धार्मिक ग्रन्थहरूमा विज्ञान निकाल्नु आजभोलि फेसन बनेको छ । खासगरी सोसल मिडियामा सफल हुने यो गजबको काइदा बनेको छ । सामाजिक सञ्जालका कन्टेन्ट क्रियटरहरूलाई तपाईँ धार्मिक ग्रन्थहरूबाट विज्ञान झिकिरहेको देख्न सक्नुहुन्छ । कतिपय क्रियटरले आफ्ना धार्मिक मान्यता तथा कर्मकाण्डमा धेरै विज्ञान भरिएको छ भनी गर्व गरिरहेको पाइन्छ ।
कतिपय धर्मगुरु र धार्मिक कथावाचक बाबा (र माता) हरूले आ–आफ्ना धर्मग्रन्थलाई वैज्ञानिक साबित गर्न खोजिरहेको भेटिन्छ । यो प्रवृत्ति केवल हिन्दू धर्ममा देखिएको होइन । संसारका सबैजसो धर्ममा यस्तो अभ्यास चलिरहेको छ । यिनीहरू आफ्नो धर्ममा विज्ञान छ त भन्छन् नै, कहिलेकाहीँ आफ्नो धर्मलाई विज्ञानभन्दा पनि उन्नत साबित गर्न कसिन्छन् । यहाँ हिन्दू धर्मग्रन्थमा गरिने यस्तो विज्ञानको दाबीबारे चर्चा गरिनेछ ।
हिन्दू वाङ्मयमा वेदलाई सबैभन्दा उच्च स्थान (प्राधिकार) प्राप्त छ । अन्य सबै हिन्दू धर्मग्रन्थले वेदलाई नै अन्तिम प्रमाण मान्छन् । तर, अन्य हिन्दू धर्मग्रन्थलाई देखाएर अन्तिम सत्यको दाबी गरिन्छ । वेदबाहेक पुराण र स्मृतिहरूलाई पनि प्रमाणको रूपमा अघि सारिन्छ । तर, यहाँ हामी वैदिक मन्त्रहरूमा गरिने विज्ञानको दाबीमा सीमित रहनेछौँ । यी दाबीहरूमा कत्तिको सचाइ छ भनी खोतल्ने प्रयास गर्नेछौँ । साँच्चै वेदमा कति छ विज्ञान ?
स्वामी दयानन्दको दाबी
चर्चा सुरु गर्नुअघि बताइहालौँ । हाम्रो उद्देश्य कुनै धर्मविशेषलाई तुच्छ देखाउनु पटक्कै होइन† बरु तथ्य जाँच गर्नु हो† वैज्ञानिक मिजासलाई मलजल गर्ने प्रयास हो । कुनै कुरामा आँखा चिम्लेर विश्वास नगर्नु नै वैज्ञानिक मिजास हो । धर्मग्रन्थले दाबी गरेको नै किन नहोस्, आँखा चिम्लेर विश्वास गर्नु वैज्ञानिक बानी होइन । यो रचना तयार पार्न धेरै धर्मग्रन्थबाट सन्दर्भ लिइएको छ । यहाँले ती ग्रन्थ पढेर यहाँ लेखिएका कुरा सही भए–नभएको जाँच्न सक्नुहुन्छ ।
वेदमा विज्ञानको दाबी गर्ने धेरै व्यक्तित्व छन् । तीमध्ये सबैभन्दा पहिलो नाम स्वामी दयानन्द (सरस्वती) को आउँछ । दयानन्दजीले नै आर्य समाजको स्थापना गर्नुभएको थियो । उहाँ संस्कृत भाषाका ज्ञाता हुनुहुन्थ्यो । उहाँले धेरै वैदिक ग्रन्थको भाष्य पनि लेख्नुभएको थियो । यिनै भाष्यबाट उहाँले केही वैदिक मन्त्रबाट केही वैज्ञानिक जानकारी निकाल्नुभएको थियो । त्यसअघि अरू कसैले त्यो काम गरेको थिएन । उहाँले निकाल्नुभएको एउटा नियम थियो – सूर्यकेन्द्रित सिद्धान्त (पृथ्वीले सूर्यको चक्कर लगाउँछ भन्ने नियम) ।
धर्तीले सूर्यको परिक्रमा गर्छ भन्ने कुरा धेरै पछि पत्ता लागेको हो । त्यसअघि संसारभरि पृथ्वीकेन्द्रित सिद्धान्त (सूर्यले पृथ्वीको चक्कर लगाउँछ भन्ने नियम) मा विश्वास गरिन्थ्यो । तर, १६ औँ शताब्दीको सुरुतिर वैज्ञानिक निकोलस कपर्निकसले सूर्यकेन्द्रित सिद्धान्त अघि सारे । त्यो सिद्धान्तलाई पछि अर्का वैज्ञानिक ग्यालिलियोले दुरबिनको सहाराले प्रमाणित पनि गरे । अनि मात्र पृथ्वी नै ब्रह्माण्डको केन्द्र होइन, बरु एउटा सानो ग्रह हो र अरू ग्रहले जस्तै यसले पनि सूर्यलाई चक्कर लगाउँछ भनी मान्न संसार बाध्य भयो । यसकारण, सबैजसो धर्मका पुराना सबै ग्रन्थमा यसबारे कुनै सत्यतथ्य भेटिन्न ।
यद्यपि, स्वामी दयानन्दले वेदका केही मन्त्रबाट पृथ्वीकेन्द्रित नियम सिद्ध गर्न खोज्नुभयो । ‘ऋग्वेदादिभाष्त्ूमिका’ नामक रचनाको ‘पृथिव्यादिलोकभ्रमण’ अध्यायका केही वैदिक मन्त्रको सहारा लिएर उहाँले वेदमा धर्तीले सूर्यको चक्कर लगाइरहेको उल्लेख भएको साबित गर्न खोज्नुभएको छ । यसको प्रमाण उहाँले यजुर्वेदबाट निकाल्नुभएको छ । यजुर्वेदको तेस्रो पाठका छैटौँ मन्त्र देखाउँदै उहाँले मन्त्रको अर्थ यसरी लगाउनुहुन्छ –
मन्त्र : आयं गौः पृश्नि।क्रमीदस।दन् मातरं।पुरः । पितरं।च प्रयन्त्स्व।: ।।१।।
– य.अ. ३ । मं. ६ ।।
अर्थ (भाष्य) : “गौ नाम हो पृथिवी, सूर्य, चन्द्रमा आदि लोकको । यिनीहरू सबै आआफ्ना परिधिमा अन्तरिक्षको बिचमा सदा घुमिरहेका छन् । तर, जल पृथिवीकी आमासमान छिन् किनभने पृथ्वीका परमाणु र जलका परमाणुको योगबाटै पृथिवी उत्पन्न भएको हो । बादलको जलबिच गर्भजस्तै पृथिवी सदा रहन्छ । सूर्य बाबुजस्तै हुन् र यसकारण सूर्यको चारैतिर पृथिवी घुमिरहन्छ ।”
यसै पाठमा ऋग्वेदको दशम मन्डलको ६५ औँ श्लोकको छैटौँ मन्त्रलाई देखाउँदै दयानन्दजी यसरी अर्थ लगाउनुहुन्छ –
मन्त्र : या गौर्व।र्तनिं पर्येति। निष्कृतं पयो दुह।ना व्रतनीर।वारत।: ।
सा प्र।ब्रुवाणा वरु।णाय दाशुषे। देवेभ्यो। दाशद्धविष।ा विवस्व।ते ।।२।।
– ऋ.अ. ८ । अ. २ । व. १० । मं. १ ।।
अर्थ : “जस–जसलाई ‘गौ’ नाम दिइएको छ, ती–ती लोक आ–आफ्नो बाटोमा घुम्छन् र पृथ्वीले पनि आफ्नो कक्षमा रहेर सूर्यको चारैतिर फन्को मार्छ ।”
यसरी दयानन्दजीले वेदका मन्त्र देखाउँदै हाम्रा वैदिक ऋषिहरूलाई धर्तीले सूर्यको चक्कर लगाउने कुरा थाहा थियो भनी साबित गर्न खोज्नुभएको स्पष्ट देखिन्छ । केही मानिसहरू यिनै भाष्य (अर्थ लगाइ) तिर देखाउँदै कतिसम्म दाबी गर्छन् भने आफ्नो धुरीमा घुम्नुका साथै सूर्यले तारापुञ्जको केन्द्रको चक्कर लगाउने कुरा पनि वेदमा लेखिएको छ । यसबारे पछि चर्चा गरौँला ।
पहिले धर्तीले सूर्यको चक्कर लगाउने मन्त्र जाचौँ । दयानन्दजीको भाष्य आउनुभन्दा अगाडिका भाष्यकारले यिनै मन्त्रको अर्थ कसरी लगाउँथे भनी हेरौँ । इन्टरनेटमा यजुर्वेदको उवट भाष्य पढ्न पाइन्छ । यसको हिन्दी अनुवाद डाक्टर रेखा व्यासले गर्नुभएको छ । यसमा तेस्रो अध्यायको छैटौँ मन्त्रको अर्थ हेरौँ ः
“अग्निदेव सर्वत्र भ्रमणशील र बहुरङ्गी लप्कायुक्त छन् । उनी पृथ्वी मातानिर आसनमा विराजमान छन् । यज्ञमा उनी यत्नपूर्वक स्वर्गलोक आफ्ना पितानिर पुगेका छन् ।” (६)
यहाँ दयानन्दजीले लेखेजस्तो कुनै अर्थ भेटिन्न । अब ऋग्वेदमा उल्लेख मन्त्र पनि जाँचौँ । ऋग्वेदको सायण भाष्य इन्टरनेटमा पढ्न पाइन्छ । यसको हिन्दी अनुवाद डाक्टर गङ्गा सहाय शर्माले गर्नुभएको छ । त्यसमा ऋग्वेदको माथि उल्लेख श्लोकको अर्थ हेरौँ :
“मेरो दुहुनो गाई वा यज्ञ सम्पन्न गर्ने गाई प्रार्थना नगरी यज्ञमा आउँछिन् । उनले वरुणलाई हव्य दिने र अन्न चढाएर अन्य देवहरूको सेवा गर्ने मेरो रक्षा गरून् । म ती गाईको स्तुति गर्छु ।” (६)
यहाँ पनि न पृथ्वी छ, न सूर्य छ । यहाँ त गाईको चर्चा गरिँदै छ । अब दयानन्दजीले यी मन्त्रको अर्थ कसरी निकाल्नुभएको थियो भनी जाँचौँ । यहाँनिर उहाँले जानाजान गडबड गर्नुभएको थियो कि सही अर्थ निकाल्नुभएको थियो ? हेरौँ ।
स्वामी करपात्रीको खण्डन
दयानन्दजीले वैदिक मन्त्रहरूको जुन मन्त्र निकाल्नुभयो त्यसको गतिलो विश्लेषण स्वामी करपात्रीले गर्नुभएको छ । करपात्रीजी आफ्नो पुस्तक ‘वेदार्थपारिजातः’ मा लेख्नुहुन्छ –
“(स्वामी दयानन्दले ‘आयं गौ’ मन्त्रको जुन अर्थ लगाउनुभएको छ) त्यो पश्चिमा प्रभावसिवाय केही होइन ।.. उहाँको (यो) व्याख्या सर्वथा निराधार छ ।”
करपात्रीजीको तर्क के भने ‘गौ’ शब्दको अर्थ पृथ्वीसम्म लगाउन सकिन्छ तर पृथ्वीलोक भन्नै सकिन्न । पृथ्वीको अर्थ जमिन वा भूमि हो भने पृथ्वीलोकको अर्थ पृथ्वी ग्रह हुन्छ । संस्कृतमा पृथ्वीलोकलाई स्त्रीलिङ्गी शब्द मानिन्छ । तर, मन्त्रमा प्रयोग भएको ‘आयं’ शब्द पुलिङ्गी हो । यसको अर्थ सो मन्त्रमा पृथ्वीलोकको चर्चा गरिएको छैन ।
‘पृश्नि’ शब्दलाई दयानन्दजीले अन्तरिक्षको रूपमा उल्था गर्नुभएको छ । जबकि वैदिक शब्दहरूको शब्दकोश ‘निरुक्त’ भरि कही पनि पृश्नि शब्दको अर्थ अन्तरिक्ष लगाइएको छैन । ‘गौ’ शब्दको व्युत्पत्तिबारे चर्चा गर्दै करपात्रीजी ‘निरुक्त’ मा पृथ्वीलाई गौ नाम दिनुको खास कारण खुलाउनुहुन्छ । पृथ्वी टाढासम्म जान्छ । यसको अर्थ पृथ्वीलोक होइन, बरु यसको अर्थ जमिन हो । जमिन टाढाटाढासम्म फैलिएको छ । जति हिँडे पनि जमिन टुङ्गिन । जस्तो कुनै बाटोबारे कुरा गर्दा यो बाटो धेरै टाढा जान्छ भन्ने चलन छ । ‘निरुक्त’ मा ‘गौ’ मा सबै प्राणी चलफिर गर्छन् भन्ने लेखिएको छ । यसबाट पनि सोही अर्थ पुष्टि हुन्छ ।
करपात्रीजीको पुस्तकमा दयानन्दजीले गर्नुभएको धेरै व्याख्यामा देखापरेका व्याकरणका खोट औँल्याइएको छ । (यहाँ त्यसबारे चर्चा गर्न आवश्यक छैन । जिज्ञासुहरूले इन्टरनेटमा उपलब्ध सो पुस्तक पढ्न सक्नुहुन्छ ।) विश्लेषणको अन्त्यमा करपात्रीजीले माथिको मन्त्रको सही अर्थ लगाउँदै लेख्नुहुन्छ, “यो मन्त्रमा वास्तवमा अग्निको स्तुति गाइएको छ ।” आचार्य उवटको भाष्यअनुसार उहाँको भनाइ सही पनि छ । करपात्रीजीको लगाएको अर्थ र उवटको भाष्य एकदम मेल खान्छ ।
त्यसैगरी, दयानन्दजीले ऋग्वेदबाट लिएको मन्त्रको अर्थ करपात्रीजीले आफै लगाउनुभएको छ । सो मन्त्रमा पनि ‘गौ’ लाई पृथ्वीको अर्थमा लिनु गलत हुने किनभने ‘प्रकृत सूक्त’ मा यसअघि कहीँ पनि ‘गौ’ लाई पृथ्वीको अर्थमा प्रयोग गरिएको छैन । बरु ‘गौ’ शब्दको प्रयोग अन्य अर्थमा पनि प्रयोग भएको छ । त्यस्तै, ‘वर्तनि’ शब्दको अर्थ ‘परिक्रमा मार्ग’ लगाउनु पनि गलत छ । ‘अवारतः’ को अर्थ ‘निरन्तर घुमाइ’ लगाउनु पनि गलत छ ।
यस्तै अन्य धेरै शब्दको गलत अर्थ लगाएकोमा करपात्रीजीले आपत्ति जनाउनुभएको छ । जस्तो, उहाँ ‘पयो दोहना’ शब्दको अर्थ ‘विविध रस र फल’ लगाउनु जबरजस्ती हो भन्नुहुन्छ । ‘गौ’ शब्दसँगै ‘पयो दोहना’ को प्रयोग गरिएको हुनाले दूधबाहेक अर्थोक लगाउनु हुँदैन । करपात्रीजी शास्त्रीय विधिबाट माथिको मन्त्रको सही अर्थ लगाउनुहुन्छ । उहाँले लगाएको अर्थ सायनाचार्यको भाष्यसँग ठ्याक्कै मेल खान्छ । अलि अघि हामीले यसको अर्थ जाँचिसकेका छौँ । यस मन्त्रमा गाईको चर्चा गरिएको छ र यसमा ‘पयो दोहना’ को अर्थ दूध नै हो । यहाँ ‘गौ’ लाई पृथ्वी बनाउनु र ‘वर्तनि’ लाई परिक्रमा मार्ग बनाउनु बौद्धिक बेइमानी हो ।
वेदको विरासत
वास्तविकता के भने वेदमा पृथ्वीलाई ‘अचला’ भनिएको छ । यसका धेरै प्रमाण भेटिन्छन् वेदमा । वेदमा पृथ्वीलाई ‘अचला’, ‘ध्रुवा’ र ‘निर्ऋति’ जस्ता शब्दले जनाइएको छ । यिनको अर्थ गतिहीन हुन्छ । स्वामी दयानन्दभन्दा अघि गरिएका व्याख्याहरूमा ‘पृथ्वी गतिमान छ’ भन्ने कहीँकतै उल्लेख भएको पाइन्न । पृथ्वी तीन तरिकाले गतिमान छ । पहिलो, पृथ्वीले सूर्यलाई चक्कर लगाउँछ । दोस्रो, पृथ्वी आफ्नै धुरीमा घुम्छ । तेस्रो, पृथ्वीको धुरी पनि आफैमा घुमिरहन्छ । यी तीन गतिबारे हिन्दू धर्मग्रन्थमा कहीँकतै उल्लेख छैन । प्राचीन ज्योतिषाचार्यहरूमध्ये आर्यभट्टलाई छोडी सबैले पृथ्वीलाई स्थिर मानेका छन् र सम्पूर्ण ग्रह–नक्षत्रगणले पृथ्वीको चक्कर लगाउने ठानेका छन् । आर्यभट्टले समेत खालि पृथ्वी आफ्नो धुरीमा घुम्ने गतिको कुरा गर्नुभएको हो । पृथ्वीले सूर्यको फन्को मार्छ भनी उहाँले पनि भन्नुभएको होइन । १२ औँ शताब्दीका भास्कराचार्य आफ्नो ग्रन्थ ‘सिद्धान्तशिरोमणेः’ मा लेख्नुहुन्छ :
“जगतका उत्पादक कमलयोनी ब्रह्माले भगण आदि ग्रहसहित यो भचक्र बनाएर भ्रमणशील प्रवह वायुमा नियुक्त गरेका छन् ।”
भचक्रको अर्थ ‘सेलेसियल स्फेयर’ (आकाशीय गोला) हो । पुरानो मान्यताअनुसार पृथ्वी (बेलुनजस्ता) सात पारदर्शी गोला (ट्रान्सप्यारेन्ट स्फेयर) बिच छ; यीमध्ये प्रत्येक गोल वृत्तमा एक–एक ग्रह छन्; यी सबै गोला पूर्वदेखि पश्चिमतिर लगातार घुमिरहन्छन्; यिनमा रहने ग्रहहरूको भिन्दाभिन्दै गति हुन्छ; यही गतिमा यिनीहरू आ–आफ्ना गोलामा चलायमान हुन्छन् । सात आकाश (सात स्वर्ग) को अवधारणा यहीबाट आएको हो । प्राचीनकालमा यी ‘आकाशीय गोला’ र यिनमा रहेका ग्रहलाई नै गतिमान मानिन्थ्यो र पृथ्वीलाई यी सबैको बिचमा राखिन्थ्यो । पृथ्वीलाई गतिहीन अटल मानिन्थ्यो । माथिकै श्लोकमा भास्कराचार्य लेख्नुहुन्छ :
“यो भचक्र प्रवह वायुमा स्थापित हुनाले सदा प्रवहसँगै बेगिँदै पश्चिम दिशातर्फ भ्रमण गर्छ ।”
यसको अर्थ सूर्य, चन्द्रमा लगायत सबै ग्रह पूर्वदेखि पश्चिमतर्फ गइरहेको देखिन्छन् । यिनीहरू पृथ्वीको परिक्रमाले गर्दा नभई यिनै गोलाको घुमाइका कारण घुमेका देखिन्छन् । यही कुरा ‘सूर्यसिद्धान्तः’ मा पनि पढ्न पाइन्छ । यो रचनाको ‘भूगोल’ अध्यायको ७३ औँ श्लोकले भन्छ :
“धु्रवहरूमा आबद्ध भएर नक्षत्र चक्र प्रवाह वायुको वेगले तानिएर निरन्तर भ्रमण गर्छ र नक्षत्र चक्रमा आबद्ध ग्रह कक्षहरू पनि क्रमानुसार भ्रमण गर्छन् ।”
यसको अर्थ ‘आकाशीय गोला’ पृथ्वीको धुरीसँग जोडिएको हुन्छ र प्रवाह वायु (यहाँ हावाको बलको कल्पना गरिएको छ) ले यसलाई घुमाइरहन्छ । प्राचीन ज्योतिषाचार्यहरूमध्ये आर्यभट्टले मात्र धर्तीले आफ्नो धुरीमा घुम्ने कुरा गर्नुभएको थियो । आफ्नो पुस्तक ‘आर्यभट्टिये’ मा उहाँ लेख्नुहुन्छ :
“डुङ्गाको यात्रुले किनारका स्थिर वस्तुलाई उल्टो दिशामा गइरहेको देखेजस्तै मान्छेलाई (आफैमा स्थिर रहेका) सूर्य आदि नक्षत्र पश्चिमतिर गइरहेझैँ लाग्छ र पृथ्वी स्थिर छ भन्ने भान पर्छ । वास्तवमा धर्ती नै घुमिरहेको हुन्छ ।”
बाँकी भोलिको अङ्कमा ।
हिन्दीबाट नेपालीमा उल्था : सुरेश