#अर्नेष्टो चे गुएभारा
समाजवादी कला र प्रयोग
कलात्मक प्रयोग गर्ने विभिन्न धाराहरू पनि विकसित गरिन्छ र त्यसैलाई स्वतन्त्रताको परिभाषाको रूपमा मान्ने गरिन्छ । तर, यस्ता ‘प्रयोगात्मकताहरू’ का पनि आफ्नै सीमाहरू हुन्छन् । यस्ता सीमाहरू तबसम्म अदृश्य भइरहन्छन्, जबसम्म द्वन्द्व र सङ्घर्ष हुँदैनन्, जबसम्म मानिसका वास्तविक समस्याहरू र एकलकाँटेपनाको स्थितिबिच निरूपण हुँदैन निरर्थक मनोव्यथा वा विकृत मनोरञ्जन नै मानवीय व्याकुलताको सजिलो सस्तो सुरक्षा कवच बन्न पुग्छन् कलालाई प्रतिशोधको हतियार बनाउने विचारलाई खण्डन गरिन्छ ।
हो, त्यसमा खेलका सबै नियमलाई सम्मान गरिन्छ र त्यस्ता सबै कलाकारहरूलाई सम्मान प्रदान गरिन्छ जसरी फनफनी घुमेर नाच्ने बाँदरलाई सबै प्रकारको सम्मान प्रदान गरिन्छ । तर त्यसमा एउटैमात्र सर्त राखिएको हुन्छ, त्यो सर्त हो कलाकारले अदृश्य पिँजडाबाट पलायन हुने प्रयास गर्न पाउँदैन ।
जब क्रान्तिद्वारा सत्ता ग्रहण गरियो, तब सम्पूर्णतः पाल्तु कलाकारहरू देश छाडेर भागे । बचे–खुचेकाहरूले भने, एउटा नयाँ बाटोको दर्शन गरे, चाहे ती बचे–खुचेका कलाकारहरू क्रान्तिकारी होऊन् या नहोऊन् । कलात्मक प्रयोगका लागि नयाँ उमङ्ग छायो । जे भए तापनि बाटाहरू लगभग चिरपरिचित पुरानै खालका थिए अनि पलायनकै धारणा ‘स्वतन्त्रता’ शब्दको पछाडि लुकिरहेको थियो । यो प्रवृत्ति चाहिँ चेतनामा पुँजीवादी आदर्शवादको प्रतिबिम्ब बनेर अक्सर गरेर स्वयं क्रान्तिकारीहरूको मन–मस्तिष्कमा समेत टाँसिरह्यो ।
यसप्रकारका प्रक्रियाहरूबाट अगाडि बढेका मुलुकहरूमा यस्ता प्रवृत्तिविरुद्ध अति नै रूढिवादी प्रयासद्वारा सङ्घर्ष गरियो । यसैको परिणामस्वरूप सामान्य संस्कृति बदनाम भयो र प्रकृतिको औपचारिक र जस्ताको तस्तै प्रतिबिम्बन गर्नुलाई नै सांस्कृतिक आकाङ्क्षाको सर्वोच्च उचाइ घोषित गरियो । यो औपचारिकता र हुबहु प्रतिबिम्बनलाई पनि पछि गएर कल्पना–रचित सामाजिक वास्तविकताको यान्त्रिक चित्रणको रूपमा फेरियो । हुँदाहुँदा यस्तोसम्म देखाइयो कि मानिसहरूले रचना गर्न खोजिरहेको आदर्श समाज प्रायः द्वन्द्व, सङ्घर्ष अन्तरविरोध र विसङ्गतिहरूबाट समेत मुक्त हुनेछ ।
समाजवाद बाल्य अवस्थामै छ र यसले गल्तीहरू गर्छ । प्रचलित परम्परागत पद्धतिहरूभन्दा भिन्न खालका नयाँ पद्धतिहरूबाट अगाडि बढ्दै नवमानवको सिर्जनाका लागि जुन ज्ञान र बौद्धिक साहसको आवश्यकता छ, त्यो हामी क्रान्तिकारीहरूमा अक्सर गरेर अभाव छ । प्रचलित परम्परागत पद्धतिहरू पुराना समाजका सिर्जनाहरू हुन्, त्यसैले ती पुराना समाजका प्रभावहरूबाट ग्रस्त हुन्छन् । (यहाँ फेरि एकपटक रूप र विषयवस्तुको अन्तरसम्बन्धको कुरा अगाडि आयो ।)
अहिले दिशाभ्रम सर्वत्र फैलिएको छ र भौतिक निर्माणका समस्याहरूले हामीलाई पीडित पारिरहेका छन् । त्यस्ता महान् प्राधिकारसम्पन्न कलाकार छँदै छैनन्, जो एकसाथ महान् क्रान्तिकारी अधिकारसम्पन्न पनि होऊन् । अतः पार्टीकै मानिसहरूले नै यी महान् कार्यहरू आफ्नो काँधमा बोक्नुपर्छ र जनतालाई शिक्षित गर्ने मुख्य उद्देश्य पूरा गर्नुपर्छ ।
जनतालाई शिक्षित गर्ने क्रममा सरलीकरणको प्रयास गरिन्छ, सबै मानिसहरूले बुझ्ने खालको, पार्टी कार्यकर्ताहरूले बुझ्ने खालको सरलीकरण यस्तो स्थितिमा साँच्चैका कलात्मक प्रयोगहरूको अन्त्य हुन्छ । सामान्य संस्कृतिको समस्या भनेको समाजवादी वर्तमान र मृत (त्यसैले जोखिम नभएको) भूतबाट केही कुरा तानतुन गर्नुमा मात्रै सीमित हुनपुग्छ । यसप्रकारले समाजवादी यथार्थवादको जन्म उन्नाइसौँ शताब्दीको कलाको आधारशिलामाथि हुन्छ ।
तर उन्नाइसौँ शताब्दीको यथार्थपरक कलाको पनि वर्गचरित्र थियो, सायद बीसौँ शताब्दीको पतनोन्मुख कलाभन्दा पनि अलि बढी नै पुँजीवादी खालको, जसमा एकलकाँटेपनाले ग्रस्त व्यक्तिका पीडा र व्याकुलता झल्किन्छ । संस्कृतिको क्षेत्रमा पुँजीवादले आफ्नो ढुकुटीबाट जे जति दिनसक्ने हो ती सबै सबै नै समर्पित गरिसकेको छ, त्यससँग अब जे जति बाँकी छ, ती सबै दुर्गन्धित लासमात्रै हुन्, कलाको क्षेत्रमा पनि वर्तमान पतनशीलतामात्रै उसँग बाँकी छ ।
तर हामीले समाजवादी यथार्थवादका हिउँजस्तै जमिसकेका रूपहरूमा मात्रै किन वैध प्रेस्क्रिप्सन (निर्देशन पत्र) को खोजी गर्दै हिँड्ने ? हामीले स्वतन्त्रतालाई्र समाजवादी यथार्थवादको मुखेन्जी बराबरी उभ्याउन सक्दैनौँ, किनकि अहिले स्वतन्त्रताको वास्तविक अस्तित्व छँदैछैन र त्यसको अस्तित्व भनेको नयाँ समाजको पूर्ण विकास हुनुभन्दा अगाडि सम्भव पनि छैन । त्यसैले, जुनसुकै मूल्यमा पनि यथार्थवादको सिंहासनमा बसेर हामीले उन्नाइसौँ शताब्दीको उत्तराद्र्ध यताका सबै कला रूपहरूको निन्दा गर्नुहुँदैन । यसरी निन्दा गर्नुको अर्थ भूतकालतिर पछि फर्कने प्रुधोँवादी गल्ती गर्नु हुनेछ । यसको मतलब नयाँ जन्मिरहेको मानवको आफ्नो सृजन र निर्माण गरिरहेको मानवको कलात्मक अभिव्यक्तिलाई सङ्कीर्ण आवरणले ढाकी दिनु पनि हुनेछ ।
अहिलेको आवश्यकता हो एउटा वैचारिक सांस्कृतिक संयन्त्रको रचना गर्नु जसले स्वतन्त्र प्रयोगलाई पनि स्वीकृति दिनेछ र राज्यद्वारा अनुदानित उर्वर भूमिमा निकै सजिलैसँग हुर्कने–बढ्ने बनमारा झारपातहरू पनि उखेलेर फ्याँक्नेछ ।
हाम्रो देशमा यान्त्रिक यथार्थवादका गल्तीहरू देखापरेका छैनन्, बरु यसको ठीक उल्टो कुरा देखापरेको छ । यसो हुनुको कारण हो एउटा त्यस्तो नवमानवको सिर्जनाको आवश्यकताबारे राम्ररी बोध नहुनु, जुन नवमानवले न उन्नाइसौँ शताब्दीका विचारहरूलाई प्रतिनिधित्व गर्नेछ, न त हाम्रो विकृत र पतनोन्मुख शताब्दीकै प्रतिनिधित्व गर्नेछ ।
हो, हामीले एक्काइसौँ शताब्दीको मानवको सिर्जना गर्नुपर्छ । यद्यपि, यो आकाङ्क्षा अहिले पनि मनोगतवादी र अव्यवस्थित छ । तापनि हाम्रो अध्ययन र हाम्रो श्रमको एउटा आधारभूत उद्देश्य भनेको सर्वथा यही नै हो । यस उद्देश्यलाई ध्यानमा राखेर सैद्धान्तिक आधारमाथि उभिएर जे जति हदसम्म हामीले ठोस उपलब्धिहरू प्राप्त गर्नसक्छौँ अथवा यसको विपरीत हाम्रो ठोस अध्ययन–अनुसन्धानको आधारमा जे जति हदसम्म सैद्धान्तिक निष्कर्षहरूसम्म पुग्नसक्छौँ, ती सबै उपलब्धि र निष्कर्षहरू माक्र्सवाद–लेनिनवादका लागि, मानवताको हितको लागि हामीले दिएको निकै नै मूल्यवान योगदानहरू हुनेछन् ।
उन्नाइसौँ शताब्दीको मानिसविरूद्ध भएका प्रतिक्रियाहरूकै परिणामस्वरूप बीसौँ शताब्दीको पतनोन्मुखताको पुनरावृत्ति भएको हो । यो कुनै गम्भीर गल्ती त होइन, तर पनि हामीले यस्ता गल्तीहरूमाथि विजय प्राप्त गर्नुपर्छ, ताकि संशोधनवादको मार्गप्रशस्त नहोस् ।
अहिले निरन्तररूपमा अति नै बृहत् जनसमूहको विकास भइरहेको छ । समाजभित्र नयाँ विचारले यथेष्ट शक्ति आर्जन गरिरहेको छ । समाजका प्रत्येक सदस्यको सर्वाङ्गीण विकासका भौतिक सम्भावनाहरूको कारणले यो काम पहिलेभन्दा बढी अर्थपूर्ण र उपलब्धिपूर्ण हुँदै गइरहेको छ । वर्तमान सङ्घर्षमय छ र भविष्य हाम्रै हो ।
कलाकार, बुद्धिजीवी र युवाहरूको आचरण
सङ्क्षेपमा, हाम्रा अनेकौँ कलाकार र बुद्धिजीवीहरूको त्रुटि उनीहरूको ‘मूल पाप’ भित्र निहित छ, त्यो पाप हो ः उनीहरू साँच्चैका क्रान्तिकारी नहुनु । सल्लाको रूखमा नासपाती फलाउनका लागि सल्लाको कलमी त गर्न सकिन्छ । तर, हामीले त्यसका साथसाथै नासपातीको बोट रोप्नै पर्छ । त्यसपछि नयाँ पुस्ताहरू ‘मूल पाप’ बाट मुक्त भई जन्मनेछन् । यसरी सांस्कृतिक क्षेत्र विस्तृतरूपमा विकसित हुँदा, अभिव्यक्ति स्वतन्त्रताका सम्भावनाहरू बढ्न थाल्दा असाधारण कलाकारहरूको उदय हुने सम्भावना पहिलेभन्दा धेरै मात्रामा वृद्धि हुनेछ ।
हाम्रो कर्तव्य हो : विवादहरूमा नराम्ररी फँसिरहेको वर्तमान पुस्तालाई विकृत हुनबाट रोक्नु र मुनाझैँ टुसाइरहेको नयाँ पुस्तालाई विसङ्गत हुनबाट रोक्नु ।
हामीले सरकारी विचारअनुकूलका क्रीतदासहरूको सिर्जना कदापि गर्नुहुँदैन, न त राज्यकोषका वेतनभोगी जागीरेहरूको सृष्टि गर्नु नै हुन्छ, जसले सुतिसुतिकन कोटेसनहरू (उक्तिहरू) कण्ठ गर्दै ‘स्वतन्त्रताको माला’ जप्ने गर्छन् । हामीले साँच्चैका क्रान्तिकारीहरू जन्माउनुपर्छ, जसले जनताको वास्तविक आवाजमा नवमानवको गीत गाउनेछन् । निश्चितरूपमा यो प्रक्रियाका लागि समय बेसी जरूरी हुन्छ ।
हाम्रो समाजमा युवा र पार्टी दुबैको भूमिका महत्वपूर्ण छ ।
यसमा युवाहरूको भूमिका विशेषरूपमा महत्वपूर्ण छ, किनकि उनीहरू भनेका मलिलो नरम माटो हो, जुन माटोबाट पुराना गल्ती कमजोरीहरूबाट मुक्त नवमानवको सिर्जना गर्न सकिन्छ । हामी आफ्नो उच्च अभिलाषाअनुरूप नै युवाहरूलाई निर्माण गर्न सक्छौँ । अहिले उनीहरूको शिक्षा दिनका दिन सर्वाङ्गीण हुँदै गइरहेको छ । विद्यार्थीहरूलाई प्रारम्भदेखि नै श्रमसँग जोड्दै शिक्षित पार्ने कुरालाई हामीले नजरअन्दाज गरिरहेका छैनौँ । छात्रवृत्ति पाउने हाम्रा विद्यार्थीहरूले बिदाको क्रममा वा आफ्नो अध्ययनकै क्रममा शिक्षा र शारीरिक श्रममा हात हालिरहेका छन् । कुनै स्थितिमा श्रमले पुरस्कारको रूप लिन्छ, कुनै स्थितिमा त्यसले शिक्षाको माध्यमको रूप लिन्छ, तर कुनै पनि हालतमा यसले दण्डको रूप लिँदैन । हो, यसरी नै एउटा नयाँ पुस्ता जन्मिरहेको छ ।
जनताको स्तर र अगुवाहरूको प्रेम
पार्टी भनेको अगुवा सङ्गठन हो । यो सबैभन्दा उन्नत खालका श्रमिकहरूबाट बनेको हुन्छ, उनीहरूकै प्रस्तावअनुसार उनीहरूकै साथीहरूका रूपमा रहेका श्रमिकहरूलाई पार्टी सदस्यता दिइन्छ । पार्टी अल्पसङ्ख्यक हुन्छ, तापनि आफ्ना कार्यकर्ताहरूको कारणले यसले विशाल प्राधिकार कायम गरिरहेको हुन्छ । हाम्रो उच्च अभिलाषा भनेको पार्टीलाई जनशक्तिको रूपमा विकसित गर्नु हो, जनताको पार्टीको रूपमा निर्माण गर्नु हो । यो अभिलाषा तब मात्र सम्भव हुनेछ, जब जनताको स्तर अगुवाको स्तरसम्म विकसित हुनेछ, जब उनीहरू साम्यवादका लागि शिक्षित हुनेछन् । हाम्रा कामहरूको उद्देश्य भनेको यही शिक्षालाई हरदम व्यवस्थित गरिरहनु हो । यसका लागि पार्टी जीवित उदाहरण बन्नुपर्छ । पार्टीका कार्यकर्ताहरू कठिन श्रम र बलिदानको नमुना बन्नुपर्छ । आफ्नो कर्मद्वारा उनीहरूले जनतालाई क्रान्तिकारी उद्देश्य र कर्तव्यतिर अगाडि बढाउने अभियानको अगुवाइ गर्नुपर्छ । यसको अर्थ हो निर्माणका कामहरूका कठिनाइहरूका विरुद्ध, वर्गशत्रुहरूका विरूद्ध, विगतका कमी कमजोरी र गल्तीहरूका विरुद्ध तथा साम्राज्यवादका विरुद्ध वर्षाैँ वर्षसम्म सङ्घर्ष गरिरहनुपर्ने हुन्छ ।
अब म व्यक्तिले खेलेको भूमिकाको बारेमा, इतिहासको निर्माण गर्ने जनताको नेतृत्व गर्ने व्यक्तिको भूमिकाको बारेमा स्पष्टीकरण दिन चाहन्छु । म यहाँ जे जति कुरा राख्छु, ती सबै हाम्रा अनुभवहरू हुन्, यी कुनै प्रेस्क्रीप्सन (उपचार विधि र औषधि) होइनन् ।
कान्तिका प्रारम्भिक वर्षहरूमा नै फिडेल क्यास्त्रोले क्रान्तिलाई प्रेरणा दिनुभयो । उहाँले सदैव नै क्रान्तिको नेतृत्व गर्नुभयो र त्यसलाई आवश्यकता र समयअनुसार मोड्नु भयो । उहाँको साथमा एकातिर क्रान्तिकारीहरूको एउटा राम्रो समूह थियो र तिनीहरू पनि क्रान्तिको नेतृत्व गर्दागर्दै फिडेल क्यास्त्रोजस्तै केन्द्रीय नेतृत्वको रूपमा विकसित भए । अर्कोतिर उहाँको साथमा विशाल जनसमूह पनि थियो, जसले आफ्ना क्रान्तिकारी नेताहरूप्रति गहिरो आस्थासहित साथ दिएको थियो । ती कान्तिकारी नेताहरूप्रति जनआस्था हुनुको मूल कारण हो ती नेताहरूमा जनताका आकाङ्क्षाहरूलाई अभिव्यक्ति दिने क्षमता हुनु ।
त्यसैले हाम्रो वर्तमान तलबबाट कति किलोग्राम मासु किन्न सकिन्छ, वर्षमा कति पटक समुद्री किनारमा गएर बिदा मनाउन सकिन्छ र त्यसबाट सुन्दर आयातीत वस्तुहरू कति किन्न सकिन्छ भन्ने सवाल सबैभन्दा महत्वपूर्ण होइन । सबैभन्दा महत्वपूर्ण सवाल हो व्यक्तिले आफूभित्र कति बेसी पूर्णता प्राप्त गरेको, आफूभित्र कति बेसी आन्तरिक सम्पन्नता वृद्धि भएको र कति बेसी उत्तरदायित्व पाएको महसुस गर्छ ।
हाम्रो देशका प्रत्येक व्यक्तिलाई राम्ररी थाहा छ, जुन युगमा उनीहरू बाँचिरहेका छन्, त्यो युग बलिदानको युग हो । हो, उनीहरू बलिदानबाट परिचित छन् । उनीहरू सबैभन्दा पहिले सियरा माइस्त्रामा भएको बलिदानसँग परिचित भएका थिए । ती सबै ठाउँहरूमा बलिदानसँग उनीहरूले परिचय पाएका थिए जहाँ जहाँ सङ्घर्षहरू भएका थिए । पछि गएर सिङ्गो क्युवा बलिदानसँग परिचित भयो । क्युवा ल्याटिन अमेरिकाको अगुवा हो र अग्रीम पङ्क्तिमा हुनुका कारणले क्युवाले बलिदान पनि दिनुपर्छ किनकि यसले दक्षिण अमेरिकाका जनतालाई पूर्ण स्वतन्त्रताको मार्ग देखाउने काम गर्छ ।