जुलाई १ को मध्यरातमा पैँतीसौँ बैठकपछि महाधिवेशन स्थगित भयो । बोल्सेभिक समूहका सबै प्रस्तावहरू बैठकबाट पास भएका थिए ।
यही बेलादेखि गोर्की र लेनिनको बिचमा मित्रता सुरु हुन्छ । गोर्कीले लेखेका छन्, “उनको र मेरो बिचको सम्बन्ध एउटा खरो गुरु र एउटा असल मित्रको रूपमा थियो ।” लेनिन प्रायः काप्री जान्थे, क्षयरोगले पीडित गोर्कीको स्वास्थ्यबारे सधैँ नै चिन्तित थिए, गोर्कीको कामको विकासमा चाख लिन्थे । उनले गोर्कीलाई साझा उद्देश्यको लागि हिँडेको एउटा शक्तिशाली मित्रको रूपमा हेर्थे । लेनिनका शब्दमा–
“गोर्की निर्विवादरूपमा अत्यन्त महत्वपूर्ण कलाकार हुन् । उनी विश्व सर्वहारा आन्दोलनका अत्यन्त उपयोगी कर्मयोगी बनेका छन् र उनको यो क्रियाकलाप यथावत रहनेछ ।”
सन् १९०८ को अन्त्यतिर, गोर्की लुनाचार्सकी बोग्डानोभर अरूहरू प्लेखानोभको अति भौतिकवादी दर्शनबाट टेढिए । ‘सर्वहारा’ पाक्षिक पत्रिका र ‘भौतिकवाद र प्रयोगात्मक आलोचना’ भन्ने आफ्नो किताबमा लेनिनले उनको पक्ष त्यागेर पन्छिएका ‘ईश्वरको खोजी गर्नेहरू’ को खोइरो खने । त्यति नै बेला सेराफिनामा रूसी श्रमिकहरूलाई प्रचार कार्य गर्नको लागि तालिम दिन एउटा स्कूल खोलिएको थियो । यसमा गोर्कीको सक्रिय समर्थन थियो । यो स्कूललाई लेनिनले बोग्डानोभका समर्थकहरूको सङ्गठन बनाउने भनेर व्याख्या गरे । त्यसैकारणले उनले त्यो समूहमा भाषण गर्न इन्कार गरे । सन् १९०९ को जुलाईको सर्वहारा पत्रिकाको एउटा अङ्कमा लेनिनले ‘वैज्ञानिक समाजवादलाई धार्मिक अन्धविश्वासमा मुछेर समाजवादी प्रजातन्त्रलाई अन्धविश्वास र धर्मसम्बन्धी शिक्षा–दीक्षामा मिलाउने’ केही कमरेडहरूबाट भएको प्रयत्नको भन्डाफोर गर्दै एउटा वक्तव्य दिए । लेनिनले यी प्रयत्नहरूलाई ‘माक्र्सवादी सर्वहारा समाज विरुद्ध खडा गरिएको निम्न पुँजीवादी धारणा भएका मानिसहरूको क्रियाकलाप’ भन्ने आरोप लगाए । यो स्कूलका संस्थापकहरूलाई ‘अफिस र तालिम केन्द्रका’ प्रतिनिधि र ‘ईश्वरको सिर्जना’ को कित्तामा राखियो । गोर्कीसमेत मिलेर बोग्डानोभ् र उनका समर्थकहरूले आफ्नो समूहको प्रतिनिधित्व गराउन ‘अगाडि’ भन्ने पत्रिका प्रकाशनमा ल्याए । यो मतभिन्नताले चर्को रूप लियो र गोर्की समाजवादी प्रजातान्त्रिक पार्टीबाट निकालिए ।
गोर्कीले काप्रीको स्कूलमा रूसी साहित्यको इतिहासबारे वक्तव्यहरू दिए । यसको साथसाथै उनले पुश्किन र टाल्सटायबारे अनुसन्धान कार्य सुरु गरे । उनका विचारहरू विभिन्न विशिष्ट निबन्धहरू, खासगरी ‘व्यक्तित्वको विघटन’ मा प्रस्टिए । यो निबन्धमा गोर्कीले शासकवर्ग मात्रै सिर्जनात्मक कार्यको लागि सक्षम हुन्छ र केबल समाजबाट अलग, एकान्तमा रहेको व्यक्तिले नै कलात्मक कृतिहरूको आविष्कार गर्न सक्छ भन्ने झूटो लोकोक्तिको खण्डन गरेका छन् ।
“जनता भौतिक मान्यताका स्रोतका निर्माता मात्र होइनन् । बरु, तिनीहरू आध्यात्मिक मान्यताका अनन्त स्रोतहरूको पनि निर्माण गर्छन् । तिनीहरू विश्वका महानतम वियोगान्त नाटक र उत्कृष्ट कविताका कलाकर्मी, सर्वोत्तम योगी र कवि हुन् । यी कृतिहरूमध्येको सर्वश्रेष्ठ कृति सम्पूर्ण विश्वको संस्कृतिको इतिहास हो र यसका निर्माताहरू पनि तिनीहरू नै हुन् ।”
रोमानोभ्कोको तीनसयौँ जन्मजयन्तीको उपलक्ष्यमा जारले आममाफी घोषणा ग¥यो । गृहचिन्ताले अत्यन्त आत्तिएका गोर्कीले रूस फर्कने योजना बनाए । क्षयरोग उकल्चिएको हुनाले उनी रूस फर्कने काम ढिलो हुन गयो । उनलाई सहानुभूति दिँदै लेनिनले लेखे, “जाडो याममा तिमी रूस फर्कँदा तिम्रो स्वास्थ्य निकै नराम्रो किसिमले बिग्रन्छ कि भन्ठानेर म निकै चिन्तित छु ।” तर, गोर्कीको स्वास्थ्यमा बिस्तारै सुधार भयो र सन् १९११ को डिसेम्बरको अन्त्यतिर उनी रूस फर्कन सक्ने अवस्थामा भए । उनी सेन्टपिटसवर्ग नजिकै फिनल्यान्डमा बस्न थाले ।
शान्ति र न्यायका लागि सङ्घर्ष
सन् १९१३ को अन्त्यतिर, गोर्कीको आत्मकहानीमा आधारित तीनओटा कृतिहरूमध्येको पहिलो भाग बालककाल प्रकाशित भयो । निश्नीमा बस्दा उनले हासिल गरेको साहित्यिक सफलतादेखि नै यो आत्मकहानी लेख्न चाहेका थिए । पहिलो कृति ‘बालककाल’ मा उनले आफ्नो बालककालका विचार, दृश्य र अनुभवहरूको साथसाथै जारशाही रसियाको राजनीतिक र सांस्कृतिक इतिहासका महत्वपूर्ण दस्तावेजहरू प्रस्तुत गरेका छन् । यसको साथै उनले त्यतिबेलाका रूसी जनताको शक्ति, विवेक र दुःख दर्दहरू पनि देखाएका छन् । त्यही समयमा प्रकाशित उनको अर्को कृति ‘रूसभरबाट’ मा गोर्कीले उनको यात्रामा भेटेका मानिसहरूका परम्परागत चलनचल्तीहरू र अल्पसङ्ख्यक जातिका गीतहरूका विषयमा सुन्दर किसिमले कुशलतापूर्वक वर्णन गरिएका लेख र कथाहरू समावेश गरेका छन् ।
काप्रीको बसाइँमा गोर्कीले दोस्तोएभस्कीका सम्पूर्ण कृतिहरू दोहो¥याएर पढे । त्यसपछि उनी अस्तित्ववादी अभियानको मुख्य सूत्रपात दोस्तोएभस्कीबाटै भएको रहेछ भन्ने कुरामा पूर्ण विश्वस्त भए । सन् १९१३ मा अब मस्को नाट्यशालाले दोस्तोएभस्कीको मसानघाटको रूपान्तरित नाटक देखाउने इच्छा व्यक्त गर्यो ।
यो विरोधको बाबजुद पनि मसानघाट प्रदर्शन भयो । प्रतिक्रियावादी पत्रिकाहरूले फेरि एकपटक गोर्कीलाई निर्ममतापूर्वक प्रहार गर्ने अवसर पाए । सन् १९१५ मा लेखिएको गोर्कीको बुढो मान्छे भन्ने नाटक स्पष्टरूपमा दोस्तोएभस्कीको विरुद्धमा लक्ष्य गरिएको छ ।
ज्नानिए समूहसित सम्बन्धित अधिकांश लेखकहरू बिस्तारै प्रतिक्रियावादी भए । सन् १९१२ मा भएको यो घटनाबाट अत्यन्त दुःखित भएका गोर्की प्रकाशनगृहबाट अलग भए र यस अगाडिभन्दा बढी रूपमा सर्वहारा लेखकहरूसित सम्बन्ध कायम गर्ने निधो गरे । उनले आफ्नो जीवनको बाटो कति कठिन भएको थियो र आफूले कस्तो कष्टमय बाटो हिँडेर यहाँसम्म आएका थिए भन्ने कुरो कहिल्यै पनि बिर्सेनन् । उनले आफ्ना अनुभवहरू उनलाई विशिष्ट महात्मा सम्झेर सहयोगको निम्ति उनीसित आएका नयाँ नौजवान लेखकहरूलाई सुनाए । उनले ती नौजवानहरूलाई सामान्य र यथार्थ बन्नका लागि दोहो¥याइ तेह¥याइ सम्झाए । “ढर्रावादी लेखकहरूको अथवा बनावटी शब्दहरूको जालमा नफस, यथार्थ र सरल दुई दिदीबहिनीहरू हुन् र सुन्दरता तिनीहरूपछिको तेस्रो हो ।” उत्साही लेखकहरूमध्ये धेरैजसो सामान्य जनताबाट आएका थिए । गोर्कीले उनका यी नौजवान साथीहरूलाई बडो यत्नपूर्वक सरसल्लाह दिए, तिनीहरूका ससाना कुराहरू पनि ध्यानपूर्वक सुने, तिनीहरूका लेखहरू सुधार्ने प्रयत्न गरे र तिनीहरूका ससाना गल्तीहरू पनि औँल्याए । आफ्नो जीवन असल काममा समर्पित गर्न चाहने लेखकहरूले आफूलाई जनताबाट कहिल्यै पनि अलग्याउनु हुन्न भन्ने कुरा सम्झाउन उनी कहिल्यै पछि परेनन् ।
२६ जनवरी, १९१४ मा प्राभ्दामा प्रकाशित एउटा निबन्धमा गोर्कीले नौलो यथार्थवादी अभियानको पुनर्जन्मको भविष्यवाणी गरेका थिए । त्यो अभियानलाई अगाडि बढाउनका लागि उनले सर्वहारावादी लेखकहरूले साहित्यिक सङ्कलनको सम्पादन गरे र भूमिकामा लेखे, “एकदिन, यो सङ्ग्रहलाई आफ्नै किसिमको साहित्य सिर्जनाको दिशामा रूसी सर्वहाराहरूको पहिलो पाइलोमध्येको एक पाइलाको रूपमा लिइनेछ ।
प्रथम विश्वयुद्धको सूत्रपातले गोर्कीलाई गम्भीर किसिमले चोट पु¥यायो । यसको प्रारम्भदेखि युद्धको घोरविरोधी मानिसहरूमध्ये गोर्की एक थिए । उनी यसै सन्दर्भमा उनका धर्मपुत्र सिनोभीसित पनि जङ्गिए । सिनोभी स्वयम्सेवकको रूपमा खास गरेर रूसीहरूको लागि जगेडा सेनाको रूपमा राखिएको फ्रान्सेली विदेश विभागको एउटा पल्टनमा सैनिक सेनामा लागेका थिए । (सिनोभी अहिले फ्रान्सेली जेनेरल र पेरिसका लागि अवकाश प्राप्त सैनिक सहचरी छन् । उनलाई ‘दि ग्रेट क्रस अफ द लेजिअन डी अनर’, ‘दि क्रस अफ वार’ र ‘दि मिलिटरी मेडाइले’ भन्ने फ्रान्सेली उच्च सम्मानले विभूषित गरिएको छ ।)
सभा–समारोह र निबन्धहरूको माध्यमबाट गोर्कीले शान्तिको पक्षमा अत्यन्त दृढताका साथ आवाज उठाए र दमनको विरुद्धमा उत्रे । सन् १९१५ को डिसेम्बर ८ दिन लिपोटिजको पहिलो अङ्ग निस्कियो । त्यसको प्रमुख सम्पादक गोर्की थिए । लिपोटिज राष्ट्रवाद र उपनिवेशवादसित लड्दै राष्ट्र–राष्ट्रबिचका कृत्रिम सिमानाहरूको घेरामा नबाँधिएर पूरै युरोपभरि शान्तिको लागि आह्वान गर्ने पहिलो पत्रिका थियो । यो पत्रिकाको पहिलो अङ्गका दस हजार प्रतिहरू तत्कालै बिक्री भए ।
यो पत्रिकाको माध्यमबाट गोर्की अन्तर्राष्ट्रिय ख्यातिप्राप्त समाजवादी र शान्तिवादी जर्ज बर्नाड शा’, रोमाँरोला र एच.जी. वेल्सजस्ता मानिसहरू जो “अस्तव्यस्त स्थितिबाट पर रहेका, हाम्रो ग्रहका अत्यन्त उत्साहित र सिर्जनात्मक प्रतिभा भएका लाखौँ मानिसहरूलाई नष्ट गरिरहेको पागल युद्धदेखि अत्यन्त चिन्तित भएका मानिसहरू थिए, तिनीहरूसम्म पुग्ने प्रयत्न गरे । यसबाहेक सामान्य जनसमूहका बिचमा नयाँ प्रतिभाहरूलाई परिचित गराउने पनि त्यो पत्रिकाको उद्देश्य थियो । यसले मायाकोभ्स्कीको ‘युद्ध र शान्ति’ भन्ने कविता पहिलो पटक छाप्यो । त्यो कवितामा कविले उनका आफ्नै शब्दमा भनेजस्तै ‘कविताको माध्यमबाट युद्धको मुखमा थुक्ने’ प्रयत्न गरेका थिए ।
लिपोटिज र पारूस प्रकाशनगृहले प्रतिक्रियावादी र युद्धपिपासु समूहका नीच–क्रियाकलापहरूलाई कठोरतापूर्वक आक्रमण गर्दै सबै मुख्य सहर र गाउँहरूमा समेत पर्चा र पुस्तिकाहरू वितरण गरे । ती समूहहरूले पछि गएर “आज म्याक्सिम बदमासहरूको सर्दार मात्र नभएर एउटा डरलाग्दो प्रकाशक पनि भएको छ” भन्दै विष बमन गरे । तिनीहरूले सरकारी अधिकारीसमक्ष गएर उनलाई कडा कारबाही गर्नका लागि उजुरबाजुर गरे । सरकारी अधिकारी उनलाई कारबाही गर्न तुरुन्तै वचनबद्ध भएर एउटा रिपोर्टमा समाजवादी प्रजातन्त्रवादी झुकाव र पराजयलाई स्वीकार गर्ने भावना भएको पत्रिका भन्ने कुरो उल्लेख गरे । तर, न्यास्पुटीनको मृत्युपछि भने त्यो कम्पनी बन्द गराउन तिनीहरूलाई समय नै मिलेन । लिपोटिज अर्को एकवर्षसम्म जीवित रह्यो र छपाइसम्बन्धी कठिनाइहरू उत्पन्न भएकोले त्यसपछि प्रकाशन स्थगित गर्नुपर्यो ।
जब जारशाही सरकारले पश्चिमी किल्लामा हार हुनुको मुख्य दोष यहुदीहरूमाथि थुपार्दै तिनीहरूलाई सास्ती दियो– गोर्कीले तीव्र शब्दमा त्यसको विरोध गरे । उनले ‘ढाल’ भन्ने पत्रिकाको सम्पादन गरे । यो पत्रिकामा उसका सम्पूर्ण वरिष्ठ लेखकहरूले योगदान गरे । पत्रिकाबाट भएको नाफा रकम यहुदी शरणार्थीहरूको लागि जान्थ्यो ।
सन् १९१६ मा गोर्कीले उनको आत्मकहानीको दोस्रो भाग संसारमा प्रकाशित गरे । यो किताबमा जीविकोपार्जनको लागि रल्लिँदै हिँड्नुपर्दाका कठिन वर्षहरूका उनका अनुभवहरू, जसले उनलाई “हामीले बिताइरहेको जीवनको कुनै मूल्य छैन, हामीहरूले यसभन्दा राम्रो जीवन जिउनुपर्छ” भन्ने बुझ्न सघाए, तिनै कुराहरूको वर्णन गरिएको छ ।
सन् १९१७ को सुरुदेखि नै रूसमा खाद्यान्न सङ्कट प¥यो । सेन्टपिटसबर्गमा हडताल र प्रदर्शनहरू सुरु भए । फेब्रुअरी महिनामा श्रमिकहरू र सेना एक भएर मिले । मार्च २ मा जारले गद्दी छोड्यो र एउटा कामचलाउ सरकारको गठन भयो । यसको लगत्तैपछि देशभरि बुर्जुवा प्रजातन्त्रवादी क्रान्तिको लहर फैलियो ।
जारतन्त्रबाट मुक्ति पाएकोमा अत्यन्त हर्षित भएर भर्खरै प्रकाशित भएको नयाँ पत्रिका ‘सोभाया शिज्न’ को माध्यमबाट गोकीले हर्ष पोखे । यसका साथसाथै, शान्तिको लागि उठेको जनआवाजप्रति रत्तिभर वास्ता नराखिकन बसेको मिल्युकोभ र करेन्स्कीको सरकारको साम्राज्यवादी योजनाप्रति गोर्कीले कडा आवाजमा विरोध जनाए । युद्ध जारी रह्यो । आन्तरिक घटनाहरूलाई हेरेर विवेचनात्मक हिसाबले अध्ययन गरेपछि गोर्कीले बोल्सेभिकहरूको पक्ष लिए । केरेन्स्कीले बोल्सेभिकहरूलाई सखाप पार्ने प्रयत्न गरेका थिए । गोर्कीका लेखहरू ‘असामयिक विचारहरू’ शीर्षकमा धेरैजसो पत्रिकाको पहिलो पानामा छापिन्थे । उनले कामदारहरू र शिक्षित समुदायका बिचमा पनि सम्झौताको आशा गरेका थिए ।
सन् १९१७ को ग्रीष्ममा रूसमा गृहयुद्धको सम्भावना बढ्यो । बोल्सेभिकहरूको स्थिति श्रमिक र सिपाहीहरूको बिचमा बढी बलियो भयो । लेनिनको ‘शान्तिपूर्ण भन्ने लेख र सशस्त्र सङ्घर्षको घोषणाबाट गोर्की अत्यन्त आतङ्कित भएका थिए । यसबाट केवल ‘अराजकता फैलिने छ र सर्वहारावर्ग र क्रान्तिको पतन हुनेछ’ भन्ने सोचेर गोर्कीले सबै किसिमका ‘रक्तपातपूर्ण युद्ध’ को विरुद्धमा साहसका साथ आवाज उठाए ।
सन् १९१७ को अक्टोबर २४ को दिन लेनिनको नेतृत्वमा अक्टोबर क्रान्ति सुरु भयो । मुख्य लडाइँ २५ अक्टोबरको दिन भयो । (नयाँ पात्रोअनुसार १७ नोभेम्बर) । कामचलाउ सरकार सत्ताच्युत भयो । रूसी समाजवादी सङ्घीय सोभियत गणतन्त्रको घोषणा भयो । भोलिपल्ट दोस्रो अखिल रूसी सोभियतहरूको बैठकले ‘शान्तिका लागि’ र ‘मातृभूमिका लागि’ भन्ने ऐतिहासिक घोषणा ग¥यो । गोर्की, अत्यन्त उदास र चिन्तित भएर रक्तपातपूर्ण लडाइँ, ध्वंस र ‘ल्पेहभे र स्टोलिपिनले जस्तै अत्यन्त आतङ्ककारी कारबाही’ गरेर पुराना क्रान्तिकारीहरूलाई पक्रेको दृश्य ध्यानपूर्वक हेरे । उनी लेनिन र ट्राट्स्कीमाथि सार्वजनिकरूपमा आक्रमण गर्न डराएनन् । ‘प्राभ्दा’ ले उनलाई ‘श्रमिक जनताका शत्रुहरूको भाषा बोल्ने’ भनेर दोषारोपण नगरेसम्म गोर्कीले ‘समाजवादको पतन’ बारे लेखहरू लेखे । बोल्सेभिकहरूले कुनै हिचकिचाहटबिना नै गोर्कीको पत्रिकाको जाँचबुझ गरे र अप्रिय लेख र खबरहरू छापेबापत जरिवाना गरे । त्यसपछि नोभाया शिज्न बेग्लै नामबाट साबिकअनुसार निस्कन थाल्यो ।
यसरी नै, सोभियत सङ्घ र अरू राष्ट्रहरूबिचको मैत्रीपूर्ण सम्बन्धबार लेनिनको राजनीतिक कदमको गोर्कीले समर्थन गरे । समाजवादी र यथार्थवादी म्याक्सिम गोर्कीले आफूलाई एउटा पार्टीको सीमित घेराभित्र जकड्याएर राख्न सकेनन् । गोर्कीले आफूलाई ‘राजनीतिप्रति वास्ता’ नभएको कुरो घोषणा गरे । यसो हुँदाहुँदै पनि उनले आफ्नै किसिमले, उनका प्यारा रूसी जनताको दुःख कष्टलाई कम गराउन प्रयत्नशील रहे । क्रान्तिको समयमा सांस्कृतिक कृतिहरूको संरक्षण गर्ने उनको प्रयत्नमा उनी अत्यन्त कर्मठ थिए । उनले कलासम्बन्धी कृतिहरूको संरक्षण गर्न एउटा समितिको निर्माण गरे र जनतालाई शिक्षित बनाउनको लागि एउटा समूहको सङ्गठन गरे । त्यसलाई उनले ‘स्वतन्त्रता संस्कृति’ को संज्ञा दिए । उनको किशोरावस्थामा उनलाई सताएको बौद्धिक खुराकको कमीलाई उनले समाजका सबै तहका मानिसहरूले विज्ञान र कलाको अध्ययन गर्न सकून् भन्ने उद्देश्यले विभिन्न प्रयत्न गरे । यसको उदाहरणमा सन् १९१९ मा स्थापित ‘विश्व साहित्य’ प्रकाशनगृहलाई लिन सकिन्छ । त्यसको मुख्य उद्देश्य विश्वभरका उत्कृष्ट लेखकहरूका विशिष्ट कृतिहरू उपलब्ध गराउनु थियो । सन् १९१८ मा पेट्रोग्राडमा स्थापना भएका श्रमिकहरू र किसानहरूको पहिलो विश्वविद्यालयलाई सघाए, गोरोरा वोरियलिस भन्ने बालपत्रिकाको सम्पादन गरे र सन् १९२० मा अल्पवयस्कहरूको अपराध रोकथामका लागि एउटा आयोगको स्थापना गरे । सन् १९१८ मा केटाकेटीहरूका लागि लेखिएका कथाहरूको एउटा सङ्ग्रह येरालेस र सर्वहारावादी लेखहरूका कृतिहरूको दोनो सङ्ग्रह प्रकाशित भएका थिए । समकालीन लेखक र समालोचकहरूका लागि ‘एकटुक्रा रोटी र अलिकति न्यानो’ प्रदान गर्नका लागि गोर्कीले तिनीहरूको ‘कलागृह’ को सुविधा प्रदान गराएका थिए ।
गोर्कीले जेजति सङ्गठनहरूमा भाग लिए ती सबैको यहाँ उल्लेख गर्न सम्भव छैन । उनले यी सबै क्रियाकलापहरूलाई गम्भीरतासाथ लिए । उनी भन्थे, “नयाँ मानिसहरू अस्तित्वका नयाँ अवस्थाद्वारा सिर्जना गरिन्छन् र नयाँ अवस्थाहरूले नयाँ मानिसहरूको सिर्जना गर्छन् ।” उनी वादविवादमा भाग लिन्थे, टेलिफोनबाट कुराकानी गर्थे, सरकारी अधिकृतहरूलाई चिठीपत्र लेख्थे, सरकारलाई लेख्थे र कतैबाट पनि केही सीप नलागेपछि लेनिन स्वयम्लाई पनि लेख्थे । उनी पूर्णरूपमा थकित नभएसम्म यसो गरिरहन्थे । “मैले तपाईँलाई फेरि पनि कचकच गर्नुपरेकोमा क्षमाप्रार्थी छु ।” उनी प्रायः प्रत्येक दिन लेख्ने गर्थे, “मसँग अरू उपाय छैन ।” जब चिठीबाट भनेको काम सम्पन्न हुँदैनथ्यो, उनी व्यक्तिगतरूपमा लेनिनसित भेट गरेर कुराकानी गर्न चौबीस घण्टाको रेलयात्रा गरेर मस्को पुग्थे । उनका आग्रहपूर्ण निवेदनहरूद्वारा उनले धेरै मानिसहरूको जीवन बचाए । तत्कालीन क्रान्तिकारी व्यवहारका कारबाहीहरूबारे लगभग सधैँजसो उनी लेनिनसित गुनासो पोख्थे ।
जब गोर्की लालसेनाका सिपाही, कामदार, विद्यार्थी र स्वास्नीमान्छेहरूका लागि केही पढेर सुनाउँथे, असङ्ख्य मानिसहरू भेला हुन्थे, किनभने ती क्रान्तिकारीहरू साहित्यप्रति उत्सुक थिए । सन् १९१९ मा गोर्कीले टाल्सटाय र एन्ड्रेयेभसम्बन्धी संस्मरणहरू र कम्युनिस्ट इन्टरनेसनल पत्रिका प्रकाशित गरे । उनले राष्ट्रहरूबिचको मध्यस्थता र प्रतिक्रान्तिकारी श्वेत रक्षकविरोधी लेखहरू लेखे । सन् १९१९–१९२० को भयानक अनिकालको अवधिमा गोर्कीलाई वैज्ञानिकहरूको जीवनस्तर सुधार्नको लागि गठित केन्द्रीय समितिको अध्यक्ष बनाइयो र लेनिनको सुझाउमा उनले पश्चिमका राष्ट्रहरूसित रूसका भोका मानिसहरूलाई सहयोग गर्न अपिल गरे ।