१६ नोभेम्बरको दिन मजदुर र सैनिक प्रतिनिधिहरूको सोभियतहरूको केन्द्रीय कार्यकारिणी (त्से–ई–काह) को बैठक बस्यो । बोल्शेविक क्रान्तिलाई पहिले समर्थन गर्ने वामपन्थी समाजवादी क्रान्तिकारी पार्टीको एक सदस्य माल्किनले भन्यो, “यदि बोल्शेविकहरूले सम्झौता गरेनन् भने पार्टीभित्रै चर्को सङ्घर्ष गरेपछि बाध्य भएर बाहिर आई लडाइँ गर्नुपर्नेछ ……. ।”
बैठकमा अनेक दाउपेच र प्रस्तावहरू देखापरे । बोल्शेविक नीतिलाई हेरफेर गर्न विरोधीहरू लागेका थिए ।
१७ नोभेम्बरको राति स्मोल्नीमा त्से–ई–काहको बैठक भयो । बैठकमा मानिसहरू खचाखच भरिएको थियो । बोल्शेविक पार्टीकै एक सदस्य लारिनले संविधानसभाको चुनाव नजिक भएकोले ‘राजनैतिक नियन्त्रण’ लाई समाप्त गर्नुपर्छ भने । उनी प्रेस स्वतन्त्रताको पक्षमा थिए । पार्टीभित्रकै मानिसहरूले उनलाई हाहाहुहु गरे ।
त्यसबारे लेनिन र अरुले उत्पादनका साधनहरूमा भएको व्यक्तिगत मालिकत्व समाप्त गरे जस्तै प्रेसमा भएको व्यक्तिगत मालिकत्व समाप्त गर्ने सैद्धान्तिक प्रश्न अगाडि बढाए । लेनिनले प्रस्ट शब्दमा भन्नुभयो, “गृहयुद्ध अहिले समाप्त भएको छैन, शत्रु अहिले हामीसँग जुझ्दै छ । यसकारण, प्रेसको विरोधमाथि नियन्त्रण खुकुलो गर्नु असम्भव छ ।”
प्रेसलाई नियन्त्रण गर्ने वा स्वतन्त्र गर्ने विषयमा मतदान गरियो । लेनिनको पक्षमा २५ मत र विपक्षमा २० मत खस्यो । मतबाट हार्नासाथै वामपन्थी समाजवादी क्रान्तिकारीहरूले सैनिक क्रान्तिकारी समितिको पदबाट राजीनामा गरे ।
अरु पार्टीहरूलाई पनि सरकारमा समावेश नगरेकोमा जन–कमिसार परिषद् (मन्त्रिमण्डल) बाट नोगिन (वाणिज्य तथा उद्योगमन्त्री), रिकोब (गृहमन्त्री), मिल्यूतिन (कृषिमन्त्री), तओदोरोभिच (खाद्यमन्त्री), उल्यात्रिकोभ (श्रममन्त्री) ले राजीनामा गरे ।
तर, पहिलेको उद्योग वाणिज्यमन्त्री रियाजानोभ, प्रेस विभागको देरविशेभ, सरकारी छापाखानाको अर्बुजोभ, लालरक्षकको युरेन्योव, श्रम मन्त्रालयको पन्योदोरोव र सूचनामन्त्री लारिनले मन्त्री पद नत्यागेरै तिनीहरूको घोषणामा हस्ताक्षर गरे । कामेनेभ, रिकोभ, मिल्यूतिन, जिनोव्येभ र नोगिनले बोल्शेविक नेतृत्वले गरेको दमन नीतिलाई सहन नसकेकोमा केन्द्रीय समितिकै सदस्यताबाट राजीनामा दिए । पार्टी र सरकारभित्रको यस गोलमालले विरोधीहरू खुसी भए ।
बोल्शेविकहरूले पनि पार्टी केन्द्रीय समितिको बैठकअनुसार नै पार्टी विरोधीहरूसँग जस्तालाई तस्तैको सङ्घर्ष गरे । कोमनेभ मजदुर र सिपाहीहरूको प्रतिनिधिहरूको सोभियतहरूको केन्द्रीय कार्यकारिणी (त्से–ई–काह) को अध्यक्ष थियो । उसलाई झिकेर त्यसको पदमा स्वेर्दलोब राखिए । पेट्रोग्रादको सोभियतको अध्यक्ष जिनोव्येभलाई पनि त्यस पदबाट हटाइयो । श्रममन्त्री उल्यात्रिकोभ र खाद्यमन्त्री तेओदोरोबिचलाई पार्टी अनुशासनलाई मान्न लगाएर फेरि आफ्नो पदमा राखिए ।
पार्टी र सरकारको स्थितिलाई सारा जनताको अगाडि राख्न लेनिनले पार्टीको नामबाट एक अपिल लेख्नुभयो । १८–१९ नोभेम्बरको त्यस अपिलमा भनिएको छ, “…. बोल्शेविक पार्टीको केन्द्रीय समितिले वामपन्थी समाजवादी क्रान्तिकारी पार्टीका मुख्य तीन सदस्य साथी कम्कोभ, साथी स्भीरो र साथी करेलिनलाई आफ्नो बैठकमा आमन्त्रित गर्यो र उहाँहरूलाई नयाँ सरकारमा भाग लिन अपिल गर्यो । आमन्त्रित साथीहरूले इन्कार गरेकोमा हामीलाई दुःख छ । क्रान्तिकारी र मजदुरवर्गका पक्षपातीहरूको यो इन्कारी अस्वीकार्य छ ।
….. कोमनेभ, जिनोव्येभ, नोगिन, रोकोभ, मिल्यूतिन र अरु केही व्यक्तिहरूले हिजो १७ नोभेम्बरको दिन हाम्रो पार्टीको केन्द्रीय समिति छोडे र अन्तिम तीन जनाले जन–कमिसार परिषद्लाई पनि छाडे ।
हाम्रो साथ छोड्ने ती साथीहरूले भगुवाहरूले जस्तै काम गरे किनभने तिनीहरूले सुम्पेको पद मात्रै छोडेनन् । बरु तिनीहरूले हाम्रो पार्टीको केन्द्रीय समितिको यस प्रत्यक्ष निर्देशनलाई उल्लङ्घन गरे …… हामी ती भगुवापनलाई निर्णायकरूपमा निन्दा गछौँ ।’
……. कोमनेभ र जिनोब्येभले २३ अक्टोबर १९१७ मा पनि पार्टी निर्णयको बैठकमा विद्रोहको विरोधमा मत दिएर भगुवा र हडताल खतम गर्ने रूपमा देखापरेका थिए ।
त्यस अपिलमा भनिएको छ, “…. हामी बुद्धिजीवीहरूको ती स–साना पार्टीहरूको दबाबको अगाडि झुक्ने छैनौँ … ।”
सैनिक क्रान्तिकारी समितिका पाइलाहरू
‘रक्षा समिति’, नगर ड्यूमा, रेल बाटोको केन्द्रीय समिति र अन्य विरोधीहरूले जनता भोकै मार्ने, मोर्चाहरूमा सिपाहीहरूलाई रसद–पानी रोक्ने, मजदुर र कर्मचारीहरूले ज्याला र तलबै नपाउने षड्यन्त्रहरूलाई अपराधको रूपमा लिने र त्यसलाई कठोर सजाय दिने निर्णय लिएर सैनिक क्रान्तिकारी समितिले २२ नोभेम्बरको दिन एक ‘असाधारण सूचना’ प्रकाशित गर्यो ।
२३ नोभेम्बरको दिन एक विज्ञप्ति प्रकाशित गरेर ‘रक्षा समिति’ लाई भङ्ग गरेको घोषणा गर्यो । २९ नोभेम्बरको जन–कमिसार परिषद् (मन्त्रिपरिषद्) ले पेट्रोग्राद नगर ड्युमा भङ्ग गरी अर्को चुनाव गर्ने आदेश दियो ।
पेट्रोग्रादका जनताको इच्छा र आकाङ्क्षाअनुसारको काम नगर ड्युमाले गर्न सकेन । त्यहाँका जनताको प्रतिनिधित्व गर्ने अधिकार त्यसले गुमायो । मजदुर, सिपाहीहरू र किसानहरूको इच्छाको विरोधमा क्रान्तिविरोधी गतिविधि गरेकोमा ३० नोभेम्बरको दिन नगर ड्युमालाई भङ्ग गर्यो । ७ डिसेम्बरको दिन पेट्रोग्राद ड्युमाको नयाँ चुनाव गर्ने घोषणा गर्यो । ११ डिसेम्बरको दिन नगर ड्युमामा बस्ने घोषणा गरियो ।
ड्युमामा विरोधी प्रतिनिधिहरूले विज्ञप्तिलाई वास्तै नगरी दुई दिन ड्युमाको बैठक राखे । तिनीहरूले ‘रगतको अन्तिम थोपा’ सम्म त्यसको विरोध गर्दै जाने निर्णय गरे । १२ डिसेम्बरको दिन बोल्शेविकहरू ड्युमाको सभा कक्षामा गएर तिनीहरूलाई बाहिर धपाए । आखिरमा त्यसको विरोध गर्दै तिनीहरू ‘हिंसाको अगाडि झुक्दै’ सभा भवनबाट बाहिर निस्के ।
किसान महाधिवेशन
किसानहरूको सोभियतहरूको कार्यकारिणी समितिले किसानहरूको एक महाधिवेशन बोलायो । त्यसमा भाग लिन २३ नोभेम्बरको दिन ४०० प्रतिनिधिहरू पेट्रोग्राद पुगे । तिनीहरूले पार्टीको गुप्त सभाहरू राखे । प्रतिनिधिहरूमा ५ भागको १ भाग मात्र बोल्शेविकहरू थिए । ४ भागको एक भाग दक्षिणपन्थी समाजवादी–क्रान्तिकारीहरू थिए । ठुलो सङ्ख्या वामपन्थी समाजवादी क्रान्तिकारीहरूको थियो ।
किसानहरूको महाधिवेशन ड्युमाको भवन अलेक्सान्द्र सभाकक्षमा भयो । सभाकक्षमा मानिसहरू खचाखच भरिएको थियो । होहल्लाको माझमा सभा सुरु भयो । वामपन्थी समाजवादी क्रान्तिकारीहरूको नेता मारिया स्पिरिदोनोभा बैठकको सभापति चुनिए । बहुमत प्रतिनिधिहरू मन्त्रिपरिषद् र सोभियत सरकारको विरोधमा थिए ।
बोल्शेविकहरूको तर्फबाट जिनोब्येभले बोल्न लाग्दा हाहु गरे र बोल्नै दिएनन् र उनी दबुलीबाट तल झरे । सोभियत सरकार मजदुरहरूको मात्रै हुकुम भयो, त्यसमा सबै प्रजातन्त्रवादीहरू हुनुपर्दछ भनेर होल्लाह गर्न थाले । २ दिनसम्म प्रतिनिधिहरू बोल्शेविकहरूको विरोधमा बोल्दै थिए ।
तेस्रो दिन अचानक लेनिन दबलीमा उभिनुभयो । प्रतिनिधिहरू ‘कुनै पनि मन्त्रीको कुरो सुन्दैनौँ । हामी तपाईँको सरकारलाई मान्दैनौँ ।’ भनेर ठुलठुलो स्वरले कराए । दस मिनेटसम्म सभा हाहाहुहु र ‘लेनिन मुर्दावाद !’ भनेर कराइ रहे ।
तर, लेनिन चुपचाप विचलित नभई, फिट्टिक नचली, दुवै हातले मेचलाई समाती हो हल्ला भइरहेको ठाउँमा हेरिरहनुभयो । केही समयपछि दक्षिणपन्थीहरू बाहेक अरु चुप लागे । हो–हल्ला अलि शान्त भयो । ‘म यहाँ जन–कमिसार परिषद्को सदस्यको रूपमा आएको होइन’ लेनिनले बोल्न सुरु गर्नुभयो । फेरि हो– हल्ला भयो । उहाँले आफ्नो परिचयपत्र देखाउँदै भन्नुभयो, “बरु म यस महाधिवेशनमा औपचारिकरूपले चुनिएको बोल्शेविक दलको सदस्यहरूको रूपमा आएको हुँ ।”
शान्त र दृढ स्वरले उहाँले भन्नुभयो, “रुसको वर्तमान सरकार बोल्शेविक पार्टीले बनाएको छ भन्ने कुरो कसैले अस्वीकार गर्न सक्दैन ।” फेरि दक्षिणपन्थीहरू ठुलठुलो स्वरले हल्ला गर्न थाले ।
पछि फेरि साधारण भाषामा जमिनदारहरूको जग्गा किसानहरूले पाए जस्तै पुँजीपतिहरूको कारखाना मजदुरहरूको नियन्त्रणमा गएको कुरो लेनिनले बताउनुभयो । विरोधीहरूलाई चेताउँदै अन्तमा लेनिनले भन्नुभयो, “यदि संविधानसभाले सोभियतहरूलाई खतम गर्न खोज्यो भने हामी त्यसो गर्न दिने छैनौँ ।” २७ डिसेम्बरको दिन पनि भूमिसम्बन्धी कुरामा छलफल हुँदै गयो । विरोधीहरू भूमि समस्या र क्रान्तिलाई अलग अलग दृष्टिले हेर्थे ।
लेनिन फेरि दबुलीमा देखा पर्नुभयो । प्रतिनिधिहरू ध्यान दिएर सुन्न थाले । उहाँले भन्नुभयो, “सारा जनताको बौद्धिक विकासले नस्वीकारेसम्म समाजवाद नल्याउने हो भने ५०० वर्षसम्म हामीकहाँ समाजवाद आउने छैन । साधारण जनता अशिक्षित छन् भनेर मजदुरवर्गको अग्रदूत समाजवादी–राजनैतिक पार्टीले आफूलाई त्यस पाइलोलाई रोक्ने स्वीकृति दिने छैन ।’ त्यसपछि उहाँले चमेराहरूलाई ठीक ठाउँमा आउन आव्हान गर्दै भन्नुभयो, “पुँजीपतिवर्गसँग कुनै सम्झौता सम्भव छैन, तिनीहरूको शक्तिलाई ध्वस्त गर्नु आवश्यक छ ।” अन्तमा भन्नुभयो, “त्यस क्रान्तिकारी शक्तिमा भरोसा राख्नुहोस्, तर आफ्नो बन्दुकलाई नबिर्सनु होस् ।”
महाधिवेशनमा लेनिनले प्रस्तुत गरेको भूमिसम्बन्धी प्रस्तावमा चर्का चर्की हुँदै थियो । उता स्मोल्नीमा बोल्शेविकहरू र वामपन्थी समाजवादी क्रान्तिकारीहरूको माझमा गुप्त कुराकानी भइरहेको थियो । अनेक तानातानपछि २८ नोभेम्बरको दिन एक सम्झौता भयो । अब महाधिवेशन किसानहरूको सोभियतको केन्द्रीय अफिसमा भयो ।
२९ नोभेम्बरको दिन महाधिवेशनको असाधारण बैठक सुरु भयो । यो मजदुर र किसानहरूको ऐतिहासिक एकताको दिवस थियो । अधिवेशनपछि मजदुर, किसान र सिपाहीहरूको एक ठुलो मशाल जुलुस स्लोल्नीतिर गयो । रातो झन्डा फहराउँदै गएको त्यो जुलुस स्मोल्नीको राभा भवनभित्र पुग्यो । सभा भवनमा मजदुर र सिपाहीहरूका प्रतिनिधि थिए । तिनीहरू सबै एक आपसमा अँगालो हाल्न थाले ।
दबलीमा गएर मजदुर र सिपाहीहरूको सोभियतहरूको अध्यक्ष स्वेर्दलोभले ‘विजयी अधिवेशन’ भनेर सबैलाई स्वागत गरे । वामपन्थी सामाजवादी क्रान्तिकारी पार्टीकी मुख्य नेता मारिया स्पिरिदोनोभाले बोलिन्, “रुसका, मजदुरवर्गको अगाडि इतिहासमा आजसम्म अपरिचित आकाश उघेको छ । …… बितेको समयमा मजदुरहरूका सबै आन्दोलनहरू हराइए । तर, आजको आन्दोलन अन्तर्राष्ट्रिय हो र यसकारण यसलाई हराउन सकिने छैन । क्रान्तिको ज्वालालाई निभाउन सक्ने कुनै शक्ति संसारमा छैन । पुरानो संसार भत्किरहेछ र नयाँ संसार निर्माण हुँदैछ ।”
महाधिवेशनपछि बोल्शेविक पार्टीले गरिब किसानहरूको सङ्गठनमा जोड दियो । तर, ‘वामपन्थी’ समाजवादी क्रान्तिकारीहरूको सङ्गठन धेरैजसो कुलाकहरू (धनी किसानहरू) को माझमा थियो ।
सोभियत सरकारले पुरानो मन्त्रालयलाई भङ्ग गरेर नयाँ जन–कमिसार समितिहरू बनायो । अर्थतन्त्रलाई बिगार्न खोज्ने गतिविधिहरूलाई दबाउन र उद्योगधन्दा चलाउन ‘राष्ट्रिय रुसी असाधारण समिति’ बनाइयो । धर्मको नाममा जग्गामा गरिएको कब्जालाई समाप्त पार्यो । राज्य र विद्यालयहरूलाई चर्च (धार्मिक संस्था) बाट अलग गरिदियो, विभिन्न जातिहरू र स्वास्नी मानिसहरूलाई लोग्ने मानिस सरह समानताको घोषणा गरी सामन्तवादका बाँकी बक्यौतालाई समाप्त गर्ने घोषणा गर्यो ।
पुँजीपतिवर्गको आर्थिक स्थितिलाई कमजोर पार्न उद्योगधन्दा, बैङ्क, रेल बाटो, विदेश व्यापार, खानी र कारखानाहरू सबै राष्ट्रियकरण गरियो । रुसलाई विदेशी पुँजीबाट मुक्त गर्न जार सरकारले लिएका सबै विदेशी ऋणहरू नतिर्ने घोषणा गरियो र रुसी जनतालाई शोषण गरिरहेका सबै विदेशी पुँजी राष्ट्रियकरण गरियो ।
विश्व युद्धमा एकातिर जर्मनी र अस्ट्रिया थियो भने अर्कोतिर बेलायत, फ्रान्स र रुस थियो । क्रान्ति, समाजवाद र सोभियत सरकारलाई जोगाउन शान्ति आवश्यक थियो । ‘मित्रराष्ट्रहरू’ भनिने बेलायत र फ्रान्सले रुसको शान्ति प्रस्तावलाई अस्वीकार गरे । अनि रुसले विरोधी पक्ष र अस्ट्रियासँग कुरा चलाउने निर्णय गर्यो । ३ डिसेम्बर १९१७ को दिन जर्मनीसँग पोल्यान्ड र रुसको ब्रेष्ट–लिटोवस्कमा कुराकानी भयो । ५ डिसेम्बरको दिन शान्ति सन्धिमा हस्ताक्षर भयो ।
जर्मनी एक साम्राज्यवादी देश थियो । जर्मनी पोल्यान्ड, युक्रेन र बाल्टिक देशहरू आफ्नो मातहतमा राख्न चाहन्थ्यो । त्यसलाई स्वीकार गरिएन भने नयाँ सोभियत हुकुम र समाजवादी क्रान्तिलाई जोगाइ राख्न गाहो हुन्थ्यो । त्यसैले त्यस्तो नराम्रो शर्तलाई केही दिन मानेर भए पनि नयाँ लाल सेना बढाउन फुर्सतको आवश्यकता थियो ।
तर, मेन्शेविकहरू र समाजवादी क्रान्तिकारीहरूले सोभियत हुकुमुलाई बलियो पार्ने शान्तिको विरोधमा प्रचार आन्दोलन चलाए । त्रोत्स्की र बुखारिन पनि ‘वामपन्थी कम्युनिस्ट’ भनिने रोदक प्याताकोभसँग मिलेर लेनिनको विरोधमा पार्टीभित्रै सङ्घर्ष गर्न थाले । तिनीहरूले त्यसलाई ‘देश बेच्नै सन्धि’ भने । त्यस्ता उताउला नारा भित्र तिनीहरू विदेशीहरूबाट उक्साइएका थिए ।
संविधानसभा भङ्ग
३० नोभेम्बरको दिन संविधानसभाको चुनाव थियो । पुँजीपतिवर्ग र सबै विरोधीहरूको आशाको केन्द्र नै संविधानसभा थियो । पेट्रोग्रादको चुनावमा बोल्शेविकहरूले ४,२४,०२७ मत पाएका थिए । वामपन्थी समाजवादी क्रान्तिकारीहरूले १,५२,२३० मत पाएका थिए । चुनावमा १९ वटा पार्टीले ५५ प्रतिशत मत प्राप्त गरेको थियो । झन्डै एक तिहाइ मतदाताले बोल्शेविकहरूलाई मत दिएका थिए ।
५ जनवरी अर्थात् अन्तर्राष्ट्रिय पात्रोअनुसार १८ जनवरी १९१८ को दिन संविधानसभाको अधिवेशन थियो । प्रतिक्रियावादी अफिसरहरू, ठुलठुला कर्मचारीहरू र भूवाको कोट लगाएका बुद्धिजीवीहरू र श्रृङ्गारले धपक्क बलेका महिलाहरूले एक प्रदर्शन गरे । त्यस प्रदर्शनमा १५,००० मानिसहरू थिए, तिनीहरू पुराना राजतन्त्रवादीहरू थिए, तर तिनीहरूले रातो झन्डा बोकेका थिए । ती भुँडी फुलेका जमिनदारहरूले ‘जनताको निम्ति हामी भोकै बसौँ र हामीले आफ्नो रगत बगायौँ’ भन्ने क्रान्तिकारी गीत गाउँदै बढेका थिए । त्यस जुलुसमा धेरैजसो बोल्शेविकहरूबाट उन्मूलन गरेको निजी स्वामित्वलाई रक्षा गर्न चाहने विश्वविद्यालयका विद्यार्थीहरू (स्वेत गार्ड–पुँजीवादी स्वयंसेवकहरू), क्रान्तिकारी आन्दोलनसँग लड्न जारशाहीको पुलिसले बनाएको (यमदूत सभा) गुटका मानिसहरू बढी थिए । मजदुर र किसानहरूको नाउँ पनि थिएन । शोषकवर्गले प्रतिक्रियावादी जुलुसलाई रातो झन्डा र क्रान्तिकारी गीतले क्रान्तिकारी बनाउन खोजेका थिए ।
त्यस जुलुसको विरोधमा बोल्शेविकहरूले पनि ५ लाखको एक प्रदर्शन निकाले । यो वर्गसङ्घर्षको एक उदाहरण थियो ।
रुसमा सोभियतहरू जनताको दैनिक जीवनको एक अङ्ग बनिसकेको थियो । त्यहीँ सोभियतकहरूले जनताको जमिन, कारखाना र शान्ति ल्याइदिएको थियो । तर, संविधानसभामा बहुमतविरोधी पार्टीका प्रतिनिधिहरू भएको हुनाले सोभियतहरूको दोस्रो महाधिवेशनले स्वीकार गरेका सबै ऐन कानुन र आज्ञाहरूलाई अस्वीकार गर्यो । संविधानसभाले सोभियत सरकार, रुसी जनताको इच्छा र आकाङ्क्षाहरूको ठीकविपरीत काम गर्यो । यसकारण, त्यसको भोलिपल्ट ९ जनवरी अर्थात् २२ जनवरी १९१८ को दिन सैनिक क्रान्तिकारी समितिले त्यसलाई भङ्ग गरिदियो । जलसेनाका सिपाहीहरू सभा भवनमा गएर सबैलाई बाहिर निकाले । यसप्रकार शोषकवर्गको अन्तिम आशा पनि समाप्त भयो ।
जर्मनीसँग सम्झौता पत्रमा हस्ताक्षर गर्न सोभियत सरकारको तर्फबाट एक प्रतिनिधिमण्डल पठाइयो । त्यसको नेतृत्व विदेशमन्त्री भएको त्रोत्स्कीले गरेका थिए । १० फेब्रुअरी १९१८ को दिन त्रोत्स्कीले बोल्शेविक पार्टीको निर्देशनको विरोधमा जर्मनीको प्रस्तावित शर्तमा सन्धि नगर्ने घोषणा गर्यो । जर्मनीले पनि सम्झौता भङ्ग गर्यो र रुसमाथि हमला सुरु गरिहाल्यो ।
रुसको पुरानो सेना भागाभाग गर्न थाल्यो । रुसको ठुलो भू–भाग जर्मनीको हातमा पर्यो । पेट्रोग्राद खतरामा पर्न थाल्यो । सोभियत हुकुम समाप्त हुना साथै रुस जर्मनीको उपनिवेश बन्ने थियो । वास्तवमा यो त्रोत्स्कीको विश्वासघातको परिणाम थियो ।
जर्मनीको साम्राज्यवादी आक्रमणको विरोधमा पार्टीले ‘समाजवादी मातृभूमि खतरामा छ’ भन्ने नारा दियो । मजदुरहरू लाल सेनामा भर्ना हुन थाले । जनताको नयाँ क्रान्तिकारी सेना जर्मनीसँग जुझ्न थाल्यो र जर्मनी सेनालाई पछाडि धकेलिदियो । पेट्रोग्राद जोगियो । यसरी २३ फेब्रुअरीको दिनलाई सेनाको जन्म दिन मनाइयो ।
केन्द्रीय समितिमा लेनिन, स्तालिन र स्वेर्दलोभले त्रोत्स्की, बुखारिन र त्यस्तै विचार राख्नेहरूसँग सैद्धान्तिक सङ्घर्ष गर्दै शान्ति स्थापनाको पक्ष लिए । त्रोत्स्की र बुखारिनको विश्वासघातले गर्दा पोल्यान्डमात्र होइन अब लाटभिया र इस्तोनिया समेत जर्मनीको हातमा गयो र युक्रेन पनि जर्मनीको मातहतमा पुग्यो । त्रोत्स्की र बुखारिनको उत्ताउला नारा र कार्यहरूले जर्मन साम्राज्यवादीहरूलाई मद्दत गर्यो र जर्मनीको क्रान्तिमा बाधा पार्यो । यसकारण, सोभियत गणतन्त्रले जर्मनीले मागेको हर्जाना तिर्न कबुल गर्नुपर्यो ।
– ‘विश्वका प्रसिद्ध मजदुर आन्दोलनहरू’ बाट