प्रकाश थुसा
दक्षिण अमेरिकी देश भेनेजुयलामा राष्ट्रपति ह्युगो चाभेज फ्रियासले १९९८ मा आफू निर्वाचित भएदेखि आफूले प्रवद्र्धन गर्नुभएको राजनीतिक प्रक्रियालाई परिचय गर्न प्रयोग गरिएको शब्दावली हो – बोलिभारियाली क्रान्ति । चाभेजले एकाएक यो शब्दावली अगाडि बढाउनुभएको थिएन, बरु चाभेज र उहाँका सहकर्मीहरूले १९८० को दसकको सुरुदेखि नै क्रान्तिकारी बोलिभारियाली आन्दोलन–२०० (MBR–200) गठन गरेर वैचारिक र साङ्गठनिक कार्य अगाडि बढाइरहनुभएको थियो । उन्नाइसौँ शताब्दीको प्रारम्भमा सिमोन बोलिभारको नेतृत्वमा स्पेनियाली साम्राज्यवाद र उपनिवेशवादबाट महादेशीय मुक्तिको युद्धका निम्ति पनि ‘बोलिभारियाली क्रान्ति’ पदावली प्रयोग भएको थियो । बोलिभारियाली क्रान्तिले भेनेजुयलाका बहुमत गरिब जनताको राजनीतिक, सामाजिक र आर्थिक सशक्तीकरण गरिरहेको छ भने र कुलीनवर्गको परम्परागत राजनीतिमाथि प्रहार भइरहेको छ ।
बोलिभारियाली क्रान्तिले लाखौँ आवासविहीन जनतालाई आवास उपलब्ध गराउनुका साथै बेरोजगारहरूलाई रोजगारी र स्वरोजगारी प्रदान गरिरहेको छ । क्रान्तिको उपलब्धि भेनेजुयलाका जनताबिच मात्र सीमित रहेको छैन, बरु ल्याटिन अमेरिकी देशहरूको एकता र सहकार्य, ल्याटिन अमेरिकी विश्वका गरिब देशका जनतालाई मानवतावादी सहयोग, अमेरिकी साम्राज्यवादको विरोध र समाजवादी देशहरूसित ऐक्यबद्धता र सहकार्यको रूपमा अगाडि बढिरहेको छ ।
भेनेजुयलामा समाजवाद निर्माणका लागि भइरहेको जनआन्दोलनको राजनीतिलाई चाभेजपन्थ पनि भनिन्छ । चाभेजपन्थको उदयले त्यस देशको राजनीतिक परिदृश्यलाई परिवर्तन ग¥यो । जनताको वैकल्पिक शक्तिहरूद्वारा दक्षिणपन्थी दलहरूको ४० वर्षको मनपरीतन्त्र अन्त भएको थियो । विडम्बनाको कुरा त बहुमत कामदारवर्गका जनताको पक्षमा बोलिभारियाली क्रान्तिका कैयौँ उपलब्धिका बाबजुद सन् २००० र २००६ को राष्ट्रपति निर्वाचनमा चाभेजको विरोध दक्षिणपन्थीहरूले मात्र होइन, बरु तथाकथित कम्युनिस्ट र वामपन्थी नेताहरूले समेत गरेका थिए । बोलिभारियाली क्रान्तिका कमान्डर ह्युगो चाभेजको क्यान्सर रोगका कारण ५ मार्च २०१३ का दिन असामयिक निधन भयो र त्यसपछि क्रान्तिकारी प्रक्रियालाई अगाडि बढाउने जिम्मेवारी राष्ट्रपति निकोलस मादुरो र भेनेजुयाली एकीकृत समाजवादी पार्टी वहन गर्दै आएका छन् ।
बोलिभारियाली क्रान्तिकारी प्रक्रियालाई बन्द गर्न त्यहाँका कुलीन दक्षिणपन्थी र प्रतिक्रियावादी राजनीतिक दलहरूले २०१३ को चुनावी विजयलाई अस्वीकार गरेका थिए र शान्तिपूर्ण आन्दोलनको नाममा हप्तौँसम्म सडक हिंसा मच्चाएका थिए । त्यस्तै २०१८ को निर्वाचन परिणामलाई पनि उनीहरूले अस्वीकार गरी त्यस्तै सडक ताण्डव मच्चाएका थिए । डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनको इसारामा सडकबाटै एक विपक्षी सांसद ह्वाँ ग्वाइडोलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए । त्यतिबेलादेखि नै संरा अमेरिका, बेलायत र केही युरोपेली देशहरूले भेनेजुयलामाथि आर्थिक प्रतिबन्धहरू लगाउँदै आएका छन् ।
यसैबिच ह्युगो चाभेज (१९५४–२०१३) को ७० औँ जन्म दिनको अवसर पारेर जुलाई २८ का दिन राष्ट्रपति निकोलस मादुरो मोरोसले २०३० सम्मका लागि भेनेजुयलाको राष्ट्रपतिको चुनाव जित्नुभएको छ । १९९९ मा बोलिभारियाली गणतन्त्रको संविधान अनुमोदन भएदेखि पाँचौँ सरकारको रूपमा जनवरी २०२५ मा मादुरोले आफ्नो तेस्रो छ वर्षीय राष्ट्रपति कार्यकाल सुरु गर्नेछन् ।
भेनेजुयलामा सहकारीको प्रगति
२० अक्टोबर २०१२ का दिन तत्कालीन राष्ट्रपति ह्युगो चाभेजको उपस्थितिमा बसेको अन्तिम मन्त्रिपरिषद् बैठकले बोलिभारियाली क्रान्तिको समाजवादको नीतिलाई ‘इतिहासको दिशा परिवर्तन’ भनी घोषणा गरेको थियो । मिराफ्लोरेर्स दरबारमा आफ्नो भाषणमा, चाभेजले पार्टीका नेता र मन्त्रीहरूसँग आत्म–आलोचना र राज्य व्यवस्थापनको उच्च दक्षताको लागि आह्वान गर्नुभएको थियो र मन्त्रालयहरूको वित्तीय स्रोत र संस्थागत शक्ति बढाएर मात्र होइन, बरु सहकारीहरू (कम्युनहरू) मार्फत जनशक्तिलाई सुदृढ गर्न आह्वान गर्नुभएको थियो ।
बोलिभारियाली क्रान्ति पुँजीवादी राज्यको कब्जा र एउटा शासकवर्गलाई अर्को शासकवर्गले प्रतिस्थापन गर्नमा मात्र सीमित हुनु थिएन । प्रक्रियाको केन्द्रमा सधैँ बहुमत जनताको राज्यमा रूपान्तरणको नेतृत्व गर्ने आकाङ्क्षा थियो । चाभेजपन्थका अनुसार कम्युनहरूले भावी समाजवादी समाजको राजनीतिक र आर्थिक आधार बनाउँछन् र जसमा सङ्गठित मानिसहरूले आफ्नै आवश्यकताहरू पूरा गर्ने अवस्थाहरू निर्माण गर्छन् । चाभेजले ‘कम्युन वा केही छैन’ भन्ने नारा दिनुका साथै आफ्नो भाषणको अन्त्यमा भन्नुभएको थियो, “क्रान्तिको नेतृत्वले या त जनताको स्व–संस्था र स्वशासनमा लगानी गर्छ या क्रान्तिलाई धोका दिन्छ ।”
चाभेजले मन्त्रिपरिषद्को अन्तिम सम्बोधनमा उठाएका समस्याले कुनै पनि क्रान्तिकारी आन्दोलनको एउटा केन्द्रीय समस्या अर्थात् समाजवाद निर्माणको प्रक्रियामा पार्टी, सरकार र सङ्गठित जनताबिचको सम्बन्धलाई जनाउँछ । इतिहासका क्रान्तिकारी अनुभवहरूको सूक्ष्म अध्ययनको आधारमा चाभेजले राज्यको कार्यभन्दा बाहिर र जनतासँग प्रत्यक्षरूपमा समाजवादको राजनीतिक प्रक्रिया कसरी निर्माण गर्ने भनेर गहन विचार गर्नुभएको थियो । भेनेजुयलामा चाभेजले अगाडि सार्नुभएको नारा यसबिचमा बढ्दै गयो र ठोस परियोजनाहरूमा परिणत भयो । सहकारीहरूलाई सङ्गठित भेनेजुयलाका जनताले समाजवादी क्रान्तिको बाटोमा अघि बढ्दै जानका लागि आवश्यक माध्यमको रूपमा लिएका छन् र त्यसलाई उपयोग गरेर साम्राज्यवादी आर्थिक नाकाबन्दी र प्रतिबन्धहरूलाई परास्त गरेका छन् ।
बोलिभारियाली क्रान्तिको लोकप्रिय बलियो आधारको रूपमा सहकारी
पश्चिमी मिडियाको बयानबाजीभन्दा भिन्न भेनेजुयलाका जनता बोलिभारियाली क्रान्तिको मुख्य कर्ताधर्ता हुन् । भेनेजुयलामा धेरैको दृष्टिमा सहकारीहरूले समाजवाद निर्माणको लागि प्राथमिक साधनको रूपमा काम गर्छन् । २०१५ मा सहकारी र सामाजिक आन्दोलनका लागि लोकप्रिय शक्ति मन्त्रालयमा ३,२०० सहकारीहरू दर्ता भएका थिए । अहिले विभिन्न कार्य गर्ने उद्देश्यले ४७०० वटा सहकारी सक्रिय रहेका छन् ।
२०१२ को मार्च ४ र ५ मा भेनेजुयलाका पाँच क्षेत्रका लगभग ५०० कम्युनहरूले एल मैजल सहकारीमा आयोजित पहिलो महाधिवेशनमा युनियन कम्युनेराको (राष्ट्रिय सहकारी सङ्घ) स्थापना गरे । युनियन कम्युनेरा सहकारीहरूको एक प्रकारको ट्रेड युनियन हो, वर्षौँ पहिले सुरु भएको सङ्गठनात्मक प्रक्रियाको परिणाम हो । आज यसले सहकारीहरूको दैनिक जीवनमा निर्णायक भूमिका ओगटेको छ । यसले विगत १५ वर्षमा सहकारीका अनुभवहरूको गुणकको रूपमा समन्वय गर्ने कार्य गर्दछ, विभिन्न क्षेत्रहरूमा आवश्यकताअनुसार वैचारिक र प्राविधिक प्रशिक्षण कार्यक्रमहरू विस्तार र प्रसार गर्दछ । आन्तरिक र बाह्यरूपमा सहकारी सङ्गठनको राजनीतिक र आर्थिक नीति निर्माण गर्दछ । ‘युनियन कम्युनेरा’ (राष्ट्रिय सहकारी सङ्घ) भेनेजुयलामा सहकारीहरूको विचारलाई स्थिर गर्नको लागि एक महत्वपूर्ण कदम भएको सहकारीकर्मीहरू बताउँछन् ।
एल मैजल सहकारी : क्षेत्रीय कृषि उत्पादनलाई सुदृढ गर्दै
एल मैजल सहकारी भेनेजुयलाको सबैभन्दा गतिशील सामुदायिक अनुभवहरूमध्ये एक हो । मार्च ५, २००९ मा स्थापित यस सहकारीले देशको पश्चिममा लारा र पोर्तुगेसाका दुई राज्यहरूबिचको २३०० हेक्टर क्षेत्र र १४,३२० सदस्यहरुसहित कुल ३५ सत्न्दा बढी परिवारहरूलाई समेट्छ । यो क्षेत्र बोलिभेरियाली क्रान्तिको सुरुवात हुनुअघि सरकारी संस्थानहरूद्वारा त्यागिएको थियो र त्यहाँका मानिसहरू अनिश्चित आवास र एक कृषि उत्पादनको साथ निरपेक्ष गरिबीमा बाँचिरहेका थिए । उनीहरूको उत्पादन आफ्नै उपभोगको लागि पनि पर्याप्त थिएन । कृषि उत्पादनहरूको नाफाजति बिचौलिया व्यापारीहरूले लिने गरेका थिए र उत्पादक किसानहरूलाई निकै कम मूल्य तिर्ने गरेका थिए । त्यसले बिचौलिया, ठुला जग्गाधनीहरू र बहुराष्ट्रिय निगमहरूको मनोमानीमा प्रत्यक्ष उत्पादकहरूको अधीनलाई नवीकरण गरिरहेको थियो ।
चाभेजपन्थको उदयसँगै स्थिति आमूल परिवर्तन भयो । “२००९ मा, चाभेज सरकारले कराकसलाई पश्चिमसँग जोड्ने राजमार्गलाई चौडा बनायो । कमान्डर चाभेजले निर्माणस्थलको भ्रमण गर्नुभयो र हामीलाई भेटेको साररे नगरपालिकामा रोकिनुभयो । यो बैठक हाम्रो कम्युन र यसरी सम्पूर्ण क्षेत्रको विकासको लागि निर्णायक थियो, सन् २००९ देखि हामीले परित्याग गरिएको जग्गा र हरितगृहहरू उपयोग गर्न थाल्यौँ र साम्प्रदायिक उत्पादन एकाइहरू स्थापना गर्न थाल्यौँ जसलाई सरकारले नियमित बनाइदिएको थियो । हामीले लगभग ३०० परिवारका लागि घर र सम्पूर्ण क्षेत्रका लागि विद्यालय सुविधाहरू पनि निर्माण गरेका छौँ । कोष महान आवास मिसन र शिक्षाको लागि जनशक्ति मन्त्रालयबाट आयो, तर हामीले काम आफै गर्यौँ ।” एकीकृत समाजवादी पार्टीको प्रान्तीय सहकारी नीति संयोजकमध्ये एक जोसे लुइस सिफन्टेस भन्नुहुन्छ ।
एल मैजल कम्युनको सुरुवात समाजवादी सरकार र कम्युनहरूको जनशक्तिबिचको द्वन्द्वको लागि उदाहरणीय छ । चाभेजको चुनावी विजय र देशको राजनैतिक र आर्थिक संरचनाको प्रजातान्त्रिकीकरणबाट प्रेरित, स्व–सङ्गठित जनताले इलाकामा काम गरे, स्वायत्तरूपमा आफ्ना आवश्यकताहरू पूरा गर्ने अवस्थाहरू सिर्जना गरे ।
चाभेजपन्थी सरकारहरूले क्षेत्रीय स्वशासनको रूपलाई सम्मान गर्दै सहकारीहरूलाई आवश्यक पर्ने ठाउँमा सहयोग उपलब्ध गराउँछन् । पुँजीवादी व्यवस्थाले कब्जा गरिएको भूमिको नियमितीकरण, आवास र विद्यालयहरूको वित्तपोषण र क्षेत्रहरूमा अन्य धेरै सरकारी परियोजनाहरू बुझ्न मद्दत गरेको छ । त्यसैले सरकारले आफ्ना नागरिकहरूलाई माथिबाट नीतिहरूद्वारा मात्र नियन्त्रण गर्दैन, बरु जनताले तलबाट आफ्नो सहभागिता विस्तार गर्ने नयाँ बन्दोबस्त् उपलब्ध गराउँछ । तथापि, सहकारी कार्यकर्ताहरू स्व–शासन निर्माण सार्वजनिक संस्थाहरू र जनताको शक्ति बिचको सन्तुलन गर्ने कार्य मात्र होइन, बरु सहकारीहरूमार्फत क्षेत्रहरूमा पूर्ण स्वायत्तताको लागि स्थायी खोज भएकोमा जोड दिन्छन् ।
खाद्य सम्प्रभुता र अन्तर्राष्ट्रिय एकता
आज, एल मैजल सहकारीको स्थापना भएको १४ वर्षपछि, लगभग १२० प्रत्यक्ष उत्पादकहरूले १४ खाद्य उत्पादन एकाइहरू चलाउँछन्, सेतो र पहेँलो मकै, गाईको र बङ्गुरको मासु, अण्डा, दूध र चीज, कफी र विभिन्न तरकारीहरू इत्यादि । त्यतिमात्र होइन २०११ मा स्थापना गरिएको कम्पनीले सहकारीभरि ग्यासको वितरण प्रबन्ध गर्दछ । आधारभूत आवश्यकताहरूको उत्पादन र वितरणको यस सामूहिक व्यवस्थापनको लागि सहकारीको योगदानका कारण खाद्य सम्प्रभुता सुनिश्चित गर्न धेरै हदसम्म सफल भइरहेको छ । त्यसैले सहकारीहरूलाई धेरैले संरा अमेरिकाले लगाएको प्रतिबन्धहरूविरुद्ध लड्ने मौलिक हतियारको रूपमा वर्णन गरेका छन् । अमेरिकी प्रतिबन्धहरूले २०१५ दखि २०२१ सम्म भेनेजुयाली जनसङ्ख्याको ठुलो भागमाथि गम्भीर परिणामहरू निम्त्याएको थियो ।
भेनेजुयलाका निम्ति अमेरिकी साम्राज्यवादले सिर्जना गरेको राजनीतिक र आर्थिक एक्लोपन विरुद्धको दोस्रो आधारभूत हतियार भनेको अन्तर्राष्ट्रिय ऐक्यबद्धता हो । ब्राजिलको भूमिहीन ग्रामीण श्रमिक आन्दोलनले २००५ देखि भेनेजुएलामा आफ्नो अन्तर्राष्ट्रियवादी ब्रिगेडको हिस्सा बन्न आफ्ना सदस्यहरूलाई पठाएको थियो । भेनेजुयाली किसानमाझ प्राविधिक ज्ञान, चेतनालाई माथि उठाउन उक्त अभियान चलाइएको थियो । देशमा कृषि उत्पादनका विभिन्न क्षेत्रहरूमा, भूमिहीन ग्रामीण श्रमिक आन्दोलनले उत्पादक कृषहरूलाई गत ४० वर्षको जमिन कब्जा गर्ने, सम्पूर्ण ब्राजिलमा शिविरहरू निर्माण गर्ने, श्रमिकहरूको शोषण गर्ने र क्षेत्रहरूलाई नष्ट गर्ने कृषि व्यवसायको विरुद्धमा दिगो कृषि विकास गर्ने अनुभव र ज्ञानको धनी रहेको छ ।
एल मैजल कम्युनमा, विशेषगरी अन्तर्राष्ट्रवादी ब्रिगेडले चे ग्वेभारा कृषि विद्यालयलाई तीन वर्षसम्म चलाउन मद्दत गरेको छ । भूमिहीन ग्रामीण श्रमिक आन्दोलनको लामो अवधिको उपस्थितिको कारण विद्यालयले प्राविधिक ज्ञान मात्र नभई राजनीतिक र वैचारिक पाठ्यक्रमहरू प्रदान गर्न सक्षम भएका छन् ।
५ मार्च समाजवादी सहकारी : लोकप्रिय सङ्गठन
यदि एल मैजलले कृषि कम्युनको आदर्श उदाहरण प्रतिनिधित्व गर्दछ भने, अनन्त कमान्डर मार्च ५ समाजवादी कम्युन क्षेत्रीय जराको हिसाबले सबैभन्दा उन्नत सहरी सहकारीहरूमध्ये एक हो । एल भाले सहरको छिमेकमा अवस्थित यस सहकारीले सहरको ११ हेक्टर धन्दा बढीको क्षेत्रलाई उपयोग गरिरहेको छ । लगभग ६ हजार बासिन्दाहरूलाई सँगै ल्याएको छ र यससित १९ सामाजिक स्वामित्वमा रहेका उत्पादन एकाइहरू छन् । यो एउटा क्षेत्र हो जहाँ क्रान्ति अघि धेरै समस्याहरू थिए र आज पनि विद्यमान छन् तर धेरै समस्याहरू सहकारीले समाधान गरिरहेको छ ।
ब्यारियोमा सक्रिय युवा लडाकुहरू प्रायः वाम सांस्कृतिक मोर्चा (एफसीआई) मा सङ्गठित छन् । इन्टरकम्युनल डे एल भ्याल अर्थात् एफसीआई पनि एक सहकारी हो र यसको जन्म सन् २०१०/२०११ मा विद्यार्थी आन्दोलनको रूपमा भएको थियो । हामी सहकारी संसारको सम्पर्कमा आएका छौँ सुरुमा एल मैजलको माध्यमबाटै राजनीतिक–वैचारिक प्रशिक्षणमा काम गर्न थालेको थियो । त्यसपछि, २०१७/२०१८ मा ब्रिगेडहरू निर्माण गरिए र जुन सहकारीका अनुभवहरू प्रचारप्रसार गर्न देशभर गए । त्यहीँबाट युनियन कम्युनेराको सम्भावना जन्मिएको थियो ।
भेनेजुयलाका सहकारीहरू कुनै निश्चित क्षेत्रमा राजनीतिक–सङ्गठनात्मक संरचनामात्र होइनन्, तिनीहरूले आफ्नै आर्थिक–उत्पादक आधार निर्माण गरेका छन् । सहरी सन्दर्भमा, सामाजिक स्वामित्वमा रहेका उद्यमहरूले ग्रामीण समुदायहरूमा जस्तै खाद्य उत्पादन गर्न भन्छिन्, तर तिनीहरू सेवा र वितरण क्षेत्रमा सक्रिय छन्, प्रायः पसलहरूबाट, जसले छिमेकमा मौलिक भूमिका खेल्छन् । एक सहकारी पसलका सञ्चालक सदस्य गेब्रिएला बताउँछिन्, “यहाँ हामी अन्य सहकारीका उत्पादनहरू बेच्छौँ । जस्तैः– कफी, प्यानेला, कोको, एन्डियन क्षेत्रका उत्पादनहरू । यो आर्थिक विनिमयले कम्युनहरूको वित्तीय आधार बनाउँछ । त्यतिमात्र होइन उत्पादक र क्षेत्रहरूको नेटवर्क निर्माणको राजनीतिक र शैक्षिक उद्देश्य छन् । यसो गरेर हामी सहकारीहरूको भूमिकालाई बलियो बनाउँछौँ र क्रान्तिकारी प्रक्रियामा सङ्गठनको केन्द्रीयतामा जोड दिन्छौँ ।”
मार्च ५ सहकारीका कम्तीमा दुई अन्य परियोजनाहरू ध्यान दिनयोग्य छन् । पहिलो भनेको रिसाइक्लिङ प्रणाली हो जसले एकातिर दिगो फोहोर सङ्कलन निर्माण गर्न मद्दत गर्छ र अर्कोतर्फ यस क्षेत्रमा बस्ने मानिसहरूलाई रोजगारी प्रदान गर्दछ । पारिस्थितिक समाजवादका लागि जनशक्ति मन्त्रालयको साथमा, एक रिसाइक्लिङ प्रशिक्षण विद्यालय पनि खोलिएको छ जहाँ देशका विभिन्न भागबाट मानिसहरू प्रविधिहरू सिक्न आउँछन् । समाजवादमा जनताको बाटोलाई सुदृढ गर्ने उद्देश्यका साथ सरकार–जनताको एकीकृत शक्तिको अर्को उदाहरण हो । सहकारी एक ‘नैतिक अर्थतन्त्र’ हो र यसको गठनमा श्रमिकहरूको चेतना एक आवश्यक तत्व हो । सहकारी केवल आर्थिक मूल्यमा आधारित छैन, तर आपसी एकता, पारस्परिकता र स्थिरताजस्ता अवधारणाहरूमा आधारित छ ।
स्वतन्त्रता, सहकारी र समाजवाद
भेनेजुयलामा ह्युगो चाभेजको निधनको दस वर्षपछि, जनताको राजनीतिक सहभागिता, स्व–संस्था र तलबाट स्वशासनले चाभेजपन्थको आत्मा, शरीर र विचारकोे सङ्गठन आज पनि जारी छ । तर, समाजवादको निर्माणलाई स्थानीय सक्रियतामा मात्र सीमित राख्न सकिँदैन । एक सहकारीकर्मी जोसे लुइस सिन्फन्टिस चाभेजले पनि यसमा जोड दिनुभएको कुरा सम्झन्छन्, “आफ्नो निधन हुनुअघि कमान्डेन्ट चाभेजले आफ्नो एउटा भाषणमा यसलाई ठीकसँग व्याख्या गर्नुभएको थियो ः स्थानीय लक्ष्यमा रोकिनेहरूले समाजवाद निर्माण गर्न सक्दैनन्† स्थानीयवाद प्रतिक्रान्तिकारी विचार हो ।”
सहकारीहरूको अर्को नारा, ‘स्वतन्त्रता, सहकारी र समाजवाद’ ले यो अन्तर्राष्ट्रतावादी स्वतन्त्रताको सान्दर्भिकतालाई समेट्छ । स्वतन्त्रताको अर्थ विदेशी हस्तक्षेपबाट मुक्ति, विशेषगरी अमेरिकी साम्राज्यवाद, तर बहुराष्ट्रिय र विशेष चासो भएका राष्ट्रिय पुँजीपतिवर्ग (ठुला जग्गा धनी, निजी लगानीकर्ता आदि) बाट पनि मुक्ति हो । यो स्वतन्त्रता भनेको खाद्य, राजनीतिक स्वतन्त्रता र आर्थिक सार्वभौमसत्ता पनि हो । सहकारी भनेको एक क्रान्तिकारी प्रक्रिया हो र सहकारीहरूले जनविरोधी सरकारको नोकरशाहीविरुद्ध एक उपकरणको रूपमा काम पनि गर्न सक्छन् । समाजवादको लागि स्थानीय कार्यमात्र पर्याप्त छैन, स्पष्ट संरचना, सामूहिक हितमा लक्षित नीति नियम र क्रूर पुँजीवादविरुद्ध सङ्घर्ष गर्दै समाजवादमा पुग्ने लक्ष्य पनि जरूरी रहेकोमा भेनेजुयाली सहकारीकर्मीहरू स्पष्ट छन् । भेनेजुयलालाई सामुदायिक हितमा जोड दिने समाजवादी राज्यमा परिणत गर्ने प्रयास गर्दै त्यस देशका विभिन्न प्रान्तहरूमा रहेका लडाकुहरू सहकारीको बलियो आधारमा टेकी लडिरहेका छन् ।
– सङ्गम साकोसको बुलेटिन २०८१ बाट