२६ अक्टोबर (८ नोभेम्बर)
२६ अक्टोबर (अर्थात् ८ नोभेम्बर) को बिहान जीवन सामान्य नै थियो । विरोधी पक्षले बोल्शेविकहरूको विरोधमा जबरजस्ती सत्ता हत्याएकोमा भित्ता–भित्तामा गाली–बेइज्जतीका कागजहरू टाँसेका थिए । बोल्शेविक ‘अत्याचार’ को विरोधमा लड्न आह्वान गरिएको थियो । त्यसको जवाफमा बोल्शेविकहरूले सैनिकहरूको क्रान्तिकारी समितिमार्फत अस्थायी सरकारका मन्त्रीहरू पक्राउमा परेको, करेन्स्की भागेको, उसलाई सजायको निम्ति पेट्रोग्राद पठाउन कागजातहरू टाँसेका थिए । करेन्स्कीलाई कुनै किसिमको सहयोग गर्नु राज्यको विरोधमा ठुलो अपराध सम्झिने र सहायता दिनेलाई ठुलो सजाय गर्ने कुरो पनि भित्ते कागजहरूमा लेखिएको थियो ।
अस्थायी सरकारले पक्रेका सबै किसानहरू जेलबाट छोड्ने, सेनामा मृत्युदण्ड समाप्त गर्ने, सरकारी कर्मचारीहरूले आ–आफ्नो काम चालु राख्ने, नगर्नेहरूलाई चर्को सजाय गर्ने, लुटपाट, उपद्रो र कालाबजारियालाई ज्यान सजाय गर्नेजस्ता एकपछि अर्को अपिल र आदेशहरू सोभियत सरकार र बोल्शेविकहरू दिँदै गए ।
बोल्शेविकविरोधी अखबारहरूले जथाभावी लेख्दै थिए, “बोल्शेविकहरूको वचनमा विश्वास नगर्नुहोस् । तुरुन्तै शान्तिको प्रतिज्ञा झूटो हो । रोटी एक छल हो र जग्गा दिने वाचा एक परी कथा हो ।”
बोल्शेविक क्रान्तिलाई तिनीहरूले क्रूरता, धोखा आदि शब्दले गाली गर्न थाले ।
बिहान १० बजेतिर पेट्रोग्राद नगरपालिका (ड्युमा) को अधिवेशन भइरहेको थियो । त्यसको सभापति बोल्शेविकविरोधी श्रेइदेर भन्ने थियो । उसले भन्यो कि “समान, प्रत्यक्ष र गुप्त मतदानबाट निर्वाचित नगर ड्युमा एकमात्र वैधानिक सरकार हो । यसले अल्पमतबाट जबरजस्ती कब्जा गरेको बोल्शेविक सरकारलाई मान्यता दिँदैन ।” बोल्शेविकहरूले त्यसको जवाफमा भने, “चुनावबाट आएको भए पनि यो पुरानो भयो, यसलाई भङ्ग गरिनुपर्छ र फेरि यो चुनावबाट आउनुपर्दछ ।”
बोल्शेविक प्रतिनिधिहरूको कुराले अधिवेशनमा कोलाहल मच्यो । बोल्शेविकहरू नगरपालिका (ड्युमा) लाई ‘यो प्रतिक्रान्तिको अड्डा हो, यहाँ हामी एक मिनेट पनि बस्दैनौँ,’ भनेर बाहिर निस्के । विरोधीहरूले ठुलठुलो स्वरले गाली गर्दै भने, “जर्मनीका दलालहरू, धोखेबाजहरू नास होस् !” बैठकले बोल्शेविकहरूको पाइलाको विरोध गर्ने निर्णय गर्यो ।
अलेक्जान्द्र भवनमा पनि विरोधी पार्टीहरूको बैठक हुँदै थियो । ड्युमाको यस बैठकमा राम्रो लुगा र खान पाएका मानिसहरूमात्रै थिए । मजदुरहरू तीनजना मात्रै थिए । रेल बाटोका मजदुरहरू, आकाशवाणी, टेलिफोन अड्डाका मजदुरहरू र विदेश मन्त्रालयका कर्मचारीहरू बोल्शेविकहरूको विरोधमा हडताल र विरोध गर्दै थिए । मजदुर र किसानको प्रगतिशील हुकुमलाई अचेतित र शोषकवर्गका प्रभावमा परेका मजदुरहरूको विरोध गर्ने यो एक राम्रो नमुना थियो । केही मजदुरहरू पुँजीवादी विचारका र वर्गशत्रुहरूबाट उक्साइएका थिए ।
हडताल भड्काउने र बिगार्ने कामहरू गर्दै भिड चिच्याउँथ्यो, “यी बोल्शेविकहरू बुद्धिजीवीहरूमाथि हुकुम चलाउने ? केही गरेर त हेर ! हामी तिनीहरूलाई कस्तो फलामे चिउरा चपाउन दिने छौँ थाहा होला !” तिनीहरूले बोल्शेविकहरूलाई ‘बज्र मुक्का’ र ‘दनक’ दिने धम्की दिए । त्यस बैठकले पनि बोल्शेविकहरूको विरोधमा प्रस्तावहरू पारित गर्यो ।
सडकमा लाल रक्षकहरू र माझीहरूले विरोधी अखबार जफत गर्दै थिए । विरोधीहरू रिसाउँथे । मजदुरहरू तिनीहरूलाई सम्झाउँथे । जहाँ–तहाँ यस्तै भद्रगोल थियो । सबै विरोधी पार्टीहरू बोल्शेविक पार्टीको विरोधमा थियो ।
बोल्शेविकहरूको पनि स्मोल्नीमा बैठक हुँदै थियो । बोल्शेविकहरूको एक ठुलो भाग कामेनेभ र रियाजानोभ आदि अरुसँग सम्झौता गरेर ‘संयुक्त सरकार’ बनाउन चाहन्थे । तिनीहरूले भने, “हामी एक्लै कहिलेसम्म टिक्न सक्छौँ । विरोधी पक्ष सा¥है बलियो छ । हामीसँग मानिस छैन । हामी जनताबाट अलग्गिने छौँ र सबै खतम हुनेछ ।”
लेनिन दरो भएर भन्दै हुनुहुन्थ्यो, “सम्झौता गर्नेहरूले हाम्रो कार्यक्रम मान्नुपर्छ, अनि तिनीहरू मन्त्री परिषद्मा आउन सक्छन् । हामी एक अङ्गुल पनि पछि हट्ने छैनौँ । यति साहस र सङ्कल्प हुनेहरू यहाँ छैनन् भने, हामीहरू जस्तै खतरा मोल्न तयार छैनन् भने, त्यस्ता साथीहरू पनि अरु कातर र सम्झौतावादीहरूसँगै महाधिवेशन छाडेर जान सक्छन् । हामीहरू मजदुर र किसानहरूको समर्थनबाट आफ्नो पाइला अगाडि बढाउँदै जानेछौँ ।”
रातको ८ बजेर ४० मिनेट गएको थियो । सभापति मण्डल सभा भवनमा प्रवेश भएपछि ठुलो ताली बज्यो । त्यसमा लेनिन र अरु बोल्शेविक नेताहरू पनि थिए । सोभियतहरूको दोस्रो महाधिवेशनको दोस्रो बैठक सुरु भयो ।
कामेनेभले बैठकमा सैनिकहरूको क्रान्तिकारी समितिको तर्फबाट सेनामा मृत्युदण्ड समाप्त गरेको, प्रचार स्वतन्त्रता फेरि स्थापना गरेको, राजनैतिक अपराधमा पक्राउ परेका अफिसर र सिपाहीहरूलाई छोडेको र करेन्स्कीलाई गिरफ्तार गर्ने आदेश र व्यक्तिगत गोदामहरूमा थुपारेको अन्न र खानेकुरा जफत गर्ने आदेशबारे रिपोर्ट प्रस्तुत गरे ।
यहुदी समाजवादी पार्टी (बुन्द) का प्रतिनिधिले बोल्शेविकहरूको एकोहोरोपन (कट्टरता) को कारण महाधिवेशनमा भाग लिन अस्वीकार गर्यो । सभा भवनमा ठुलो स्वर सुनियो । हामीले त सम्झेका थियौँ, तपाईँले त हिजै सभा त्याग्नुभएको थियो । तपाईँ कतिचोटि बैठक त्याग्नुहुन्छ ?
बोल्नलाई मेन्शेविक अन्तर्राष्ट्रवादीहरूका प्रतिनिधि उठ्यो । तर, बैठकबाट व्यङ्ग्यको वर्षा भयो, “अहो ! तपाईँ अहिलेसम्म यहीं हुनुहुन्छ ?” उसले भन्यो, “सबै मेन्शेविक अन्तर्राष्ट्रवादीहरूले महाधिवेशन छोडेका छैनन्, केहीले महाधिवेशनमा भाग लिँदै छन् । हुकुमलाई सोभियतहरूले हातमा लिनु क्रान्तिको निम्ति डरलाग्दो छ र सम्भवतः घातक पनि छ भन्ने हामी सम्झन्छौँ ।”
बिचैमा कराएको सुनियो, “तर, पनि फेरि हामी महाधिवेशनमा बसेर त्यसकै विरोधमा मत दिने कर्तव्य सम्झन्छौँ ।” यस्तै व्यङ्ग्य, विरोध, छलफल र वादविवाद हुँदै गयो । पछि लेनिन बोल्नको निम्ति उठ्नु भयो । ताली बज्यो ।
लेनिनले भन्नुभयो, “अब हामी समाजवादी व्यवस्थाको निर्माण सुरु गर्छौँ ।” अनि उहाँले शान्तिसम्बन्धी घोषणाको खेस्रा पढ्नुभयो । १० बजे ४५ मिनेट जाँदा कामेनेभले घोषणासँग सहमत हुनेहरूले आ–आफ्नो कार्ड देखाउन अनुरोध गरे । खालि एक जना प्रतिनिधि त्यस मतको विरोधमा थियो । सबै प्रतिनिधिहरू रिसाएको देखेर उसले पनि आफ्नो हात तल झार्यो । यसरी सर्वसम्मतिबाट घोषणा स्वीकृत भयो । बैठकले युद्धमा भाग लिइरहेका बेलायत, फ्रान्स र जर्मनीका वर्ग चेतित मजदुरहरूलाई शान्ति र मुक्तिको निम्ति सहयोग गर्न आह्वान गर्यो ।
यतिकैमा सबै उठे र संसारका मजदुरहरूको ‘अन्तर्राष्ट्रिय’ गीत गाए । लडाइँ समाप्त हुन्छ भन्ने सबैले बुझे । केही मानिसहरू खुसीले रुन थाले । फेरि सहिदहरूको ‘शव यात्रा’ को गीत गाए ।
लेनिनले फेरि ‘भूमिसम्बन्धी विज्ञप्ति’ को खेस्रा पढ्नुभयो । त्यस प्रस्तावमा पनि ठुलो बहस भयो । रातको २ बजे ‘भूमिसम्बन्धी विज्ञप्ति’ मा मत लिइयो । एकमत विरोधमा गयो र अत्यन्त बहुमतले त्यसको पक्षमा मत दियो ।
त्यस विज्ञप्तिले भूमिमाथि बिनाक्षतिपूर्ति जमिनदारहरूको स्वामित्व समाप्त भयो । जग्गामा व्यक्तिगत स्वामित्वको ठाउँमा सामूहिक स्वामित्व कायम गरियो । जमिनदार, राजा जारका परिवार र मठहरूको जग्गा श्रमिकहरूलाई बिनापैसाले दिने वा वितरण गरिने भयो । त्यसले ४० करोड एकडभन्दा बढी जग्गा राजा–रजौटा, पुँजीपति, महन्त र गुठीजस्ता शोषकहरूबाट खोसियो । बर्सेनि ५० करोड सुनको रुबल तिर्नुपर्ने रकम तिरोबाट किसानहरूलाई मुक्त गर्यो । तेल, कोइला, धातु आदि खानीहरू, जङ्गल र पोखरीमा भएको व्यक्तिगत मालिकत्व पनि समाप्त भएको घोषणा गरियो ।
रातको २ बजेर ३० मिनेट जाँदा कामेनेभले सरकार स्थापनाको घोषणा गरे । संविधानसभाको अधिवेशन नभएसम्म किसान–मजदुरहरूको एक अस्थायी सरकार कायम गर्ने निर्णय गर्यो । त्यस सरकारलाई ‘जन कमिसार परिषद्’ अथवा ‘जनताको मन्त्री परिषद्’ को नाम दिइयो । त्यसमा जम्मा १५ जवान कमिसारहरू थिए । लेनिन त्यसको अध्यक्ष चुनिए । गृहमन्त्री रीकोभ, परराष्ट्र मन्त्री त्रोत्स्की र जातिहरूको अध्यक्षमा स्तालिन चुनिनुभयो । मन्त्री परिषद्का सबै सदस्य बोल्शेविक पार्टीका सदस्यहरू थिए ।
२७ अक्टोबर (५ नोभेम्बर)
कज्जाक सेनाले ७ नोभेम्बरदेखि नै दोनप्रदेश आफ्नो हुकुममा भएको घोषणा गर्यो । संयुक्त सरकारलाई समर्थन गर्दै जाने र स्थिति ठाउँमा नआएसम्म हुकुम आफ्नो हातमा लिने विज्ञप्ति ८ नोभेम्बरको दिन प्रसारित गर्यो । त्यस विज्ञप्तिमा आतायान कलेदिनले ‘कज्जाक सेनाको सरकारको अध्यक्ष’ को रूपमा हस्ताक्षर गरेका थिए ।
पेट्रोग्रादभन्दा झन्डै ३० किलोमिटर दक्षिण पश्चिममा गातथिना भन्ने एक सहर छ । अस्थायी सरकारको अध्यक्ष र प्रमुख सेनापतिको रूपमा करेन्स्कीले त्यहीँबाट सबै सेनालाई आ–आफ्नो कर्तव्य पूरा गरिरहन आदेश दिइरहेका थिए । स्थिति सा¥है अस्पष्ट थियो । कहीँ सरकारी सेना बोल्शेविकहरूसँगै मिल्दै थियो भने कहीँ बोल्शेविक पक्षका सेना अलमलमा थियो । तर, सबैतिर एक कुरामा समानता थियो, त्यो हो– ठुलठुला अफिसरहरू पुरानै सरकारको पक्षमा हुन्थे, केही तटस्थ हुन चाहन्थे र स्थितिअनुसार पक्षमा लाग्न चाहन्थे, तर तल्लो तहका सबैजसो सिपाही, सोभियत र बोल्शेविकहरूको पक्षमा थिए । यसप्रकार सबै छाउनी र ब्यारेकहरूको स्थिति पिङजस्तो हल्लिरहेको थियो । साधारण जनताको बिचमा पनि त्यही कुरा थियो । मजदुर, किसान, सिपाही र साधारण जनता सोभियतको समर्थनमा थियो भने पुँजीपतिवर्ग, अफिसर र खानदानीवर्ग पुरानो सरकारको पक्षमा थियो ।
रेल, आकाशवाणीका मजदुर र कर्मचारीहरूले बोल्शेविकहरूको सूचना र आदेश बाहिर पठाउन अस्वीकार गरिरहे । हुलाकका कर्मचारीहरू चिट्ठी–पत्र छुन पनि अस्वीकार गरिरहेका थिए । ३६ घण्टा बोल्शेविकहरूको अरु प्रान्तहरूसँगै सम्पर्क थिएन । तर, विद्रोह र क्रान्तिको सूचना सारा रुसमा आँधी बेहरी र बिजुलीजस्तै फैलिरहेको थियो । तर, राजधानीका १६ वटा मन्त्रालयका कर्मचारीहरूले हडताल गरिरहेका थिए ।
तर, त्सारस्कोले सेलो भन्ने सरकारी रेडियो स्टेसनले समयसमयमा सरकारी समाचार बुलेटिन प्रचार गर्दै थियो । सोभियत सरकारको विरोधमा पेट्रोग्राद नगर ड्युमाले प्रान्तहरूमा आफ्नो प्रचार चर्काउँदै थियो । प्रचारका कागज पर्चाहरू लिएर दुई वटा हवाईजहाज दुई मोर्चाको निम्ति उड्यो ।
हेन्सिगफोर्सको सोभियतले बोल्शेविकहरूलाई समर्थन गर्यो । कीत्का बोल्शेविकहरूले बारुदखाना र आकाशवाणी केन्द्र कब्जा गरे । कज्जाकमा भद्रगोल भयो । साइबेरियाको टाढा क्रास्नोयास्र्कको नगरपालिकाले सोभियतहरूको समर्थन गर्यो । मास्कोको सोभियतहरूले बोल्शेविकहरूलाई समर्थन गरे । तर, सार्कीहरू हडतालमा थिए भने कारखानाका मालिकहरू कारखाना बन्द गर्ने तरखरमा थिए ।
पेट्रोग्राद नगर ड्युमाको मुखपत्र ‘वेस्तनिक गोरोस्कोबो साम्रोउप्राब्लेनिया’ (नगरपालिका स्वशासन बुलेटिन), ‘गोलोस सोल्दात’ (सैनिक वाणी), ‘सोल्दात्स्की गोलोस’ (सिपाहीहरूको आवाज) को नामका खबर कागजातहरूले बोल्शेविक रेड गार्डलाई जथाभावी गाली गरे । ती अखरबारहरूलाई लाल रक्षक र माझीहरूले जफत गर्दै थिए । अखबार जफत गरेकोमा विरोधीहरू चिच्याइचिच्याइ गाली गर्थे । अलेक्जेन्डर भवनमा सबै विरोधी पार्टीहरू र विभिन्न समितिहरूको बैठक हुँदै थियो । त्यसलाई रक्षा समितिको नाउँ दिइएको थियो । त्यस ठुलो सभामा बोल्शेविकहरूलाई चिच्याइचिच्याइ गाली गर्दै थियो । केहीले सोभियतहरूले स्वीकार गरेको भूमिसम्बन्धी ऐनलाई समाजवादी क्रान्तिकारीहरूको चोरी र नक्कल भने । तर, त्यस बैठकले ‘रक्षा समिति’ को समर्थन र बोल्शेविकहरूको विरोधमा लोकमत तयार गरेपछि केही गर्ने निर्णय गर्यो ।
निकोलाई भवनमा पनि नगर ड्युमाका प्रतिनिधिहरूको भेला थियो । सभा भवन मानिसहरूले खचाखच भरिएको थियो । ड्युमा भङ्ग गर्ने हल्ला फैलिरहेकोले बोल्शेविकहरूसँग ड्युमाका सदस्यहरू सा¥है रिसाएका थिए । तिनीहरूले बोल्शेविकहरूलाई जर्मनहरूका दलाल, उत्तेजना फैलाउनेहरू, जबरजस्ती सत्ता हत्याउने, धोकेबाज र ज्यानमाराहरू आदि नाउँले गाली गर्दै थिए । तिनीहरू नगर ड्युमाको स्वतन्त्रता र गौरवका कुरा बढार्दै गए र बोल्शेविकहरूको विरोधमा प्रस्ताव ल्याउँदै गए ।
मिखाइलोब्स्की घोडचढी सेनाको पाठशालामा पुग नपुग दुई हजार सिपाहीहरूको बैठक भइरहेको थियो । सभा भवन सा¥है ठुलो थियो । सिपाहीहरू आपसमा चर्को वादविवाद गर्दै थिए । तोप गाडी सैनिक दलको ‘अखिल रुसी काङ्ग्रेस’ को अध्यक्ष खानजोनोभ सभामा बोल्दै थियो, “रुसीहरूले रुसी दाजु–भाइ मार्नु एक डरलाग्दो कुरा हो । ….. हामी सिपाहीहरू राजनैतिक पार्टीहरूको झै–झगडामा किन फस्नु ?” उसले गृहयुद्धको विरोध गर्यो । ऊ वास्तवमा तटस्थ रहन चाहन्थ्यो ।
अर्को एक सिपाही उठेर सब प्रकारको लडाइँको विरोध गर्यो । एक मेन्शेविक उठेर जीत नभएसम्म लडिरहने कुरा उठायो । भिडमा एक तीखो स्वर सुनियो, “तपाईँ त करेन्स्कीले जस्तै कुरा गर्दै हुनुहुन्छ ।” ड्युमाको एक प्रतिनिधिले तटस्थताको पक्ष लियो । एक बोल्शेविकले समाजवाद र क्रान्तिको बारेमा बोल्यो । त्यस्तै फेरि खानजोनोभ र एक मजदुरले तटस्थताकै पक्ष लिए । एक बोल्शेविक बोल्न लाग्यो । तुरन्तै भिडबाट सिटी बज्यो, हाहाहुहु भयो । अनि हामी खानजोनोभ चाहन्छौँ, ‘क्रिलेन्को मुर्दावाद’ भनेर नारा लाग्यो । बैठकमा गञ्जागोल भयो । सभामा गोलमाल गर्न खोज्नेहरू पछि हटे ।
बोल्शेविक मन्त्री परिषद्को सेनासम्बन्धी एक कमिसार क्रिलेन्कोले बोले, “सिपाही साथीहरू, ….. म चार रातदेखि सुतेको छुइन, यसकारण बडो दुःखको कुरा छ कि तपाईँहरूसँग राम्रो कुरा गर्न सक्दिनँ ।”
“म एक सिपाही हुँ भन्ने कुरो मैले तपाईँहरूलाई भनिरहनु आवश्यक छैन । तपाईँहरू र अन्य बहादुर साथीहरूको सहायताले बोल्शेविक पार्टीले रगत पिउन चाहने पुँजीपतिवर्गको हुकुमलाई सदाको निम्ति पल्टाइदियो, मजदुर र सिपाहीहरूको क्रान्तिलाई सफलतापूर्वक सम्पन्न गर्यो, सबैसँग शान्ति प्रस्तावको वचन दिएको थियो, त्यो वचन पूरा भयो, त्यो आजै पूरा भयो ।”
त्यसपछि उनले तटस्थ बस्न चाहने युङ्कर र अरु प्रतिक्रियावादी सेना कहिल्यै तटस्थ नभएको र तिनीहरूले सदा जनतालाई गोली हानेर मारेको कुरा सम्झना गराए । उनले भने, “एकातिर करेन्स्की, कलेदिन र कोर्निलोभ छन्, मेन्शेविक, समाजवादी क्रान्तिकारी, क्याडेट, ड्युमा र अफिसरहरू छन् । अर्कोतिर मजदुर, सिपाही र माझीहरू छन्, गरिबभन्दा गरिब किसान छन् । सरकार तपाईँको हातमा छ । के तपाईँ आफ्नो अधिकार फर्काउन चाहनुहुन्छ ?”
उनी थाकेर चूर थिए । ठुलो तालीबाट उनको भाषणको स्वागत गरियो । खानजोनोभले फेरि बोल्न खोज्दा सबैले मत लिन चिच्याए । आखिर उनले भने, तोपगाडीको सैनिक दलले सैनिक क्रान्तिकारी समितिबाट आफ्नो प्रतिनिधि फिर्ता बोलाउँछ र यस गृहयुद्धमा आफ्नो तटस्थताको घोषणा गर्छ । यस प्रस्तावको समर्थन गर्ने दायाँपट्टि र विरोध गर्ने बायाँपट्टि लाग्न भन्यो ।
एकछिनपछि बायाँ अर्थात् तटस्थताको विरोध गर्नेहरू अत्यन्त बहुमत देखिए । पुग नपुग दुई हजार सिपाहीहरूमा झन्डै ५० जना मात्रै दायाँपट्टि लाण्गे र तटस्थताको समर्थनमा थिए । बोल्शेविक पक्षको विजय भयो । विरोधीहरू बाहिर गए । यसप्रकारको छलफल र मत लिने प्रजातान्त्रिक परिपाटी रुसी अक्टोबर क्रान्तिको विशेषता थियो । यही कुरो हर कारखानाको मजदुर सङ्घहरूमा, गाउँ, छाउनी, जहाजी सेना, माझी र व्यापक जनतामा लागु हुन्थ्यो । क्रिलेन्कोजस्ता नेताहरू कारखाना, गाउँ, छाउनी र अनेक बैठकहरूको छलफलमा भाग लिन्थे, भाषण दिन्थे, एक पछि अर्कोलाई सम्झाउँथे र सङ्घर्ष गर्थे । आखिर जनताबाट निर्णय गराउँथे ।
जन कमिसार परिषद्को अध्यक्षको रूपमा लेनिनले १२ नोभेम्बरको दिन संविधानसभाको चुनाव गराउन देशभरि आदेश पठाउनुभयो ।
नगर ड्युमामा चर्काचर्की सभा भई नै रहेको थियो र सभामा मन्त्रालयहरू, तेल मजदुर युनियन, हुलाक अड्डाका मजदुर प्रतिनिधिहरूमध्ये एकपछि अर्काले लेनिन र बोल्शेविकहरूलाई लुटपाट गर्ने अन्यायी र अत्याचारी भन्दै जथाभावी गाली गर्दै थिए । तिनीहरू खालि जनतालाई बोल्शेविकहरूको विरोधमा उत्तेजित पार्दै थिए ।
यसप्रकार स्थिति बडो गञ्जागोल थियो र बोल्शेविकविरोधी अनेक झूटा कुराहरू प्रचार गर्दै थिए । एकातिर फोन्तान्का नं. ६ मा किसानहरूको सोभियत, नेव्सी सडकको ठुलो भवनको ईजिनेर्ती जाभोक (इन्जिनियरिङ स्कूल) र ड्युमा भवनमा भित्र भित्र गतिविधि गर्दै थियो । अर्कोतिर स्मोल्नीमा सैनिक क्रान्तिकारी समिति निरन्तर काम गर्दै थियो, सिपाहीहरूको लाम करेन्स्कीसँग लड्न रातभरि जाँदै थियो ।
– विश्वका प्रसिद्ध मजदुर आन्दोलनहरूबाट