चाडबाड नजिक आएसँगै सर्वसाधारणलाई एउटै चिन्ताले पिरोल्न थालेको छ,‘यस्तो मँहगीमा कसरी चाडबाड मनाउने ?’ उता, व्यापारीहरुलाई भने कसरी उपभोक्तालाई ठग्ने भन्ने चिन्ता हुन्छ । विगतदेखिको परिपाटी नै यस्तै छ । हिन्दू धर्मावलम्बीले मान्ने चाडबाडहरु नजिकिँदै छ ।
अब भटाभट चाडपर्व आउँछ । चाडपर्व आएसँगै व्यवसायीहरुको मनोमानी चल्छ । खाद्यान्नको कालोबजारी हुन्छ । भाउ बढाइन्छ । यता, यातायात व्यवसायीहरुले गाडी भाडा बढाउन सरकारलाई दबाब दिन्छन् । दशैंको मुखमा आएर सँधै भाडा बढाइन्छ । घर जानुपर्ने भएकाले यात्रु भनेजति भाडा तिर्न बाध्य हुन्छन् ।
प्लेन भाडा पनि बढ्छ । चाडबाडले कतिपयको घरमा रौनक ल्याउँछ त कतिपयको घरमा रुवाबासी चल्छ । चाडपर्व मनाउन घर हिँडेकाहरु सवारी साधन दुर्घटनामा परेर मर्छन् । यस वर्षको दशैं आउन अब केही साता बाँकी छ । यसपटकको दशैंलाई कसरी व्यवस्थित बनाउने ? सरकारसँग कुनै योजना छैन् ।
हरेक वर्ष दशैं शुरु हुनुभन्दा एकाध दिनअगाडि टिकट खोलिन्छ । जसका कारण यात्रुहरुलाई धपेडी हुने गरेको छ । अग्रिम टिकट भनेपनि खोलेको दुई दिनमै सकिसक्छ । यसले गर्दा यात्रु हरेक वर्ष मर्कामा पर्ने गरेका छन् । टिकटमा पनि कालोबजारी हुन्छ । सरकारले यसपटकको दशैंमा कसरी यात्रुलाई सहज रुपमा घर पुर्याउने ? कुनै योजना नै बनाएको छैन् ।
एउटा उखान छ,‘जब पर्यो राति, तब बुढी ताँती’, सरकारको त्यस्तै प्रवृत्ति छ । अन्तिम समयमा आएर हतारोमा निर्णय गरिन्छ । यो प्रवृत्तिले सर्वसाधारणलाई धेरै हैरानी हुने गरेको छ । छलफल गर्ने, योजना बनाउने बाटोघाटो मर्मत गर्ने, गाडीको कण्डिसन चेकजाँच गर्न लगाउनेलगायतका काम सरकारद्धारा अहिलेदेखि नै हुनुपर्ने हो ।
तर, सरकार आफैं रमिता हेरेर बसेको छ । सरकारको कारणले दशैंमा वर्षेनि सयौंले सवारी दुर्घटनामा ज्यान गुमाउँछन् । कतिपयको घरमा दशैं दशा बनिदिन्छ । कारण के भन्दा सरकार । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई देश र जनताको मतलब छैन् । उनी त कमिशन खान र सरुवा बढुवा गर्नमै ध्याउन्न छन् ।
राजदूत हेरफेर गर्ने, आफ्ना मान्छेलाई सरकारी जागिर दिने, आफू निकटलाई रोजजस्तो ठाउँमा सरुवा गर्ने, आफ्नो चाप्लुसी गर्नेलाई बढुवा गर्ने, उद्योग व्यवसायीले सरकारलाई तिर्नुपर्ने कर मिनाहा गरेर पार्टीका लागि चन्दा उठाउने र तिनलाई कार्यकर्ता बनाउने । ओलीको उद्देश्य यति नै हो ।
अहिले मुलुकमा आर्थिक मन्दी छ । सर्वसाधारणसँग पैसा छैन् । बिहानबेलुका छाक टार्न सर्वसाधारणलाई सकस परेको छ । यस्तोमा चाडबाड कसरी मनाउने ? सर्वसाधारणलाई तनाव भएको छ । चाडबाड नजिकिँदै गर्दा सर्वसाधारणलाई पीरैपीरले सताएको छ । घर जान खर्च लाग्छ ।
त्यसमाथि रित्तो हात जान मिलेन् । दशैंमा फेरि गाडी भाडा बढ्छ । सामान छोइनसक्नु हुन्छ । एकातिर बेरोजगारी बढेको छ, अर्कोतिर अधिकांशले तलब पाइरहेका छैनन् । ऋण दिनसक्ने अवस्था यतिबेला कोहीसँग पनि छैन् । सर्वसाधारण चिन्तामा छन् तर सरकारलाई मतलब नै छैन् ।
ओलील ‘दिन कटाउने र माना पचाउने’ मै व्यस्त छन् । छलफलका नाममा कर्मचारी बोलाउने, कलाकार बोलाउने, खेलकुदका पदाधिकारी बोलाउने अनि दिन कटाउने । छलफल गरेर केही उपलब्धि हात परे त ठीकै थियो । उपलब्धि शून्य, खर्चचाँहि खातैखात छ । कर्मचारीबाट देशको विकास सम्भव छैन् ।
कर्मचारीलाई राम्रो गाडी चढ्नु छ, घुस खानु छ, घर बनाउनु छ, राम्रो जीवनयापन गर्नु छ, देश विदेश भ्रमण गर्नु छ, छोराछोरी विकसित देश पठाउनु छ । पिऊन्देखि मुख्यसचिवसम्म यी कुरा लागु हुन्छ । सरकारी कर्मचारीको दिमागमा जतिबेला पनि कसरी व्यक्तिगत लाभ लिने ? भन्ने मात्र खेलिरहेको हुन्छ ।
ओली चारपटक प्रधानमन्त्री भए । चार पटकमा उनले के गरे ? हावा गफ गर्नबाहेक उनले केही जानेका छैनन् । सस्तो लोकप्रियतामा रमाउने व्यक्ति हुन्, उनी । एउटा सफा टेम्पो चलाउने क्षमता नभएको व्यक्तिलाई देश चलाउने जिम्मा दिइएको छ । चालकले थोरै त्रुटि गर्यो भने ठूलै क्षति हुन्छ ।
चालक, यात्रु र पैदलयात्रीको ज्यान जान सक्छ । ओली त देश चलाउने ड्राइभिङ सीटमा बसेका छन् । उनले देशलाई लगेर खाडलमा हाल्छन्, हाल्छन् । हुन त ओलीसँग काम गर्ने क्षमता छैनन् । अहिले जति नै ठोकेपनि हिजो बसेर आएको जेलै हो । त्योपनि मान्छे मारेको केसमा ।
त्यसलाई राजनीतिमा मोडे उनले । उनको असलियत अहिले सबैले थाहा पाइसके । अहिले उनको मन्त्रिमण्डलमा विवादित व्यक्तिहरु छन् । उनी आफैंपनि झापाको गिरीबन्धु टी स्टेटको जग्गा हिनामिनामा मुछिएका छन् । सरकारी सम्पत्ति दोहन गर्ने देशको प्रधानमन्त्री बन्दा जनताको शिर निहुँरिएको छ ।
यता, नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने धन्दामा मुछिएका काँग्रेस नेतृ डा आरजु राणा परराष्ट्रमन्त्री बनेकी छिन् । जेलबाट भर्खर छुटेका व्यक्तिलाई राज्यमन्त्री बनाइएको छ । मुलुक यिनीहरुको पेवा हो ? देशमा ऐनकानुन छैन् ? सत्ता बनाउन र टिकाउन फोहोरी खेल चलिरहेको छ ।
कानुनको कठघरामा हुनुपर्ने व्यक्तिहरु सरकारमा छन् । अनि त्यस्ताले देशको विकास गर्छन् ? जनताले सेवासुविधा पाउँछन् ? दिनभर सडकमा बस्यो ‘बनी’ हुँदैन् । काम खोज्यो, पाउँदैन् । अब जनताले चाडपर्व कसरी मनाउने ? खाईनखाई अलिअलि गरेर जम्मा गरेको पैसा सहकारीले स्वाहा बनाइदिएको छ ।
सहकारी सञ्चालक पैसा लिएर फरार छन् । उता, लघुवित्तको अवस्था पनि त्यस्त्रै छ । अरु त छोडौं, यसपटकको दशैंमा धेरैलाई घर जाने गाडी भाडाको जोहो गर्नसमेत मुस्किल पर्ने देखिन्छ । खाद्यान्नको भाउले आकाश छुन्छ । दशैं मनाउन त गाह्रो पर्ने भयो । सरकारले घटस्थापनादेखि पुर्णेको दिनसम्म रुट परमिट खोलिदिन्छ ।
काठमाडौं उपत्यकाभित्र चल्ने सबै थोत्रो गाडी बाहिर जान्छ । यहाँका सम्मो सडकमा चल्न मुस्किल परेका गाडी बाहिरी जिल्लाका सडकमा कसरी गुड्ला ? दुर्घटनाको जोखिम बढ्छ । उपत्यकाभित्र नै गाडीका अभाव हुन्छ । उपत्यकाबासीलाई गाडी नपाउँदा समस्या हुन्छ । अन्य देशका प्रधानमन्त्री र मन्त्री धेरै जिम्मेवार छन् ।
नैतिक हिसाबमा पनि उनीहरु उच्च छन् । आफूसँग भएको योजनाहरु लागु गर्छन् । के गर्दा ठीक हुन्छ ? उनीहरु लागु गर्छन् । छलफलको नाममा राज्यको ढुकुटी दोहन गर्ने काम उनीहरुबाट हुँदैन् । तर, हामीकहाँ छलफल गर्ने र राज्यको ढुकुटी रित्याउने काम मात्र हुन्छ । जनताको सेवासुविधा बाहिरी मुलुकका प्रधानमन्त्री, मन्त्रीको मुख्य एजेण्डा हो ।
हाम्रो मुलुकको प्रधानमन्त्री, मन्त्रीको एजेण्डा राज्यको ढुकुटी सकाउने हो । जनताले तिरेको करमा मोजमस्ती गर्न उनीहरु नयाँनयाँ एजेण्डा ल्याउँछन् । एउटा सिण्डिकेट हटाउने क्षमता त सरकारसँग छैन् । अरु के आशा गर्नु ? चार दशक भयो, कालो प्लेट र हरियो प्लेटको ट्याक्सीको दर्ता नखोलेको ।
फो स्टक टेम्पो र कालीमाटीमा चल्ने ढुवानी गाडीको हकमा पनि त्यही हो । दर्तै बन्द छ । नेपालीमा एउटा उखान छ,‘अल्छीले जति जैसीले जान्दैन्, भैंसीले जति गाईंले खाँदैन् ।’ यो उखान देशको प्रधानमन्त्री, मन्त्री र सरकारी कर्मचारीसँग मेल खान्छ । काम नगर्ने, भाषण मात्र ठोक्ने । हामी यो गर्दैछौं, त्यो गर्दैछौं भन्ने तर उखाल्नेचाँहि केही होइन् ।
काम गरेको भए त नतिजा देखिहाल्थ्यो नि । काम गर्नेलाई बोलिरहनुपर्ने आवश्यकता छैन् । जनताले देखिहाल्छन् । काम नगर्नेहरु यो–त्यो भन्दै सुनाइरहन्छन् । अरु देशका नेताहरु साधारण भएर हिँड्छन् । हामीकहाँ त नाटकै धेरै हुन्छ । अगाडिपछाडि सुरक्षाकर्मी राखेर साइरन बजाउँदै हिँड्छन् । आफ्नो त मूल्याङ्कन गर्ने नसक्नेले देश र जनताको कसरी मूल्याङ्कन गर्न सक्छ ?
भक्तपुर