संयुक्त राज्य अमेरिकाले विश्वभरि ‘असहमतिपूर्ण स्वार्थहरू’ अथवा आफ्ना स्वार्थसँग बाझिने कुनै पनि भनाइ र गराइप्रति सधैअसहिष्णुता देखाउँछ भने विश्व जगतको धारणालाई फेरि पुष्टि गरेको छ । अमेरिका आफ्नो राष्ट्रिय सुरक्षा, विदेश नीति वा आर्थिक हितका लागि अत्यावश्यक ठानेका कुराहरूमा जुनसुकै हठकण्डा अपनाएर भए पनि अरू सार्वभौम मुलुकहरूलाई हस्तक्षेप गर्न पछि नपर्ने कुरा घटनाक्रमले पुष्टि गर्दै आएको छ ।
आफ्नो राष्ट्रिय हितलाई पहिलो प्राथमिकता दिने अमेरिकाले अरूको राष्ट्रिय हितलाई किन बेवास्ता गर्छ ? सुरक्षा, आर्थिक समृद्धि र विश्वस्तरमा प्रभाव कायम राख्ने विषयमा चुनौती दिने कुनै पनि मुलुकलाई अमेरिकाले आर्थिक प्रतिबन्ध लगाउने र त्यसबाट पनि भएन भने सैनिक कारबाही समेत गर्दै आएको छ । संयुक्त राज्य अमेरिकाले कूटनीतिक र सैन्य दुवै रूपमा विश्वव्यापी मामिलामा हस्तक्षेप गर्दै आएको इतिहास साक्षी छ ।
अमेरिकी कुत्सित मनसाययुक्त अभ्यासलाई पुष्टि गर्ने पछिल्लो घटना हो, बाल यौन दुव्र्यवहार, लागूपदार्थको तस्करी र लेनदेनसम्बन्धी अपराधको आरोपमा रूसी मूलका अर्बपति लोकप्रिय सोसल मिडिया प्लेटफर्म टेलिग्रामका संस्थापक पावेल डुरोभको गएको हप्ता फ्रान्समा गरिएको पक्राउ । फ्रान्सले डुरोभविरुद्ध लगाएको गम्भीर आरोपलाई सञ्चारको स्वतन्त्रतालाई प्रतिबन्ध लगाउने प्रयासको रूपमा हेरिएको भए पनि यसको पछाडिको रहस्य अमेरिकी षडयन्त्र नै हो भन्ने धेरैको तर्क छ । फ्रान्सले गरेको पाभेल दुरोभको गिरफ्तारीमा संयुक्त राज्य अमेरिकाको प्रत्यक्ष संलग्नता रहेको मानिन्छ । यद्यपि, डुरोभलाई पक्राउ गर्नुमा कुनै राजनीतिक उद्देश्य छैन भन्ने फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको दाबीलाई धेरैले पत्याएका छैनन् । राष्ट्रपति म्याक्रोको उक्त भनाइ पावेलको गिरफ्तारीको दुई दिनपछि सार्वजनिक भएको थियो ।
चिनियाँ दूरसञ्चार कम्पनी हुवावेका संस्थापक रेन झेङपी (बायाँ) र उनकी छोरी हाल कम्पनीकी प्रमुख कार्यकारी मेङ वान्झाउ
टेलिग्राम फेसबुक, ट्वीटर, व्हाट्सएप इन्स्टाग्राम, लिङ्कईन्, वीच्याटजस्तै एक सामाजिक सञ्जाल एप्स हो । टेलिग्राम एप्समा एक–अर्कामा कुराकानीहरू, समूह च्याटहरू गर्न र मानिसहरूबिच सन्देशहरू प्रसारण गर्न मिल्छ । अधिकतम १०२४ व्यक्ति मात्र कुराकानी गर्न मिल्ने प्रतिद्वन्द्वी व्हाट्सएपको विपरीत टेलिग्रामको समूह च्याटले २ लाख मानिसबिच एकै पटक कुरा गर्न मिल्छ । थुप्रै पाठ्यपुस्तकसमेत उपलब्ध हुने भएर टेलिग्राम विद्यार्थीबिच निकै लोकप्रिय छ । टेलिग्राम व्यापकरूपमा रूस, युक्रेन तथा पूर्वसोभियत सङ्घका देशहरूमा प्रयोग गरिन्छ । त्यसैले रुस–युक्रेन युद्धका थुप्रै दस्ताबेज डुरोभले रुससँग साझा गरेको अमेरिकाले अनुमान गरेको छ ।
डुरोभको गिरफ्तारीले नागरिकताको विषयबाहेक रुस, फ्रान्स र पश्चिमबिचको व्यापक भू–राजनीतिक तनाव झल्काउँछ । युक्रेनको मामिलामा फ्रान्स र रसियाबिचको तनाव वर्षौदेखि बढ्दै गएको छ । फ्रान्सेली अधिकारीहरूले युक्रेन युद्धमा आफ्नो थप आक्रामक अडानको प्रतिक्रियामा पेरिस ओलम्पिक अघि रूसले यसलाई अस्थिर बनाउन खोजेको आरोप लगाएको थियो । अमेरिकी सामाजिक सञ्जालको संरक्षण निम्ति गैरअमेरिकी सामाजिक प्लेटफर्म टेलिग्रामलाई नियन्त्रणमा ल्याउन फ्रान्सले आउदो नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिको चुनावअघि अमेरिकाको आदेशअन्तर्गत काम गरिरहेको मानिन्छ । अजरबैजनबाट सिधै फ्रान्सको राजधानी पेरिसमा आफ्नै निजी हवाईजहाजमा झरेका पावेलको गिरफ्तारी गत शनिबार २४ अगस्तमा भएको थियो । अजरबैजानको भ्रमणमा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पावेलले भेटेको भन्ने हल्लाबिच पावेल डुरोभलाई गिरफ्तार गरिएको भनिन्छ । त्यसैले रूसले यसलाई राजनीतिकरूपमा प्रेरित भएको ठानेको छ ।
टिकटकका प्रमुख कार्यकारी अधिकारी साउ जी च्यु
खुला र उदार आर्थिक नीति र वाक् स्वतन्त्रताको पक्षमा नथाकी वकालत गर्ने अमेरिकाले आफ्नो स्वार्थमा चोट लाग्न थालेपछि भने अनेक निहुँ झिकेर आफू हारेपछि खेलको नियम बदल्ने खेलाडीले जस्तै अनेक षड्यन्त्र गर्न थाल्छ । त्यसको राम्रो उदाहरण हो, चिनियाँ कम्पनी हुवावेले विकास गरेको ५ जी मोबाइल प्रविधि । सञ्चार उपकरणमा अमेरिकी आधिपत्यलाई चुनौती दिने चिनियाँ कम्पनीलाई बर्बाद गर्ने नियतले अनेक निहुँ झिकी हुवावेको सस्थापक कार्यकारी अधिकारीको गिरफ्तार गर्न अमेरिकाले षड्यन्त्र रच्यो । अमेरिकाकै निर्देशनमा सन् २०१८ डिसेम्बर महिनामा बोर्डको उपाध्यक्ष र हुवेइ संस्थापककी छोरी मेङ वान्झाउलाई क्यानाडाली अधिकारीहरूले भ्यानकुभर अन्तर्राष्ट्रिय विमानस्थलमा हिरासतमा लिएका थिए । उनलाई इरानविरुद्ध लगाइएको प्रतिबन्धलाई उल्लङ्घन गरेको र आफूविरुद्ध षड्यन्त्रको लागि सुपुर्दगी गर्न अमेरिकाले क्यानाडासँग माग गरेको थियो । संयुक्त राज्य अमेरिकाको न्याय विभागले औपचारिकरूपमा उनीविरुद्ध आर्थिक धोखाधडीको आरोपको घोषणा ग¥यो । लामो कानुनी लडाइँपछि मेङ सेप्टेम्बर २०२१ मा सम्झौतामा पुगिन् जसको परिणामस्वरूप उनी नजरबन्दबाट रिहा भइन् र चीन फर्किइन् । मेङको सुपुर्दगीको लागि अमेरिकी अनुरोधले इरान प्रतिबन्धहरूको उल्लङ्घनसँग सम्बन्धित षड्यन्त्रको आरोपमा आधारित भए पनि यसले व्यापक भूराजनीतिक तनावलाई प्रतिबिम्बित गर्छ । यो मुद्दाले चीन, क्यानडा र संयुक्त राज्य अमेरिकाबिचको सम्बन्धलाई तनावपूर्ण बनायो ।
मेङ वान्झाउको गिरफ्तारीमा चीनले कडा प्रतिक्रिया दिएको थियो । चिनियाँ सरकारले क्यानाडा र संयुक्त राज्य अमेरिकाले उनको अधिकार उल्लङ्घन गरेको आरोप लगाए र उनको तत्काल रिहा गर्न माग गरेको थियो । चीनले क्यानडा–अमेरिकालाई सम्भावित नतिजाको चेतावनी पनि दियो । चीनले पनि दुई क्यानाडाली नागरिक माइकल कोभ्रिग र माइकल स्पाभोरलाई जासुसीको आरोपमा हिरासतमा लिएको थियो । हसियाको धार आफैतिर फर्किन्छ भनेजस्तै अष्ट्रेलिया, बेलायत र युरोपेली सङ्घले कूटनीतिक सम्बन्ध र कानुनी दायित्वलाई सन्तुलनमा राख्ने जटिलतालाई स्वीकार गर्दै कानुनी प्रक्रिया अपनाउनुपर्ने भनेर क्यानाडाको पक्ष लिएका थिए ।
टेलिग्राम
त्यसैगरी सामाजिक सञ्जालमा अमेरिकी कम्पनीमाथि चुनौतीको रुपमा उभिएको चिनियाँ कम्पनीको टिकटक हो । यो कम्पनीमाथि पनि अमेरिकाको गिद्देदृष्टि प¥यो । चिनियाँ कम्पनी टिकटक विश्वभरि लोकप्रिय हुँदै गएपछि अमेरिकी सामाजिक सञ्जाल कम्पनीमाथि चुनौती थपिदै गयो । त्यसपछि अमेरिकी षड्यन्त्र सुरु भयो । यो कम्पनीले चिनियाँ सरकारसँग डाटा साझेदारी आवश्यकता रहेकोले अमेरिकी प्रयोगकर्ताको डाटा चिनियाँ सरकारको हातमा पर्न सक्ने भन्दै अमेरिकाले निहुँ खोज्यो । टिकटकका प्रमुख कार्यकारी अधिकारी साउ जी च्युलाई अमेरिकामै गत वर्ष स्पष्टीकरण मागियो । च्युको बयान ५ घण्टासम्म लामो थियो । डाटाको दुरुपयोग हुने निहुँ झिकेर अमेरिकाले प्रतिबन्ध लगायो । खुला अर्थतन्त्रको वकालत गर्ने अमेरिका अहिले अमेरिकी कम्पनीको संरक्षणको नाममा वैश्विक आर्थिक नीतिको उल्लङ्घन गरिरहेको छ । यसकारण, ‘टिकटक प्रतिबन्ध’ विश्वभरि चर्चाको विषय बनेको छ । टिकटकको उत्पत्ति मूल रूपमा साङ्गीतिकरूपमा चिनिने टिकटक १५ सेकेन्डको लिप–सिङ्गगिङ्ग (ओठमात्र चलाएर गीत गाएजस्तो गर्ने) भिडियोहरू साझेदारी गर्ने एप हो । विश्वभर लोकप्रिय हुँदै गएको टिकटकको अमेरिकामा मात्र १५ करोडभन्दा बढी प्रयोगकर्ताहरू थिए ।
यसरी विभिन्न प्राविधिक कम्पनी र तिनीहरूका संस्थापकहरूलाई राष्ट्रसँग जोडेर राजनीतिक प्रतिशोध साध्ने कार्यले प्रविधि जगत प्रतीकात्मक युद्धभूमिजस्तै बनेको छ ।
निष्कर्ष एउटै छः चाहे त्यो राजनीतिक प्रभुत्व होस् वा आर्थिक हैकम, अमरिकी प्रभुत्वमाथि चुनौती दिने कुनै पनि मुलुकको प्रयासलाई जरैदेखि उखेल्ने अमेरिकी नीति रहेको छ । हरसमय विश्वभरि आफ्नो एकाधिकार र हैकम कायम गर्न खोज्ने अमेरिकाको प्रतिस्पर्धात्मक बजारको वकालत गर्ने सबैले विरोध गर्नैपर्छ । राजनैतिक, सामरिक, प्राविधिक वा भूराजनैतिक हरेक क्षेत्रमा नयाँ क्षेत्रीय शक्तिहरूको उदयले संयुक्त राज्य अमेरिकी नेतृत्वको पश्चिमा हैकमलाई कायम गर्ने प्रयास निभ्न लागेको दियो जस्तो हो भन्दा फरक नपार्ला ।