#का. रोहित
सातौँ पार्टी महाधिवेशन
त्रोत्स्की, बुखारिन र अरू ‘वामपन्थी कम्युनिस्ट’ भनिने उत्ताउला गुटहरूले सोभियत सरकार कब्जा गर्ने, सन्धि भङ्ग गर्ने अनि लेनिन, स्तालिन र स्वेर्दलोभलाई पक्राउ गरी हत्या गर्ने षड्यन्त्र रचे । षड्यन्त्रकारी र पार्टी विरोधी त्यस गुटसँग सङ्घर्ष गर्न ६ मार्च १९१८ को दिन पार्टीको सातौँ महाधिवेशन बोलाइयो ।
त्यसबेला पार्टी सदस्य सङ्ख्या २ लाख ७० हजार थियो । केही प्रदेश जर्मनीको अधिकारमा गएको र हतारमा बोलाइएको हुँदा धेरै सङ्गठनहरूले बैठकमा भाग लिन पाएनन् । त्यसकारण, १ लाख ४२ हजार सदस्यहरूले मात्र आफ्ना प्रतिनिधि पठाउन सके । त्यसमा मत दिन पाउने ४६ प्रतिनिधि र बोल्न पाउने तर मत दिन नपाउने ५८ जना प्रतिनिधिहरू थिए । लेनिनले ब्रेस्ट–लिटोवस्क शान्ति प्रस्तावबारे एक रिपोर्ट दिनुभयो । त्यसको पक्षमा ३० मत, विपक्षमा १२ मत र ४ मत तटस्थ रह्यो । यसरी बहुमतबाट शान्ति प्रस्ताव स्वीकार गरियो । बैठकले पार्टी फुटाउन खोज्ने त्रोत्स्की र बुखारिनको मतलाई निन्दा ग¥यो ।
लेनिनको प्रस्तावअनुसार बैठकले पार्टीको नाम ‘रुसी कम्युनिस्ट पार्टी (बोल्शेविक)’ स्वीकार ग¥यो । एक नयाँ पार्टी कार्यक्रम तयार पार्न लेनिन र स्तालिनको एक विशेष समिति बनाइयो ।
लडाइँबाट फुर्सद पाउनासाथै बोल्शेविक पार्टीले अर्थतन्त्रको विकासमा जोड दियो । लेनिनले भन्नुभयो, “रोटीको लडाइँ समाजवादको लडाइँ हो ।” स्वार्थ र नाफा मात्र खोज्ने स–साना पुँजीपति र कालाबजारीयाहरू, अन्न लुकाउने र थुपार्ने कुलाक भनिने गाउँका धनी किसानहरूले आर्थिक अनुशासनलाई उल्लङ्घन गर्दै गए । सम्झाइ बुझाइबाट नमान्नेहरूलाई बल प्रयोग गर्ने, गरिब किसानहरूका समिति बनाउने र गाउँ गाउँमा मजदुरहरूको दलहरू पठाएर अन्न कब्जा गर्ने नीतिहरू लागु गरियो ।
समाजवादी क्रान्तिकारीहरू, मेन्शेविकहरू, त्रोत्स्की र बुखारिनहरूले आर्थिक अनुशासनलाई विरोध गर्दै रुसमा समाजवादी निर्माण असम्भव छ भनी प्रचार गरे । ‘वामपन्थी’ समाजवादी क्रान्तिकारीहरूले कुलाकहरूको पक्ष लिँदै लेनिनलाई गाली गर्न थाले र मस्कोमा विद्रोह गरे । तिनीहरूले त्रोई ओख्स्भीय तितेल्स्की (Try okhsviati telsky Allery) मार्ग कब्जा गरे र क्रेमलिनमाथि तोप पड्काउन थाले । जर्मनीलाई उक्साएर तिनीहरू फेरि युद्ध गराउन चाहन्थे । यसकारण, ब्ल्युमकिन भन्ने त्रोत्स्कीका एक दलालले मास्कोस्थित जर्मनीका राजदूत मीरबाखलाई गोली हानेर मारिदियो । तर, सोभियत सरकारले जर्मनीसँग कुराकारी गरी युद्ध हुन दिएन ।
यी सबै गतिविधिमा ‘वामपन्थी कम्युनिस्ट’ भनिने त्रोत्स्की र बुखारिनहरूको भित्र भित्र साउती थियो । ४ जुलाई १९१८ मा सोभियतहरूको पाँचौँ महाधिवेशन सुरु भयो । बैठकले रुसी सोभियत सङ्घीय समाजवादी गणतन्त्रको विधान स्वीकार ग¥यो । त्यो नै पहिलो सोभियत संविधान थियो ।
विदेशी हस्तक्षेप र गृहयुद्ध
जर्मनीसँग शान्ति सन्धिले गर्दा मित्रराष्ट्रहरू (बेलायत र फ्रान्स) तर्से । पहिलो, त्यसले जर्मनीको स्थिति बलियो हुन्थ्यो । दोस्रो, पुँजीवादी देशका मजदुरवर्गले पनि रुसको मजदुरवर्गकै उदाहरण लिएर आफ्नो बन्दुक आफ्नै देशको शोषकवर्गतिर फर्काइ दिन्थ्यो । यसकारण, १९१८ को मध्यमा बेलायत र फ्रान्सले रुसको उत्तरी भागमा अर्खान्गेल (Archangle) र मुरमान्सक (Murmansh) भन्ने ठाउँ कब्जा गरेर स्थानीय जालीफटाहाहरूको ‘श्वेत रक्षक’ को विद्रोह सञ्चालन गरे र ‘उत्तरी रुसी सरकार’ भन्ने एक नक्कली सरकार कायम गरे ।
जापानले पूर्वबाट भ्लाडिभोस्टक र म्यारिटाइम (Maritime) प्रान्त कब्जा ग¥यो र स्थानीय श्वेत रक्षक विद्रोहीहरूमार्फत एक कठपुतली सरकार बनायो । बेलायत र फ्रान्स मिलेर रुसको दक्षिणी भागमा र उत्तर काकेशियामा प्रतिक्रियावादी जर्नल कार्निलोभ, एलेक्सिएभ र देनिकिन मिलाएर एक ‘स्वयम्सेवक दल’ बनाउन दियो । सोभियतहरूको विरोधमा यो शोषकवर्गको विद्रोह थियो ।
जर्मनीको गुप्त मद्दतबाट जनरल क्रासनोभ र मामोन्टोभले दोन नदीको किनारामा क्रान्ति विरोधी गतिविधिहरू सुरु गरे । अस्ट्रिया र हङ्गेरीका बन्दी बनाइएको सेना पूर्वबाट पश्चिम फर्किरहेको थियो । मध्य साइबेरिया पुग्दा बेलायत र फ्रान्सले तिनीहरूलाई विद्रोह गराएर बोल्गा प्रदेशको समारा र साइबेरियाको ओमास्तकमा विश्वासघाती सरकार बनाउन दियो ।
जर्मन साम्राज्यवादीहरूले क्रान्तिविरोधी राष्ट्रिय सरकारलाई सघाएर तिफलिस र बाकु हत्याउन दिए । त्यसले सोभियतको अन्न, कच्चा माल र बाल्ने वस्तुको स्रोत पनि थुनिदियो । मासु र रोटीको कमीले मजदुरहरू भोकै मर्न थाले । कलकारखाना बन्द भयो । पार्टीले ’समाजवादी मातृभूमि खतरामा छ’ र सबै कुरा लडाइँको निम्ति भन्ने नारा दियो । लाखौँ मजदुर, किसान र युवकहरू लाल सेनामा भर्ना भए ।
लामो युद्धले गर्दा जर्मन सेनामा विद्रोह भयो । नोभेम्बर १९१८ मा जर्मनीमा क्रान्ति भयो । विलहेम (Wilhelm) र उसको सरकारले पल्टा खायो । पहिलो स्तरको शक्तिशाली जर्मनी अब दोस्रो तहमा खस्यो ।
युरोपमा क्रान्तिकारी छाल बढ्दै गयो । अस्ट्रियामा क्रान्तिकारी आन्दोलन सुरु भयो । हङ्गेरीमा सोभियत गणतन्त्र स्थापना भयो । युरोपको विभिन्न देशमा कम्युनिस्ट पार्टी अगाडि आए । बोल्शेविक पार्टी र लेनिनले तेश्रो कम्युनिस्ट अन्तर्राष्ट्रिय स्थापना गर्ने निर्णय गर्नुभयो ।
१९१९ मार्च महिनामा मस्कोमा तेस्रो कम्युनिस्ट अन्तर्राष्ट्रियको पहिलो महाधिवेशन भयो । त्यसमा युरोप र अमेरिकाबाट समेत गरी ३०१ प्रतिनिधिहरू सामेल भए । त्रोत्स्कीको खोटो नीतिले गर्दा युद्ध हार्दै थियो । त्यसकारण, स्तालिन र भोरोसिलोभ आदि नेताहरूको अगुवाइमा सशस्त्र मजदुर दलहरूमार्फत एकपछि अर्को विजय पाउँदै गए । ३ वर्षको भयङ्कर सङ्घर्षपछि बेलायत, फ्रान्स, जापान र अमेरिकाको संयुक्त आक्रमण र घरेलु विश्वासघातीहरूको विद्रोह ध्वस्त भयो । लाल सेना बढेर दसौँ लाख भयो र परिपक्व पनि हुँदै गयो ।
सोभियत हुकुमले गरेका कार्यहरू
१) सोभियत हुकुमले सबभन्दा पहिले जारतन्त्रको जरै उखेल्यो । जारतन्त्रकै पद चिन्हमा लाग्ने र पुँजीपतिवर्गको हितलाई बढी ध्यान दिने अस्थायी सरकारको हुकुमलाई क्रान्तिबाट विकास भएको स्थानीय वर्गीय र राष्ट्रिय स्तरका जनताका प्रतिनिधिहरूको सभा वा परिषद् सोभियतहरूलाई सुम्पने काम ग¥यो । यसलाई एक किसिमको राज्य शक्तिको विकेन्द्रीकरण भन्न सकिन्छ ।
२) विनामुआब्जा (क्षतिपूर्ति) राजा–रजौटा, सामन्त, गुठी र जमिनदारहरूको जग्गाको स्वामित्वलाई समाप्त ग¥यो ।
३) तेल, कोइला, धातु र अन्य खानीहरू, जङ्गल र पोखरीमा भएको व्यक्तिगत स्वामित्वलाई खारेज ग¥यो ।
४) पुँजीपतिवर्गको उद्योगधन्दा (कर–कारखाना), बैङ्क, रेल बाटो, विदेश व्यापार र खानीहरू राष्ट्रियकरण ग¥यो ।
५) जार सरकारले लिएको सबै विदेशी ऋण नतिर्ने र विदेशी पुँजीलाई राष्ट्रियकरण गर्ने घोषणा ग¥यो ।
६) सारा रुसी जनता युद्धबाट बर्बाद भइरहेका थिए । जर्मनीसँग शान्ति सम्झौता ग¥यो ।
७) रोटीको प्रश्न रुसी जनताको प्रश्न थियो । सोभियत सरकारले कालाबजारी र कुलाकहरूलाई दबाएर देश र मजदुरवर्गलाई अकालबाट जोगायो ।
८) राज्य र स्कूललाई धर्मबाट अलग गरिदियो ।
९) जार र पुँजीपतिवर्गले चलाइआएको शासन यन्त्र (मन्त्रालय र कार्यालयहरू) लाई फेरेर नयाँ बनायो ।
१०) पुरानो प्रतिक्रियावादी सेनाको ठाउँमा मजदुर र किसानहरूको नयाँ लाल सेना निर्माण ग¥यो ।
११) पार्टी भित्र र बाहिरका खोटा सिद्धान्त र राजनैतिक प्रहारहरूलाई उचित उत्तर दिँदै शोषकवर्ग र साम्राज्यवादी शक्तिहरूलाई सघाउने ‘दक्षिणपन्थी’ र ‘वामपन्थी’ विरामहरूलाई मर्मान्तक चोट पु¥यायो ।
१२) एउटै देशमा पनि समाजवाद कायम हुनसक्छ र पश्चिमलाई पनि पूर्वबाट समाजवादको बाटो देखाउन सक्छ भन्ने सिद्धान्तलाई अगाडि सारिदियो ।
१३) थिचिएका र पिल्सिएका विभिन्न जाति र स्वास्नीमानिसहरूलाई समानताको अधिकार दियो ।
अक्टोबर क्रान्तिका सफलताका कारणहरू
१) मजदुरवर्गको एक राजनैतिक पार्टी नरहनु, मजदुर पार्टीहरूको एउटै केन्द्र नहुनु, सहरका स–साना पुँजीपतिवर्ग र गाउँका किसानहरूलाई सङ्गठित गरी क्रान्तिमा सामेल गराउन नसक्नु, सैद्धान्तिक, राजनैतिक र अनेक रणनीति बिरामहरूले गर्दा पुराना मजदुर आन्दोलनहरू असफल भएका थिए ।
बोल्शेविक पार्टी रुसी मजदुरवर्गको एक राजनैतिक पार्टी थियो । त्यसले स–साना पुँजीपतिवर्ग र गाउँका किसानहरूलाई सङ्गठित गर्न सकेको थियो । मजदुर आन्दोलनभित्र माक्र्सवादको पक्षमा अनेक सैद्धान्तिक सङ्घर्षहरू गरेर त्यसले आफूलाई एक सैद्धान्तिक जगमा उभ्यायो । विभिन्न सामन्ती र पुँजीवादी राजनैतिक पार्टीहरूसँग राजनैतिक सङ्घर्ष गरेर त्यसले आफूलाई राजनैतिक सुझबुझले पोख्त राजनैतिक पार्टीको रूपमा उभ्याउन सफल भयो । पुराना मजदुर आन्दोलन, पेरिस कम्युन र १९०५ मा भएका अनेक रणनीतिक सुझबुझको कमी र बिरामहरूबाट सिकेर त्यस्ता कमजोरी र गल्तीहरूबाट आफूलाई जोगाउन सक्ने बनायो ।
लामो समयसम्मको सङ्घर्षबाट बोल्शेविकहरू जनताका तत्कालीन र दीर्घकालीन समस्या र आवश्यकतालाई राम्रोसँग बुझ्न सफल भए । जनता र सिपाहीहरूको निम्ति शान्ति, किसानहरूको निम्ति जमिन र मजदुरहरूको निम्ति स्वतन्त्रता र समाजवादको खाँचोलाई बुझे । तिनीहरू त्यसैको निम्ति लडे । सङ्घर्षबाटै तिनीहरूले आफूलाई क्रान्तिकारी साबित गराए, सङ्घर्षबाटै तिनीहरूले जनताको विश्वास जिते । रुसमा त्यस्ता क्रान्तिकारीहरूको एक राजनैतिक पार्टी बोल्शेविक हुनु नै क्रान्तिको विजयको मुख्य कारण बन्यो ।
२) रुसको मजदुर आन्दोलनले नरोदवादजस्तो छिटो क्रान्ति गर्न खोज्ने उत्ताउला ‘व्यक्तिहत्या’ र ‘आतङ्कवाद’ अनि मेन्शेविकवाद जस्तो फितलो र अस्थिर विचारधारासँग सैद्धान्तिक सङ्घर्ष ग¥यो । त्यस सङ्घर्षबाट मजदुर आन्दोलनले कहिले संसदीय रूप लियो, कहिले संसद्विरोधी रूप, कहिले संसद्मा भाग नलिने (बहिष्कार) र कहिले चुनावमा भाग लिने, कहिले कानुनी र कहिले कानुनविरोधी सङ्घर्षहरूको रूप लियो । १९०५, १९०७ र १९१२ को क्रान्तिले मजदुर आन्दोलनलाई झन्झन् इस्पात बनायो । गुप्त र खुला, शान्तिपूर्ण र सशस्त्र सङ्घर्षका अनेक रूपहरूले गर्दा रुसी मजदुर आन्दोलनलाई अनेक किसिमको अनुभव हासिल गर्ने अवसर प्रदान ग¥यो । सङ्घर्षकै सिलसिलामा त्यसले आफ्ना हितहरू, आफ्ना सच्चा मित्रहरू र शत्रुहरूलाई पनि चिन्यो । रुसी मजदुर आन्दोलनले प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घ–संस्थामा पनि गएर जनताको सेवा गर्ने र अनेक दुःख कष्ट र अपमान सहन सक्ने अनुशासित कार्यकर्ता र नेताहरू बनायो । त्यस्ता नेता र कार्यकर्ताहरू विना आन्दोलन जनताबाट एक्लिन्थ्यो । ती आन्दोलनलाई सञ्चालन गर्ने प्रेरणाको मुख्य स्रोत नै बोल्शेविक पार्टी थियो । त्यसले नै रुसको व्यापक मजदुरवर्गलाई क्रान्ति र समाजवादको निम्ति तयार पार्यो । आन्दोलनहरू र त्यसबाट खारिएका मजदुरवर्ग विनाअक्टोबर क्रान्ति असम्भव थियो ।
३) रुसको पुँजीपतिवर्ग आर्थिकरूपले पश्चिमी पुँजीवादी देशहरूको तुलनामा कमजोर थियो । रुसभित्रै विभिन्न कम्पनीहरूको थिचोमिचो थियो । यसकारण, रुसको पुँजीपतिवर्ग सरकारको सहुलियतमा टिकेको थियो । त्यस्तै राजनैतिकरूपले पनि त्यो वर्ग क्रान्तिकारीहरूको तुलनामा साह्रै निर्बलियो र असङ्गठित थियो ।
फ्रान्सेली पुँजीपतिवर्ग राजनैतिक गुटबन्दी र राजनैतिक बेइमानीमा अगाडि थियो । रुसी पुँजीपतिवर्ग त्यस कुरामा त्यति चलाख थिएन । बेलायती पुँजीपतिवर्ग सा¥है बुझ्ने र सम्झौता गर्न सिपालु थियो । तर, रुसी पुँजीपतिवर्ग न फ्रान्सेली पुँजीपतिवर्ग जस्तो राजनैतिक र कूटनैतिकरूपले चलाक थियो, न त बेलायती पुँजीपतिवर्ग जस्तो आफ्नै खुट्टामा उभिन सक्दथ्यो । अर्थात् रुसी पुँजीपतिवर्ग राजनैतिकरूपले परिपक्व थिएन । तिनीहरूमा परिस्थिति हेरेर नयाँ बाटो खोज्ने अगुवाइपन पनि थियो ।
४) लडाइँले जनता र सेना वाक्क भइसकेका थिए । जमिनदारहरूको थिचोमिचोले किसान उठ्नै सकिरहेको थिएन । कारखानाहरू बन्द हुँदै थिए र मजदुर नीति पनि खोटो थियो । आर्थिक रूपबाट रुसलाई युद्ध चालु राख्न असम्भव देखिँदै थियो । तर जारले ‘विजय नभएसम्म युद्ध गर्दै जाने’ नीति लिएको थियो । त्यही नीतिले जारतन्त्र उल्टियो र पुँजीपतिवर्गको सरकार स्थापना भयो ।
तर, त्यस पुँजीपति सरकारले त्यही जारतन्त्रकै जनविरोधी नीतिहरू लियो । तिनीहरूमा जारको असफलताबाट सिक्ने राजनैतिक सुझबुझ थिएन । तिनीहरूमा न सामन्तवर्गसँग सम्झौता गर्ने अक्कल थियो न त मजदुरवर्गसँग मिल्ने समझदारी रह्यो । रुसी पुँजीपतिवर्गको यस कमजोरीलाई रुसका मजदुरवर्ग र बोल्शेविकहरूले बुझे । तिनीहरूको कमी कमजोरीहरूबाट क्रान्तिले फाइदा उठायो । मेन्शेविक र समाजवादी क्रान्तिकारीहरूको प्रभावलाई पुँजीपतिवर्गले फाइदा उठायो र आखिर तिनीहरू पनि पुँजीपतिवर्गसँगै सती गए ।
५) संवैधानिक प्रजातन्त्रवादी (क्याडेट), समाजवादी क्रान्तिकारीहरू र मेन्शेविकहरू पनि किसानको हितबारे कुरा गर्थे । किसानहरूको साँचो हितको निम्ति जमिनदार वर्गसँग चर्को सङ्घर्ष गर्नुपर्दथ्यो । तर, तिनीहरूमध्ये कुनै गुट किसानको पक्षमा जमिनदारहरूसँग सङ्घर्ष गर्न चाहँदैनथे । कुनै न कुनै रूपले जमिनदार र धनी किसानहरूसँग तिनीहरूको सम्बन्ध हुन्थ्यो ।
तर बोल्शेविक पार्टीको सम्बन्ध गरिब किसानहरूसँग थियो । गरिब किसानहरूको हितको निम्ति तिनीहरू जमिनदारवर्गलाई दबाउन तयार थिए । यसकारण मजदुर र किसान वर्गको बलियो एकताको आधार तयार भयो । गरिब र मध्यम किसान क्रान्तिमा सरिक भए । यसरी अक्टोबर क्रान्तिको सफलताको अर्को मुख्य कारण मजदुर र किसानको एकता थियो ।
६) अक्टोबर क्रान्तिको सफलताको एक मुख्य कारण बोल्शेविक पार्टीको नेतृत्व पाउनु हो । त्यस पार्टीका नेता र कार्यकर्ताहरू देश–विदेशका र विभिन्न आर्थिक, राजनैतिक, गुप्त र खुला सङ्घर्षहरूबाट खारिएका र शिक्षित थिए । तिनीहरू अनेक गलत तत्वहरूबाट आफ्नो पार्टीलाई जोगाउँदै लग्न सिपालु भइसकेका थिए ।
त्यस पार्टीले शान्तिको निम्ति जनताका प्रजातान्त्रिक आन्दोलनलाई अगाडि बढाएको थियो, राजा–रजौटा र सामन्तहरूको जग्गा किसानहरूलाई कब्जा गर्न दिएको थियो, रुसी जाति र जारतन्त्रको थिचोमिचो र पक्षपातबाट अरू जातिहरूलाई स्वतन्त्र ग¥यो र समानताको सिद्धान्तलाई अगाडि लग्यो, पुँजीपतिवर्गको हुकुमको ठाउँमा सर्वहारावर्गको हुकुम कायम ग¥यो ।
बोल्शेविक पार्टीले शत्रुमाथि एकपछि अर्को धावा बोल्ने काममा अगुवाइ ग¥यो । त्यस्तो साहसी, परिपक्व, अनुभवी पार्टीविना क्रान्ति असम्भव थियो ।
७) जारतन्त्र युद्धमा फसिरहेको, जनतामा असन्तोष फैलिरहेको, जारतन्त्रको ठाउँमा आएको पुँजीपतिवर्गको सरकारले पनि देशलाई ठीक बाटो देखाउन नसकेको र अस्थायी सरकारप्रति पनि जनताको विश्वास घट्दै गइरहेको देशको भित्री परिस्थिति थियो । अर्कोतिर सङ्घर्षको कारणले जनताको विश्वास बोल्शेविक पार्टीतिर बढ्दै थियो ।
अन्तर्राष्ट्रिय क्षेत्रमा पुँजीवादी देशहरू आ–आफ्नो प्रभुत्व फैलाउन आपसमा काटाकाट गर्दै थिए । तिनीहरू दुई ठुला गुटमा विभाजित थिए । दुवै गुट साम्राज्य फैलाउने युद्धमा नराम्रोसँग फसेका थिए । यस्तो स्थितिमा तिनीहरूले संयुक्त भएर रुसी क्रान्तिमा हस्तक्षेप गर्न सकेनन् ।
यस्तो राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति क्रान्तिको पक्षमा थियो । त्यही परिस्थिति नै क्रान्तिको सफलताको एक कारण बन्यो । भनिन्छ, अन्तर्राष्ट्रिय परिस्थिति अक्टोबर क्रान्तिको सहायक पक्ष थियो ।
८) बोल्शेविकहरूले जनताको सबभन्दा तल्लो वर्गको प्रस्ट र व्यापक इच्छाहरूलाई पूरा गरे । पुरानोलाई ध्वस्त पारेर नयाँ कुराको निर्माण गर्न जनतालाई जगाए ।
– ‘विश्वका प्रसिद्ध मजदुर आन्दोलनहरू’ बाट