देशमा भ्रष्टाचार मौलाएको छ । हरेक क्षेत्र भ्रष्टाचारको दलदलमा फस्दै गएको छ । देश खोक्रो बनाएर भ्रष्टाचार गरिएको छ । सरकारलाई लुटेर सीमित व्यक्ति मोटाएका छन् । त्यसैले अब सरकार ‘एक्सन’ मा आउन जरुरी देखिएको छ । सरकारी कर्मचारी, राजनीतिक दल, व्यापारी, उद्योगी, संघसंस्थाका पदाधिकारीहरुको सम्पत्ति छानबिन हुनुपर्छ ।
त्यसका लागि सरकारले एउटा शक्तिशाली आयोग गर्नुपर्ने देखिएको छ । त्यो आयोगले राजनीतिक दल, भूपू तथा बहालवाला सरकारी कर्मचारी, व्यापारी, उद्योगी, संघसंस्थाको सम्पत्ति छानबिन गर्छ । सरकार नियमन नगर्ने अनि सबै देशलाई लुट्ने । एउटा सरकारी कर्मचारीले छोराछोरी राम्रो स्कुलमा पढाएर, खाएर, लाएर, कोठा भाडा तिरेरलगायत अन्य खर्च गरेर घरजग्गा जोड्न सक्छ ?
पिऊन्को जागिर खानेहरुले अंकुत सम्पत्ति जोडेका छन् । यो कसरी सम्भव छ ? भ्रष्टाचार होइन् ? पहिलेपहिले सरकारी कर्मचारीको तलब कति हुन्थ्यो ? एक–डेढ सय । छोराछोरी पढाएर, खान दिएर, अन्य खर्च गरेर घरजग्गा जोड्न सम्भव छ ? त्यति पैसाले त मासिक घरखर्च धान्न पुग्दैन्थ्यो ।
अनि तिनले कसरी करोडौंको सम्पत्ति जोडे ? यो खोजतलास हुनुपर्छ । सरकारी सेवामा छिरेको एकाध वर्षमै घर बनाउँछन् । सरकारी सेवा पैसाको बोट त होइन् । तर, कर्मचारीले सरकारी सेवाले पैसा फल्ने बोट नै बनाएका छन् । सरकारी सेवामा छिर्नुको उद्देश्य नै भ्रष्टाचार गर्नु भएको छ ।
सरकारले छानबिन मात्र गरोस् न कुनै कर्मचारी चोखो भेटिँदैनन् । सबले भ्रष्टाचार गरेका छन्, राज्यलाई लुटेका छन् । सरकार निरीह हुँदा सरकारी कर्मचारीको मनोमानी बढ्यो । सरकार केही गर्न सक्दैन्, हामीले जे गर्दापनि हुन्छ भन्ने भाव उनीहरुमा पलाएको छ । काम नगर्ने भ्रष्टाचार मात्र गर्ने ।
सरकारी जागिर खाने हरेकको काठमाडौंमा महल छ । सरकारले छानबिन गर्दा ‘दूधको दूध, पानीको पानी’ भइहल्छ । जसले भ्रष्टाचार गरेको छ, उसको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ । उसलाई कारबाही गर्नुपर्छ । हिजो उसको पुर्ख्यौली सम्पत्ति कति थियो ? अहिले उसको सम्पत्ति कति छ ?
उसको छोराछोरी कहाँ पढ्छन् । मासिक आम्दानी र खर्च कति छ ? उसको आम्दानीभन्दा धेरै खर्च छ । तैपनि सम्पत्ति जोडेको छ भने त्यो भ्रष्टाचार भएको पुष्टि भइहाल्यो । भ्रष्टचार गर्नेलाई जेल कोच्ने र उसको सम्पत्ति राष्ट्रियकरण गर्ने निर्णय सरकारले गरोस्, यहाँ कसैले भ्रष्टाचार गर्ने आँट गर्दैन् ।
उद्योगी, व्यापारीहरुले राजश्व छलेका छन् । एकातिर राज्यलाई राजश्व नतिर्ने अर्कोतिर सामानको मँहगो मूल्य लिएर उपभोक्ता ठग्ने । उनीहरुको पनि सम्पत्ति छानबिन हुनुपर्छ । आफू कमाउनका लागि राज्य र जनता लुट्ने अधिकार कसैसँग पनि छैन् । मालपोत, यातायातलगायतमा बसेका लेखनदासहरुको पनि सम्पत्ति छानबिन हुन आवश्यक छ ।
कानुनको विषयमा सामान्य ज्ञान भएका लेखनदासहरुले धेरै सरकारी, सार्वजनिक र गुठीको जग्गा हिनामिना गरेका छन् । सरकारी सम्पत्ति दोहन गर्नमा उनीहरुको हात छ । मालपोतका कर्मचारीसँग मिलेर उनीहरुले सरकारी, सार्वजनिक र गुठीको जग्गा दर्ता गर्छन् । अनि बेच्छन् ।
त्यो पैसाले अन्यत्र जग्गा जोड्छन् । लेखनदासहरु मोटाउनुको प्रमुख कारण नै यही हो । अर्कोतिर बैंक तथा वित्तिय संस्थाका सञ्चालकहरुको पनि सम्पत्ति छानबिन गरिनुपर्छ । सीधासाधीलाई फसाएर उनीहरुले जोड्नसम्म सम्पत्ति जोडेका छन् । एनजिओ–आइएनजिओका सञ्चालकहरुले गरिबको नाम बेचेर आफू कमाएका छन् ।
गरिबको नाममा विदेशी डलर ल्याउने अनि खल्तीमा हाल्ने कार्यले प्राथमिकता पाएको छ । निजी बोर्डिङ सञ्चालकहरुको सम्पत्ति पनि छानबिन गरिनुपर्दछ । मनलाग्दी पैसा लिएर उनीहरुले विद्यार्थीका अभिभावकलाई लुटेका छन् । यहाँ त सबैको ‘देखाउने र चपाउने दाँत’ छुट्टाछुट्टै छ ।
देश र जनताको सेवा भनेर लुट्ने काम भइरहेको छ । नेता र सरकारी कर्मचारीले भ्रष्टाचार लुकाउन परिवारलाई व्यापार–व्यवसायमा लगाएको हुन्छन् । अनि त्यहाँबाट कमाएको भनेर जनता र सञ्चारकर्मीको आँखामा धुँलो झोक्छन् । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आफूसँग भएको सम्पत्ति श्रीमतीको हो भन्छन् ।
त्यति भने सकियो । तर, माइतीसँग त्यति सम्पत्ति दिने हैसियत थियो कि थिएन् ? दिएको भए कहिले दियो ? कति दियो ? त्यति गहिराइमा सञ्चारकर्मी जाँदैन् । उनले भनेकै भरमा सबैको मुख टालियो । काँग्रेसका महामन्त्री गगन थापामाथि स्वास्थ्यमन्त्री हुँदा धेरै भ्रष्टाचार गरेको आरोप छ ।
बाख्रा पालनको नाममा पनि भ्रष्टाचार गरेको बताइन्छ । उनलाई कसैले सम्पत्तिको बारेमा सोध्यो भने आमाबाबुले जोडेको भन्छन् । उनको आमा सरकारी कर्मचारी हुन् । सरकारी कर्मचारीको कति नै तलब हुन्छ ? आमाले जागिर खाने बेलामा तलब कति थियो ? खर्च कति थियो ?
खर्च कटाएर त्यत्रो सम्पत्ति जोड्न सम्भव थियो ? यहाँबाट पनि भ्रष्टाचारको गन्ध आएको छ । थापाले भ्रष्टाचार गरेनन् होला । तर, उनको आमाले त भ्रष्टाचार गरेको देखियो । पूर्व प्रधानमन्त्रीद्धय केपी शर्मा ओली र माधव नेपाल सबै सम्पत्ति श्रीमतीले जोडेको बताउँछन् । दुवैको श्रीमती बैंकको कर्मचारी हो ।
एउटी सरकारी कर्मचारीले घरखर्च धानेर, छोराछोरी पढाएर त्यत्रो सम्पत्ति जोड्न सक्छ ? यो सञ्चारकर्मी र जनतालाई झुक्काएको होइन् ? वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो घर नभएको बताउँछन् । चितवनमा भएको पुर्ख्यौली सम्पत्तिमा घर बनाएको उनको भनाइ छ ।
उनले काठमाडौंमा घर बनाएनन् होलान् । तर, हातमा ७८ लाखको घडी भिरेका छन् । यो कहाँबाट आयो ? उनको अन्य क्षेत्रमा पनि लगानी भएको बताइन्छ । भाटभटेनीमा उनको लगानी रहेको बताइएको छ । देश कंगाल बनाउने आफू मालामाल गर्ने मात्र छन्, यहाँ । राज्यको सम्पत्ति दोहन गर्न सबै जना निकै सिपालु भए ।
नेता, व्यापारी, कर्मचारीले भ्रष्टाचार गरेको पैसा लगेर विदेशी बैंकमा लुकाएका छन् । व्यापारीहरु यहाँ राजश्व छल्ने अनि विदेशी बैंकमा लगेर राख्ने । भोलि आफूमाथि अप्ठेरो आयो भने विदेशमा गएर सेटल हुने योजना पहिले नै बनाएर राखेका छन् । दुई जिब्रेहरुले देश सकाएका छन् ।
आफैं भ्रष्टाचार गर्ने अनि आफैं भ्रष्टाचार गर्नुहुन्न भन्ने । आम्दानीभन्दा बढी खर्च हुनेबित्तिकै ‘दालमा केही कालो’ भएको बुझिन्छ । विकसित देशमा भ्रष्टाचार रोक्न सरकार सशक्त भएर लागेको छ । तर, हाम्रो देशमा भ्रष्टाचारीका नाइकेहरु नै सरकारमा छन् । अनि कसरी सुधार हुन्छ ?
अधिकांशका छोराछोरी अमेरिका, अष्ट्रेलिया, क्यानडालगायतका विकसित मुलुक पुगेका छन् । गएको केही महिनामै उनीहरुले त्यहाँ घरजग्गा, गाडी किन्छन् । त्यो भ्रष्टाचारको पैसाले किनेको होइन् ? बाबुआमा यहाँ भ्रष्टाचार गर्ने, छोराछोरी त्यता लगेर घरजग्गा, गाडी किन्ने । विदेशी ऋण बढेको बढ्यै छ ।
राज्यको ढुकुटीमा राजश्व उठ्न छोडिसकेको छ । अब देश बचाउने एउटै उपाय भ्रष्टाचारीहरुको सम्पत्ति खोतालौं । राष्ट्रियकरण गरौं । त्यहीबाट विदेशी ऋण पनि तिरिन्छ, देश पनि विकास गरिन्छ । राजनीतिक दल, सरकारी कर्मचारीहरुलाई जसरी हुन्छ भ्रष्टाचार गरेको सम्पत्ति लुकाउने र कानुनको दायराबाट बच्ने भन्ने मात्र छ ।
टालटुले मन्त्रिपरिषद्को निर्णय र उखानटुक्काले कहिलेसम्म देश चल्छ ? देश भँडखालोमा पुगिसक्यो । यस्ता नेता कर्मचारीबाट जनताले के आश गर्ने ? राजनीतिक दलहरु सबै दलाली हुन् । यिनीहरुबाट विकास पनि हुँदैन्, देशको अर्थतन्त्र पनि सुध्रिँदैन् । ठूलाले जे गरेपनि कानुन नलाग्ने रहेछ । यहाँ त ‘जो चोर छ, उसैको ठूलो स्वर’ छ ।