गृहमन्त्री निटो एल्भिसमाथि पनि यस्तो अभियोग लगाइएको थियो । सीता बायसले केही समय एल्भिसको कार्यालयमा सचिवको रूपमा काम गरेकी थिइन् ।
नवोदित स्वतन्त्र देश अङ्गोलाको इतिहासमा मे २७ लाई इतिहासकै महत्वपूर्ण दिन मानिन्छ । केही इतिहासका पुस्तकमा त्यो दिनलाई एमपीएलएकै एल्भिस र भान–दुनेम नेतृत्वको समूहले सत्ताविप्लवको प्रयास गरेको भनी व्याख्या गरिएका छन् । तर, केही स्रोतले भने यसमा विमति राख्दै क्रान्तिकारीमाथि दमन गर्न रचिएको चालबाजीको रूपमा सो घटनालाई लिइएको छ । एमपीएलएबाट टुक्रिएको सो समूहले अङ्गोलाको अलग नीतिको वकालत गरेको थियो ।
उनीहरूले सोभियत सङ्घ पक्षधर बलियो विदेशनीतिको वकालत गरेका थिए । तर, राष्ट्रपति अगस्टिनो निटो सरकार भने असंलग्न नीतिका पक्षपाती थिए । राष्ट्रपति अङ्गोलामा पश्चिमा लगानी भित्याउने र उदार नागरिकता कानुनको पक्षमा थिए ।
मे २७ को दिन भएको विद्रोहले केही घण्टा सरकारको रेडियोमा कब्जा जमाएको थियो । तर, अङ्गोलाको मुक्ति सेनाले सो विद्रोहलाई दबाएको थियो । अङ्गोलाको सेनालाई त्यहीं तैनाथ क्युवाली सेना र ट्याङ्कले पनि सघाएको थियो ।
सत्य जे भए पनि, त्यो विद्रोहमा परी सत्तासीन एमपीएलएकै सातजना उच्चपदस्थ सदस्यहरू मारिएका थिए । इतिहासकारहरूका अनुसार सो घटनाको प्रतिक्रियामा निटो सरकारले लगातार दुई वर्षसम्म चर्को दमनचक्र चलाएको थियो । त्यस्ता दमनका घटना भने अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा मुस्किलले मात्र आएका थिए । सरकारले कति मानिस गिरफ्तार गरेको थियो, त्यसको कुनै हिसाबकिताब नै थिएन । कसै–कसैले दस हजार मानिस गिरफ्तारीमा परेको बताए । गिरफ्तार गरिएका मानिस शिविरमा पुनर्शिक्षाको लागि राखिएका थिए अथवा बेपत्ता पारिएका थिए । सरकारी दमनका कारण दशकौँसम्म अङ्गोलामा सत्तासँग भिन्न मत राख्न एक प्रकारले डरको अवस्था बनेको थियो ।
बायस अन्तर्राष्ट्रिय शक्ति राजनीतिको यो चङ्गुलमा कसरी परिन् ? गठन भएर १७ महिनामात्र भएको निटो सरकारमाथि प्रश्न गर्ने खेमामा सामेल हुने निर्णय उनले कसरी गरिन् ?
फिग्युरेदोले लेखेको बायसको जीवनीमा यी र यस्ता धेरै प्रश्नको जवाफ दिइएको छ । उक्त पुस्तकलाई हालै डीए स्मिथले अङ्ग्रेजी भाषामा अनुवाद गरेका छन् । ‘सीता बायसः ए रिभोल्युसनरी अन्टिल डेथ’ (सीता बायसः जीवनको अन्तिम श्वाससम्म क्रान्तिकारी) नाम दिइएको सो पुस्तकले तेलमा धनी काबिलान्दा क्षेत्रमा उनको बाल्यकाल कसरी बितेको थियो भन्नेदेखि कसरी उनी विद्यार्थी राजनीतिमा सामेल भइन् भन्नेसम्मका कुरा व्याख्या गरिएको छ । काबिलान्दामा उनका बुबा काम गर्थे । अङ्गोलाको जटिल भूराजनीतिक परिस्थितिमा उनलाई राजनीतितिर डो¥याउने विचारधारा के थियो भन्ने विषयमा पुस्तकमा चर्चा गरिएको छ ।
राजनीतिमा प्रवेश
सन् १९६८–६९ मा ल्वन्डास्थित मेडिकल कलेजमा अध्ययन थाल्दैबाट बायसले विद्यार्थी राजनीतिमा प्रवेश गरेकी थिइन् । त्यत्तिबेलाको राजनीतिक अवस्था अस्थिर खालको थियो । अङ्गोलाका विद्यार्थीहरू सन् १९६८ को मेमा फ्रान्समा भएको आन्दोलनबाट प्रभावित थिए । उपनिवेशवादविरोधी उभारले अङ्गोलाका विश्वविद्यालयहरूमा पनि उत्साहको बहार ल्याइरहेको थियो । पोर्चुगलको उपनिवेशवादी शासनबाट मुक्तिको निम्ति एमपीएलएले गरिरहेको आन्दोलनलाई क्याम्पस क्याम्पसमा विद्यार्थीहरूले समर्थन गरिरहेका थिए । ’राज्य रक्षाको लागि अन्तर्राष्ट्रिय प्रहरी’ नाम दिइएको पोर्चुगाली प्रहरीले भूमिगत सङ्गठनमा आबद्ध धेरै विद्यार्थीलाई गिरफ्तार गरे । ल्वन्डाको मेडिकल कलेजबाट पनि धेरै विद्यार्थीलाई गिरफ्तार गरिएको थियो ।
त्यतिबेलाका धेरै क्रान्तिकारी विद्यार्थीहरूझैँ बायसको सम्पर्क पनि पोर्चुगाली कम्युनिस्ट पार्टीसँग थियो । सन् १९७१ मा उनी लिस्वन मेडिकल कलेजमा पढ्न गइन् । त्यहाँ पनि उनी विद्यार्थी राजनीतिमा संलग्न भइन् । अफ्रिका र एसियाली उपनिवेशमा फैलिएको स्वतन्त्रता आन्दोलन दबाउन विश्वविद्यालय र कलेजहरूबाट विद्यार्थीहरूलाई पठाएकोमा त्यहाँका विद्यार्थी आक्रोशित थिए ।
आफ्ना समर्थकहरूबिच बायस निकै जुझारु, आकर्षक र निडर थिइन् । आलोचकको आँखामा उनी लापरबाही, भावुक र महत्वाकाङ्क्षी थिइन् । उनको जुझारु भावना र साङ्गठनिक कौशलका कारण उनी कम्युनिस्ट विद्यार्थी सङ्गठनको दोस्रो उच्च पदको जिम्मेवारीमा थिइन् । आन्दोलनको मोर्चामा उनी उपनिवेशवादविरुद्ध आकस्मिक बैठक र पर्चा छर्ने आदि काम गर्थिन् । उनी धेरैपटक क्रुर पोर्चुगाली प्रहरीको पञ्जामा पर्नबाट जोगिएकी थिइन् । पोर्चुगाली प्रहरी उनका हरेक गतिविधिको रेकर्ड राख्थे । उनी तत्कालीन सोभियत सङ्घमा आयोजित युवा सम्मेलनमा सहभागी बनेकी थिइन् । त्यही भएकाले उनमा सोभियत समाजवादीप्रति बलियो विश्वास थियो ।
सन् १९७४ को अप्रिलमा पोर्चुगलमा क्रान्ति भयो । त्यो आन्दोलनले पोर्चुगलमा तानाशाही शासनको अन्त्य ग¥यो । बायसलगायत उनीसँग वैचारिक निकटता राख्नेहरू अङ्गोला फर्के । अङ्गोला फर्केलगत्तै उनले चिकित्सकीय अभ्यास थालिन् । तर, उनको ध्यान मूलतः राजनीतिक सङ्गठन विस्तारमा बढी केन्द्रित थियो ।
सन् १९७५ मा अङ्गोलालाई स्वतन्त्र घोषणा गरियो । तर, तेल र हिराको स्रोतको धनी देश अङ्गोलालगत्तै गृहयुद्धमा फस्यो । एकातिर एमपीएलए थियो जसलाई सोभियत सङ्घ र क्युवाले समर्थन गरेका थिए भने अर्कोतिर संरा अमेरिकी गुप्तचर संस्था सीआईए र दक्षिण अफ्रिकाको रङ्गभेदी सरकारको सहयोग प्राप्त अङ्गोला पूर्ण मुक्तिको लागि राष्ट्रिय युनियन (युनिटा) तथा अङ्गोला मुक्ति राष्ट्रिय मोर्चा थिए । शीतयुद्ध उत्कर्षमा थियो । संरा अमेरिका र सोभियत सङ्घबिच राष्ट्रपति निटोलाई आफ्नो प्रभावमा ल्याउने प्रतिस्पर्धा भइरहेको थियो । निटो भने असंलग्नताको पक्षमा थिए ।
फिग्युरेदोले बायसका परिवारजन, मित्र र आलोचकहरूसँगका कुराकानी र अन्य दस्ताबेजका आधारमा जीवनी लेखेका हुन् । उनलाई एकजना निडर, सिद्धान्तनिष्ठ युवा महिला, प्रतिबद्ध कम्युनिस्ट र जीवनको अन्तिम समयसम्म राजनीति र विचारधाराप्रति दृढ योद्धाको रूपमा जीवनीमा चित्रण गरिएको छ । एकजना योद्धाको रूपमा आफूले विश्वास गरेको विचारधारामा उनी प्रतिबद्ध थिइन् तर त्यसले उनका मातापिता र परिवारलाई भने दुःख पनि पु¥यायो ।
“सीता अङ्गोलामा क्रान्ति गर्न अघि बढिन् । उनको निटो एल्भिस र जोसे भान–दुनेमसँग निकै गहिरो र गोप्य सम्पर्क थियो । तीमध्ये जोसे उनका जीवनसाथी थिए र वैचारिकरूपमा पनि निकट थिए । उनीहरूको टोलीमा विशेषतः क्रान्तिकारी माक्र्सवादी–लेनिनवादीहरू नै बढी थिए ।”, जीवनीमा लेखिएको छ ।
“अङ्गोलामा अरू पनि वामपन्थी समूह थिए । उनीहरूलाई सत्तासीन एमपीएलएले विखण्डनकारी भन्थ्यो । एमपीएलएमाथि उनीहरूले गरेको आलोचनाले आन्दोलनलाई कमजोर बनाउने मुख्य नेता समूहको भनाइ थियो । तर, निटो एल्भिस, सीता बायस र जोसे भान–दुनेम आफूलाई माक्र्सवादी–लेनिनवादी सिद्धान्तप्रति दृढ क्रान्तिकारी बताउँथे ।
अर्कोतिर बायस र उनको समूहमाथि पनि आलोचना हुने गरेको थियो । अङ्गोलाको मुक्ति आन्दोलनअन्तर्गत गुरिल्ला युद्धमा उनीहरूको कुनै प्रत्यक्ष सहभागिता नभए पनि विदेशी शक्तिको पक्षमा त्यो खेमाले काम गर्ने गरेको भनी आलोचना हुने गरेको थियो । राष्ट्रपति निटो र उनको सत्तासीन पार्टी एमपीएलएले कुनै पनि देशको पछि नलागी आफ्नै देशको हितमा आर्थिक र विदेश नीति बनाएर अघि बढेको सीताका आलोचकहरूको भनाइ थियो ।
सन् १९७७ को मे २७ को सत्ताविप्लवपछि नेताहरूबिच विभाजन गहिरो बन्दै गयो । बायसका जीवनी लेखकका अनुसार सीताले आफ्ना हत्याराको वीरतापूर्वक सामना गरेकी थिइन् । उनले आँखामा पट्टी बाँध्न मानेकी थिइनन् र अन्तिम समयसम्म क्षमा माग्न तयार भएकी थिइनन् । उनको हत्या हुँदा उनको तीन महिनाको छोरो थियो । चे ग्वेभाराबाट प्रभावित भएर उनले आफ्नो छोरोको उपनाम चे राखेकी थिइन् ।
बायसको जीवनकथामा कहीँकतै केही स्पष्ट हुन बाँकी कुरा पनि छन् । “सीतालाई तत्कालीन समयको विशिष्टतामा मात्र बुझ्न सकिन्छ । … सीता बायस र उनको हत्या हुनुको कारण २७ मेबारे अझै पनि अनुत्तरित केही प्रश्न छन् । के वास्तवमा त्यो दिन सत्ताविप्लव नै गर्न खोजिएको थियो ? के त्यो प्रतिसत्ताविप्लव थियो ? त्यो शक्ति सङ्घर्ष कसरी अघि बढेको थियो भन्नेबारे अझै पनि अस्पष्टता छन् ।”, जीवनी लेखकले उपसंहारमा लेखेका छन् ।
सन् १९९४ मा संयुक्त राष्ट्र सङ्घको समितिले बायस परिवारलाई एउटा पत्र पठाएर “सीता विद्रोहको हिस्सा भएको, अरूलाई जस्तै उनलाई कारागारमा राखिएको, न्यायिक छानबिन गरिएको, विभिन्न अपराधको लागि दोषी भेटिएको र गोली हानी मारिएको, उनलाई जस्तै जोसे भान–दुनेम र अल्देमर बायसको पनि हत्या गरिएको अङ्गोला सरकारले जानकारी दिएको खबर गरेको थियो ।
सन् २००१ मा ल्वन्डामा ‘मे २७ समिति’ गठन गरिएको थियो । मे २७ को घटनासम्बन्धी सत्यतथ्य फेला पार्न सो आयोग गठन गरिएको थियो । सन् २००४ मा पोर्चुगलमा पनि ‘मे २७ समिति’ गठन भएको थियो । सो आयोगमा एदेमर र सीताको भाइ एडगर बायसलाई पनि सदस्य राखिएको थियो । सो समितिले हरेक वर्ष सो घटनाबारे चर्चा गर्दै न्याय खोज्ने काम गर्दै आएको छ । साथै सीतालगायत मे २७ को घटनामा मारिएकाहरूको सम्झना सधैँ जीवित राख्ने उनीहरूले प्रतिबद्धता जनाउँदै आएका छन् । उनीहरू एकदिन सो घटनाबारे सत्य निरूपण आयोग गठन गर्ने आशा व्यक्त गर्छन् । साथै सीतालगायत योद्धालाई नबिर्सेर सधैँ सम्झनामा जीवन्त राख्न यो समितिले काम गरिरहेको छ ।
साभार : विश्वका क्रान्तिकारी महिलाहरू