फिडेल क्यास्ट्रो
सबै सिपाहीलाई फिर्ता हुन आदेश प्रसार गर्ने सिपाहीसहित १० जनाको अर्धसैनिक जवानमाथिको आदेश शिरोपर गर्दै आफू भवनको मुख्य सिँढी ओर्लँदै र भवन परिसरबाट बाहिरिँदै गर्दा आफ्ना राइफल राष्ट्रपतितिर सोझ्याउँछन् । राष्ट्रपतिका निजी अङ्गरक्षकले जवाफी गोली प्रहार गर्छन्, सैनिक विद्रोह गर्ने सेनाविरूद्ध त्यो पहिलो गोली प्रहार हुन्छ ।
यी सबै घटनाहरू हुँदै गर्दा केही मन्त्री, सचिव, सल्लाहकार, राष्ट्रपतिका सुपुत्रीहरू बीट्रिज र इसाबेलसँगै पपुलर युनिटीका अरू केही सदस्यहरू त्यो संवेदनशील घडीमा राष्ट्रपतिलाई सहयोग गर्न राष्ट्रपति भवन आइपुग्छन् ।
झन्डै ९ः१५ बजेतिर राष्ट्रपति भवनमा बाहिरबाट पहिलो गोली प्रहार हुन्छ । दुई सत्न्दा बढी पैदल फासीवादी सिपाहीहरू प्लाजा डि ला कन्स्टिच्युसन (एबिशब मभ बि ऋयलकतष्तगअष्यल – चिलीको संसद् भवन) को दुवैतिरबाट टिटिमोस र मोरान्डे बजार हुँदै राष्ट्रपति भवनतर्फ अघि बढ्छन् । उनीहरू राष्ट्रपति भवनमा गोली बर्साउँदै अघि बढ्छन् । भवनको रक्षामा खटिएका जनशक्ति जम्मा ४० भन्दा बढी हुँदैनन् ।
फासीवादीहरूले पैदल सिपाहीहरूसँगै सशस्त्र ट्याङ्कहरू ल्याउँछन् । एउटा ट्याङ्क मोनेडा बजारबाट अघि बढ्छ, अर्कोलाई टिटिमोसबाट अघि बढाइन्छ, अर्को ट्याङ्क मोरान्डेको कुना हुँदै अलामेडाबाट अगाडि बढ्छ, अर्को एउटा ट्याङ्क संसद् भवनतिरबाट राष्ट्रपति भवनतिर बढाइन्छ । त्यहीबेला राष्ट्रपतिको आफ्नै कार्यकक्षबाट मूलद्वारमा अवस्थित ट्याङ्कमाथि अग्नि प्रक्षेपक प्रहार हुन्छ र त्यो ट्याङ्क पूर्णतः ध्वस्त हुन्छ । अरू दुईवटा ट्याङ्कले राष्ट्रपतिको कार्यकक्षमै निशाना बनाएर हमला गर्छन् । अर्को एउटा सशस्त्र ट्रकले राष्ट्रपतिको निजी सचिवको कार्यालयमा हमला गर्छ र जवाफमा अङ्गरक्षकहरूले आफ्ना मेसिनगनबाट जवाफ दिन्छन् । संसद् भवनतिर तैनाथ थुप्रै प्रक्षेपक हतियारले पनि राष्ट्रपति भवनमा हमला गर्छन् । राष्ट्रपति आफ्ना सहयोद्धाहरूलाई उत्साहित पार्दै र नेतृत्व गर्दै विभिन्न प्रतिरोधात्मक हमला गर्दै हुन्छन् । एक घण्टाभन्दा लामो समयसम्म भीषण सङ्घर्ष चालु रहन्छ तर फासीवादीहरू एक इन्च पनि अघि बढ्न सक्दैनन् ।
१०ः४५ बजे टोइस्का कक्षमा राष्ट्रपतिले आफूलाई सहायता गर्न आएका मन्त्री, सचिव र सल्लाहकारहरूलाई भेट्छन् । उनीहरूलाई उनले भविष्यको सङ्घर्षका निम्ति नेता–कार्यकर्ताको आवश्यकता रहने भएकाले निःशस्त्र व्यक्तिहरू सबैले सकेसम्म चाँडो ला मोनाडा भवन छोड्नुपर्ने बताउँछन् । हतियार भएकाले मात्र प्रतिरोध चालु राख्नुपर्ने उनको भनाइ हुन्छ । तर, कोही पनि निःशस्त्र व्यक्ति त्यो मान्न तयार हुँदैनन् । राष्ट्रपतिका छोरीहरू र त्यहाँ उपस्थित कोही पनि महिला त्यहाँबाट बाहिरिन सहमत हुँदैनन् ।
लडाइँ भीषण तरिकाले अगाडि बढ्छ । भवनको इन्टरकम प्रणालीबाट फासीवादीहरूले आक्रोशपूर्वक नयाँ चेतावनी जारी गर्छन् । प्रतिरोध तत्काल नरोके हवाई सेना परिचालन गर्ने उनीहरू धम्की दिन्छन् । ११ः४५ बजे राष्ट्रपतिले आफ्ना छोरीहरू र त्यहाँ उपस्थित नौजना अरू महिलालाई भेट्छन् र ला मोनाडा छोड्न दृढ आदेश जारी गर्छन् । आफ्नो प्रतिरक्षा नै गर्न नसक्ने अवस्थामा त्यहाँ मर्नु अर्थहीन हुने उनको भनाइ हुन्छ । तत्कालै उनले महिलालाई बाहिर पठाउन विपक्षीसँग युद्धविरामको आग्रह गर्छन् । फासीवादीहरू युद्धविरामको लागि तयार हुँदैनन् बरू त्यही मौका छोपेर उनीहरू भवन परिसरबाट पछाडि हट्छन् । हवाई हमला गर्न उनीहरूले यस्तो चाल चालेका हुन्छन् । भीषण हानाहानबिच महिलाहरूलाई बाहिर पठाइन्छ ।
मध्यान्ह १२ः०० बजेबाट राष्ट्रपति भवनमा हवाई हमला सुरु हुन्छ । पहिलो रकेट छाना छेड्दै भवनको मध्य भागमा पर्ने ग्रीष्म चोकमा विस्फोट हुन्छ । एकपछि अर्को रकेट हमला हुन्छन्, पूरै भवन धुवाँ र विषालु ग्यासले ढाकिएको हुन्छ । राष्ट्रपतिले सबै ग्यासमास्क निकाल्न भन्छन् र जम्मा कति हतियार बाँकी छ, लेखाजोखा गर्छन् अनि सबै लडाकुलाई हवाई हमलाको प्रतिकार गर्न उत्साहित बनाउँछन् ।
तीन घण्टाको लडाइँपश्चात् राष्ट्रपतिको अङ्गरक्षकका स्वचालित राइफलमा गोली सकिँदै जान्छ । त्यसकारण, राष्ट्रपति भवन रक्षार्थ खटिएका अर्धसैनिक बललाई गठ्ठाघरको ढोका फोड्ने आदेश दिन्छन् । त्यहाँ हतियारको भण्डारण गरिएको हुन्छ । हतियारबारे खबर आउन विलम्ब भएपछि अधैर्य भएर उनी स्वयम् ग्रीष्म चोक नाघेर गठ्ठाघर पुग्छन् । त्यहाँ उनले प्रत्याक्रमणमा हाते ग्रिनेड पनि प्रयोग गर्न आदेश दिन्छन् । गठ्ठाघरको ढोकामा एउटा प्वाल बनाएर चारवटा ३० क्यालिबरको मेसिनगन, थुप्रै सिक राइफल, धेरै गोली गठ्ठा, ग्यासमास्क र हेलमेट बाहिर ल्याइन्छ । राष्ट्रपतिले यी सबै सामग्री अग्रमोर्चामा लान आदेश दिन्छन् र अर्धसैनिक सुरक्षाकर्मीहरू बस्दै आएका कोठा–कोठामा पुगेर सिक राइफललगायत त्यहाँ भेटिएका हतियारहरू बोकेर आउँछन् ।
प्रतिरोधका लागि आफ्ना कुममा अनेकन हतियार बोक्दै राष्ट्रपति भन्छन्, “यसरी हामी इतिहासको पहिलो पाना कोर्दै छौँ । मेरा जनता र अमेरिकी महादेशका जनताले बाँकी इतिहास लेख्नेछन् ।”
गठ्ठाघरबाट राष्ट्रपति हातहतियार बोकेर आउँदै गर्दा अर्को हवाई हमला हुन्छ । विस्फोटले राष्ट्रपति बस्दै गरेको कोठाका सिसा चकनाचुर बनाउँछ र सिसाको टुक्राले उनलाई चोट लाग्छ । उनलाई लागेको यो पहिलो चोट हुन्छ । उनको घाउमा मलमपट्टी लगाउँदै गर्दा उनले हतियार ल्याउने काम चालु राख्न आदेश दिन्छन् । उनी आफ्ना कामरेडहरूको अवस्थाप्रति निरन्तर चिन्तित हुन्छन् ।
केही मिनेटपछि फासीवादीहरूले फेरि हमला गर्छन् । उनीहरू विमानका साथै बन्दुक, ट्याङ्क र गोली गठ्ठाको भरपुर प्रयोग गर्छन् । प्रत्यक्षदर्शीका अनुसार विस्फोट र गोली चलेको आवाजका साथै धुवाँ र विषालु ग्यासले राष्ट्रपति भवन बाक्लै ढाकिएको थियो । राष्ट्रपतिले भुइँतलामा आगो सल्कनबाट रोक्न सबै पानीका पाइप खोल्न आदेश दिए तापनि भवनका बायाँतिरबाट आगो सल्किन्छ र राष्ट्रपतिका सहयोगीका कोठा र लाल बैठकमा आगो फैलिन्छ । यति हुँदा पनि राष्ट्रपति कत्ति पनि बिचलित हुँदैनन्, त्यो सबभन्दा गम्भीर समय थियो । उनी सबै सम्भव उपाय लगाएर भीषण हमलाको प्रतिकार गर्न आदेश दिइरहन्छन् ।
त्यही बेला आगो दन्किरहेको भवन हुँदै आगोको सामना गर्दै घसिँदै प्लाजा दि ला कन्स्टिच्युसनस्थित आफ्नो कार्यालयमा पुग्छन्, अग्नि प्रक्षेपक निकाल्छन् र राष्ट्रपति भवनमा हमला गर्दै गरेको मोरान्डे बजारको ट्याङ्कमा निशाना बनाएर हमला गर्छन् । त्यो ट्याङ्क ठाउँको ठाउँ ध्वस्त हुन्छ । त्यसको केही बेरपछि अर्का लडाकुले अर्को एउटा ट्याङ्क ध्वस्त बनाउँछन् ।
फासीवादीहरू ला मोनाडा भवनको द्वारमा हमला तीव्र पार्दै मोरान्डे सडकभरि थप नयाँ बख्तरबन्द गाडी, सिपाही र ट्याङ्कहरू थप्छन् । राष्ट्रपति भवनमा दन्किएको आगो अझ फैलिन्छ । मोरान्डे सडक हुँदै राष्ट्रपति भवनभित्र पस्ने फासीवादीहरूको प्रयत्न विफल तुल्याउन राष्ट्रपतिसहित अरू केही लडाकुहरू भुइँतलामा पुग्छन् र आफ्नो लक्ष्यमा उनीहरू सफल हुन्छन् ।
त्यसपछि फासीवादीहरूले त्यो खण्डमा गोलाबारी रोक्दै वार्ताका लागि दुईजना प्रतिनिधि पठाउन चिच्याउँछन् । राष्ट्रपतिले सरकारका महासचिव फ्लोर्स र गृह मन्त्रालयका उपसचिव डानियल मिर्गारालाई पठाउँछन् । उनीहरू मोरान्डे सडकतिरको ढोका हुँदै बाहिर जान्छन् र त्यहीँ राखिएको सैनिक जीपमा पुग्छन् । त्यतिबेला झन्डै १ः०० बजिसकेको हुन्छ ।
फ्लोर्स र मिर्गाराले जीपमा एकजना उच्चपदस्थ अधिकारीसँग कुराकानी गर्छन् । राष्ट्रपति भवनतर्फ फर्कने क्रममा ढोका नजिक पुग्दा नपुग्दै उनीहरूमाथि जीपबाट गोली प्रहार हुन्छ । फ्लोर्सलाई दायाँ खुट्टामा गोली लाग्छ र डानियल मिर्गाराको पिठ्युँमा धेरैपटक गोली प्रहार हुन्छ । राष्ट्रपति भवनबाट लडिरहेका लडाकुहरूले प्रतिकारमा गोली चलाउँदै गर्दा उनीहरूलाई भवनभित्र तानेर ल्याइन्छ ।
फासीवादीहरूले फेरि पनि आत्मसमर्पणको माग गर्न वार्ता बोलाउँछन् । उनीहरू राष्ट्रपति र उनका सबै सहयोगीहरूलाई आफूले चाहेको ठाउँमा जान विमानको बन्दोबस्तको प्रस्ताव गर्छन् । राष्ट्रपतिले फेरि पनि अन्तिम दमसम्म लड्ने आफ्नो निर्णय दोहो¥याउँछन् । भुइँतलाबाटै उनीहरू मोरान्डे सडकबाट भइरहेको हमलाको प्रतिरोध गरिरहन्छन् । भवनको मुख्यद्वार पूर्णरूपमा ध्वस्त भइसकेको हुन्छ ।
झन्डै १ः३० बजे राष्ट्रपति दोस्रो तला उक्लन्छन् । त्यतिञ्जेल धेरै प्रतिरोधी लडाकुहरू कि त बम हमला र विस्फोटनमा परेर, नभए आगोले जलेर मरिसकेका हुन्छन् । पत्रकार अगस्टो ओलिभारिसले आफ्नो वीरताबाट सबैलाई आश्चर्यचकित बनाएका हुन्छन् । गम्भीररूपमा घाइते भइसकेपछि उनलाई भवनको उपचार कक्षमा लगी शल्यक्रिया गरिन्छ । सबै जनाले उनी त्यहीँ पल्टिरहेको हुनुपर्छ भनी सोचेका हुन्छन् तर उनी त हतियार बोकेर राष्ट्रपतिसँगै लड्न दोस्रो तलामा पुगिसक्छन् ।
त्यहाँका लडाकुहरूको वीरताको बखान अन्त्यहीन छ । १ः३० बजेपछि फासीवादीहरूले भवनको भुइँतला कब्जामा लिन्छन् । प्रतिरोध हमला दोस्रो तलामा केन्द्रित हुन्छ, सङ्घर्ष चालु रहन्छ । फासीवादीहरू मुख्य सिँढीबाट माथि उक्लन खोज्छन् । झन्डै २ः०० बजेसम्ममा उनीहरू दोस्रो तलाको एक छेउ कब्जा गर्न सफल हुन्छन् । राष्ट्रपति र उनका सहयोद्धाहरूले आफूलाई लाल बैठक कक्षको कुनामा केन्द्रित गरेका हुन्छन् । फासीवादीहरू भित्र पसेको दिशातिर अघि बढ्ने क्रममा राष्ट्रपतिको पेटमा गोली लाग्छ । उनको पीडामाथि थप पीडा थपिन्छ तर उनी लड्न छोड्दैनन् । एउटा कुर्सीको आड लिएर उनी लडाइँ जारी राख्छन् । फासीवादीहरू केही दूरीमात्र पर हुन्छन् । त्यहीबेला दोस्रो गोली उनको छातीमा लाग्छ । उनी भुइँमा पछारिन पुग्छन् । उनी लगभग मृत अवस्थामा पुगिसकेका हुन्छन् । गोलीले उनलाई छियाछिया बनाएको हुन्छ ।
राष्ट्रपति ढलेको देखेपछि उनका अङ्गरक्षकहरूले सशक्त प्रतिकार हमला गर्छन् र फासीवादीहरूलाई मुख्य सिँढीसम्म धकेल्छन् । प्रतिरोधको यो क्रमबिच आत्मसम्मानको एउटा आश्चर्यलाग्दो घटना हुन्छ । उनीहरूले राष्ट्रपतिलाई उनको कार्यालय पु¥याउँछन् र राष्ट्रपतिको आसनमा बसाउँछन्, राष्ट्रपतिको आभूषण लगाइदिन्छन् र उनको शरीरमा चिलीको झन्डा ओढाइदिन्छन् ।
आफ्ना राष्ट्रपतिको निधनपश्चात् पनि ती अमर प्रतिरोधी लडाकुहरूले थप दुई घण्टासम्म आततायी फासीवादी हमलाको प्रतिरोध चालु राख्छन् । साँझ ४ः०० बजेतिर मात्र घण्टौँदेखि जलिरहेको राष्ट्रपति भवनमा अन्तिम प्रतिरोध समाप्त हुन्छ ।
अहिले भनिएका घटनाक्रम सुनेर धेरै जना चकित पर्नेछन् । हो, यो साँच्चै चकित पार्ने खालको छ । पपुलर युनिटी सरकारविरूद्ध फासीवादी उच्चपदस्थ अधिकारीहरूले चार टुकडी सिपाही परिचालन गरे । तर, हातहतियार, गोली–गट्ठा, ट्याङ्क, विमान र फासीवादी सिपाहीको हमलाविरूद्ध मात्र ४० जना मानिस घण्टौँसम्म लडिरहे । इतिहासमा यस्तो वीरताको गाथा भेट्टाउन मुस्किल छ । जनताको हितको रक्षामा मर्न पनि पछि नपर्ने, आफ्ना वचन पूरा गर्ने राष्ट्रपति साहसी र दृढमात्र थिएनन् बरू उनी त्यो गम्भीर घडीमा आफ्नो उचाइ अविश्वसनीय तहमा पु¥याउन सफल भए । उनको दृढता, विलक्षणता, नेतृत्व र वीरता अमूल्य छ । यो गोलाद्र्धमा आजसम्म यस्तो घटनामा सहभागी हुने अरू कोही राष्ट्रपति छैनन् । निःशस्त्र विचारलाई प्रायः निर्मम शक्तिले दबाउने गर्दछ । अब भन्न सकिन्छ, यसअघि कहिले पनि बोलेका र लेखेका शब्दबाहेक कुनै पनि हतियार नभएका एकजना विचारको व्यक्तिविरूद्ध आततायी शक्ति यसरी उत्रेको थिएन ।
सबै फासीवादी सेनाले भन्दा साल्भाडोर एयेन्डेले धेरै गुणा बढी आत्मसम्मान, स्वाभिमान, साहस र वीरता प्रदर्शन गरे । एयेन्डेको अतुलनीय सङ्घर्षले पिनोचेलाई होचो र सदाको निम्ति निरर्थक बनाइदिएको छ ।
फासीवादीहरूले राष्ट्रपति एयेन्डेका असामान्य सङ्घर्षलाई चिली र संसारभरका जनताबाट ओझेल पार्न खोजे । उनीहरूले एयेन्डेको आत्महत्यालाई नै घटनाको ‘वास्तविक’ संस्करण बनाउन खोजे । कथंकदाचित गम्भीररूपमा घाइते एयेन्डेले शत्रुको बन्दी हुनबाट जोगिन आफैलाई गोली ठोकेको भए तापनि यसले उनको छविमा कुनै असर पार्ने छैन । त्यो त झन् विलक्षण साहसको परिचय हुने थियो ।
राष्ट्रपति एयेन्डेको निधनपश्चात् उनीहरूले उनीमाथि अत्यन्त तल्लोस्तरको नीच ढङ्गले हमला गरे । तर, फासीवादीहरूबाट हामीले त्योभन्दा बढी के नै अपेक्षा गर्न सक्छौँ र ? उनीहरूले हामीले उनलाई दिएको एउटा राइफललाई नै ठुलो विषयको रूपमा अतिरञ्जित प्रचारबाजीमा ल्याए । त्यही राइफलले एयेन्डे त्यो दिन अन्तिम क्षणसम्म लडेका थिए । तर, तथ्यले आज पुष्टि गरेको छ, पपुलर युनिटी सरकारको रक्षा गर्न राष्ट्रपति एयेन्डेलाई दिने त्यो राइफलभन्दा राम्रो उपहार अरू कुनै हुनसक्दैनथ्यो ।
राष्ट्रपति एयेन्डेलाई राइफल दिन हामीले गरेको विचार सही प्रमाणित भएको छ । आजसम्म कोही पनि वीर, संवैधानिक र वैध राष्ट्रपतिले राइफल प्रयोग गरेका थिएनन् । कुनै पनि राइफलले त्यसरी गरिब जनताको पक्षमा लडेको थिएन, चिलीका मजदुर–किसानको पक्षमा प्रयोग गरिएको थिएन । यदि सबै मजदुर र हरेक किसानसँग हात हातमा राइफल हुँदो हो त कुनै फासीवादी विद्रोह हुनसक्ने थिएन ।
स्रोत : चिलीमा फासीवादको प्रतिरोध