३० भदौ, भक्तपुर
गमला विद्यालय हो, बिरूवा विद्यार्थी हो; पानी अभिभावक, शिक्षक–शिक्षिका र समाज हुन् ।”
उक्त विचार नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले ६० औँ बाल दिवसको अवसरमा आयोजित ‘प्रभात प्रतिभा प्रदर्शनी–२०८१’ मा व्यक्त गर्नुभएको हो ।
सांसद सुवालले अगाडि भन्नुभयो, “नेपालमा २००७ सालमा प्रजातन्त्र आयो, निरङ्कुश जहानियाँ राणा शासन अन्त्य भयो । २०१७ सालमा निर्दलीय पञ्चायती शासनसँगै प्रजातन्त्र अपहरण भयो । २०४६ सालमा बहुदल पुनःस्थापना भयो, २०६३ सालमा गणतन्त्र आयो । तर, नेपालका ६ लाख बालबालिका विद्यालय बाहिर छन् ।”
काठमाडौँमा महिनाको ५ लाख रूपैयाँ शुल्क लिने विद्यालय पनि रहेको सार्वजनिक भएको चर्चा गर्दै उहाँले महिनाको २०–२५ हजार रूपैयाँ शुल्क उठाउने विद्यालय धेरै भएको उल्लेख गर्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “सर्वसाधारण जनताले पनि प्रतिस्पर्धी शिक्षा पाउनु पर्दछ । सार्वजनिक शैक्षिक गुठीअन्तर्गतको प्रभात इङ्गलिस सेकेन्डरी स्कूल यही उद्देश्यसहित स्थापना भएको हो । यो विद्यालयमा नियमित कक्षाबाहेक विद्यार्थीहरूको लागि चित्रकला, हस्त लेखन, चिनियाँ भाषा, कोरियन भाषा, स्काउट, मादल, पियानो, धिमे, टेबुलटेनिस, तेक्वान्डो कक्षा सञ्चालन भइरहेको छ ।”
भक्तपुर नगरपालिकाले ख्वप कलेजहरू सञ्चालन गरी ७७ वटै जिल्लाका विद्यार्थीलाई तुलनात्मकरूपले कम शुल्कमा इन्जिनियरिङ, विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षाशास्त्र अध्ययन गराउँदै छ । ख्वप विश्वविद्यालय स्थापना गरी सस्तोमा डाक्टर पढाउने भक्तपुर नगरपालिकाको तयारी छ, उहाँले भन्नुभयो ।
घर बलियो बनाउन जग बलियो बनाउनुपर्ने जस्तै देशको विकासको लागि विद्यालय शिक्षा राम्रो हुनु जरूरी भएको आवश्यकता औँल्याउँदै सांसद सुवालले दुई सय वर्ष अगाडि नै रूसका कतिपय विद्यार्थीहरू १५ वर्षमै ५–८ विदेशी भाषामा पोख्त भएको बताउनुभयो ।
अमेरिकी सरकारको हतियार पाएको इजरायलले प्यालेस्टिनी जनताको नरसंहार र भूमि कब्जा गर्न बमबारी गर्दै छ । संसारका न्यायप्रेमी जनताले इजरायली फासीवाद र अमेरिकी साम्राज्यवादको विरोध गर्दै छ, उहाँले भन्नुभयो ।
सांसद सुवालले कतिपय देशमा विद्यार्थीहरूलाई गणित र विज्ञान विषय अध्ययन गराउन जोड दिइरहेको उल्लेख गर्दै प्रभात इङ्गलिस सेकेन्डरी स्कूलले पनि गणित र विज्ञानलाई जोड दिइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सोभियत सङ्घले विज्ञान र गणितलाई जोड दिएको हुँदा अन्तरिक्षमा मानवसहितको भूउपग्रह उडाउने कार्यक्रममा सन् १९६१ मै सफलता पाएको हो ।”
कार्यक्रममा वाग्मती प्रदेश सांसद सृजना सैंजूले एउटा असल नागरिक तयार गर्न ऊ बस्ने वातावरण, उसले खाने खानेकुरा स्वस्थ हुनुका साथै उसले सिक्ने शिक्षा पनि उपयुक्त र देशप्रेमी हुनुपर्ने विचार व्यक्त गर्नुभयो । विद्यालय उमेरमा बालबालिकाले जे सिक्छ त्यो उसले सधैँ ताजा स्मरणमा राख्ने भएकोले उसलाई देश तथा विश्वको बारेमा पनि ज्ञान दिलाउनु विद्यालयको कर्तव्य हो भन्दै उहाँले अहिले प्यालिस्टिनका केटाकेटीहरूमाथि बम खसालिरहेको छ भन्नुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यद्वय एवं वडा नं. २ र ६ का वडाध्यक्ष हरिप्रसाद बासुकला र हरिराम सुवाल, भनपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोरा, वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले पनि बालदिवसको अवसरमा बालबालिकाहरूलाई शुभकामना व्यक्त गर्नुभएको थियो ।
विद्यालयका प्राचार्य बदनकेशरी प्रजापतिको स्वागत मन्तव्यबाट सुरू भएको उक्त ट्यालेन्ट शोको उद्घोषण शिक्षक लिना लासिवाले गर्नुभएको थियो । प्लेग्रुपदेखि कक्षा ३ सम्मका बालबालिकाहरूको दुई दर्जन ट्यालेन्ट प्रस्तुत गरिएको थियो ।