जनता सरकारको पक्षमा
५ सेप्टेम्बर १९६० मा प्याट्रिस लुमुम्बाले एक रेडियो सन्देश दिए, ‘भर्खरै राष्ट्रप्रमुख जोसेफ कासभुवु’ (The head of State Mr. Joseph Kasavubu) ले राष्ट्रिय रेडियोमार्फत मैले नेतृत्व गरेको सरकार भङ्ग गर्नुपर्ने बताएको छ ।
यो सूचनालाई म सरकार र सम्पूर्ण राष्ट्रको तर्फबाट औपचारिकरूपले अस्वीकार गर्छु ।
राष्ट्रप्रमुखसँग यसबारे सरकारसँग कुनै कुराकानी भएको छैन । यो सरकार लोकतान्त्रिक ढङ्गले राष्ट्रले चुनेको सरकार हो र संसद्मा सर्वसम्मत विश्वासपात्र छ । जनताको विश्वास गुमेपछि मात्रै सरकारलाई भङ्ग गर्न सक्छ । आजसम्म सरकारमाथि जनताको विश्वास प्राप्त छ र सम्पूर्ण जनताको समर्थन छ ।
कम्युनिस्टको आरोप
३२ जुलाई १९५० को दिन एक फ्रान्सेली प्रचारमाध्यम (France–Soir) को संवाददातालाई एक अन्तर्वार्तामा प्याट्रिस लुमुम्बाले भने, “यो एक प्रचारबाजी हो । म कम्युनिस्ट होइन । म एक क्रान्तिकारी हुँ । हाम्रो मानवीय प्रतिष्ठालाई अस्वीकार गर्ने उपनिवेशवादी शासन उखेल्न माग गर्ने भएको हुँदा उपनिवेशवादीहरूले देशभरि मेरो विरोधमा प्रचार गरेका हुन् । साम्राज्यवादीहरूको घुसलाई मैले अस्वीकार गरेको हुनाले तिनीहरूले मलाई कम्युनिस्ट देखेका हुन् ।”
न्युयोर्क टाइम्स (The New York Times) का संवाददाता टोम ब्रेडी (Tom Brody) सँगको कुराकानीमा प्याट्रिस लुमुम्बाले संयुक्त राष्ट्र सङ्घमा जान संरा अमेरिकासँग हवाईजहाज मागेका थिए, अमेरिकाले हवाईजहाज नदिएपछि सोभियत सङ्घसँग हवाई जहाजमा प्याट्रिस लुमुम्बा संयुक्त राष्ट्र सङ्घको बैठकमा गएपछि पश्चिमी शक्तिहरूले उनलाई कम्युनिस्ट भन्न सजिलो भयो ।
साम्राज्यवादीहरूले राजनैतिक स्वतन्त्रता अफ्रिकी जनताकै हातमा सुम्पे पनि अर्थतन्त्र, सेना र कर्मचारी संयन्त्र सुम्पदैनन् । अर्थतन्त्र स्वाधीन जनताको हातमा नपुगेसम्म प्राप्त स्वतन्त्रता र स्वाधीनता नामको मात्र हुने तथा देश र जनताको उन्नति गर्न सकिँदैन । यसकारण, अनुभव नभएका, जनता पूरै सचेत भई नसकेका नवस्वाधीन देशहरूमा आर्थिकरूपले स्वाधीन हुन खोज्नासाथै सेना, प्रशासनयन्त्र र आफ्ना पिछलग्गू राजनैतिक ठग र विश्वासघातीहरूमार्फत देशभक्त नेता, राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूलाई शारीरिकरूपमा हत्या गर्न सैनिक विद्रोहहरू गर्ने गर्छन् ।
संवैधानिक सङ्कट
५ सेप्टेम्बर, १९६० मा राष्ट्रपति कासाबुबु (Kasavubu) ले एक घोषणामार्फत प्रधानमन्त्री प्याट्रिस लुमुम्बाको सरकारलाई संविधानको धारा २२ (Fundamental Law, artical 22) अनुसार आफ्नो कर्तव्य पूरा गर्न नसकेको हुँदा अपदस्थ गर्यो । त्यसको ठाउँमा संसद्को माथिल्लो सदनको सभापति जोसेफ इलेओ (Jo ceph Ileo) को नेतृत्वमा एक नयाँ सरकार बनाउन एक अध्यादेश जारी भयो । त्यस अध्यादेशलाई मन्त्रिपरिषद्को स्वीकृति प्रदान गराउन दुई मन्त्री जस्टिन बोम्बोकी (Justin Bomboki) र अल्बर्ट डेलामोभक्स (Albert Delamovux) को समेत हस्ताक्षर थियो ।
५ सेप्टेम्बरको रातमै प्रधानमन्त्री लुमुम्बाले मन्त्रिपरिषद्को बैठक राखेर राष्ट्रपतिको गैर–संवैधानिक कदमलाई विरोध जनायो र संविधानलाई उल्लङ्घन गरेकोमा मन्त्रिपरिषद्ले राष्ट्रपतिलाई अपदस्थ गरेको घोषणा गर्यो ।
७ सेप्टेम्बरको दिन संसद् बस्यो र १९ मतको विरोधमा ६० मतले मन्त्रिपरिषद् र राष्ट्रपतिको बिचमा मेलमिलाप गराउन २ जना सल्लाहकारहरूको एक समिति बनायो ।
८ सेप्टेम्बरको दिन माथिल्लो सदनको बैठक बस्यो । ४१ मतले राष्ट्रपतिको कदमको विरोध गरे र २ जनाले निर्णयको विरोध गरे तथा ६ जनाले मत दिएनन् र २९ जना अनुपस्थित थिए ।
९ सेप्टेम्बरको दिन राष्ट्रपति कासाबुबुले आफ्नो निर्णयको निम्ति संसद्को स्वीकृति आवश्यक नभएको घोषणा गरे ।
१२ सेप्टेम्बरको दिन सेना प्रमुखको आदेशमा प्र.म. लुमुम्बा सशस्त्र प्रहरीद्वारा पक्राउ गरिए तर परिस्थिति अन्योलपूर्ण हुँदा छोडिए । १३ सेप्टेम्बरको दिन दुवै सदनको संयुक्त बैठक बस्यो । बैठकको बहुमत अर्थात् ८८ मतले प्रधानमन्त्री लुमुम्बालाई शासनको पूर्ण अधिकार दियो, ५ मतले त्यस निर्णयको विरोध गरे तथा ३ जना अनुपस्थित थिए ।
१४ सेप्टेम्बर १९६० को दिन राष्ट्रपति कासाबुबुले संसद्को बैठक स्थगन भएको घोषणा गरे । तर, प्रतिनिधिसभाको सभामुख र माथिल्लो सदनको उपसभापतिले राष्ट्रपतिको सदनको स्थगनलाई अस्वीकार गरे ।
१४ सेप्टेम्बरको साँझ कङ्गोली राष्ट्रिय सेना प्रमुख जोसेफ मोबुतु (Colonel Joseph Mobutu) ले देशको केन्द्रीय राजनैतिक अङ्गहरूलाई नियन्त्रणमा लिएको र देशको सरकारको सञ्चालन ३१ डिसेम्बर १९६० सम्म सेनाको युवा कलेजको एक समितिले चलाउने घोषणा ग¥यो ।
१५ सेप्टेम्बरको दिन लुमुम्बाले लियोपालभिलको घानाका अफिसरहरूको क्षेत्रमा शरण लिए । विद्रोही सिपाहीहरूले घेरिएको हुँदा लुमुम्बाको सुरक्षाको निम्ति संयुक्त राष्ट्र सङ्घको महासचिवको विरोध प्रतिनिधिको व्यक्तिगत हस्तक्षेपले घानाका सैनिक टुकडीहरू मिलेर लुमुम्बालाई त्यस रात आफ्नो निवास लगियो । तर, त्यसै दिन प्रधानमन्त्री बनेका इलेओ (Ileo) ले संयुक्त राष्ट्र सङ्घको आयोग (ONUC) लाई लुमुम्बालाई पक्राउ गर्न भने । विशेष प्रतिनिधिले त्यो अनुरोध अस्वीकार गर्यो । लुमुम्बाले असुरक्षित अनुभव गरे ।
२० सेप्टेम्बरको दिन सेना प्रमुख मोबुतुले सैनिक जनरलहरूको एक टोलीले सरकार चलाउने घोषणा र राष्ट्रपति कासाबुबुले त्यस घोषणालाई एक अध्यादेशमार्फत स्वीकृक्ति प्रदान गर्यो ।
११ अक्टोबरको दिन राष्ट्रपति कासाबुबुले एक संवैधानिक विधायिकीय विज्ञप्ति (Constitutional Legislative Decree) जारी गरी संसद्को दुवै सदन स्थगन गरी देशको शासन भारको विधायिकीय र कार्यपालिकाको सबै अधिकार त्यस समितिलाई प्रत्यायोजन गरे । त्यस सैनिक समितिले ९ फेब्रुअरी १९६१ सम्म देशको बन्दोबस्त गर्ने इलेओ (Ileo) को नेतृत्वको राष्ट्रपतिले गठन गरेको ‘अस्थायी सरकार’ (Provisional Government) लाई एक विज्ञप्तिद्वारा खारेज गर्यो ।
त्यसैबेला लुमुम्बाको एक छोरोको जेनेभा (Geneva) मा देहान्त भयो र उनको पार्थिव शरीरलाई समाधिस्थ गर्न लियोपोल्डभिली (Leopoldville) मा उनी जान चाहन्थे । संयुक्त राष्ट्र सङ्घको आयोगका प्रतिनिधि जेनेरल ऋषि (General Rikhye) सँग सम्पर्क राखी १० बजे राति लुमुम्बाले आफ्नो निवास छोडे । त्यहाँ कङ्गोली सेना र संयुक्त राष्ट्र सङ्घको मोरोक्यान पहरा (Moroecan Guard) थियो ।
२७–२८ नोभेम्बरको राति लुमुम्बा लियोपोल्डभिलीको एक रात्रि भोजमा थिए ।
नोभेम्बर ३० वा १ डिसेम्बर १९६० को दिन एमवेका (Moroecan Guard) नगरको २०–३० माइल टाढाको फ्रान्की विमानस्थल (Port Francqui) मा कङ्गोली सेनाबाट पक्रनुभयो ।
२ डिसेम्बर १९६० साँझ ५ः१५ मा चर्को पहरमा लुमुम्बालाई संयुक्त राष्ट्र सङ्घको आयोगको सैनिक टुकडीको विमानस्थल एनजिलि (Nijili) मा उतारियो ।
लियोपोल्डभिली गठेपछि प्रेसले लुमुम्बालाई हवाईजहाजमै अति यातना दिएको, गाला र टाउकोमा पिटाइको दाग देखिएको, कमिज च्यातिएको र मैलो, हात पछाडि लगेर बाँधिएको, हलमा राखिँदा पनि राइफलको कुन्दाले हानेको प्रसार भएको थियो ।
कङ्गोली सेनाले लुमुम्बालाई पक्राउ गरेको बिंजा क्याम्प (Camp Binza) बाट राति अन्तै लग्यो ।
३ डिसेम्बर १९६० को दिन लुमुम्बा थाइस्भिली (Thysville) लगिए र अन्तर्राष्ट्रिय प्रेसअनुसार ट्रकमा चढाउँदा उनले अप्ठेरो र कठिनाइ अनुभव गरेको र भर्खरै यातना दिएको चेहराबाट थाहा हुन्थ्यो । उनी क्याम्प हार्डी (Camp Hardy) सैनिक पहरामा राखिए ।
१७ जनवरी १९६० मा एक बेल्जियम कम्पनीको हवाईजहाज (Aeir Brousse) थाइस्मिलीको केही माइल टाढाको लुकाला (Lukala) विमानस्थलमा उनी लगिए । त्यसबेला उनको आँखामा पट्टी र हात पछाडि बाँधिएको थियो ।
कटाङ्गामा
सम्भवतः १७ जनवरीकै दिन लुमुम्बा र उनका दुई जना साथी माथिल्लो सदनका उपसभापति जोसेफ ओकितो (Joseph Okito) र युवा मन्त्री माउरिस एमपोलो (Maurice Mpolo) पनि सँगै पछाडि हात बाँधिएर राखिएका थिए ।
कङ्गोको सरकारले कटाङ्गाको प्रादेशिक सरकारको राष्ट्रपति शोम्बे (Tshombe) लाई लुमुम्बा र उनका दुई जना साथीहरू सुम्पेको प्रस्ट हुन्छ । १९ जनवरी १९६१ मा कटाङ्गाको सूचना मन्त्रीले एलिजावेयभिली (Elizabethville) हवाइ अड्डामा भनेको थियो ।
९ फेब्रुअरीको १९६१ को दिन लुमुम्बालाई आत्मसमर्पण गराउन उनका दुई जना साथीहरूको लाश देखाइयो । उनले आफ्नो अडान र दृढतामा कुनै लचक देखाएनन् । त्यसै रात बन्दीगृहबाट तीनै जना भागेको कटाङ्गा रेडियोले समाचार दियो । त्यो झूटा समाचारले संयुक्त राष्ट्र सङ्घको आयोगको प्रतिनिधि लियोपोल्डभिलीबाट कटाङ्गाको एलिजावेथभिली पुगी प्रादेशिक राष्ट्रपति शोम्बे भेट्न खोज्दा भेट्न मानेन ।
९ फेब्रुअरी १९६१ कै दिन राष्ट्रपति शोम्बे र कटाङ्गाको गृहमन्त्री मुनोन्गो (Munongo) र एक महत्वपूर्ण मन्त्री किब्वे (Kibwe) ले नै मागेको कथा प्रचार गरी लुमुम्बा र उनका दुई जना साथी ओमितो र एमपोलोको निर्मम हत्या गरेका हुन् । संयुक्त राष्ट्र सङ्घद्वारा बनाइएको एक आरोपले यही बताउँछ ।
फेब्रुअरी १९६१ मा ट्युनिशियाको एक साप्ताहिक अफ्रिकी सङ्घर्ष (Afrique Action) ले ‘लुमुम्बाको अन्तिम चिट्ठी’ वा ‘लुमुम्बाको इच्छापत्र’ छाप्यो । देशभक्तिपूर्ण र उत्साहवद्र्धक र त्यस इच्छापत्रमा साम्राज्यवादविरोधी भावना प्रचार खचाखच भरिएको छ ।
लुमुम्बाको व्यक्तित्व
३४ वर्षका प्याट्रिस लुमुम्बा ३० जून, १९६० मा स्वतन्त्रता घोषणा हुनुभन्दा पछि र अघि कङ्गोली जनतामाथि ७५ वर्षपछि बेल्जिमेली उपनिवेशवादीहरूले चोपेको दुःख, कष्ट, दरिद्रता र दासतालाई भित्री हृदयदेखि अनुभव गर्थे । यसकारण, उनले अफ्रिकी नेताहरूसँग मित्रता, अफ्रिकी एकता र स्वतन्त्रतालाई सदा आफ्नो मुख्य उद्देश्य सम्झन्थे ।
उनको किताबको बाकसमा सेकु तुरे (Sekou Ture) र एनक्रुमा (Nkrumah) का भाषण, पत्रपत्रिका र रचनाहरू थिए । साथै सिमोन किम्वान्गु (Simonh Kimbangu) का जीवनी पनि थिए । ती पुस्तकहरू गुप्तरूपले ल्याइएका थिए ।
लुमुम्बालाई बेल्जिमेली उपनिवेशवादीहरूले एक व्यापारीबाट राम्रो र ऐøयासी बनाउन लगाएका थिए । उनले त्यस विशाल भवनमा बस्न अस्वीकार गरे । बरु उनी साधारण घरमै आफ्ना जहान र तीन जना छोराछोरीसँगै बस्थे । भान्साको काम उनकै श्रीमतीले गर्थिन् र नोकर्नी थिइन् । उनी दिनको १८ घण्टा काम गर्थे । प्रधानमन्त्री भएर पनि लुमुम्बाले आफ्नो तलब भत्ता लिएनन् र अनावश्यक कुनै सहुलियतहरू लिएनन् । तर, आफ्ना मन्त्रिपरिषद्का केही मन्त्रीहरू विलासी नाचगान भएका र महँगा होटल, रेष्टुराँहरूमा बरोबर जान्थे । पाउने सुविधाहरू तिनीहरू सबै उपभोग गर्थे र नजिकै बेल्जिमेली उपनिवेशवादीहरू तमासा हेरिरहन्थे ।
कङ्गोले स्वतन्त्रता प्राप्त गर्नासाथै बेल्जिमेली उपनिवेशवादीहरूले नै षड्यन्त्र गरेर शोम्बेमार्फत कटाङ्गा प्रान्त स्वतन्त्र भएको घोषणा गर्न लगायो अर्थात् देश टुक्राएर लुमुम्बालाई असफल पार्ने योजना बनाए । तर, त्यसलाई लुमुम्बा बनिबनाउ योजना र षड्यन्त्र मान्थे । तर, विदेशी पत्रकारहरूले सोध्दा विनम्रतापूर्वक उनी ‘तिनीहरू एउटै रगतका दाजुभाइ हुन्’, ‘तिनीहरू फेरि कङ्गोमै मिल्नेछन् र स्वतन्त्र, सम्पन्न र विकसित हुँदै गएको देश देख्नेछौँ जहाँ दासता हुनेछैन’ भन्थे ।
तर, कटाङ्गाको विद्रोहबारे उनले ‘झूटो समस्या’ को रूपमा बेल्जिमेली उपनिवेशवादीहरूलाई नै दोष दिन्थे र संयुक्त राष्ट्र सङ्घको तत्कालीन महासचिव डाग हामर सोल्ड (Dag Hammarskjoild) सँग ५ अगस्ट १९६०, १४ अगस्ट, १५ अगस्ट र पछि पनि पत्रको आदानप्रदान गरेका थिए । ती तारहरूमा उनले संयुक्त राष्ट्र सङ्घको काम र महासचिवप्रति गुनासाहरू पनि गरेका थिए र त्यसबारे पत्रकार सम्मेलन पनि गरेका थिए ।
४ जनवरी १९६१ थास्थिली (Thysville) कारागारबाट उनले संयुक्त राष्ट्र सङ्घका महासचिवका विशेष प्रतिनिधि ए. एम. दयाल (A.M. Dayal) लाई एक पत्रसमेत पठाएका थिए । त्यस पत्रमा त्यहाँको स्थितिबारे राम्रो उल्लेख गरिएको थियो ।
माथिका ती पत्रहरू र तारहरूबाट प्याट्रिस लुमुम्बा कूटनैतिक कार्यमा पनि सूक्ष्म, सक्षम र धैर्यवान व्यक्ति थिए, तर आफ्नो उद्देश्यप्रति प्रस्ट र दृढ व्यक्ति थिए । उनी सच्चा देशभक्त, साम्राज्यवाद र उपनिवेशवादको विरोधको एक जिउँदो र जाग्दो उदाहरण थिए । उनी शत्रुको सामु नलत्रने र साहसी योद्धा थिए । ३५ वर्षमै उनी आफ्ना दुई जना साथी र जनप्रतिनिधिहरूसँगै सहिद भए ।
सङ्घर्ष चालू छ
प्याट्रिस लुमुम्बाले एक स्वतन्त्र र सार्वभौम देशको प्रधानमन्त्रीको रूपमा ४ महिना सङ्घर्ष गरे र ४ महिनापछि बेल्जिमेली उपनिवेशवादीहरू र स्थानीय प्रतिक्रियावादीहरूमार्फत विश्व साम्राज्यवादीहरूद्वारा उनको निर्मम हत्या गरियो । यस गम्भीर घटनाले अफ्रिकी जनतालाई एउटा महत्वपूर्ण पाठ पढायो । आ–आफ्नो देशको स्वतन्त्रता र मुक्तिको निम्ति नयाँ सेना, सङ्गठित र अनुशासित जनताका पार्टीहरू आवश्यक छ ।
प्याट्रिस लुमुम्बाको मन्त्रिपरिषद्का शिक्षामन्त्री पेरे मुलेले (Pierre Mulele) ले एक गुरिल्ला दल बनाएर सशस्त्र सङ्घर्ष सुरु गरे । उनी पनि अमेरिकी केन्द्रीय गुप्तचर विभाग (CIA) को निर्देशनमा पक्राउपछि विभत्स तरिकाले मारिए ।
सन् १९९६–१९९७ मा लाउरेन्ट डेसिरे काबिला (Laurent–Desire Kabila) को नेतृत्वमा प्रतिरोध युद्ध सुरु गरे । एक वर्षपछि उनले भने, “हामी मालिकहरूको संरक्षणलाई अस्वीकार गर्छौँ । हामीले आफ्नो निर्णय आफै गर्छौँ । …… विकास गर्नु छ भने सार्वभौमिकता चाहिन्छ ।”
२ अगस्ट, १९९८ कविला राष्ट्रपति भए । छिमेकी देश रुवाण्डा र उगान्डाले संरा अमेरिका, फ्रान्स र बेल्जियमको निम्ति पूर्वबाट युद्ध सुरु गरे । पूर्वी प्रान्तहरूमा महामारी र भोकले १५ लाख मानिसहरू मरे तथा सुन, हीरा र निकलजस्ता दुर्लभ खनिज भएको त्यो देश साम्राज्यवादीहरू छोड्न चाहँदैनथे । त्यहाँ पुनः जातीय लडाइँ सुरु गरे ।
१६ जनवरी, २००१ दिनको १ः४५ बजे उनका एक अङ्गरक्षकले कबिलामाथि ३ पटक गोली हानेर हत्या गर्यो । कबिलाको शवयात्रामा २० लाख कङ्गोलीहरू श्रद्धाञ्जली दिन उपस्थित थिए ।
सन् २००१ को फेब्रुअरीको पहिलो हप्तामा कबिलाका छोरा जोसेफ (Joseph) लाई राष्ट्रपतिको शपथ गराइयो । कङ्गो (जायर) मा साम्राज्यवाद र उपनिवशेवादविरोधी सङ्घर्ष चालू छ ।
प्रस्तुति : गणेश
स्रोत : मजदुर–किसान, २०६९ भदौ–असोज
समाप्त