का. रोहित
२८ अक्टोबर (१० नोभेम्बर)
‘देलो नरोदा’ (जन कार्य) र ‘नरोदनोये स्लोबो’ (जन–वाणी) जस्ता विरोधी पत्रिकाहरूले जनतालाई लेनिन र त्रोत्स्कीले ठगिएका, मूर्खहरू, अनि क्रान्ति र मजदुर किसानहरूको सरकारलाई ‘अफिमचीको पागलपन’ भनेर गाली गरे ।
तर, बोल्शेविक सरकारले नयाँ नयाँ ऐनहरू स्वीकृत गर्दै गयो । नगर ड्युमालाई लोक कल्याणका नयाँ नयाँ अधिकारहरू दिँदै गयो हल्लाको ठीक उल्टो । तर, हवाईजहाजबाट सेनालाई आत्मसमर्पण गर्न करेन्स्कीको भाषण सहरमा खसाल्दै थियो । नगर ड्युमा र रक्षा समिति छलफलमा थियो ।
राष्ट्र बैङ्कका कर्मचारीहरूले बोल्शेविक मन्त्रीहरूको मातहतमा काम गर्न अस्वीकार गरिरहेका थिए । तिनीहरूले सोभियत सरकारलाई पैसा दिन अस्वीकार गरे । निजी बैङ्कहरू सबै बन्द थिए । मन्त्रालयहरू हडतालमा थिए । ड्युमाको एक समिति भने हडतालीहरूलाई सहयोग गर्न पुँजीपतिहरूसँग चन्दा लिएर एक कोष जम्मा गर्दै थियो ।
बोल्शेविक सरकारको शान्तिसम्बन्धी विज्ञप्तिहरू विभिन्न विदेशी भाषाहरूमा उल्था गर्नु आवश्यक थियो । त्रोत्स्कीको त्यस आदेशलाई अस्वीकार गरेर ६४० कर्मचारीहरूले राजीनामा दिए । श्रम मन्त्रीले २४ घण्टाभित्र सबै आफ्नो काममा नफर्केमा जागिर खोस्ने र पेन्सनको अधिकार पनि खोस्ने आदेश दिए । पिउनबाहेक अरु फर्केनन् ।
विशेष खाद्य संस्थान र टेलिफोनमा काम गर्ने कर्मचारीहरूले धेरै तलब दिए पनि सोभियत सरकारको तल बसेर काम नगर्ने जिद्दी लिए । सोभियतहरूमा भाग लिने समाजवादी क्रान्तिकारीहरू पार्टीबाट निकालिए । कियेभ, लुगा, दोन प्रदेश र अन्य ठाउँहरूमा पनि सोभियतहरूको हार, तीसौँ हजार सेना अस्थायी सरकारको पक्षमा गएको र मजदुर सङ्गठनहरू भङ्ग हुँदै गएको समाचार आइरहेको थियो । ‘बोल्या नरोदा’ भन्ने पत्रिकाको एक पत्रकार ‘गुप्ती पुलिस’ भनेर गर्दन समातेर निकालेकोमा बोल्शेविकहरूलाई गाली गर्दै थियो । तर, बोल्शेविकहरूले सारा प्रान्तको निम्ति मेन्शेविक र समाजवादी क्रान्तिकारीहरूले मजदुरवर्गलाई विश्वासघात गरेको र तिनीहरूको जीतको कुरो झूटो हो भन्ने कुरा लेखिएको पर्चा र आदेशहरू पठाइरहेका थिए ।
ठाउँ ठाउँमा सैनिक रेजिमेन्ट, मजदुर सङ्गठनहरू, नयाँ छानिएका सैनिकहरूको क्रान्तिकारी समितिहरू र विभिन्न सैनिक डिभिजनहरूबाट बोल्शेविकहरूलाई समर्थन र बधाई पुग्दै थियो । तर, करेन्स्कीको सेनाले राजधानीमा हमला गर्ने कुराको हल्ला चलिरह्यो । त्यसको विरोध गर्न बोल्शेविकहरू तयार भए । सोभियत हुकुमलाई उल्टाउन १० नोभेम्बरकै दिन करेन्स्कीले उत्तरी मोर्चाबाट पेट्रोग्रादमाथि हमला गर्न जनरल क्रासनोभको मातहतमा कज्जाक दलहरू पठायो ।
सम्भावित आक्रमणसँग जुझ्न जिल्ला सोभियतहरू र कारखाना समितिहरूलाई सोभियत सरकारले खाडल खन्न, बाटाहरूमा बाधा हाल्न र काँडावाल तारहरू लगाउन उपलब्ध हतियारले आफूलाई सुसज्जित गर्न, अनुशासित ढङ्गले क्रान्तिकारी सेनालाई सघाउन, आवश्यक भएमा कारखाना बन्द गर्न आदेश दियो ।
त्यस आह्वानअनुसार गोलीको पेटी लगाएका, बन्दुक र अन्य हातहतियार भिरेका केटाकेटी, महिला र लोग्नेमानिसहरू लाम लागेर पेट्रोग्रादको दक्षिण–पश्चिमतिर जान लागे । कारखानाहरूले खतराको तीखो सिटी बजाए । एकै दिनमा दसौँ हजार जनताले पेट्रोग्रादबाट १० कोश पर क्रान्तिको विरोधीहरूसँग लड्ने ठाउँ बनाउन थाले ।
लडाइँ भयो । अँध्यारो रातमा पनि तिनीहरू निर्दयी कज्जाक सेनासँग कम्मर कसेर लडे, तिनीहरू घोडाबाट कति जना पछारिन्थे, आगो ओकलिरहेको बन्दुक र तोपको अगाडि जमिनमा सुत्थे, तितरवितर हुन्थे, तर फेरि सङ्गठित भएर लड्थे ।
घाइतेहरूलाई मलमपट्टी लगाउँथे, मर्न लागेका साथीहरूलाई कानमा विस्तारै भन्थे, ‘क्रान्ति ! जनता !’ मर्नुभन्दा अगाडि तिनीहरू ठुलो स्वरले भन्थे, ‘सोभियत जिन्दावाद ! शान्ति छिट्टै हुनेछ !’ नयाँ विश्वास र उत्साह लिएर आएका मजदुरहरू नयाँ उद्देश्य र नयाँ सिद्धान्तको निम्ति लडिरहेका महिला र लोग्नेमानिसहरू देखेर कज्जाक सेनाले मजदुर सिपाहीहरूमाथि गोली चलाउन अस्वीकार गर्यो । बोल्शेविकहरूलाई दबाउन प्रधानसेनापति भएर आएको करेन्स्की भेष बदलेर एक्लै भाग्यो ।
तर, पेट्रोग्रादमा अनेक हल्ला चल्दै थियो । विद्यार्थी र बुद्धिजिवी एकातिर मजदुर, किसान र सिपाहीहरू अर्कातिर थिए । बुद्धिजीवीहरू समाजवादका किताबी कुराहरू गर्थे र मजदुर, किसान र सिपाहीहरू मजदुरवर्गमा होइन भने पुँजीपतिवर्गमा छन् भनेर प्रस्टै भन्थे । चारैतिर गोली चलेको, कारखानाको सिटी, मोटरको हर्न र मानिसहरूको चिच्याहटले वातावरणलाई धर्काइरहेको थियो ।
२९ अक्टोबर (११ नोभेम्बर)
संवैधानिक प्रजातान्त्रिक पार्टीलाई अङ्ग्रेजीमा कन्स्टिीच्युसनल डेमोक्रेटिक पार्टी भनिन्छ । ती अङ्ग्रेजी शब्दहरूको पहिलो अक्षर मिलाएर ‘क्याडेट’ शब्द बनेको हो । ‘जन स्वतन्त्र पार्टी’ नामले पनि प्रचलित त्यो उदार सामन्त र धनीहरूको पार्टी थियो । ११ नोभेम्बरको दिन त्यस पार्टीले पेट्रोग्रादमा विद्रोह गर्यो । तिनीहरूले ‘पितृभूमि र क्रान्ति रक्षा समिति’ भनेर क्रान्तिविरोधीहरूको एक सङ्गठन बनाएका थिए ।
पेट्रोग्रादको भोस्र्काया सडकमा टेलिफोन अड्डा थियो । ढुङ्गै ढुङ्गाले बनेको त्यो अड्डा एक ठुलो किल्ला जस्तो थियो । केही बोल्शेविक सिपाहीहरूले लाखौँ तारहरूको त्यस केन्द्रलाई पहरा दिइरहेका थिए । दिनभरको पहराले थाकेका ती सिपाहीहरू पालो फेर्न पर्खिरहेका थिए ।
रातको १२ बजिसकेको थियो । ११ नोभेम्बरको सबेरै केही युङ्करहरू त्यहाँ पुगे । शीतल दरबारमा बन्दी बनाउँदा सोभियत हुकुमको विरोधमा नलड्ने प्रतिज्ञा गरेपछि छोडिएका ती खानदानी परिवारका युवा अफिसरहरू लाल रक्षकहरूकै भेषमा त्यहाँ पुगे । तिनीहरूको पोसाक, बन्दुक भिरेको तरिका, सबै काटीकुटी बोल्शेविकहरूको जस्तै थियो । तिनीहरूले पहरा बसेका सिपाहीहरूलाई बोल्शेविकहरूले जस्तै कानमा गुप्त सन्देश सुनाए । त्यसअनुसार पहरामा बसेका सिपाहीहरूले आफ्ना बन्दुकहरू एक कोठामा जम्मा गरे । त्यति हुनासाथै २० जवान ती युङ्करहरूले पिस्तोल देखाएर सबै बोल्शेविकहरूलाई बन्दी बनाए । क्रान्तिलाई धोखा दिएर ती युङ्करहरूले टेलिफोन अड्डालाई आफ्नो कब्जामा राखे ।
सडकमा पहरा दिएर युङ्करहरूले आवतजावत गरेका मोटर र जनताबाट पैसा र कर असुल गर्न लागे । त्यसैबेला संजोगले सोभियत युद्ध मन्त्री अन्तोनोभ पनि तिनीहरूबाट पक्रिए । पेट्रोग्रादमा कुशल नेताहरूको कमी थियो । अन्तोनोभको पक्राउले प्रतिक्रियावादीहरू सा¥है खुसी भए ।
त्यो कुरो थाहा पाउनासाथै बोल्शेविकहरू र मजदुरहरूले टेलिफोन अड्डालाई चारैतिरबाट घेरे । युङ्करहरूलाई ध्वस्तै पार्ने ढङ्गले लडाइँको तयारी गरियो । दुवैतिर गोली हानाहान भयो । युङ्करहरूले आफ्नो खराब स्थितिलाई बुझेर अन्तोनोभलाई अगाडि सारेर शान्ति वार्ताको प्रस्ताव राखे । पहिले पनि वचन पालन नगरेको हुनाले लाल रक्षकहरूले तिनीहरूलाई विश्वास गरेनन् । यसकारण, बोल्शेविकहरूले अन्तोनोभलाई आफ्नै बलले छुटाउने दृढता व्यक्त गरे ।
एउटा मोटरको चारैतिर रेडक्रस (परोपकार) को चिह्न टाँसेर युङ्करहरूले रेडक्रसको केन्द्रबाट घाइते सिपाहीहरूलाई औषधि ल्याउने निहुँ झिके । उपचार दल र रेडक्रसको चिह्न भएको मोटरमा गोली नचलाउने लडाइँको नियम थियो । तर, त्यसले हातहतियार र गोली बारुद ओसार्न पाइँदैनथ्यो । पुँजीपतिवर्ग आफैँले बनाएको नियम सजिलैसित उल्लङ्घन गर्ने गर्छन् र प्रतिक्रियावादीहरूले धोखा दिन्छन् भन्ने कुरा बोल्शेविकहरूले सोचेका थिएनन् ।
युङ्कर अफिसरहरूले त्यो गाडीलाई प्रतिक्रान्तिको सदरमुकाम सैनिक इन्जिनियरिङ अड्डा र मिखाइलोब्स्की युङ्कर स्कूलमा लगे । त्यहाँ बेलायती र फ्रान्सेली अफिसरहरू सिधै लडाइँका गतिविधिहरूलाई सञ्चालन गर्दै थिए । त्यहाँ प्रतिक्रियावादी अफिसरहरूले ‘युङ्करहरूलाई सैनिक क्रान्तिकारी समिति’ को नक्कली पास, बोल्शेविकहरूलाई मार्ने औषधि र सामान दिए । लडाइँसम्बन्धी अरु सल्लाह पनि दिए । त्यहाँबाट एक तोप गाडी र सहायक टोली पठाउने आदेश पनि दिए । गाउँ–गाउँबाट आएका किसान, सैनिकहरू, लाल रक्षक र माझीहरू ती सबै जालझेललाई बुझ्दैनथे ।
तर, बोल्शेविकहरूले पनि गोला बारुद बर्साएर टेलिफोन अड्डालाई ध्वस्तै पार्न थाले । युङ्करहरू आउने सबै बाटो बोल्शेविकहरूले छेकिसकेका थिए । केही नलागेर युङ्करहरूले आत्म–समर्पण गरे । केही समय अघिसम्म बन्दी बनाइएका सोभियत युद्ध मन्त्री अन्तोनोभले अमेरिकी पत्रकार एल्वर्ट रीस विलियम्समार्फत प्राण रक्षाको बचन दिए ।
तर, चारैतिर जम्मा भएको उत्तेजित भिडले बन्दी युङ्करहरूलाई छोएमा अन्तोनोभले गोली हान्ने कुरा बताए । उत्तेजित भिड धोखेबाज, जनविरोधी र हत्यारा युङ्करहरूलाई टुक्रा टुक्रा गर्न खोज्दै थिए । आखिर क्रान्तिको निम्ति, नयाँ व्यवस्थाको निम्ति र अनुशासनको निम्ति आफ्नो नेतृत्व कलाको शक्तिबाट अन्तोनोभले स्थितिलाई काबुमा ल्याउन सफल भए । प्रतिक्रान्तिको फेरि हार भयो ।
टेलिफोन अड्डा जस्तै युङ्करहरूले सैनिक होटल र आकाशवाणी पनि कब्जा गरेका थिए । त्यहाँ पनि चर्को लडाइँ भयो ।
टेलिफोन अड्डामा थुप्रै माथिल्लावर्गका केटीहरू काम गर्थे । लडाइँ हुँदा तिनीहरूले फेरि जार सरकार नै फिर्ता ल्याउने हिसाबले खान्दानी सैनिक अफिसरहरूलाई गोली–बारुद ओसारेर मद्दत गरेका थिए । घाइतेहरूलाई मलमपट्टी लगाउँथे । ठुलाबडाका छोराहरूको सङ्गठन तिनीहरूलाई मन पर्दथ्यो । तर, बोल्शेविकहरूको कब्जामा अड्डा जानासाथ तिनीहरू डरले रुवाबासी गरेका थिए । प्राण रक्षाको वचन पाउनासाथ तिनीहरूले मजदुर, किसान, माझी र बोल्शेविकहरूलाई ‘छि’, ‘फोहरी’, ‘मूर्ख’, ‘गाउँले’ जस्ता शब्दहरूले घृणा गरे । सैनिक क्रान्तिकारी समितिले तिनीहरूलाई टेलिफोन अड्डामै काम गर्न सम्झायो । तिनीहरूको तलब ६० रुबलबाट १५० रुबल र कामको घण्टा १० बाट घटाउने कुरा गर्यो । तिनीहरूले प्रस्ट शब्दमा बोल्शेविक ‘जनावरहरूको तल’ बसेर महिनाको १००० रुबल दिए पनि काम नगर्ने निर्णय बताए ।
यस घटनाबाट पनि थाहा हुन्छ कि वर्गसङ्घर्षको बेला महिला र पुरुषको कुरा आउँदैन । शोषकवर्गका महिलाहरू पनि मजदुर र किसानहरूका विरोधी हुन्छन् । ‘नारी मुक्ति’ को नाउँमा शोषकवर्गका महिलाहरूलाई मजदुरवर्गले छुट दिने कुरो उठ्दैन ।
टेलिफोन अड्डा, ब्लादीमिर स्कूल र अन्य ठाउँ फेरि बोल्शेविकहरूको कब्जामा गएको समाचारले १ लाख ८३ हजार मतले चुनेको नगर ड्युमाको अधिवेशनमा निराशा देखियो । तर, पत्रपत्रिकाहरू क्रान्तिमाथि टीकाटिप्पणी गर्दै थिए ।
२९ अक्टोबरको राति पेट्रोग्रादका मजदुर र सैनिकहरूको प्रतिनिधिसभा (सोभियत) को बैठक हुँदै थियो । बैठकमा मजदुरहरूको ८ घण्टाको कामको दिन, खाली भवनहरूमा मजदुरहरूलाई बस्न दिने, रोगी, असक्त, बुढाबुढी, सुत्केरी, विधवा, अनाथ र बेकारीको बन्दोबस्तमा मालिकहरूले खर्च बेहोर्नु पर्ने सामाजिक बीमा (इन्स्योरेन्स), शिक्षा आदि विषयका आदेशहरूबारे छलफल हुँदै थियो । बैठकमा ३०० जति मानिसहरू उपस्थित थिए ।
मजदुर र किसानहरूको सोभियतको केन्द्रीय कार्यकारिणी समिति (त्से–ई–काह) को बैठकमा रेल मजदुर सङ्घको केन्द्रीय कार्यकारिणी समितिको एक प्रतिनिधि बोल्दै थियो, “हामी दुवै पक्षको सामान ओसार्न अस्वीकार गर्छौँ ।” ऊ सबै समाजवादीहरूको एक सम्मेलनको माग गर्दै थियो । त्यसको जवाफमा कामेनेभले बोल्शेविक कार्यक्रमलाई स्वीकार गर्नुपर्ने कुरामा सङ्केत गरे । त्रोत्स्कीले बोल्शेविकहरूको जीतको बयान गर्दै भने, “……. रगत बगिसकेको हुनाले क्रूर सङ्घर्षबाहेक अर्को बाटो छैन । अर्को तरिकाले हामी जित्छौँ भन्ने कुरा केटाकेटीपन हुनेछ ।”
मेन्शेविक सदस्य श्योफेले आफ्नो पार्टीको घोषणा पढ्न खोज्दा त्रोत्स्कीले ‘मौलिक कुरामा बहस’ गर्न दिएनन् । मेन्शेविक सदस्यले ठुलो स्वरले कराउँदै भन्यो, “अब हाम्रो बहस चौबाटोमा हुनेछ ।” एक सिपाहीले भन्यो, “लडाइँको मोर्चाको खाडलमा यो समाचार पुगेपछि तिनीहरूले ‘यो हाम्रो सरकार हो’ भन्ने छन् ।” एक पछि अर्को प्रतिनिधिहरूले बोल्शेविकहरूको समर्थन गर्न लागे ।
त्यस्तै, नगर ड्युमाको माथि अलेक्सान्द्र बैठकमा पनि ‘रक्षा समिति’ को बैठक भइरहेको थियो । त्यहाँ अफिसरहरूको विभिन्न रङ्गका पोसाकहरू चम्किरहेका थिए । मेन्शेविक र समाजवादी क्रान्तिकारी बुद्धिजीवीहरू बसिरहेका थिए । झिलीमिली लुगा लगाएका बैङ्कपतिहरू, कूटनीतिज्ञहरू र सिङ्गारपटार गरिएका महिलाहरू थिए । आफूलाई ‘गन्य–मान्य’ सम्झिएका ती भद्र–भलाद्मीहरूले टेलिफोन अड्डाबाट छुटकारा पाएका सिङ्गारपटारमै मर्न चाहने केटीहरूको बयान सुन्दै थिए । ती केटीहरूले टेलिफोन अड्डामा मजदुरहरूबाट भएको ‘अपमान र कष्ट’ का झूटा कुराहरू बयान गर्दै थिए ।
ड्यूमाको बैठक भई नै रहेको थियो । त्यहाँ बोल्शेविकहरूको विरोधमा प्रचार कार्यमा बल दिइरहेको थियो । त्यस्तै रेल मजदुर सङ्घको केन्द्रीय कार्यालयमा सबै समाजवादी पार्टीहरूको सम्मेलन भइरहेको थियो । तिनीहरू बोल्शेविकहरूलाई निःशस्त्र पार्ने, पेट्रोग्राद छाउनीहरूलाई ड्युमाको मातहतमा राख्ने, बोल्शेविकहरूबाहेक सबै समाजवादी पार्टीहरूको एक संयुक्त मन्त्रिमण्डल बनाउने विषयमा छलफल गरिरहेका थिए ।
उता लेनिन र बोल्शेविकहरू भोलिको लडाइँको निम्ति तयारी गर्दै थिए ।
– विश्वका प्रसिद्ध मजदुर आन्दोलनहरू